+
+

अशोक राईलाई ‘घण्टी’ बजाइरहेकी गोमा : १४ वर्ष विदेशमा दुःख, ४ महिनादेखि संसद यात्राको संघर्ष

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १० गते २१:११

१० मंसिर, धरान । वैदेशिक रोजगारीमा कष्टकर १४ वर्ष बिताएर मुलुक फर्किएपछि सदन यात्राको संघर्षमा छिन् गोमा तामाङ । मुलुकमा समाजसेवाको २ वर्षको अनुभवलाई विगत ४ महिनादेखि राजनीतिक अभ्यासमा खर्चिंदैछिन् उनी ।

वैदेशिक रोजगारीमै हुँदा सञ्चारकर्मीका रुपमा रवि लामिछानेसँग सम्पर्कमा आएकी गोमा उनैको मार्गमा सहयात्री बनेकी छन् ।

सुनसरी– १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभाकी उम्मेदवार बनेकी गोमा अहिले चर्चामा छिन् । उनको संघर्षपूर्ण वैदेशिक रोजगार, सामाजिक सेवा, धरानका नगर प्रमुख हर्क साम्पाङसँगको सहकार्य, रवि लामिछानेको देशव्यापी लहर र घण्टी चुनाव चिह्नको चर्चाले सुनसरीबाट गोमाको उदय हुने अनुमान गर्न थालिएको छ ।

सुनसरी–१ मा गोमाले निकटतम प्रतिद्वन्द्वीका रुपमा नेकपा एमाले र जनता समाजवादी पार्टी समीकरणका उम्मेदवार अशोककुमार राईलाई पाएकी छन् । एमाले हुँदै जसपा पुगेका राई जिल्लाकै हेभीवेट उम्मेदवार हुन् ।

कम्युनिष्टको लालकिल्ला र नेपालको सांघाईका रुपमा चित्रित गरिने धरानमा गोमाले पाएको मतलाई अभूतपूर्व रुपमा व्याख्या गरिएको छ । राईसँगै मैदानमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ सुब्बा र आधुनिक धरानका सूत्रधार मानिने पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बो स्वतन्त्र उम्मेदवार छन् । तर यी सबै उम्मेदवारलाई गोमाले नै पछि पारेकी छन् ।

गोमा होइन, शरिन तामाङ

राज्यले आधिकारिकता दिएको नाम हो गोमा तामाङ । तर उनी आफ्नो जीवनको गोमा अध्यायबाट निकै टाढा आइसकेकी छन् । जसलाई उनी सम्झन पनि चाहन्नन् । यद्यपि तीतो विगत कहिलेकाहीँ कष्टकर बनेर सम्झनामा आइदिन्छ ।

शरिनको आत्मसम्मान अब शरिन तामाङमा छ । उनको जीवनको यो शरिन अध्याय सफलता उन्मुख छ । शरिन हिजो गोमाको रुपमा श्रीमती थिइन्, आज शरिनका रुपमा श्रीमान् हुुन् ।

शरिन भन्छन्, ‘विशेष गरेर मेरो जीवन अनौठो किसिमको छ । कुनै महिला या पुरुषले यस्तो जीवन व्यतित गरेको छैन । मेरो त पार्ट १ को लाइफ सकिएर पार्ट २ को लाइफमा छु । राज्यले मलाई महिला देख्छ तर समाजले मलाई पुरुषका रुपमा हेर्छ । म हुँ पनि पुरुष । म विवाहित हुँ । मेरी श्रीमती छिन् ।’

राज्यले शरिनलाई महिलाका रुपमा सूचित गराए पनि उनी आफूलाई पुरुष ठान्छन् । ‘मैले अरु भन्नुुपर्ने केही पनि छैन, मेरो यो गेटअपलाई पनि जनताले रुचाइदिनु भएको छ’, शरिन भन्छन्, ‘सुनसरी क्षेत्र नं. १ का जनताले यो गेटअप र मेरो सेकेण्ड लाइफलाई यति सहजताका साथ रुचाइदिनु भएको छ, यो हिस्ट्री नै हो भन्छु म त ।’

उनी आफैंले पनि यति सहजताका साथ समाजमा घुलमिल हुन्छन् होला भन्ने सोचेका थिएनन् । यो उनको कल्पना बाहिरको वास्तविकता हो । उनलाई लागेको थ्यो, थुप्रै मान्छेहरु चरित्र हत्या गर्न आउलान् । तर त्यस्तो भएन ।

‘सामाजिक सञ्जालमा पनि सक्कली आईडीबाट त मेरो व्यक्तिगत जीवनको चरित्रहत्या गर्ने कसैको आँटै छैन । त्यस्तो अवस्था आए पनि त्यस्तालाई यति तगडाका साथ लखेट्छु कि त्यसले भाग्ने ठाउँ नै पाउँदैन,’ शरिन हाँस्दै भन्छन् ।

सुनसरी १ का जनताले आफ्नो कामलाई माया गरिदिएकोमा उनी खुसी छन् । घरदैलोमा तातोघाममा पुग्दा जनताले दिएको एक अम्खोरा पानीमा उनी भावकु बन्छन् । जनताले आफ्नो लगनशीलता र देशप्रतिको मायालाई कदर गरेको सम्झन्छन् ।

शरिन् भन्छन्, जनताको यो अनुमोदन मेरो लगनशीलता र देशप्रतिको मायाका कारणले हो, कतिले त मलाई देख्नु पनि भएको छैन होला, अन्दाजी घण्टीमै पनि भोट लगाउनु भयो होला । नदेख्नु भए तापनि म विश्वास दिलाउन चाहहन्छु, त्यो मतदान ठीक ठाउँमा परेको छ, उहाँहरुलाई म गौरवान्वित बनाउने काम गर्छु ।’

वैदेशिक रोजगारीको कठिन यात्रा

वैदेशिक रोजगारीका १४ वर्ष गुजार्न सजिलो थिएन गोमालाई । जब कष्टकर १४ वर्षहरु बिताइन्, उनले त्यहाँ जीवनयापनका सजिलो बाटाहरु भेट्टाइसकेकी थिइन् । उनी हरियो पासपोर्टका रंगहरु बदल्न सक्थिन् । अमेरिका युरोपभन्दा सुखसयलमा रहन सक्थिन् । तर मुलुक र माटोको मायाले देशतिरै तान्यो ।

‘देशलाई माया गर्ने मान्छे ठूला महलमा बस्नुपर्छ भन्ने छैन, बाध्यताले देश छाडेर विदेशिनेका मनमा पनि देशमै समाज सेवा गर्ने ठूलो चाहना हुन्छ,’ शरिन भन्छिन्, ‘मैले उहाँहरुका लागि एउटा मार्ग निर्देश गरिदिएको छु, समाजसेवाबाट पनि राजनीतिमा जान सकिने रहेछ, राजनीतिबाट जनताको सेवा गर्न सकिने रहेछ भन्ने माहोल सिर्जना गरिदिएको छु ।’

शरिन धरान फर्किँदा कोरोना महामारीको समय थियो । त्यो बेला उनले धेरै सामाजिक काम गरिन् । पछिल्लो ४ महिनादेखि भने उनी चुनावको तयारीमा लागेकी थिइन् । विदेशमा कमाएर ल्याएर बचेको दुई÷अढाई लाख, सहयोगीबाट प्राप्त चारपाँच लाख रुपैयाँको सेरोफेरोमा उनले यो चुनाव खर्च जोहो गरिन् ।

शरिन आफूलाई देशका लागि केही गर्न हिंडेको मान्छेका रुपमा अथ्र्याउँछिन् । उनी भन्छिन्, ‘मैले चाहेको भए इजरायलमै पनि आफ्नै तरिकाले बस्न सक्थें, मेरो स्वतन्त्र जीवन छ, बिहे गरेर बसेको भए पनि कार्ड पाइसक्थें, युरोप र अमेरिकाको भन्दा पनि बढी सुविधा छ इजरायलमा, तर मलाई मेरो हरियो पासपोर्टलाई कलर गर्न मन लागेन, माया लाग्यो, जस्तो पासपोर्ट बोकेर गएको थिएँ, त्यस्तै आएँ ।’

प्रतिनिधि सभामा उम्मेदवारी दिएपछि घरदैलो र चुनावी अभियानका क्रममा उनलाई विभिन्न आरोप र लाञ्छना लगाइए । धरानमा घर नभएको, राजनीति गर्ने क्षमता नभएको भन्दै हेयका दृष्टिले पनि हेरियो । उनीहरुलाई शरिनको जवाफ छ, ‘कसैको भविष्यवाणी गर्ने कसैलाई अधिकार छैन, म सुनसरीको माटोमा बसेर राजनीति गर्छु भनेर आइसकेपछि म यहीँको माटोमा बस्छु ।’

देश सेवा र समाजसेवाको भूगोल सिंगो देश हुने शरिन बताउँछिन् । उनी भन्छिन्, ‘समाजसेवा र राजनीति जहाँबाट पनि गर्न सकिन्छ, म सर्लाहीमा जन्मे पनि सुनसरीको माटोबाट राजनीति थालेको छु, मेरो मनमा निस्वार्थता छ भन्ने कुरा जनताले बुझिसके ।’

राजनीतिक जीवनको सुरुवात 

शरिन धरान आउँदा कोभिड महामारीको समय थियो । उनी सुकुम्बासी बस्तीमा गइन् । निभेको चुलो बाल्ने अभियान चलाइन् । धरानकै स्थानीय सुदीप श्रेष्ठलाई भेटिन् । उनैले समाजसेवाको बाटो देखाइदिए । सुकुम्बासी बस्तीमा रासन लिएर जाँदा उनलाई राजनीति गरेको आरोप लगाइयो । तत्कालीन नगर प्रमुखसँग उनको विवाद भयो । शरिनलाई कारबाही गर्नेसम्मको धम्की आयो ।

शरिन आफ्नो राजनीति प्रवेशलाई अकल्पनीय ‘टर्निङ पोइन्ट’ का रुपमा लिन्छिन् । ‘म सुरुमा आउँदा राजनीति कहाँबाट सुरु गर्ने होला भन्ने लाग्थ्यो, धरानमा दुई झोला लुगा लिएर आएँ, अपांगता भएका मेरा भाइ हुनुहुन्छ, उहाँकी श्रीमती उहाँहरुसमेत दुईचार जनालाई लिएर म हिडेँ’, शरिन भन्छिन् ।

निर्वाचित भएर सदनसम्म पुगे सुनसरी १ का जनताको भावना र आवश्यक्ता बुझेर काम गर्ने उनको चाहना छ । सदनभित्र संघर्ष गर्ने उनको अठोट छ । राजनीतिलाई नयाँ शिराबाट जनताको बीचमा लाने विचार छ । आफ्नो पक्षमा मत खसिरहँदा उनी आफ्नो विश्वास र दृढता पबवल हुँदै जाने बताउँछिन् ।

शरिनले चुनाव प्रचारका क्रममा घरदैलो बाहेक कोण सभा र चुनावी सभा गरिनन् । घरदैलोमा जाँदा समेत पैसाको अनावश्यक खर्च गरिनन् । आफू मितव्ययी बन्नुपर्छ र अरुलाई पनि मितव्ययी बन्न प्रेरणा दिइन् । घरदैलोमा उनीसँग एउटा अटोरिक्सा थियो । एउटा अन्तिम समयमा थपिन् ।

उनी भन्छिन्, ‘एउटा थोत्रो स्कुटर र दुई वटा टेम्पो लिएर हिंडें । घण्टी त, विस्तारैविस्तारै भुसको आगो सरी सल्किएछ ।’ मतगणना स्थलमा घण्टीको पक्षमा जनमत उर्लिएको देख्दा उनी भावुक बन्छिन् । ‘मलाई त्यहाँ उकुसमुकुस पनि भयो । मभन्दा मतान्तरमा पछि परेका साथीहरुको खिन्नताले मलाई त्यहाँ बस्न दिएन । म बाहिर निस्किएँ’ उनी भन्छिन् ।

सांसद भएपछि गर्ने कामको योजना पनि बनाएकी छन् उनले ‘सुनसरीमा म के गर्न सक्छु भन्ने मेरो मनमा छ । मलाई काम गर्न दिइएन, मेरो ठाउँलाई बजेट दिइएन र, केही गर्न सकिनँ भने पनि टेबल त ठोक्छु नि’, दृढताका साथ शरिनले भन्छिन् ।

विदेशको संघर्ष

‘म वैदेशिक रोजगारीमा सन् २००६ मा जानुभन्दा अगाडि विवाहित थिएँ । नानीहरु साना थिए । मेरो आफ्नै बाध्यता थियो । आफ्नो स्वतन्त्रताका लड्ने म आफैं पहिलो व्यक्ति हुँ । यो अन्यायमा परेको छ, हिंसामा परेको छ भनेर बोल्दिने कोही पनि थिएन । मेरो स्वतन्त्रताका लागि म आफैं संघर्ष गरेर लडें र, जित हासिल गरें ।

२००६ मा इजरायल पुगें । खास भन्ने हो भने, म इजरायल पुग्नै नसक्ने मान्छे हुँ । म जहाँ थिएँ त्यस अवस्थामा गाउँलाई देश भनिन्थ्यो । तराईमा त्यस्तै चलन छ । घुम्टोभित्र रहेकी म छोरी मान्छे, बुहारी मान्छे । घरबाट बाहिर निस्कन पाउँदिनथें ।

छोराछोरीको वहानामा बाहिर निस्कनुपर्ने । त्यस्तो अवस्थाबाट निस्किएको म छोरी मान्छे, बुहारी मान्छे । मेरो भाग्यले मलाई सन् २००६ मा इजरायल डोर्‍यायो । मेरो भाइ मेरो लागि नसिब बनेर आइदियो । उसको साथ र आर्थिक सहयोगले १५ दिनमा भिसा आयो ।

इजरायलमा संघर्ष गर्दै गएँ । मैले सन् २०१३ तिर श्रीमानीसँग सम्बन्धबिच्छेदको मुद्दा दिएँ । सामाजिक सञ्जालमा समेत घरपरिवारको डरत्रासले म सक्रिय थिइनँ । एक जना बहिनीको सहयोगमा फेसबुक खोलेको थिएँ । त्यहाँबाट आफ्ना भावनाहरु राख्दै गएँ । महिलामाथि हिंसा भएको देख्दा आफैं माथि हिंसा भएको ठान्थें । मैले त्यस्ता विकृतिमाथि कडा प्रतिक्रिया दिंदै गएँ । त्यहीँबाट मैले सामाजिक क्षेत्रमा प्रवेश गरेछु ।

म आफ्नो घर बनाउँछु, छोराछोरीलाई राम्रो स्कुल पढाउँछु भन्ने भावनाले विदेश गएको थिएँ, तर सामाजिक जीवनमा कतिखेर म हाम फालेछु थाहै भएन । सहयोग दिँदै जाँदा आफू कतिखेर रित्तिन्थें थाहै हुँदैनथ्यो । कहिलेकाहीँ साथीहरुसँग मागेर चलाउँथे । महिना पुगेपछि तिर्थेँ, यसरी मैले सामाजिक क्षेत्रमा काम गर्दै आएँ ।

समाजसेवाको टर्निङ प्वाइन्ट

म आफैं हिंसामा परेको हुनाले अरुमाथिको पीडा सहजै देख्थें, म आक्रोशित हुन्थें । आक्रामक स्टाटस लेख्थें । म नै हिंसामा परिरहेको अनुभूति गर्थे । आज पनि कतै छोरी मान्छे, बालबच्चालाई पिटेको देखें भने आफ्नो विगतलाई सम्झन्छु ।

म एकदमै सामान्य परिवारमा हुर्किएकी हुँ । बुवा प्यारालाइसिस भएपछि अर्काको घरमा बस्नुपर्ने बाध्यता आयो । त्यो बाध्यतामा चौध÷पन्ध्र वर्षको छोरीलाई समाजले लगाएको आरोप कहालीलाग्दो थियो । जबकि हामी निर्दोष थियौं । आफू ठीक भए पनि समाजले, वरपरका दुईचार घरले औंला उठाउने नै रहेछ । आफू भुइँमान्छे । भुइँमान्छेकै पीडा छिटो देखिने रहेछ । सामााजिक क्षेत्रमा मेरो आर्थिक योगदान पनि ती भुइँमान्छेहरुकै लागि हो ।

मेरो समाजसेवाको सुरुवात सहयोग संकलनबाट भयो । गुल्मीको दलित परिवाको ६–७ वर्षको बालक जो आँखा देख्न सक्दैनथे, उसको सहयोगबाट सुरु भयो । इजरायलमा मेरो शुक्रबार छुट्टीको दिन डिब्बा बोकेर रकम संकलन गर्न थालें । त्यसमा एक सय केल (इजरायली मुद्रा), दुई सय केल, पाँच सय केल कलेक्सन गर्न थालें । एक डिब्बा पैसा बनाएको थिएँ । त्यो पैसा दलित अभियन्ता सरु सुनारलाई पठाएँ । त्यहीँबाट मैले सामाजिक क्षेत्रमा आर्थिक योगदान थालेको थिएँ ।

मैले उद्धारका काम पनि धेरै गरें । इराकमा माया तामाङको मृत्यु भएको खबर आयो । उसको शव नेपाल ल्याउन पैसै भएन । त्यतिखेर टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ चलिरहेको थियो । मैले रविजी (रवि लामिछाने) सँग सम्पर्क गरेँ । रविजीको कार्यक्रममार्फत् इराकमा दलालबाट बेचिएकी चेलीको मृत्यु भएको र शव ल्याउन समस्या भएको र दलालविरुद्ध बोल्न सुरु गरेको थिएँ ।

पीडितका लागि मेरो आवाज राहत बन्छ भने, मैले बोल्दा कसैले न्याय पाउँछ भने, आर्थिक सहयोग मिल्छ भने बोल्नुपर्छ भनेर मैले अभियान चलाएको थिएँ । मैले मेरो आफ्नै आवाजलाई आवाजविहीनहरुको आवाज बनाउनुपर्छ भन्ने ठानेर उद्दारको काम थालेको थिएँ ।

रवि लामिछानेसँगको सम्पर्क

वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकाहरुको उद्दारकै क्रममा रवि लामिछानेसँग सम्पर्क भएको थियो । सिधा कुरा जनतासँग कार्यक्रममार्फत् पीडितको आवाज पुर्याइदिन्थें । कविता नेपाली भन्ने बैनी सिरियाबाट आएकी थिइन् । उनको बाबाआमा कहाँ छन्, के छन् भन्ने केही थिएन ।

मैले त्यो जिम्मा लिएर सीधा कुरामा प्रसारण गराएपछि बैनीका बाबा सम्पर्र्कमा आउनुभयो, दाजुभाइ आउनुभयो । रविजी र मैले त्यसरी कोर्डिनेसन गरेर काम गरेका थियौं । फसेका चेलीबेटीहरुलाई उद्धार गर्ने अभियान चलाएका थियौं ।

म आफैं पनि फेसबुकमार्फत् लाइभ आउँथें । कयौं दलालहरुलाई मैले लाइभमै सातो खाइदिएको थिएँ । पीडितहरुले ‘मलाई उद्धार गर्ने भए गर, नभए शरिन दिदीकहाँ जान्छु’ भन्नेबित्तिकै ‘शरिनकहाँ नजा, म उद्धार गर्छु’ भन्ने स्थिति थियो ।

चुनावको टिकट

राजनीतिक पार्टींको गुलाम हुन मलाई फिटिक्कै मन छैन । मेरो वाक स्वतन्त्रता कसैले नखोसिदेओस् भन्ने चाहन्छु । विगतमा पनि मेरो घरपरिवारले वाक स्वतन्त्रता नखोसिदिएको भए मेरो डिभोर्स पनि हुँदैनथ्यो होला ।

धरानकै डा. सुदीप श्रेष्ठ दाइले तपाईं जत्तिको मान्छे (राजनीतिमा) आउनुपर्यो भन्नुभयो, हो त भन्दाभन्दै प्रतिनिधि सभाको उम्मेदवार पो भएँ ।

चुनावकै तयारीका क्रममा रविजीसँग कुराकानी भयो । ‘शरिनजी तपाईं कतै बहकिने होइन, सबै हामी एकै ठाउँ आउनुपर्छ’ भन्नुुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न पाइयो । पहिले चाहिं म पार्टीबाट उठ्दिन स्वतन्त्र नै हुन्छु भनेको थिएँ । यहाँबाट पनि घण्टी चुनाव चिह्नका लागि धेरै मान्छे पुग्नुभएको रहेछ । तर रविजीसँगको पुरानो सहकार्यका कारण घण्टी चिह्न मैले पाएँ ।

तर घण्टी चुनाव चिह्न लिने बेलामा नै मैले रविजीलाई भनेको छु, मेरो वाक स्वतन्त्रता खोस्न चाहिं पाइँदैन । पार्टीको चुनाव चिह्न लिँदैमा हरेक कुरामा बन्देज लगाउन हुँदैन । पार्टीको ह्वीप लगाउन पाइँदैन । म जस्तो छु त्यस्तै छाड्दिनुपर्छ । उहाँले पनि हाम्रो पार्टीमा त्यस्तो केही पनि हुदैन भन्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?