+
+
प्रशंगवस :

कालिञ्चोकको टाँकुरासँग श्रीअन्तुको मितेरी

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७९ मंसिर १० गते १५:१९

पानीको छाल जस्तै लाग्छ मलाई, मान्छेको लहड । हेर्दा भयङ्कर, अत्यासलाग्दो, भावमा असाध्य सुन्दर ।

पानीको छालबाट जोगिएर त्यसलाई सुक्ष्म तरिकाले नियाल्नुस त, त्यसभित्रको सप्तरङ्गी घेरोले मनलाई कतिधेरै फुरुङ्ग बनाउँछ । पानीको त्यो छाललाई नियाली रहँदा आफुभित्रको सबै पीडाहरुलाई भुल्न सक्छौं । शान्त समुन्द्रको त्यो छाल पुथ्वीमा कोरिएको सुन्दरताको एउटा मोहक चित्र भइदिएको छ ।

अनि मानिसको लहड ! सारमा यसलाई हेर्दा यो त साच्चै निक्कै भयाङ्कर छ । यसले परिवारमा विखण्डन ल्याउन सक्छ, मानिसलाई निक्कै विक्षिप्त बनाउन सक्छ । तर यो मानिसको निक्कै सुन्दर स्वभाव पनि हो । त्यो लहडलाई एउटा उदेश्य, सपना र प्राप्तिसँग जोडेर शान्त समुन्द्रमा उर्लिएको छाल जस्तै उँचाई दिन सकियो भने ।

दोलखा कालिञ्चोक गाँउपालिकाको एउटा युवालाई नियाली रहेको छु मैले । अभिनय कार्की, उमेर त्यस्तै २२-२३ बर्ष ।

बिभिन्न सामाजिक सञ्जालहरुमा गाउँका वेथिति, विकृतिहरुलाई निक्कै खरो ढङ्गले उठाई रहेका हुन्थे । रेडियो तिर पनि बोल्ने रहर गरे क्यार । मलाई लाग्यो यी युवा निक्कै लहडी छन् ।

देशलाई एक फन्को

एक दिन त्यहि युवा कापीका केही पाना अक्षरको योजनाले भरेर पत्रकारहरुसँग ठोक्किन आईपुगे । मेची-महाकाली पैदल यात्रा गर्ने योजना थियो त्यो । हामी मध्ये धेरैले मनमनै उडायौं होला उसलाई । तर मुखै खोलेर हुँदैन भनेनौं । सकेसम्म सबै साथीले साथ दिने वचन दियौं ।

मैले केही साथीलाई भने पनि-अभिनयको योजना कठिन लाग्छ, तर यो केटो लहडी छ, गर्न सक्छ । पत्रकार जीवन, गोकर्णहरुले सक्दो सहयोग गरे । नभन्दै अभिनयले मेची-महाकाली पैदल यात्रा पुरा गरेरै छाड्यो । अभिनय यतिमै रोकिएनन् । उनको लहडी स्वभावले उदेश्यको एउटा आकार ग्रहण गरिसकेको थियो । अर्को पटक दुरुस्त पहिलेकै कापीका थप पानाहरुमा त्यसैगरी अक्षरका योजना भरेर पत्रकारहरुसँग ठोक्किन आइपुगे ।

यो पटक उदेश्य केहि बृहत थियो, योजना थप कठिन थियो । तर ठीटा लहडी छँदै थियो । हामीले हुन्न भनेकै भएपनि डेक चल्नेवाला थिएन । एक सय दिनमा देशको ७७ जिल्ला सदरमुकाम साईकल यात्राबाट तय गर्ने योजना रहेछ । हामीले यो पटक पनि उसैगरी उनको त्यो योजनालाई हार्दिकतासाथ सदर गरिदियौं ।

एक सय दिनमा थप केही दिन तलमाथि भयो होला तर ७७ जिल्ला सदरमुकाम साईकल यात्राबाट तय गर्ने त्यो कठिन सपना पनि पुरा गरे अभिनयले । सदरमुकाम चरिकोटमा भेट हुँदा अभिनयले सुनाए, ‘साईकल यात्रा कठिन थियो, तर रोमाञ्चक र ज्ञानवर्द्धक ।’

परिस्थितिबाटै प्रेरणा

यात्राको क्रममा धेरै ठाँउमा राष्ट्रसेवक, समाजसेवी, सञ्चारकर्मी सहयोग गरेको सुखद खबर पनि सुनाए । केहि जिल्लामा भने राष्ट्रसेवकको व्यवहार सोचेजस्तो राम्रो नलागेको गुनासो पनि सुनाए । तर, स्थानीयको सहयोग, साथ, माया र उत्साह आफ्नो जीवनको अमूल्य सम्पत्ति बनेर उर्जा दिईरहेको अभिनयको कथन थियो ।

साच्चै जो वास्तवमै जनता छन् उनीहरु त सधै सहयोगी र मायालुनै हुन्छन् नि ! अभिनयको यात्रामा दिएको साथमात्र हैन देशको हरेक गाँउ-घरका जनताले कसलाई कुन कुरामा बिझाएका छन् र । ठालु पल्टने त केही कथित नेता, धनाढ्य र सहरियाहरु मात्र हुन्छन् ।

अनेक थरीका यात्राहरुलाई एउटै धागोमा उन्न र सयपत्री मालाजस्तै सुन्दर बनाउन अभिनयले नारा बनाएका छन्- ‘परिस्थितिबाटै प्रेरणा’ अभियान ।

नारा स्वभाविक र सत्य छ । हो त मानिसले हरेक परिस्थितिमै एउटा परिवेश प्राप्त गर्छ अनि त्यहि परिस्थितिले परिवेश अनुसारको प्रेरणा दिन्छ । मेची- महाकाली पैदल यात्रामा एउटा परिस्थिति थियो । यात्राको क्रममा धेरै कुरा देखे, धेरै कुरा भोगे, एउटा परिवेश बन्यो र एउटा प्रेरणा प्राप्त गरे ।

७७ जिल्लाको एक सय दिने साईकल यात्राले एउटा परिस्थिति बनायो । यात्राको क्रममा लागुपर्दाथ दूर्व्यसनी विरुद्ध युवा- विद्यार्थीसंग छलफल गरे, बहस गरे र एउटा परिवेश खडा गरे, अनि त्यहीँबाट एउटा प्रेरणा प्राप्त गरे ।

आजको योगदान, पर्यटनको प्रवर्द्धन

परिस्थितिबाटै प्रेरणा अभियान अन्र्तगत अभिनयले तेस्रो योजना बुने र त्यसलाई नाम दिए- ‘आजको योगदान, पर्यटनको प्रवर्द्धन’ ।

अभियानको तेस्रो योजना अनुसार ०७९ असोज ६ गते दोलखाको प्रसिद्ध कालिञ्चोक मन्दिरबाट पैदल यात्रा सुरु गरेका छन् अभिनयले । र, यो यात्रा भीमेश्वर मन्दिर हुँदै सूर्योदयको मनोहर दृश्यका लागि कहलिएका इलामको श्रीअन्तुमा पुगेर टुङ्गाउँदै छन् ।

लहडी यो ठिटोको यात्राले उनलाई मात्र प्रेरणा दिएको छैन हामी सबैलाई प्रेरणा दिएको छ- केही गरौं, आफ्नो लागि गरौं , समाजको लागि गरौं अनि देशको लागि गरौं ।

दोलखा महाभारत कालदेखिकै पवित्र भूमि । धार्मिक आस्थाको हिसाबले हेर्दा महादेव जन्मिएको भुमि दोलखा । राम-सिताले विचरण गरेको भूमि दोलखा । पाँच पाण्डवले बनबासका केही पल विताएको भूमि दोलखा । हो यही दोलखाको सांस्कृतिक, धार्मिक वैभवहरुलाई सूर्यको पहिलो दर्शनसहित परिस्थितिबाटै प्रेरणा अभियानको सुन्दर सयपत्री मालालाई इलामको श्रीअन्तुमा लगेर गाँस्दैछन् अभिनयले ।

सूर्योदयको पहिलो तप्काले चियाको तीनपाते मुनालाई सुनौलो रुप दिएको इलामको सौन्दर्य गौरीशङ्करको बाफिलो हिउँका भुवादार छिर्काहरुमा रमाउदै दोलखाको देउलाङबाट महादेवले ध्यानदृष्टिबाटै हेर्ने सत्ययुगको परिवेशलाई अभिनयको यो कालिञ्चोक- श्रीअन्तु धार्मिक- सांस्कृतिक यात्राले आधुनिकतामा रुपान्तरण गर्ने छ ।

प्रकृतिसँग मितेरी

हामी यात्रा गर्छौ, साहित्य लेख्छौ, संगीत भर्छौं । हामी भित्रको लहडले काम गर्छ यो सबै परिवेशलाई तयार गर्न । लहडले परिवेश खडा गरिदिन्छ । त्यो परिवेशलाई उदेश्यमुलक र परिपक्को बनाउन यात्रामा होस या साहित्यमा वा संगीतमा प्राण भर्नुपर्छ ।

अभिनयले यात्राको क्रममा भ्लग भिडियो मार्फत धार्मिक-सांस्कृतिक स्थल, ग्रामिण-सामाजिक परिवेश तथा रहनसहन, प्राकृतिक सुन्दरता, जातिय विविधता सबै विषयलाई हरेक दिन सामाजिक सञ्जालमा देखाई रहेका छन् । उनको लहडले जन्माएको यो सुन्दर परिवेशमा उदेश्य सहितको एउटा आकार बनेको छ । त्यो आकार भित्र कालिञ्चोक र भीमेश्वरको धार्मिक किंवदन्तिसंग श्रीअन्तुको सूर्योदयमा खुलेको प्राकृतिक सत्यलाई जोड्ने छ ।

समुन्द्रमा छाल हरेक समय कहाँ आउँछ र । शान्त र अचल समुन्द्र धेरै काल छालविनै बगिरहेको हुन्छ । जतिबेला छाल आउँछ त्यसको सप्तरङ्गी सुन्दरताको चर्चा युगौ- युग भै रहन्छ ।

मानिसमा दौडले लहडको जोडपनि उमेरसँग क्रमशः शिथिल बन्दै जान्छ । म आफैलाई अनुमान गर्छु, म भित्र अब हिम्मत, आँट र साहसको लहड दौडन छोडेको छ । म त अहिले जिम्मेवारी, विवशता र बाध्यताको बोझले यतिधेरै थिचिएको छु कि कुनै नयाँ सिर्जनानै छैन म भित्र । हिँड्न खोज्दा पाईला– पाईलामा तनावका अङ्कुशले जकडिन्छु म, लेख्न खोज्दा अक्षरले विवशता कोरिरहेको हुन्छ मेरा हातहरुले । म अहिले निरिह छु खोक्रो छु ।

अभिनयको लहडमा सिर्जना छ र उनको साहसले गति समातेको छ । यहि गतिमा अगाडि बढेको उनको यात्राले प्रकृतिसंग संस्कृति र सभ्यताको मितेरी लगाउदै छ । परिस्थितिबाटै प्रेरणा लिने अभिनयको यो गतिले कालिञ्चोकको टाँकुराबाट श्रीअन्तुको सूर्योदय नियाल्ने ताकत मिल्ने छ । शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?