
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको राम्रो पकड मानिने प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर-६ मा यो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले नाटकीय जीत निकाले । बुधबार सार्वजनिक अन्तिम नतिजामा २०७० र ०७४ मा दोहोरो जित निकालेका कांग्रेसका भीमसेनदास प्रधानलाई तेस्रो स्थानमा खुम्च्याई दिएका खनालले निकटतम् प्रतिद्धन्द्वी एमालेका सर्वेन्द्र खनालसँग पनि ५ हजार हाराहारीको मतान्तरमा विजयी भए ।
अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका उनी नेपालमा सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्न अब्बल भूमिका निभाउने संस्था ‘टिच फर नेपाल’ का पूर्व प्रमुख कार्यकारी अधिकृत समेत हुन् । शिक्षा सुधार र सामाजिक सुधारमा नेपालमै अब्बल काम गरेका खनाल लो प्रोफाइलमा बस्न रुचाउने व्यक्ति हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हालसम्म निर्वाचित भएकामध्ये पार्टी सभापति रवि लामिछानेपछिको प्रभावशाली व्यक्तिको रुपमा खनाल चिनिन्छन् । उनै खनालसँग अनलाइनखबरले निर्वाचित भएलगत्तै गरेको संक्षिप्त कुराकानीको सम्पादीत अंश यहाँ प्रस्तुत गरेका छौं ।
विजयपछिको अनुभूति कस्तो छ ?
मलाई निर्वाचित गराउने मतदाताहरुप्रति अनुग्रहित छु । हामी पहिलो पटक आफ्नो व्यावसायिक ठाउँबाट राजनीतिमा होमिदा पनि परिवर्तनको आशा र भरोसा गरेर जिताउनु भयो अत्यन्तै गम्भिर र नयाँ जिम्मेवारी थपिएको महसुस गरेको छु । मतदाताहरुको टोल-छिमेक र घरमै पुगेर समस्या बुझ्ने र त्यसलाई संसदमा पुर्याउने काम गर्छु भन्नेमा विश्वस्त छु ।
मत माग्न जनताको घर दैलोमा पुग्दा उहाँहरुले कस्तो अपेक्षा राख्नुहुन्थ्यो ?
मत माग्दै निर्वाचन क्षेत्र घुम्दा जनताहरुमा दुईथरी अपेक्षाहरु थिए । पहिलो स्थानीय तहमा सरकारी सेवा चुस्त दुरुस्त हुनुपर्यो । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार राम्रो होस् भन्ने उहाँहरुको चाहना देखिन्थ्यो । दोस्रो राष्ट्रिय स्तरमा देशको भ्रष्टाचार नियन्त्रण होस्, राष्ट्रियता बलियो होस् र यसका लागि आवश्यक ऐन र कानुनहरु बनाइदियोस् भन्ने माग हुन्थ्यो ।
आफूले मत दिएका जनप्रतिनिधि जनताका समस्या सुन्न आफ्नो दैलोमा आइदिउन् भन्ने चाहना जनतामा रहेछ । आफ्नो समस्या सुनाउने चौतारी भइदिए हुन्थ्यो भन्ने चाहना उहाँहरुको थियो ।
प्रभावशाली भनिएका उम्मेदवारलाई पन्छाएर निर्वाचित हुन कसरी सम्भव भयो ?
स्वभाविक रुपमा यो कुनै विजयी नभई मलाई प्राप्त नयाँ जिम्मेवारी हो । मलाई मतदान गर्ने मतदाताहरु स्वतन्त्र पार्टीको संगठन र पार्टीको नभई परम्परागत पार्टी कै हुनुहुन्छ । मेरो क्षेत्रका मतदाताहरुले हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीलाई भरोसा र विश्वास गरेर यो मत दिनुभएको हो ।
हामीले उहाँहरुको विश्वासलाई कायम राख्नेगरी काम गर्नुपर्छ । यो मतदानमा अर्को के पनि देखिन्छ भने हामीले उहाँहरुको भरोसालाई कायम राख्नेगरी काम गर्यौं भने यो अझै बढ्ने छ । तर, यो भन्दै गर्दा जनमतले काठमाडौं-६ देखि देशैभरि हामीले गरेर देखाउनु पर्ने चुनौती र जिम्मेवारी थपिएको छ ।
अब पनि मतदाताको घरदैलोमा पुग्ने योजना छ कि ?
निर्वाचनका बेला जोडिएका साथीहरुले मत दिने मतदाताकोमा पुग्न केही न केही गरौं भन्नु भएको छ । यसका लागि हामी शुभेच्छृुक मतदाताको घरमा धन्यवाद भन्न पुग्छौं । त्यसपछि हरेक टोल-वडा भेलाहरु मार्फत मतदाता र शुभेच्छुकलाई धन्यवादसहित उहाँहरुको मागबारे जानकारी लिन्छौं ।
चुनावी अभियानमा तपाईं मोटरसाइकलमा टोलटोलमा मत माग्दै हिंड्नु भएको भन्ने सुनियो । त्यसोभए युवा परिचालन, भोज-भतेर र ठूला र्याली जस्ता कार्यमा खर्चै नगरे पनि चुनाव जित्न सकिन्छ भन्ने हो ?
म लामो समयदेखि समुदायसँग जोडिएर काम गरेको मान्छे हुँ । हामीले एक महिना अघि गरेको अध्ययनले पनि यो जित निकाल्न सम्भव छ भन्ने देखिएको थियो । हामी सानो समूहमा मतदाताको टोलमा पुग्न मेहनत गरेका थियौं । तर, यहाँ ठूलो डर के देखाइन्थ्यो भने चुनाव जित्नका लागि यति पैसा खर्च गर्नु पर्छ । मान्छेलाई खुवाउनु पर्छ । मान्छेसँग मत किन्नु नै पर्छ भनिन्थ्यो । तर मैले स्पष्ट भन्ने गरेको थिएँ । मतदान हो र यो आफैंमा दान गर्ने कुरा हो । मत किन्ने र बिक्री गर्ने वस्तु होइन भन्नेमा म स्पष्ट थिएँ र भनेको पनि थिएँ । सबैसँग मैले मतदान गर्नुस् भनेको थिएँ ।
उसोभए निर्वाचनमा खर्च गर्नैपर्छ भन्ने परम्परालाई तोड्न सघाएको छ हो ?
अवश्य पनि, काठमाडौं-६ सहित देशैभरको यस पटकको चुनावी ट्रेन्ड हेर्दा पनि अब निर्वाचनमा खर्च गर्ने परम्परा फेरिएको छ । यो भनेको नेपालको राजनीतिक चुनावी प्रक्रियामा काँचुली फेर्न खोजेको हो । यसले नेपाली राजनीतिलाई नयाँ शुभ संकेत पनि दिएको छ ।
प्रतिक्रिया 4