+
+
अन्तर्वार्ता :

पहिला संसदीय दलको नेता चयन, अनि सरकार गठन : गगन थापा

संसदीय दलको निर्वाचन नभइकन कांग्रेसले कोसँग समीकरण गर्ने भन्न सक्दैन । त्यस्तो निर्णय गर्न त पहिला संसदीय दलको नेता छानिनुपर्‍यो नि । संसदीय दलको नेता छान्न कांग्रेसले निर्वाचन गर्दै आएको पनि छ । यसपटक पनि हुन्छ । त्यसपछि अरु कुराहरु हुने हो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते २०:२७

९ मंसिर, काठमाडौं । काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यसपटकको चुनावमा आफू प्रधानमन्त्री बन्ने एजेण्डा उठाए ।

चुनावी कार्यक्रमहरुमा उनले चुनाव जितेपछि आफूले कांग्रेस संसदीय दलको नेताको चुनाव लड्ने, जित्ने र त्यसपछि कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गर्ने बताए । चुनावी नतिजा सत्तारुढ गठबन्धनले सोचेअनुसार नआएको सन्दर्भमा थापा भने मतदाताको विद्रोह शीर्ष नेताहरुले बुझ्नुपर्ने बताउँछन् ।

थापासँग चुनावको नतिजा र उनको योजनालगायतका विषयमा अनलाइनखबरका लागि राजकुमार श्रेष्ठलिलु डुम्रेले गरेको कुराकानीको सम्पादित अंश :

यो निर्वाचनमा शहरी क्षेत्रमा सबैतिर चर्कोगरी घण्टी बज्दा तपाईंको क्षेत्रमा प्रत्यक्षमा त घण्टी नै सुनिएन नि ?

काठमाडौं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका र अरु पनि केही स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिनुभयो । पहिले मसँग चुनाव लडिसक्नुभएका सन्तोष प्रधानले मलाई सहयोग गर्ने गरी नाम फिर्ता लिनुभयो । उम्मेदवारी दर्ता समेत गरेका थुप्रैले फिर्ता लिनुभयो । उहाँहरुले उम्मेदवारी फिर्ता गर्दा मलाई सहज हुने नै भयो ।

घण्टीसँग मिलेर आफू जित्ने तर आप्mनो पक्षका अरुलाई सहयोग नगरेको आरोप छ नि ?

त्यसो भन्दा मेरो निर्वाचन क्षेत्रका मतदाताको अपमान हुन्छ । गठबन्धनमा रहेका दलका साथीहरुको इमान्दारीमाथि पनि प्रश्न हुन्छ । मेरो क्षेत्रमा कांग्रेसका साथीहरुले जति नै मिहिनेत माओवादी केन्द्र र एकीकृत समाजवादीका साथीहरुले गर्नुभयो । उहाँहरुको एक–एक मत पाएको मेरो बुझाइ छ ।

काठमाडौं ४ मा कांग्रेस समानुपातिकमा पहिलो दल बनेको छ । प्रदेशमा कांग्रेसको उम्मेदवार भएको ठाउँमा जित्यौं, एकीकृत समाजवादीको उम्मेदवार भएकोमा हार्‍यौं ।

काठमाडौं ४ का मतदाताले यसपटक पनि जिताएर पठाउनुहुन्छ भन्नेमा म ढुक्क थिएँ । यसपटक मलाई सांसद होइन, प्रधानमन्त्रीको उम्मेदवार बनाएर पठाउनुभएको हो । संस्थापनसँग विद्रोह गरेर नयाँ परिणाम निकाल्न पठाउनुभएको हो ।
बडा सचेत मतदाताको क्षेत्र हो, काठमाडौं ४ । यहाँको जनसंख्या, मतदाताको मनोविज्ञान र यसपटकको निर्वाचनबारे नबुझ्नेले त्यस्तो कुरा गरेका हुन सक्छन् । जसले बुझ्नुभएको छ, उहाँहरुले यस्तो कुरा भन्नुहुन्न ।

शहरी मतदाताले यसपटक विद्रोहको मत दिए । काठमाडौं ४, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतको क्षेत्रमा स्थानीय चुनावको गणित कांग्रेसको पक्षमा थिएन, तर यो निर्वाचनमा हामीले जित्यौं । यो पनि एक प्रकारको विद्रोहको अभिव्यक्ति हो ।

परिवर्तन खोजेका मतदाताको आशा अनुसारको उम्मेदवारी दिएको ठाउँमा जित्न सकिने रहेछ भन्न खोज्नुभएको हो ?

हो । यसलाई अलिकति पछाडि फर्केर हेर्न सकिन्छ । काठमाडौं महानगरको निर्वाचनमा युवा त्यसमा पनि सफल युवालाई उम्मेदवार बनाऔं भन्ने मेरो प्रस्ताव थियो । त्यो प्रस्ताव सुनेर मानिदिएको भए अहिलेको राजनीतिक परिदृष्य फरक हुने थियो । तल के भइरहेको छ, हामीले बुझिरहेका थियौं, तर नेताहरुले पटक्कै बुझ्नुभएन ।

तलको अवस्था बुझेरै मैले त डा. स्वर्णिम वाग्लेलाई उठाउन भनेको थिएँ । संघ, प्रदेश र समानुपातिकमा पनि त्यस्ता नयाँ नामहरु प्रस्ताव गरेको थिएँ । पार्टी ‘रिफ्रेस’ भएको सन्देश दिन नसक्दा मतदाता आकर्षित हुँदैनन् भन्ने कुरामा म एकदमै सचेत थिएँ ।

नेपाली कांग्रेसको सांसद को हुने रहेछ त ? नागरिकले नियाल्छन् नि । समानुपातिकको सूची हेर्दा मतदाताको मन मर्ने, प्रत्यक्षतर्फको उम्मेदवारले आकर्षित गर्न नसक्ने हो भने त समस्यामा परिन्छ नि । तर, नेतृत्वलाई यो विषय बुझाउन सकिएन ।

खासगरी शहरका मतदाता कांग्रेसले सदस्यता लिएर कांग्रेस भएका होइनन् । उसले आफूलाई चिनाउँदा नै ‘डेमोक्र्याट’ भन्छ । ती मतदाता कांग्रेसी र कांग्रेसजन हुन् । यो भनेको ‘लिबरल भ्यालु’मा विश्वास गर्नेहरु हुन् ।

हामीसँग यस्ता ३०–३२ लाख मतदाता छन् । हामीविरुद्ध अरु पार्टीहरु मिल्छन् कि भन्ने सधैंको डर हटाउन ५–६ लाख नयाँ मतदाता थप्नुपर्छ । त्यसका लागि नयाँसहित कांग्रेसलाई भोट दिन छोडेका र एमालेमा हाल्दै आएकालाई फर्काउन प¥यो । यी मतदाता फर्काउन सकिन्छ । त्यसका लागि नयाँ प्रधानमन्त्री दिन्छौं, नयाँपन दिन्छौं भन्नुपर्छ । यही कोशिस गरेको हो, यसमा पार्टीलाई पुर्‍याउन सकिन । यसलाई सम्हाल्न सकिन्थ्यो, तर चुक्यौं ।

पार्टीको जिम्मेवार पदमा बसेकाले प्रश्न त तपाईंतिर पनि आउँछ–किन गर्न नसकेको त ?

त्यसैले त हामीले सम्हाल्न सकेनौं भनिरहेको छु । राम्रा व्यक्तिलाई– जस्तो, डा. स्वर्णिम वाग्लेलाई ल्याउन म अन्यत्र जान तयार भएको थिएँ । प्रयत्न नै नगरेको र गरेर नसकेको दुई फरक कुरा हो । म र विश्वप्रकाश शर्माले प्रयत्न गरेर नसकेको हो । पार्टीभित्रको संरचनामा हाम्रो संख्याले पुगेन ।

स्थानीय तहको निर्वाचनको बेलाबाटै यस्तो अवस्था आउनसक्छ है भनेर सबै कुरा गरेको हो, तर प्रयत्न गर्दागर्दै पनि सकिएन ।

निर्वाचन परिणाम भटाभट आइरहेको छ । अब पाठ सिक्न मात्रै बाँकी रह्यो । मूल नेतृत्वले पाठ सिकेकोे, अब चाहिं ढिलो हुन लाग्यो है भनि महसुस गरेको पाउनुभएको छ ?

पार्टीभित्र रुपान्तरण खोज्ने साथी धेरै हुनुहुन्छ । पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना देखिँदा रुपान्तरणको खाँचो छ । सरकार चलाउने विषयमा बिल्कुल नयाँपन दिन सकेनौं भने हाम्रो पार्टीका लागि थप संकट आउनसक्छ ।

यो बीचमा नेताहरुसँग कुरा गर्न पाएको छैन । जति साथीहरुसँग कुरा भयो, सबैको मनमा यो कुरा उठिरहेको छ । सबैले नयाँ तरिकाले जानुप¥यो भनिरहनुभएको छ । पार्टीभित्रको परम्परागत गुटबन्दी भत्काउन प¥यो, नयाँ तरिकाले ‘ड्राइभ’ गर्नुपर्‍यो भन्ने छ ।

शीर्ष नेताहरु बसेर निर्णय गर्ने चलन देखिन्छ । फेरि पनि त्यही होला नि ?

निर्वाचनको सबै परिणाम आइसकेपछि संसदीय दलको चुनाव गर्छौं । जो संसदीय दलको नेता चुनिन्छ, कुन पार्टीसँग कसरी अघि बढ्ने भन्ने निर्णय उसैले गर्छ ।

तालमेल गरेर निर्वाचनमा गएकाले गठबन्धन सरकार बन्ने अवस्था छ । गठबन्धनको कुनै दलले कांग्रेसबाट फलानो प्रधानमन्त्री बन्नुपर्छ भन्न पाउने कुरा भएन । कसैले भने पनि मान्ने कुरा भएन ।

संसदीय दलको नेता चुन्नुअघि कसको नेतृत्वमा सरकार बनाउने भनेर छलफल नै हुँदैन त ?

हो । संसदीय दलको निर्वाचन नभइकन कांग्रेसले कोसँग समीकरण गर्ने भन्न सक्दैन । त्यस्तो निर्णय गर्न त पहिला संसदीय दलको नेता छानिनुपर्‍यो नि । संसदीय दलको नेता छान्न कांग्रेसले निर्वाचन गर्दै आएको पनि छ । यसपटक पनि हुन्छ । त्यसपछि अरु कुराहरु हुने हो ।

संसदीय दलको नेता चुन्ने काम अनिवार्य नै हुन्छ ?

यसमा अरु विकल्प छैन ।

प्रधानमन्त्रीमा दाबी गर्ने धेरै देखिनुभएको छ । तपाईंले त यसैलाई चुनावी एजेण्डा बनाउनुभयो । आकांक्षीहरुबीच यसबारे कुराकानी हुन पाएको छ ?

पार्टी सभापति र वरिष्ठ नेता दुवै जना हाम्रो अभिभावक हो । अब अभिभावकहरुले घरको बारेमा चिन्ता गर्ने बेला आयो ।

उहाँहरुले समानुपातिकमा कांग्रेसको घट्दो मत, यथास्थितिविरुद्ध मतदाताले गर्न थालेको विद्रोह, नयाँ पार्टीहरुको उदय आदि सबै कुरा विचार गरेर सम्मानित स्थानमा बस्ने हो अब । उहाँहरुलाई भेटेर औपचारिक अनुरोध नै गर्छौं । त्यसअनुसार भएन भने बिद्रोहको बाटो छदैछ ।

अघिल्लो पटक संसदीय दलको निर्वाचनमा म प्रकाशमान सिंहको मतदाता हुँ । २०७४ को निर्वाचनपछि संसदीय दलको नेतामा मैले उहाँलाई मत दिएको हो, जुन हिजोको छनोट थियो । आज कांग्रेसभित्रको र काठमाडौंको पनि मतदाताको मनोविज्ञान उहाँले बुझ्नुभएको छ ।

त्योबेला म उहाँको समूहमा थिइन । म रहेको समूहका सबै साथीले पार्टी सभापतिलाई मत हाल्नुभएको हो । तर, मैले सही निर्णय यो हुन्छ भनेर प्रकाशमान सिंहलाई मत दिएँ । यसपटक म उहाँबाट त्यस्तै सही निर्णयको अपेक्षा गर्छु ।

डा. शेखर कोइरालासँग त स्वभाविक अपेक्षा रहने नै भयो । उहाँले यो समूह बनाएको बेलामै म एक पटक लड्ने हो ।

तपाईहरु सबैलाई अभिभावकत्व दिन्छु, युवालाई अगाडी बढाउँछु भन्नुभएकै हो । उहाँमाथि हामी सबैको भरोसा छ । हामीलाई सबै हिसाबले पे्ररित गर्ने, अगाडि बढाउने उहाँको भूमिका रहन्छ भन्ने स्वभाविक अपेक्षा छ ।

अहिलेलाई असम्भव जस्तो लागेको कुरा, शेरबहादुर देउवा, रामचन्द्र पौडेलजस्ता नेताले हामी अभिभावक बन्दैनौं भन्न, प्रकाशमान सिंह लगायत नेताले यसरी हुँदैन भनेर बाटो बन्द गर्न खोज्ने भन्ने कुरा छैन । अपेक्षा विपरीत नै भएछ भने पनि जो–जो नेताले नयाँ बाटोमा लाग्न प्रेरित गर्नुहुन्छ, उहाँहरुको आशिर्वाद लिदै अगाडि बढ्ने हो । मेरो त अब ब्याक गेयर नै छैन ।

तपाईंमाथि आफूलाई मात्र सेन्टरमा राख्ने, पार्टीभित्र कुरै नगरी बाहिर प्रसार गर्ने, आफैं प्रधानमन्त्रीको रुपमा प्रस्तुत भएर सबैलाई त्यसमा लतार्ने गरेको भन्ने प्रश्न पनि उठिरहेको छ नि, हैन ?

मैले पहिलो पटक महामन्त्री लड्ने बेलामै समकालीन साथीहरुलाई सोधेको थिए– तपाईहरु कोही महामन्त्री बन्न चाहनुहुन्छ भने म सहयोग गर्न तयार छु । कोही तयार नभएपछि मैदानमा उत्रने जोखिम मैले मोलेको हुँ । मेरो लागि मात्र होइन, कांग्रेस पार्टीको लागि त्यो जोखिम उठाउन आवश्यक थियो । त्यो कुरा साथीहरुले बिर्सनुभएको छैन ।

कांग्रेस पार्टीले अब नयाँ लिडरसीप दिन सक्छ है भन्ने आभास खासगरी नयाँ मतदाता र कांग्रेस नेतृत्वसंग रुष्ट मतदाताबीचमा पु¥याउनुपर्ने थियो । यो सम्भावना छ है भन्ने भान नभएको भए हाम्रो पार्टीलाई अझ बढी क्षति पुग्थ्यो । मैले जोखिम उठाएर पार्टीलाई हुने क्षति कम गरेको हो । यो पाटो साथीहरुले बिर्सनु भएन ।

आजको दिनमा मूलधारको राजनीतिक दलहरुमध्ये नेपाली कांग्रेस नयाँ नेतृत्व दिनसक्ने अवस्थामा छ । नेकपा एमालेमा यो खालको बहस नै छैन । माओवादी केन्द्र र एकीकृत समाजवादीमा पनि छैन । कांग्रेसभित्र त यो एउटा आकर्षण तयार भयो नि । म, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले व्यक्तिगत रुपमा उठाएको जोखिमको परिणाम हो यो ।

भनेपछि, नेतृत्वको लागि सहमति लिने, नभए चुनाव लड्न तयार हो ?

पहिलो प्राथमिकता निसन्देह रुपमा पार्टीका सबै नेताको सहमति, साथ र आशिर्वाद नै हो । त्यो खालको स्थिति नबने प्रतिस्पर्धामा जाने हो ।

अस्तिको पार्टी महाधिवेशनमा समीकरणले गर्दा अहिले को साथी कहाँ उभिनुभएको भन्ने हेरिरहेका छौं । निर्वाचन अगाडि र पछाडिको अवस्था पनि बदलिसक्यो । महाधिवेशनबाट निर्वाचित भएर आएका सबै साथीले देशभित्रको राजनीतिक उथलपुथल र नयाँ संकेतहरु हेरिहनुभएकै छ ।

यो संसदबाट कस्तो सरकार बनाउने, नयाँ सरकारले कस्तो काम गर्ने, डेलिभरि के हुने ? हामीले सरकार बनायौं, तर अहिलेजस्तै डेलिभरि गरेनौं भने के होला ? यी प्रश्नहरुको उत्तर पनि खोजी रहनुभएकै होला ।

अहिले ७ प्रदेशमध्ये ६ वटामा हाम्रो सरकार छ । अझ गठबन्धनको हिसाबले सातै वटामा छ । अनि केन्द्रमा पनि हाम्रै गठबन्धन सरकार भएकाले अहिलेको निर्वाचनमा ‘क्लिनस्वीप’ गर्नुपर्ने हो, तर यत्रो ठूलो मतदाताले विद्रोहको भाषा बोले ।

किन यो छटपट्टी ? हामीले यो कुरा बुझेर तदनुरुप गर्नुप¥यो । हैन, हालको जस्तै ढंग, गति, मति भयो भने मतदाताको आक्रोश झन् संगठित हुँदै जान्छ । निर्वाचित भएर आउनुभएका साथीहरुले यो कुरा राम्रोसँग बुझ्नुभएको छ भन्ने ठान्छु ।

मत परिणामको ट्रेण्डले कांग्रेस ठूलो होइन, ठिक्कको पार्टी हुने देखाइरहेको छ । तपाईं नै संसदीय दलको नेता हुनुभयो भने सरकार बनाउन कोही न कोहीको साथ लिनुपर्ला । त्यसमा हालको गठबन्धन नै हुन्छ कि अन्य दलको पनि साथ लिनुहुन्छ ?

हामी गठबन्धनबाटै निर्वाचन लडेर पाँच बर्षको स्थिर सरकार दिन्छौं भन्दै निर्वाचनको मैदानमा गएका हौं । गठबन्धनका दलहरुले सरकार बनाउने गरी बहुमत पुर्याउन सक्छन् भन्ने अहिलेको अपेक्षा हो । त्यो अवस्था नभए अरु विकल्पहरु खुला हुने भए ।

यही गठबन्धन र आलोपालो नेतृत्व रहने अवस्था भयो भने के हुन्छ ?

आफू बाँच्नको निम्ति, आफ्नो भित्रको हिसाब मिलाउन आलोपालो वा फलानोको नेतृत्व भन्नेतिर लाग्यौं भने हामी डुब्छौं । नडुब्ने काम गर्नको लागि नेपाली कांग्रेसको नेतृत्व नबदलीकन अन्य दलसँग संवाद गर्ने ठाउँमा पुग्दैनौं । नयाँ लिडरसिप भएपछि बल्ल हामी पाँच वर्षको सरकार निर्माणमा अग्रसर हुनसक्छौं ।

हामीले सरकार चलाउने भनेको कसले कुन मन्त्रालय पाउने भन्न होइन, पाँच वर्षभित्र के–के परिणाम, कसरी दिने भन्ने हो । त्यो तय भएपछि बल्ल शक्ति बाँडफाँटको कुरा आउँछ । मैले यो नयाँ कुरा भनेको होइन ।

म निर्वाचनमा तालमेलको पक्षमा थिइनँ । एक्लाएक्लै लड्नुपर्छ भनेर सक्दो कोशिस गर्दा नसकेपछि अन्तिममा पार्टीले भनेको मानेको हुँ । पार्टीले भनेको मान्दै गर्दा पनि पहिला सिट बाँडफाँट होइन, पाँच वर्ष स्थिर सरकारले दिने के हो छलफल गरेर एजेन्डा टुग्याउँ र त्यो लिएर मतदाताकहाँ जाउँ भनेको सम्झन्छु ।

पाँच वर्ष सरकार चलाउँदा यो–यो काम गर्छौं भनेर मतदाताकहाँ गएको भए हाम्रो पक्षमा भिन्न माहोल बन्थ्यो होला । अहिले सरकार बनाउने सन्दर्भमा पनि म त्यही भन्दैछु । पछिल्लो पटक जर्मनीमा सरकार बन्न दुई–तीन महिना ढिला भयो– संख्यामा नमिलेर होइन, एजेन्डा नमिलेर । बजेट कस्तो हुने, शिक्षामा के गर्ने, स्वास्थ्यमा के गर्ने भन्ने कुराले सरकार निर्माण नै रोकियो । हामीकहाँ पनि पहिला यसमा छलफल गरौं न । त्यसरी अगाडि बढ्दा सरकारको नेतृत्वमा आलोपालो गर्नुपरे पनि के आपत्ति भयो र !

हामी एजेण्डा तय गर्ने छलफललाई वाहियात मान्छौं । यस्तो कुरालाई वाहियात मान्दै गर्दा नागरिकले हामीलाई नै वाहियात मान्ने बेला हुन थाल्यो अब ।

सरकार बनाउने कुरामा गठबन्धनको बैठक भयो रे, पाँच वर्षमा स्वास्थ्यको क्षेत्रलाई पूर्ण निशुल्क बनाउनेबारे व्यापक छलफल भयो रे, एउटाले सकिन्छ अर्कोले सकिन्न भन्यो रे भन्ने समाचार आयो भने नागरिकलाई पनि अहो भन्ने लाग्ला नि त । त्यो स्थिति नै बन्न दिइरहेका छैनौं हामी ।

त्यसकारण म कांग्रेस संसदीय दलको नेतृत्व लिन चाहन्छु । त्यो लिइसकेपछि गठबन्धनका अरु दलहरुसँग सबैभन्दा पहिला एजेन्डा क्लियर गर्ने हो । अनि बल्ल अगाडि बढ्न सकिन्छ ।

त्यसकारण हामी त ‘प्रोजेक्ट गभर्न्मेन्ट’को तयारी गरेर बसेका छौं । शिक्षा, स्वास्थ्यमा के गर्ने, भौतिक पूर्वाधारमा कसरी अगाडि बढ्ने, कर प्रणाली कस्तो हुने, प्रहरीमा कसरी सुधार गर्ने भन्ने लगायत बिषयमा पाँच महिना काम गरेका छौं ।

हामीसँग आउने पार्टीले अर्थ मन्त्रालय लिँदा भयो, गृह लिँदा भयो, तर ‘प्रोजेक्ट गभर्न्मेन्ट’को बुँदा कार्यान्वयन गर्ने शर्त हुन्छ । यी विषयमा कुरै नगर्ने अनि सरकार मात्र बनाएर के अर्थ हुन्छ ? सरकार त अहिले पनि छ नि । मान्छेहरु सरकारसँग खुशी हुनुपर्ने, तर भएनन् नि ।

परराष्ट्र नीति के हुने, आन्तरिक नीति के हुने, स्वास्थ्य, शिक्षा, अर्थतन्त्रमा के गर्ने भन्नेबारे न्यूनतम साझा कार्यक्रम बनाएपछि मात्र सिट बाँडफाँट गर्ने भन्ने सुनिएको थियो, तर त्यो त्यसै हरायो । यस्तो अवस्थामा अहिले तपार्इंले भनेको कुरा कसरी पार लाग्ला ?

मैले उठाएको कुरामा पार्टी आएको छ, तर ढिलो गरेर । त्यसले गर्दा हामीलाई क्षति भएको छ । हाम्रो पार्टी सञ्चालन तरिका, छलफल गर्ने तरिका, बैठकहरुमा हुने कुरा, कार्यसूची लगायत सबै विषयले आम जनतालाई कति क्रुद्ध बनाइरहेको छ भन्ने बुझेर म यसो भनिरहेको छु । मैले भनेको कुरा सुनिएन भने सुन्ने बनाउने हो । नसुनि धरै छैन ।

अहिले उदाएका पार्टीहरुले पनि हामी नयाँ नेतृत्व हौं, यथास्थिति मान्दैनौं, हामीलाई त्यो जनादेश छ भनिरहेका छन् । तपाईं पनि अब यथास्थितिमा देश चल्दैन भनिरहनुभएको छ । सहकार्यका लागि कुनै किसिमको संवाद पनि भएको छ ?

हालसम्म छैन, तर संसदमा आउँदै गरेको नयाँ शक्तिसंग सम्वादको सम्भावना त त्यसै पनि हुने भयो । हामीले एजेन्डाको आधारमा सबैसँग कुराकानी गर्ने भनिरहेकै बेला नयाँ आएकाले पनि एजेन्डामा कुरा गर्छौं भनेमा झन् बढी छलफलको बाटो खुल्ने भयो ।

म चाहन्छु, बरु दुई–तीन महिना सरकार नबनोस्, देशलाई अगाडि बढाउने एजेण्डामा घम्साघम्सी होस् । अनि बल्ल सरकारले ढंगले काम गर्ला । मेरो अपेक्षा यही छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?