+
+

कर्णालीबाट प्रतिनिधिसभामा एमाले शून्य, कांग्रेस बन्यो पहिलो दल

यज्ञ खत्री यज्ञ खत्री
२०७९ मंसिर ९ गते १५:२६
प्रतिनिधिसभामा सुर्खेत-१ बाट निर्वाचित कांग्रेसका पूर्णबहादुर खड्का र रुकुम पश्चिमबाट निर्वाचित माओवादी केन्द्रका जनार्दन शर्मा

९ मंसिर, सुर्खेत । २०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले यसपटक शून्यमा झरेको छ । कर्णालीमा यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभाको नौ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । कालीकोट, हुम्ला र मुगुमा मतगणना जारी छ ।

मतगणना जारी रहेका स्थानमा पनि एमाले उम्मेदवार फराकिलो अन्तरले पछाडि छन् । कांग्रेसले सुर्खेतका दुईवटै र दैलेख क्षेत्र नम्बर २ मा जित निकालेको छ । मुगुमा पनि फराकिलो मत अन्तरले अग्रता लिएको छ ।

नेपाली कांग्रेसबाट सुर्खेत-१ मा पार्टी उपसभापति पूर्णबहादुर खड्का, सुर्खेत-२ मा हृदयराम थानी र दैलेख-२ मा दिक्पाल शाही निर्वाचित भएका छन् । मुगुमा जारी मत गणनामा भने कांग्रेसकै उम्मेदवार ऐनबहादुर शाहीले अग्रता लिएका छन् ।

माओवादी केन्द्रले जाजरकोट र रुकुम पश्चिममा जित निकालेको छ भने कालीकोट र हुम्लामा फराकिलो मतान्तरले अग्रता लिएको छ । रुकुम पश्चिममा अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा र जाजरकोटमा शक्ति बस्नेत निर्वाचित भए । कालीकोट र हुम्लामा माओवादी केन्द्रका उम्मेदवार क्रमशः महेन्द्रबहादुर शाही र छिरिङ डम्डुल लामा फराकिलो मतान्तरसहित अग्रता बनाइरहेका छन् ।

एकीकृत समाजवादीबाट दैलेख-१ मा अमरबहादुर थापा, सल्यानमा प्रकाश ज्वाला र डोल्पामा धनबहादुर बुढाले जितेका छन् । त्यस्तै जुम्लामा राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही निर्वाचित भएका छन् ।

२०७४ सालमा एक्लै प्रतिस्पर्धा गरेको कांग्रेसले यसपटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको सहयोगमा चुनाव लडेको छ ।

प्रदेशसभाको कुन क्षेत्रमा कसको जित ?

प्रदेशसभातर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णाली प्रदेशमा यो समाचार तयार पार्दासम्म २१ वटा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । जसमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले ८/८ वटा निर्वाचन क्षेत्रमा जित निकालेका छन् भने नेकपा एमालेले चार क्षेत्रमा चुनाव जितेको छ ।

जुम्ला (१) मा भने कांग्रेसका बागीले चुनाव जितेका छन् । अन्तिम नतिजा आउन बाँकी रहेको मुगुका दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा माओवादी र एमालेले अग्रता लिएका छन् । हुम्ला (२) मा कर्णालीका मुख्यमन्त्री समेत रहेका कांग्रेस नेता जीवनबहादुर शाहीले अग्रता लिएका छन् ।

जुम्ला (१) मा कांग्रेसका बागी देवेन्द्रबहादुर शाहीले कांग्रेसकै ललितजंग शाहीलाई पराजित गरे । जुम्ला (२) मा एकीकृत समाजवादीका उम्मेदवार पदमबहादुर रोकायालाई पराजित गर्दै एमालेका टेकराज पछाई निर्वाचित भएका छन् ।

जाजरकोटमा दुवै क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेसले चुनाव जितेको छ । (१) मा कांग्रेसका जिल्ला सभापति वेदराज सिंह र (२) मा  कांग्रेसकै राजीवविक्रम शाह निर्वाचित भएका छन् ।

सल्यानका दुवै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भए । प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा र (२) मा कांग्रेसका सुरेश अधिकारी निर्वाचित भए ।

चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा तीन वटामा कांग्रेस र एउटामा एमाले विजयी भएको छ । दैलेख-१ (१) मा कांग्रेसका पूर्णबहादुर खत्री, (२) मा कांग्रेसका पूर्व जिल्ला सभापति कृष्ण बिसी निर्वाचित भएका छन् । दैलेख २ (२) मा कांग्रेसकै घनश्याम भण्डारी विजयी हुँदा २ (२) मा भने एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाह निर्वाचित भए ।

चारवटै प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा भने माओवादीले दुई सिट जित्दा कांग्रेस र एमालेले एक/एक सिट जितेका छन् । सुर्खेत-१ (१) मा कांग्रेसका जिल्ला सभापति खड्गबहादुर पोखरेल र (२) मा माओवादी केन्द्रका कृष्ण जिसी निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ (१) मा भने एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेल दोस्रो पटक निर्वाचित भए । २ (२) मा पूर्व अर्थमन्त्रीसमेत रहेका माओवादीका युवा नेता विन्दमान बिष्ट विजयी भएका छन् ।

कालीकोटमा (१) मा माओवादीका दुर्गाबहादुर रावत र (२) मा कांग्रेसका हिकमत बिष्ट विजयी भएका छन् । डोल्पा (१)मा एमालेका शेरबहादुर बुढा र (२) मा माओवादी केन्द्रका वीरबहादुर शाही निर्वाचित भएका छन् ।

हुम्ला (१) मा (माओवादी केन्द्र) का रणसिंह परियार निर्वाचित भएका छन् । रुकुम पश्चिममा दुवै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । (१) मा  माओवादी केन्द्रका महेन्द्र केसी र (२) मा माओवादीकै राजकुमार शर्मा निर्वाचित भएका छन् ।

यसअघि प्रदेशसभामा एमाले नै पहिलो दल थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा यसअघि एमालेले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको थियो ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?