+
+

सिन्धुपाल्चोकमा एमाले शून्य, कांग्रेस र माओवादी बराबरी शक्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ९:०२

९ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा नेकपा एमालेले एउटा पनि सिट जित्न सकेन ।

सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा १/१ र प्रदेशसभा क्षेत्रतर्फ २/२ सिट जितेर समान शक्ति बन्दा एमाले भने यो जिल्लामा शून्यमा झरेको छ ।

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा माओवादीका माधव सापकोटा र क्षेत्र नम्बर २ मा कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् ।

सापकोटाले एमालेका सरेश नेपाललाई पराजित गरेका हुन् । सापकोटाले ३० हजार ३७४ मत पाउँदा नेपालले २७ हजार १८ मत ल्याए । २०७४ को चुनावमा नेपाल प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

बस्नेतले एमालेकै शेरबहादुर तामाङलाई पराजित गरेका हुन् । बस्नेतले ३९ हजार ३६७ मत ल्याउँदा तामाङले २७ हजार ४९३ मत ल्याए । सत्तारुढ गठबन्धनले गरेको चुनावी तालमेलका कारण यसअघि क्षेत्र नम्बर १ बाट चुनाव लड्ने गरेका बस्नेत यसपटक क्षेत्र नम्बर २ मा आइपुगेका थिए । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका बस्नेत पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्रि हुन् भने तामाङ नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व कानुन मन्त्री हुन् ।

प्रदेशसभा तर्फ १ (१) र २ (२) मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने प्रदेशसभा तर्फ १ (२) र २ (१) मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसकी मसिना खड्काले प्रदेशसभा १ (१) मा १४ हजार ६५२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका युद्धविक्रम तामाङले १३ हजार ४९० मत ल्याए । निर्वाचित खड्का सिन्धुपाल्चोक जिल्लाको प्रदेशसभा प्रत्यक्षमा सहभागी पहिलो महिला हुन् ।

यो जिल्लामा मुख्य दलले पहिलो पट्क प्रत्यक्षमा महिलालाई टिकट दिएको हो । सामाजिक सेवा र व्यवसायमा अब्बल उनी यो पट्क मुख्य दल कांग्रेसले टिकट दिएपछि राजनीतिमा आएकी थिइन् ।

प्रदेशसभा १ (२) मा माओवादी केन्द्रका सरल सहयात्री पौडेलले १७ हजार २५६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका होमनारायण श्रेष्ठले १३ हजार १३ मत ल्याए । निर्वाचित सहयात्री माओवादी केन्द्र बागमती प्रदेका अध्यक्ष हुन् भने पराजय भएका श्रेष्ठ गाउँपालिका महासंघ र जुगल गाउँपालिकाका पूर्वअध्यक्ष समेत हुन् ।

प्रदेशसभा २ (१) मा माओवादी केन्द्रका युवराज दुलालले २० हजार ९०६ मत ल्याउँदा एमालेका अमानसिंह तामाङ १२ हजार १३९ मत ल्याए । उनीहरुबीचको मतान्तर ८ हजार ७ सय ६७ छ । उनी दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन् ।

दुलाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री हुन् । पराजित भएका तामाङ चौतारा साँगाचोकगढी नगरपालिकाको पूर्व मेयर हुन् ।

प्रदेशसभा २ (२) मा कांग्रेसका कृष्णकुमार तामाङले १७ हजार ७५८ मत ल्याएर विजयी हुँदा एमालेका हस्तबहादुर पण्डितले १६ हजार २५३ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?