+
+

सुदूरपश्चिममा एमाले भन्दा रेशम चौधरीको पार्टी ठूलो

संघीय संसदमा माओवादी शून्य, कांग्रेस पहिलो दल

जनक विष्ट जनक विष्ट
२०७९ मंसिर १० गते १८:४४
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित हुनेहरु क्रमश: रञ्जिता श्रेष्ठ, गंगाराम चौधरी र अरुणकुमार चौधरी ।

१० मंसिर, धनगढी । बाजुराबाहेक सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सबै नतिजा आइसकेको छ । बाजुराबाट एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । पुनः मतदान गर्नुपरेकाले बाजुराको नतिजा आउन बाँकी छ ।

तर गणना सकिएका ठाउँमा नतिजा अनुसार, नेपाली कांग्रेस ठूलो दल बनिसकेको छ । प्रतिनिधिसभा तर्फको १६ मध्ये कांग्रेसले ८ क्षेत्र जितेको छ भने प्रदेशसभाको ३२ मध्ये ११ सिट जितेको छ ।

प्रतिनिधिसभा तर्फ नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले बराबर तीन/तीन सिट जितेका छन् । प्रदेशसभातर्फको नतिजाले भने एकीकृत समाजवादी भन्दा नागरिक उन्मुक्ति ठूलो पार्टी बनेको छ । नागरिक उन्मुक्तिले ५ प्रदेशसभा सदस्य जितेको छ ।

एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट प्रदेशसभातर्फ २ सिट मात्रै भाग पाएको थियो । त्यो दुवै सिट जितेको छ । डडेलधुराबाट एकीकृत समाजवादीका नेता डा. तारा जोशीले स्वतन्त्र जितेका छन् । भागबण्डामा नपरेपनि जोशीले जित्दा एकीकृत समाजवादीको तीन सिट भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिर नागरिक उन्मुक्ति भन्दा एमाले सानो दल बनेको छ । एमालेले प्रतिनिधिसभातर्फ २ र प्रदेशसभामा ३ सिट जितेको छ ।

एमालेले प्रतिनिधिसभामा बैतडी र कञ्चनपुर–१ बाट मात्रै जितेको छ । डडेलधुरामा प्रतिनिधिसभामा एमालेको उम्मेदवार नै थिएन । बाँकी एमालेका १२ उम्मेदवार यसपटक पराजित भए भने बाजुरामा कांग्रेसका बद्री पाण्डेसँग एमालेका कर्ण थापा प्रतिस्पर्धामा छन् ।

अघिल्लो चुनाव भन्दा यसपटक एमालेले ठीक उल्टो नतिजा निकालेको छ । ०७४ मा एमालेका एक जनामात्रै उम्मेदवार पराजित भएका थिए । कैलाली–१ मा रेशम चौधरीसँग एमालेकी गरिमा पन्त पराजित हुनुबाहेक बाँकी ११ जनाले चुनाव जितेका थिए । त्यसबेला वाम गठबन्धन हुँदा माओवादीले चार सिट पाएको थियो ।

डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवासँग माओवादी केन्द्रका खगराज भट्ट पराजित हुँदा कैलाली–३ बाट गौरीशंकर चौधरी, कैलाली–४ बाट लेखराज भट्ट र कञ्चनपुर–१ बाट बिना मगरले जितेकी थिइन् । ०७४ मा सुदूरपश्चिमबाट चुनाव जित्ने कांग्रेस उम्मेदवारमा देउवा मात्रै थिए ।

यसपटक भने टीकापुर घटनाको आरोपमा जेल सजाय खेपिरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले समेत एमालेलाई पछाडि पारेको छ । बर्दिया–२ सहित नागरिक उन्मुक्तिले कैलाली–१, २ र ३ जित्यो । एमालेबाट कैलाली–१ मा तपेन्द्र रावल, २ मा झपट रावल र ३ मा गौरीशंकर चौधरी पराजित भए ।

माओवादीलाई धक्का, कांग्रेसलाई लाभ

पार्टी विभाजनको चोट लिएर चुनावमा होमिएको एमालेले ठूलो धक्का ब्यहोर्दा कांग्रेसले भने सत्तारुढ दलहरुबीच भएको गठबन्धनको लाभ पाएको छ । सत्ता गठबन्धनको सिट बाँडफाँटमा कांग्रेसले ९ सिट लिएको थियो । तीमध्ये कैलाली–१ बाट नागरिक उन्मुक्तिकी उम्मेदवार रञ्जिता श्रेष्ठसँग रामजनम चौधरी पराजित हुनुबाहेक अरु उम्मेदवारले चुनाव जिते ।

भागबण्डामा तीन सिट पाएको एकीकृत समाजवादीले पनि सबै तीन सिटमा जित निकाल्यो । तर माओवादी केन्द्रलाई भने ठूलो क्षति पुगेको छ ।

माओवादी केन्द्रले यो हार अहिलेसम्मकै खराब हो । ८ सिट जितेर प्रदेशसभामा दोस्रो शक्ति बनेपनि प्रतिनिधिसभातर्फ शून्य भयो । सिट भागवण्डामा माओवादीले कैलाली–२, कैलाली–३, कञ्चनपुर–१ र बैतडीमा गरी साट सिट पाएकामा कतै पनि जित्न सकेन ।

कैलाली–२ मा माओवादीका भगत बडुवाललाई नागरिक उन्मुक्तिका अरुण चौधरीले पराजित गरे । चौधरीले २१ हजार ८२७ मत पाउँदा बडुवालले १६ हजार १२८ मत मात्रै पाए । कैलाली–३ मा माओवादी केन्द्रका कृष्णकुमार चौधरीलाई नागरिक उन्मुक्तिकै गंगाराम चौधरीले हराए ।

गंगारामले २३ हजार ७४९ मत पाएर जित्दा कृष्णकुमारले १७ हजार १२० मत मात्रै ल्याए । अघिल्लो चुनाव जितेका माओवादी केन्द्रका गौरीशंकर चौधरी यसपटक एमालेबाट उम्मेदवार थिए ।

बैतडी र कञ्चनपुर–१ मा माओवादीलाई एमालेले रोक्यो । बैतडीमा झिनो अन्तरले एमालेका दामोदर भण्डारीले जिते । भण्डारीले ३३ हजार ६११ मत पाउँदा कुँवरले ३२ हजार ८० मत पाएका थिए । अघिल्लो पटक आफैंले जितेको कञ्चनपुर–१ मा पूर्वमन्त्री बिना मगरले नै यसपटक हारिन् । अघिल्लो चुनावमा ३८ हजार बढी ल्याएर जितेकी मगरले यसपटक १९ हजार ३४६ मत मात्रै पाइन् । उनलाई हराउन एमालेका तारा लामा तामाङले २४ हजार ८९२ मत ल्याए ।

यसअघि माओवादी केन्द्रले ०७० मा एक सिट मात्रै जितेको थियो । त्यसबेला कैलाली–३ बाट गौरीशंकर चौधरीले चुनाव जितेर माओवादीलाई शून्य हुनबाट जोगाएका थिए । ०७४ को चुनावमा तीन सिट जित्यो । ०६४ मा भने माओवादीले एकछत्र जित निकालेको थियो । २३ मध्ये एमालेले तीन र कांग्रेसले एक सिट जित्दा माओवादीले १७ सिट जितेको थियो ।

अछाम–२ (२) बाट प्रदेशसभामा जितेका नेता अक्कलबहादुर रावल गठबन्धनमा इमान्दारिता नदेखिएकाले माओवादीले हार्नु परेको बताउँछन् । ‘पहाडी जिल्लामा गठबन्धनमा आवद्ध दलहरुमा घात अन्तर्घात भएको अवस्था छैन’ उनी भन्छन्, ‘नेताहरुले क्षेत्र रोज्दा कमजोर ठाउँ रोजेको हो कि भन्ने भान भइरहेको छ ।’

उनको बुझाइमा, माओवादी केन्द्रले तराई नरोजेर पहाड रोजेको भए नतिजामा सुधार आउन सक्थ्यो । तर कतिपय नेताहरु भने लेखराज भट्ट, गौरी शंकर चौधरी, झपट बोहरा लगायतका सुदूरपश्चिमका प्रभावशाली नेताले माओवादी छोडेको असर समेत यो नतिजामा देखिएको बताउँछन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?