+
+

यू-१९ क्रिकेटः मिलन बोहोराको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको लगातार तेस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १७:२०

११ मंसिर, काठमाडाैं । स्पिनर मिलन बोहोराले शानदार बलिङ गर्दै ६ विकेट लिएपछि यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि ११३ रनको जित हासिल गरेको छ । प्रतियोगितामा उसको यो लगातार तेस्रो जित हो ।

त्रिवि मैदानमा २१४ रनको लक्ष्य पछ्याएको गण्डकी ३२.५ ओभरमा १०० रनमै समेटियो । गण्डकीका लागि ओपनरहरु गोविन्द विक र अर्जुन कुमालले क्रमसः २२ र २० रन बनाए । किरण पंगेनीले १५ र कप्तान सुवास भण्डारीले १६ रन जोडे ।

गण्डकीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका मिलनले ९.५ ओभरमा ४ मेडन राख्दै ११ रन खर्चेर ६ विकेट लिए । आकाश चन्दले ६ ओभरमा ३४ रन खर्चेर २ विकेट दिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम ४९.३ मा सबै विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो । सुरुवात राम्रो गर्न नसके पनि सुदूरपश्चिमका लागि मध्यक्रमका ब्याटरले अपेक्षाकृत प्रदर्शन गरे ।

सुदूरपश्चिमका आकाश चन्दले सर्वाधिक ४० रन जोडे । उनले ४५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । कप्तान अनुराग सिंहले ३७, नरेन साउदले २७, मिलन बोहोराले २४ तथा सुनील चन्द र गजेन्द्र बोहोराले १९–१९ रन योगदान गरे ।

गण्डकीका लागि स्पिनर सुवास भण्डारीले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभर बलिङ गर्दैै १ मेडन सहित ३० रन खर्चेर ३ विकेट लिएका हुन् । सुदीप ऐर, नितेश गिरी, शिशिर भुषल, श्रीविन श्रेष्ठ, अर्जुन कुमाल र सचिन राज अधिकारीले समान १÷१ विकेट लिए ।

गण्डकी लगातार ३ खेल हार्दै अंक तालिकाको पुच्छरमा रहेको छ । गण्डकी पहिलो खेलमा बागमतीसँग ७४ रन र दोस्रो खेलमा प्रदेश नम्बर १ सँग २१ रनले पराजित भएको थियो ।

सुदुरपश्चिमले भने, पहिलो खेलमा कर्णालीलाई ५ विकेटले र दोस्रो खेलमा लुम्बिनीलाई १०० रनले पराजित गरेको थियो । सुदूरपश्चिम प्रतियोगिताको शीर्ष स्थानमा छ ।

राउण्ड रोविन प्रणालीअन्तर्गत जारी प्रतियोगितामा ७ प्रदेशका टिमको सहभागिता छ । लिगमा शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?