
११ मंसिर, वीरगञ्ज । पर्सा ३ मा प्रतिनिधिसभा सदस्य तर्फको मतपरिणाममा भएको विवाद टुंगिएको छ । समानुपातिकतर्फको मतगणना हुँदा प्रत्यक्षतर्फको मत फेला परेपछि विवाद भएको थियो ।
प्रत्यक्षतर्फ खसेको मतमा २७२ मतको हिसाब नमिलेपछि नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र चौधरीले निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणनाका लागि निवेदन दिएका थिए । विवाद भएपछि निर्वाचन अधिकृतको कार्यालयले एमाले नेता राजकुमार गुप्तालाई निर्वाचित घोषित गरेपनि प्रमाणपत्र नदिई रोकेर राखेको थियो ।
समानुपातिकतर्फको मतगणना गर्ने क्रममा भेटिएको प्रत्यक्षतर्फको १५५ मत गणना गरेपछि पनि एमालेका राजकुमार गुप्ता अगाडि देखिएका छन् ।
१५५ मतमध्ये ५९ मत एमाले, ४३ मत कांग्रेस, २३ नेपाल सुशासन पार्टी, ३ मत राप्रपा, ४ मत राष्ट्रिय स्वतन्त्र पार्टी, ३ मत अरु चिह्नमा र २० मत बदर भएको छ । प्रत्यक्षतर्फको सबै मत जोड्दा नेकपा एमालेका उम्मेदवार राजकुमार गुप्ता १६७ मतान्तले निर्वाचित भएका निर्वाचन अधिकृत योगनाथ ढकालले जानकारी दिए ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार राजकुमारको २४ हजार ३१९ मत पुगेको छ भने सुरेन्द्रको २४ हजार १५२ मत पाएका छन् । पहिले सार्वजनिक भएको मतपरिणाममा राजकुमार १५२ मतान्तरले जितेको भनी घोषणा गरिएको थियो ।
मंसिर ४ गते भएको निर्वाचनमा पर्सा–३ मा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ कुल ६४ हजार ४४८ मत खसेको सार्वजनिक भएको थियो । तरपछि मतगणनाका क्रममा मतपेटिकाबाट ६४ हजार १७६ मतपत्र मात्रै भेटिएपछि विवाद भएको थियो ।
प्रतिक्रिया 4