 
																						९ मंसिर, काठमाडौं। बर्दिया मधुवन नगरपालिका वडा नं. ४ का भीमबहादुर लोहार २०६७ सालमा काम गर्न कतार गएका थिए । उनले करिब १० वर्षसम्म कतारमा काम गरे । उनकी श्रीमती सीता सुनार भन्छिन्, ‘श्रीमानले काम गर्ने कम्पनीले कतारमा भवन र स्टेडियम बनाउने काम गर्थ्यो। उहाँ गाडी चलाउने, गाडीको मर्मत गर्ने, बिजुलीको वाइरिङ गर्ने, एसीहरूको मर्मत गर्ने जस्ता काम गर्नुहुन्थ्यो ।’
सीताका भनाइमा झन्डै १० वर्षसम्म त्यही कम्पनीमा काम गरे उनका पतिले। ‘तलब भनेको महिनाको नेपाली ३० देखि ३५ हजारसम्म हुन्थ्यो । मेरो श्रीमान्को स्वास्थ्य राम्रो थियो । स्वास्थ्य सम्बन्धी समस्या भएर कुनै औषधि खाएको मैले थाहा पाएकी थिइनँ ।’ उनी भन्छिन्, ‘एक दिन बिहान फोन गर्दा फोन उठेन । धेरै पटक फोन गरेपछि सुपरभाइजरले फोन उठाएर ज्वरो आएर अस्पताल लगेको छ भने । त्यसपछि सुपरभाइजरले पनि फोन उठाएनन् । भोलिपल्ट २९ पुस २०७८ सालमा आफन्तहरूबाट श्रीमानको मृत्यु भएको भन्ने खबर आयो ।’
सीता भन्छिन्, ‘उहाँको शवसँगै आएको कागजमा प्राकृतिक मृत्यु भनेर लेखेको छ । के कारण, कसरी मृत्यु भयो भन्ने अझै पनि मलाई राम्रोसँग थाहा भएन । मृत्यु हुनुभन्दा पहिले पाँच महिना काम गरेको तलब पाउनुभएको थिएन । मृत्यु भएपछि २ लाख ९५ हजार रुपैयाँ कम्पनीले दियो । त्यो रुपैयाँ तलब बापत दिएको हो कि अन्य संचय कोष बापत दिएको हो, थाहा भएन ।’
श्रीमानको मृत्युपछि १० दिनमा शव घर आयो । सीताको परिवारले बीमा बापत १४ लाख र श्रमबाट ७ लाख रुपैयाँ पाएको छ । १२ वर्षकी छोरी कक्षा ६ मा पढ्छिन् । उनले विदेशमा कमाएको पैसाले ऐलानी जग्गामा घर बनाएका छन् । अन्य जग्गा–जमिन केही छैन । जीविका चलाउन गाह्रो छ ।
सीता भन्छिन्, ‘छोरीको पढाइका लागि छात्रवृत्तिको व्यवस्था मिलाउनका लागि वैदेशिक रोजगार बोर्डमा निवेदन दिएकी छु, तर आजसम्म केही खबर आएको छैन ।’
जनकपुरधाम-जटही सिक्सलेन सडकबाट २५ मिटर पूर्व गल्लीमा हिंडेपछि बुधन पण्डितको घर आइपुग्छ । दुई धुर जग्गामा चारैतिर इँटाको पर्खाल र माथिबाट जस्ता पाताको छानो छ । एउटा कुनामा जस्तापाता पुगेको पनि छैन । त्यहाँ प्लास्टिक त्रिपालले टालटुल पारिएको प्रष्टै देख्न सकिन्छ ।
घरको भित्तामा प्लास्टर छैन, न त भुइँमा ढलान नै । वर्षाको बेला चुहिन्छ, पानीपानी हुन्छ । बस्न सक्ने अवस्था समेत हुँदैन । जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा पर्ने त्यो सानो झुपडीमा गुजारा गरिरहेका छन् विदेशी भूमिमा एक वर्षअघि ज्यान गुमाएका ४२ वर्षीय बुधन पण्डितको परिवार ।
बुधनकी ३६ वर्षीया श्रीमती उर्मिला, जेठो छोरा उमेश (१९) र कान्छो दिनेश (१७) जसोतसो जीवन धानिरहेका छन् । २०७८ सालअसोज ७ गते बुधनको कतारस्थित दोहामा एयरपोर्टको रनवे बनाउने क्रममा मृत्यु भएको थियो ।

खाना खाएर श्रीमती उर्मिलासँग कुरा गर्दै गर्दा पछाडिबाट बुल्डोजरले किचिएर बुधनको मृत्यु भएको थियो । कतारमा मंसिर ४ देखि भइरहेको पाँचौं एशियाली विश्वकप फुटबलको तयारी स्वरुप एयरपोर्टको रनवे तयार गर्ने काममा लागेका थिए, बुधन ।
कतारको नाइलबीम हार्म स्ट्रोन कन्स्ट्रक्सन कम्पनीमा उनी लेबरको काम गर्थे । चार वर्षअघि कतार गएका बुधन मृत्युपश्चात् १४ दिनपछि बाकसमा स्वदेश फर्किए । अहिले उनको परिवार ससुराको जग्गामा सानो झुपडी बनाएर आश्रय लिइरहेको छ । आर्थिक रूपमा विपन्न उनको परिवारको साँझ–बिहानको चुल्हो छोरा उमेशको ज्याला–मजदुरीबाट बल्छ ।
शव आएपछि सरकारले किरिया खर्च स्वरुप २५ हजार रुपैयाँ मात्र दिएको थियो । तर, घटनाको एक वर्ष बित्दा पनि उनको परिवारले श्रम विभागबाट न त बीमा रकम पाएको छ, न त कार्यरत कम्पनीबाट क्षतिपूर्ति नै । श्रम विभाग र राजदूतावासमा बीमा रकम र क्षतिपूर्तिका लागि सबै कागजी प्रक्रिया पुर्याएर दौडधुप गर्दा पनि कुनै सुनुवाइ छैन ।
‘बुवाको मृत्युपछि इन्स्योरेन्सको जति दाबी गर्नुपर्ने थियो, गरें । अहिलेसम्म श्रम विभागबाट एक रुपैयाँ बीमा रकम पाएको छैन । दौडधुप गरिरहेको छु, जान्छु, म्यासेज गर्छु कुनै रेस्पोन्स छैन’ दिनेशले दुःखेसो सुनाउँदै भने, ‘नेपाल सरकारले केही गरेन । कम्तीमा दूतावासले त्यहाँको कम्पनीलाई क्लेम गर्न सक्छ नि ! त्यहाँ पनि सबै डकुमेन्ट दिंदा कुनै वास्ता नै छैन । कतैबाट कुनै सहयोग छैन ।’
‘श्रीमानको कमाइले घरपरिवार चल्थ्यो । अब यो जग्गामाथि पनि मुद्दा परेको छ । कान्छो छोरो जसोतसो पढिरहेको छ, त्यो पनि जेठो छोरो उमेशको मजदुरीले’ उर्मिलाले भनिन्, ‘श्रीमानको मृत्युपछि बीमा रकम र क्षतिपूर्ति पाइएन । छोराको भविष्यलाई लिएर चिन्ता छ । हामीलाई सुरक्षित महशुस भइरहेको छैन ।’
‘नेताहरू स्वेच्छाचारी भए । चुनावमा मत किनेर जितेर जान्छन् । स्वदेशमै रोजगारीको वातावरण बनाउनेतर्फ केही सोच्दैनन् । सोचेको भए आज म जस्ताको छोरो विदेशी भूमिबाट बाकसमा बन्द भएर आउने थिएन होला’, ६५ वर्षीय बलदेव साहले भावुक हुँदै भने ।
धनुषाको नगराइन नगरपालिका ५ गंगुली टोल बस्ने बलदेवलाई बाकसमा बन्द भएर विदेशबाट आएको छोराको दृश्यले बेला–बेला सताइरहन्छ । आँखा रसाउँछ । बिर्सिने चेष्टा गर्छन् तर, कहालीलाग्दो त्यो अतित न त बलदेवको मानसपटलबाट जान्छ, न उनको परिवारका सदस्यको मस्तिष्कबाटै ।
कारण हो, घरपरिवारको सुखका लागि जेठो छोरा दशैं साहु (१७)ले विदेशी भूमिमा पसिना बगाए । ४० वर्ष उमेरमा झण्डै आधा उमेर विदेशी भूमिमा श्रम गरेका दशैं २०७८ साउन अन्तिम साता बाकसमा जन्मभूमि फर्किए ।
६० वर्षीया आमा यमन देवी र ४० वर्षीया श्रीमती गीतादेवी दशैंलाई सम्झेर घरी–घरी भक्कानिएर रुन्छन् । घरकै मुख्य पिलर छोराको मृत्युले शोकमा बुवा बलदेवको शरीर वर्ष दिनमै गलेको छ । ‘छोराको मृत्युले परिवारमा ठूलो असर परेको छ । शोकले गलेर मेरो शरीर आधा भयो’, बुवा बलदेव सुनाउँछन् ।
दशैं कतारको दोहास्थित ‘अल रसिद ट्रेडिङ एण्ड कन्ट्रेक्टिंग कम्पनी’मा प्लम्बरको काम गर्थे । आगामी मंसिर ४ गतेदेखि कतारमा हुने विश्वकप फुटबल प्रतियोगिता २०२२ का लागि भौतिक संरचना तयार गर्ने क्रममा उनको मृत्यु भएको थियो ।
सडकछेउमा जमिनमा १५/२० फिट तल तार गाड्ने क्रममा माटोको ढिस्कोमा पुरिएर २१ अगस्ट २०२१ का दिन दशैंको मृत्यु भएको थियो । ९ दिनपश्चात् बाकसमा बन्द भएर उनको शव नेपाल ल्याइएको थियो ।
बुवा बलदेव र आमा यमनको ३ छोरा र २ छोरीमध्ये जेठो थिए दशैं । उनकै कमाइले चार छोराछोरीको विवाह गरेर पक्की घर बनाएको बुवा बलदेव सुनाउँछन् । मृतक दशैंका दुई छोरी र एक छोरा छन् । जेठी छोरी रानीकुमारी १८ वर्षकी भइन् । उनी कक्षा १२ मा पढ्छिन् । १६ वर्षीया कान्छी छोरी प्रितीकुमारी कक्षा ८ र १४ वर्षीय छोरा भगवानजी साह कक्षा ६ मा अध्ययनरत छन् ।
बलदेवका तीनै छोराको परिवार सगोलमै छ । बुवा दशैंको मृत्युले जेठी छोरी रानीको सपनामाथि बज्रपात भएको छ । उनी बुवाको बलमा लोक सेवा पढेर सरकारी कर्मचारी बन्न चाहन्थिन् । तर त्यो अब अधुरै रहने दुःखी हुँदै सुनाइन् ।
‘राम्रो पढाइ गरेर लोकसेवा पास गरी सरकारी जागिर खाने लक्ष्य थियो, मेरो । तर अब म पढ्नै पाउँदिनँ । पहिला जस्तो वातावरण हुँदैन । बुवाको मृत्युले मेरो भविष्यको पूरै सपनामाथि तुषारापात भएको छ’, रानीले भावुक हुँदै भनिन् ।

रानी जस्तै सपना तुहिएको छ उनका हजुरबुवा बलदेवको । २०७८ को मंसिरमा घर फर्किने योजना थियो दशैंको । घरको प्लास्टर, रंगरोगन गर्ने र छोरी रानीलाई राम्रो घरबार खोजेर विवाह गर्ने योजना बुवा बलदेव र छोरा दशैंले फोनमा सरसल्लाह गरी बुनिसकेका थिए । तर, दुर्भाग्य साउनको अन्तिममै अस्ताए दशैं । न त घरको प्लास्टर भयो, न रानीको विवाह नै ।
‘छोराको बलमा म बुढो बुवाले के के न गर्छु भन्ने सोचेको थिएँ । छोराले नै बनाएको घर हो, यो । हेर्नुस् अहिलेसम्म प्लास्टर पनि गर्न सकेको छैन’ घर देखाउँदै बुवा बलदेवले भने, ‘मंसिरमै घर फर्किने कुरा गरेका थिए । जेठी छोरी रानीलाई विवाह गर्ने हाम्रो योजना थियो । तर साउनमै बाकसमा फर्के । सबै योजना तुहियो ।’
दशैंको मृत्युपश्चात् उनको घर–परिवारले श्रम विभागबाट १७ लाख र बीमा बापतको ७ लाख रुपैयाँ रकम पाएको छ । तर मृत्युको डेढ वर्ष हुन लाग्दा उनी कार्यरत रसिद ट्रेडिङ एण्ड कन्ट्रेक्टिंग कम्पनीबाट परिवारजनले अझै क्षतिपूर्ति पाएको छैन । त्यो कम्पनीको सेयर सदस्य बलदेवकै छिमेकी शम्भु साह छन् । कम्पनी क्षतिपूर्ति दिने योजनामा नरहेको बुवा बलदेवको गुनासो छ ।
शक्तिशाली देशहरूलाई पछि पार्दै कतारले सन् २०२२ को फिफा विश्वकप आयोजना गर्ने ‘रेस’ जितेको थियो । यसपछि कतारले नेपाल लगायत दक्षिण एशियाली र अफ्रिकी देशबाट ठूलो संख्यामा कामदार मगायो ।
कामदारको माग बढेसँगै नेपालबाट कतार जानेहरूको संख्या बढ्यो । २०६८ अगाडि रोजगारीका लागि बर्सेनि कतार जाने नेपालीको संख्या हजारमा हुन्थ्यो । तर, २०६८ पछि यो संख्या बढेर लाखमा पुग्यो ।
विश्वकपका लागि कतार सिंगार्न गएका श्रमिकमाथि भने कतारले गम्भीर मानवअधिकार उल्लंघन गरेका विवरण एकपछि अर्को आइरहेका छन् । विश्वकपका लागि आवश्यक रंगशाला, होटल, सडक, विमानस्थल, मेट्रोलगायतका पूर्वाधार जतिसक्दो छिटो बनाउने कतारी चाहनामा पुरिएर हजारौं आप्रवासी श्रमिकको ज्यान गयो, थुप्रै अंग-भंग भए ।
विश्वकपका लागि आवश्यक पूर्वाधार बनाइरहेको कतारमा आप्रवासी श्रमिकको अप्रत्यासित मृत्यु भइरहेको भन्दै ‘द गार्जियन’ पत्रिकाले २३ फेब्रुअरी २०२१ मा समाचार छाप्यो । यही समाचारले विश्वकपका लागि कतारलाई तयार पार्ने क्रममा हजारौं नेपालीको ज्यान गएको खुलासा गर्यो ।
कतारको चर्को घाममा काम गर्दागर्दै मरेका आफ्ना नागरिकको पर्वाह गरेन नेपालले । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था इक्वेडियम इन्टरनेशनलका दक्षिण एशिया निर्देशक रामेश्वर नेपाल भन्छन्, ‘नेपाल लेबर डिप्लोमेसीमा कमजोर देखियो ।’
‘इक्वेडियम’ले २४ कात्तिकमा प्रकाशित गरेको रिपोर्टले रंगशाला निर्माणमा खटिएका कामदारमाथि कतारमा चरम शोषण भएको देखाउँछ । ‘इक्वेडियम’ले सेप्टेम्बर २०२० देखि अक्टोबर २०२२ सम्म कतारका ८ रंगशालामा काम गर्ने श्रमिकसँग कुराकानी गरेर तयार पारेको अध्ययन प्रतिवेदनमा ५० डिग्री सेल्सियसभन्दा चर्को घाममा समेत काम गर्न लगाइएको छ । समयमा तलब नदिएको, कामबाट निकाल्ने धम्की दिएको विवरणमा उल्लेख छ ।
विश्वकपको फाइनल खेल खेलाइने लुसाली रंगशालामा काम गरेका अनिस अधिकारीले ‘इक्वेडियम’सँग भनेका छन्, ‘भनेको तलब दिएनन् । नेपालबाट एउटा काम भनेर लगे उता (कतार) पुगेपछि अर्कै काममा लगाए ।’ यस बाहेक समयमा खान नदिने, साँघुरो कोठामा धेरै मान्छे राख्ने गरिएको उनले सुनाएका छन् ।
कतिसम्म भने विश्वकपको पूर्वाधार बनाउने कामदारमाथि शोषण भएको थाहा पाएपछि अनुगमन गर्न पुगेको फिफा टोलीसँग कतारले कामदारलाई बोल्न समेत प्रतिबन्ध लगाएको थियो । अलतुमाम रंगशालामा काम गर्ने एकजना नेपाली ‘इक्वेडियम’सँग आफ्नो पीडा सुनाउँदै भन्छन्, ‘काम गर्दागर्दै थाकेर बसेपछि हाकिम आएर मेरो दुई दिनको तलब कटौती गर्ने र नेपाल पठाइदिने धम्की दियो ।’
कतारस्थित नेपाली दूतावासले गार्जियन पत्रिकालाई दिएको तथ्यांक अनुसार सन् २०११ देखि २०२० को दश वर्षमा १ हजार ६४१ नेपाली कामदारको मृत्यु भएको थियो । विश्वकपका लागि तयार पारिंदै गरेको ‘एजुकेशन सिटी’ रंगशालामा काम गर्न आइपुगेका घल सिंह राईले कतार आएको एक हप्तामै आत्महत्या गरेका थिए ।
कतार सरकारले आप्रवासी कामदारको मृत्युको विवरण लुकाउन प्राकृतिक र बिरामीका कारण मरेको भन्दै आएको छ । तर, एम्नेष्टी इन्टरनेशनल, ह्युमन राइट वाच र अन्तर्राष्ट्रिय श्रम संगठन जस्ता संस्थाले चर्को घाममा काम गर्न लगाएको, कामदारको शोषण गरेको, खान–बस्न र स्वास्थ्य उपचारको राम्रो व्यवस्था नगरेका कारण आप्रवासी कामदारको मृत्यु भएको बताउँदै आएका छन् ।
विश्वकपका लागि आवश्यक रंगशाला बनाउन मात्र कतारले ३० हजार कामदार माग गरेको थियो । यीमध्ये अधिकांश नेपाली, बंगलादेशी र भारतीय थिए । एम्नेष्टीले २०१६ मा प्रकाशित गरेको एक प्रतिवेदनमा खलिफा रंगशालामा काम गरिरहेका नेपाली मजदुरले ज्याला नपाएको गुनासो गरेका थिए । उनले भनेका थिए, ‘मेरो परिवार घरबारविहीन भएको छ, मेरा सन्तानलाई स्कूलबाट निकालिएको छ । यो टर्चरले म हरेक दिन तनावमा हुन्छु ।’
अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार आप्रवासी श्रमिकमाथि कतारले अमानवीय व्यवहार गर्यो । जसका कारण हजारौं कामदारको मृत्यु भयो । कामदारको मृत्युपछि क्षतिपूर्ति दिनबाट उम्किन कतारले प्राकृतिक र बिरामीका कारण मृत्यु भएको बताउने गरेको संगठनको भनाइ छ ।
संगठनको यो भनाइ पत्याउने आधार देखिन्छ । २०६८ देखि २०७९ सम्म प्राकृतिक र बिरामीका कारण भन्दै कतारमा ५८२ जना नेपाली कामदार मरेको तथ्यांक वैदेशिक रोजगार बोर्डसँग छ । बोर्डको तथ्यांक अनुसार २०६८ देखि २०७९ सम्म कतारमा १ हजार ८८३ जना नेपालीले ज्यान गुमाउनु पर्यो । ४०० भन्दा धेरै नेपाली अंगभंग भएका थिए ।

२०६८-६९ देखि २०७८-७९ सम्म कतारमा मृत्यु भएका १ हजार ८६५ नेपाली परिवारका सदस्यले वैदेशिक रोजगार बोर्डबाट क्षतिपूर्ति लिएका छन् । स्रोत ः वैदेशिक रोजगार बोर्ड
अन्तर्राष्ट्रिय श्रम संगठनले सन् २०१९ को अक्टोबरमा प्रकाशित गरेको रिपोर्टले चर्को घाममा काम गर्नुपर्दा कामदारको भित्री शरीरको ३८ डिग्री सेल्सियसम्म पुग्ने र हाइपर थर्मियाका कारण कामदारको मृत्यु हुने गरेको देखाएको थियो ।
अत्यधिक गर्मीमा कडा शारीरिक परिश्रममाथि थपिने मानसिक तनावले मुटुमा समस्या देखिने बताउँछन्, डा. अनुप सुवेदी । उनी भन्छन्, ‘चर्को घाममा लामो समय कडा श्रम गरेपछि शरीर नराम्रोसँग गल्छ । यसको असर मुटुमा पर्छ । गलेको शरीरमाथि मानसिक दबाव बढेपछि यसले मुटुमा असर गर्छ ।’
चर्को घाममा लामो समय काम गर्दा शरीरको तापक्रम बढेर मुटुको चाल रोकिएर भएका मृत्युलाई पनि कतारले प्राकृतिक मृत्यु भनेपछि ह्युमन राइट वाचले चर्को आपत्ति जनाएको थियो । कतारमा हुने कामदारको मृत्युको निष्पक्ष जाँच गर्नुपर्ने माग उसको छ ।
कतारले विश्वकप आयोजना गर्ने तय भएपछि कतार गएका र त्यहीं मृत्यु भएका नेपाली

वैदेशिक रोजगार बोर्डका अनुसार मृतक र अंगभंग हुनेको संख्या योभन्दा बढ्ता हुन सक्छ । ‘करार सम्झौता रहेकै अवधि र सम्झौता सकिएको एक वर्षभित्र विदेशमा मृत्यु भएर क्षतिपूर्तिका लागि निवेदन दिएकाहरूको तथ्यांक मात्रै हामीसँग हुन्छ’ बोर्डकी सूचना अधिकारी मैयाँ कँडेल भन्छिन्, ‘विदेशमा मरेका सबै कामदारका आफन्त हामीसम्म आइपुग्दैनन् ।’
क्षतिपूर्ति लिने र मृत्यु हुनेको तथ्यांक पनि फरक छ । ‘मृत्यु हुने जति सबैले क्षतिपूर्ति पाउँदैनन्’ कँडेल भन्छिन्, ‘त्यसैले यो तथ्यांक फरक परेको हो ।’ नेपालको अर्थतन्त्रको ठूलो हिस्सा ओगट्छ वैदेशिक रोजगारीबाट आएको आम्दानीले ।
नेपाल जीवनस्तर सर्वेक्षण, २०११ अनुसार घरपरिवारको कुल आम्दानीको १७ प्रतिशत रेमिट्यान्सले धानेको छ । यो सर्वेक्षण अनुसार नेपालका एक तिहाइ घर–परिवार रेमिट्यान्समा निर्भर छन् ।
मुलुकको अर्थतन्त्र धानेका हजारौं कामदारको विदेशमा अप्रत्यासित मृत्यु हुँदा पनि नेपाल सरकारले मौनता साध्यो । संसारभरका मानवअधिकारवादी संस्था र श्रमिकहरूको विषयमा चासो राख्नेहरूले चर्को आवाज उठाएपछि कतारले सन् २०१७ को अन्त्यतिरबाट आप्रवासी श्रमिकमाथि लागू गरिएका केही कानुन खुकुलो बनायो ।
गर्मीको समयमा दिउँसो खुला आकाशमुनि काम नगराउने, श्रमिकलाई बन्धक बनाउने ‘कफाला’ कानुन परिवर्तन गरेर सुधारको बाटो समात्यो कतारले । तर, यो सुधार हुँदासम्म कतारी चर्को घामले हजारौं नेपाली जीवन डढाइसकेको थियो ।
अत्यधिक गर्मीमा काम गरेका कारण मरेका कामदारको मृत्युलाई प्राकृतिक करार गर्दै कतार क्षतिपूर्ति तिर्नबाट भाग्न खोजेको आरोप लगाउँदै एम्नेष्टी इन्टरनेशनलले भनेको थियो, ‘यसो गर्नु श्रमिक अधिकारको उल्लंघन हो । यसले पीडित परिवारले पाउने कानुनी उपचार र क्षतिपूर्तिको बाटो पनि रोक्न खोजेको छ ।’ कतारी कानुन अनुसार प्राकृतिक कारणले श्रमिकको मृत्यु भएमा क्षतिपुर्ति दिनुपर्दैन ।
सन् २००५ मा नेपाल र कतारबीच श्रम सम्झौता भयो । त्यसयता नेपाली कामदारका लागि तुलनात्मक सुरक्षित गन्तव्य मानिने कतार विश्वकप आयोजक बन्ने तय भएसँगै कतारमा नेपाली कामदारको मृत्युदर पनि बढ्यो ।
कतारलगायतका अरब मुलुक र मलेसियामा नेपाली श्रमिकको मृत्युदर बढेपछि ती देशमा रहेका दूतावासमा एकजना स्वास्थ्यकर्मी राख्ने योजना बनाएको थियो सरकारले । २०७६ मा सरकारले विदेशमा रहेका नेपालीले समयमा स्वास्थ्योपचार नपाएको र उपचार पाइहालेमा पनि भाषाका कारण कठिनाइ भएको निष्कर्ष निकाल्दै यस्तो योजना बनाएको थियो । तर, यो योजना लागू भने भएन ।
सन् २०१७ को नोभेम्बरमा अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्झौता गरेर कतारले कामदारको अवस्थामा सुधार गर्ने वाचा गर्यो । तर, कतारले यो वाचा पूरा नगरेको अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूको आरोप छ । कतारले गर्मीमा काम नगराउने वाचा गरेको दुई वर्षपछि २ अक्टोबर २०१९ मा कतारको ‘एजुकेशन सिटी’ रंगशालामा कार्यरत २४ वर्षे नेपाली रूपचन्द्र रुम्बाको मृत्यु भएको ‘द गार्जियन’ पत्रिकाले लेखेको छ ।
आप्रवासी कामदारमाथि कतारले कतिसम्म ज्यादती गर्यो भने ज्याला नपाएपछि विरोधमा उत्रिएका ६० जना नेपाली कामदारलाई कतारले अगष्ट २०२२ मा देशनिकाला गर्यो । आफ्नो ज्यान नै दिएर कतारलाई विश्वकपका लागि सिंगार्ने अधिकांश नेपालीले यो विश्वकप सायदै हेर्नेछन् ।
वैदेशिक रोजगार मामिलाकी जानकार सरु जोशी भन्छिन्, ‘विदेशमा हाम्रा मान्छे मर्नु दुःखद हो । कतारले विश्वकपका लागि आवश्यक पूर्वाधार तयार पार्ने क्रममा मरेका आप्रवासी श्रमिकको मृत्युलाई प्राकृतिक र हृदयघात भनेर टार्ने काम गर्यो । कतारका लागि मान्छेको ज्यानभन्दा ठूलो कुरा विश्वकप भयो ।’
जोशी भन्छिन्, ‘हजारौंको संख्यामा आफ्ना नागरिक मरेपछि नेपालले खोजखबर गर्नुपथ्र्यो । किन मेरा नागरिक मरिरहेका छन् भनेर कतारलाई प्रश्न गर्नुपर्ने थियो, त्यो गरेन ।’
जोशीका भनाइमा कतारले निकै चलाखीपूर्वक आफूलाई जोगाउने प्रयास गरेको देखिन्छ । अधिकांश मृत्युलाई प्राकृतिक, बिरामी र हृदयघात भनेर कतार क्षतिपूर्ति दिनबाट पन्छियो । कतार जस्ता अरब मुलुकमा हुने ७० प्रतिशत कामदारको मृत्युलाई प्राकृतिक करार गर्ने गरिन्छ ।
 
                









 
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4