+
+

प्रचण्डका प्रतिद्वन्द्वीको समीक्षा : धाँधली नभएको भए जित्थें

बिदाको दिन गुड्ने सरकारी गाडी समात्ने अभियान चलाएका बुर्लाकोटी

गौरव पोखरेल गौरव पोखरेल
२०७९ मंसिर १२ गते २०:१९

१२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन भएपछि कविन्द्र बुर्लाकोटी पार्टीको आन्तरिक काममा व्यस्त रहने भन्दै समानुपातिक सूचीमा बसेका थिए ।

तर, देशभरिका निर्वाचन क्षेत्रका लागि पार्टीबाट उम्मेदवार ‘हन्ट’ गर्ने क्रममा गोरखा २ का लागि उपयुक्त पात्र भेटिएनन् ।

त्यतिञ्जेल यो क्षेत्रबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिस्पर्धा गर्ने अनुमान थियो । त्यसैले त्यहाँ कसलाई उठाउने भन्ने टुंगो नलागेका बेला बुर्लाकोटी आफैं गोरखा २ मा चुनाव लड्न अघि सरे ।

‘जनप्रतिनिधि भनेको सकेसम्म आफ्नै भूगोलको हुनुपर्छ भन्ने मेरो व्यक्तिगत मान्यता हो’ बुर्लाकोटी भन्छन्, ‘मेरो घर पनि त्यहीं भएकाले समानुपातिकबाट नाम हटाएर प्रत्यक्ष लड्ने निर्णय गरें ।’

उनले १४ असोजमा गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने घोषणा गरे । ‘म पूर्वप्रधानमन्त्री डा. भट्टराईसँग चुनाव लड्न मानसिकरुपमा तयार भएका बसेको थिएँ’, बुर्लाकोटी सम्झन्छन् ।

तर २१ असोजमा माओवादी स्थायी कमिटी बैठकले गोरखा २ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उठाउने निर्णय गर्‍यो ।

‘पहिलो प्रतिस्पर्धा प्रचण्डसँगै हुनेभयो, बाबुराम र उनमा के फरक होला र भन्ने सोचें’, उनी भन्छन्, ‘फरक चाहिं भयो, बाबुराम भएको भए यति धाँधली हुन्नथ्यो होला ।’

चुनावमा उनले सत्ता गठबन्धनले व्यापक धाँधली गरेको आरोप लगाएका छन् । ‘लगभग हरेक बुथमै धाँधली भयो, सुरुमा बुथमा प्रतिनिधि बस्छु भन्ने साथीलाई नबस्न दबाब दिइयो’ बुर्लाकोटीको दाबी छ, ‘त्यही बीच मलाई प्रचारप्रसार गर्न पनि रोक लगाइयो । स्थानीय तहका जनप्रतिनिधिहरुले नै पनि दबाब दिए ।’

मौन अवधिका बेला पैसा बाँडिएको सूचना पनि आफूले पाएको उनी बताउँछन् ।

‘तथ्य फेला पार्न सकिनँ, त्यसैले के गर्ने भन्ने भेउ पनि पाइनँ’ बुर्लाकोटीले भने, ‘त्यसपछि मैले साथीहरुलाई यदि कसैले जनतालाई पैसा बाँडेको हो भने खानुस् । तर, भोट चाहिं घन्टीमै हाल्नुस् भनेर भन्नुस् भनेर भन्न लगाएँ ।’

उनले २८ कात्तिकदेखि गोरखाका हरेक टोलमा भोज राखिएको बताए । ‘साथीहरुले रिपोर्ट दिइरहनुभएको थियो, सुरुमा केही भनिनँ’ बुर्लाकोटी भन्छन्, ‘चुनावको दिन त्यस्तो नहोस् भन्ने थियो, एकादशी पनि थियो । तर, मतदानकै दिन अधिकांश क्षेत्रमा भोजभतेर भए ।’

यदी निष्पक्ष चुनाव भएको भए आफू विजयी हुने उनी दाबी गर्छन् । गोरखा २ मा २६ हजार १०९ मत ल्याउँदै प्रचण्ड प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुर्लाकोटीले १२ हजार ६३७ मत पाएका छन् ।

गणितीय हिसाबमा बुर्लाकोटीले ल्याएको मत प्रचण्डले ल्याएभन्दा १३ हजार ४७० ले कम हो । तर, राजनीति हिसाबले बुर्लाकोटी गोरखा गएर प्रचण्डलाई कीर्तिमानी जित निकाल्ने प्रयासबाट रोक्न सफल भएका छन् ।

प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गरेर माओवादीको राम्रो पकड भएको गोरखा जाँदा कीर्तिमानी जित निकाल्ने सपना देखेका थिए । २०६४ सालमा यही क्षेत्रबाट डा. बाबुराम भट्टराईले कुल मतको ८० प्रतिशत हासिल गरेर कीर्तिमानी बनाएका थिए ।

बुर्लाकोटी आफूले पाएको मत एकदमै अनपेक्षित भएको दाबी गर्दै भन्छन्, ‘मैले कम्तीमा २२ हजार बढी मत ल्याउँछु भन्ने आकलन थियो ।’ त्यसो त चुनाव अघि उनको चर्चा खासै सुनिएको थिएन । बरु त्यसबेला चर्चामा रहेका एमाले उम्मेदवार अब्दुस मियाँ ७ हजार ३९५ मत ल्याउँदै तेस्रो भए ।

‘मैले एउटा वाचा गरेकाले आगामी निर्वाचनमा उठ्छु, उठ्दिन थाहा छैन’ बुर्लाकोटी भन्छन्, ‘तर, अबको पाँच वर्ष म गोरखा केन्द्रित भएरै काम गर्छु, पार्टीबाट संसदमा जाने साथीहरुलाई सहयोग गर्छु ।’

उनले गाउँमा सरकार कसरी पुर्‍याउने भन्नेबारे आफूले योजना बनाएकाले पराजित भए पनि त्यसको कार्यान्वयनका लागि काम गर्ने उनी बताउँछन् ।

रवि जस्तै अभियानबाट आएका बुर्लाकोटी

पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको पार्टीमा बुर्लाकोटी जोडिनुको पछाडिको कथा पनि उनको जस्तै अभियानसँग जोडिन्छ । लामिछाने टेलिभिजनमार्फत ‘स्टिङ अपरेशन’ र समस्याहरुको तत्काल समाधानका लागि पहल गरेर चर्चामा आएका पूर्वटेलिभिजन कार्यक्रम प्रस्तोता हुन् ।

बुर्लाकोटी पनि लामिछाने जस्तै अभियानबाट सामाजिक काममा प्रवेश गरेका व्यक्ति हुन् । बुर्लाकोटीले २०५७ सालमा गैरसरकारी संस्था प्रहरी क्लब चलाएका थिए ।

‘परिवर्तनका लागि युवाहरु मिल्नुपर्‍यो भनेर अभियान थालेका थियौं, तर माओवादी द्वन्द्वका बेला संस्था दर्ता गर्न सम्भव भएन’ बुर्लाकोटी सम्झन्छन्, ‘त्यसपछि युनाइटेड युथको नाममा संस्था दर्ता गरेर काम गर्‍यौं ।’

बुर्लाकोटीका अनुसार त्यसबेला संस्थाले बिदाका दिन गुडेका २०८ वटा सरकारी गाडी नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको थियो । ‘त्यतिबेला आयोगमा सूर्यनाथ उपाध्याय प्रमुख आयुक्त हुनुहुन्थ्यो’, उनी भन्छन् ।

भारतले नाकाबन्दी लगाएका बेला पेट्रोलियम पदार्थको अभाव हुँदा उनले खबरदारी अभियान चलाएका थिए । ‘त्यतिबेला शुद्धता र अपचलनमा काम गरेको भनेर नेपाल आयल निगमले नगद पुरस्कार रकमसहित सम्मान गरेको थियो’, उनी थप्छन् ।

सामाजिक काममा सक्रिय हुनुअघि बुर्लाकोटी नापी विभागका कर्मचारी थिए । ‘प्रोजेक्ट एसिस्ट्यान्ट’का रुपमा तीन वर्ष काम गरेर उनी सामाजिक कार्यमा सक्रिय भए ।

‘गैरसरकारी संस्थामा नै काम गर्ने भए पनि मैले सधैं आईएनजीओभित्र हुने भ्रष्टाचार र डलर खेती भन्ने कुराको खुब विरोध गरें’, बुर्लाकोटी भन्छन्, ‘मलाई नै डलर खायो पनि भन्थे । तर, मैले सधैं त्यसको विरोध गरिरहें ।’

यस्तै अभियानहरु चलाउने क्रममा उनको पार्टी सभापति लामिछानेसँग चिनजान भएको उनी बताउँछन् । ‘रविजी, हामीहरु एउटा टिममा बसेर सुधार्न लाग्नुपर्‍यो भनेर छलफल गरिराख्थ्यौं’, बुर्लाकोटी भन्छन्, ‘यो पार्टी त्यसका लागि मिलनबिन्दु बन्यो ।’

पछिल्लो चार वर्षदेखि बुर्लाकोटी संयुक्त राष्ट्रसंघको नेपालस्थित ‘टोटल कन्ट्री टिम’मा रहेर युवा सल्लाहकारका रुपमा काम गरिरहेका थिए । राष्ट्रिय युवा महासंघमा पनि तीन वर्ष अध्यक्ष रहिसकेका उनले राष्ट्रिय युवा नीति मस्यौदा कार्यदलको सदस्य बनेर काम गरेका थिए ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?