+
+

प्रदेश १ मा सहज छैन सरकार गठन

हरि अधिकारी हरि अधिकारी
२०७९ मंसिर १३ गते १८:४४

१३ मंसिर, विराटनगर । प्रदेश १ मा सत्तापक्ष र प्रतिपक्षलाई बहुमत जुटाउन सकस पर्ने देखिएको छ । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा ५६ जना प्रत्यक्ष र ३७ जना समानुपातिक सांसद निर्वाचित हुन्छन् । प्रदेशमा बहुमत जुटाउन ४७ सिट आवश्यक पर्छ ।

प्रत्यक्षतर्फको ५६ मध्ये ५३ क्षेत्रको नजिता सार्वजनिक भइसकेको छ । मतगणना जारी रहेका तीन क्षेत्र मध्ये २ क्षेत्रमा कांग्रेस र एउटा क्षेत्रमा एमाले अगाडि छ ।

सार्वजनिक भएको नतिजा र समानुपातिक मतको सम्भावित नजिताले दुवै पक्षलाई बहुमत जुटाउन सकस देखिएको हो । २०७४ सालको निर्वाचनमा भने नेकपा एमालेको स्पष्ट एकल बहुमत थियो ।

मतपरिणाम घोषणा भएका ५३ क्षेत्रमध्ये एमालेले २४ सिट जितेको छ । नेपाली कांग्रेसले १५, माओवादी केन्द्रले ९, एकीकृत समाजवादीले ३ र राप्रपाले २ सिट जितेको छ ।

सत्तारुढ गठबन्धनसँग २७ सिट पुगेको छ । एमाले र राप्रपा गठबन्धनसँग २६ सिट छ । जसपा पनि एमाले गठबन्धनमा छ ।

मतगणना जारी रहेका क्षेत्रमा अग्रता लिए अनुसार कांग्रेसले २ सिट जिते सत्तागठबन्धनको सिट २९ पुग्नेछ ।

प्रदेशमा समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार समानुपातिकमा एमालेले ५ लाख ९९ हजार ९५९ मत पाएको छ । नेपाली कांग्रेसले ५ लाख ३ हजार १६३, राष्ट्रिय प्रजातन्त्र पार्टाीले १ लाख ८२ हजार ९०९, माओवादी केन्द्रले १ लाख ६८ हजार ७३४, जनता समाजवादी पार्टीले ५५ हजार ३१७, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ५० हजार ८७५ मत र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार ३६ मत पाएको छ ।

समानुपातिक मतको प्रकृया यस्तै रहे समानुपातिक ३७ सिटमध्ये एमालेले सबै भन्दा बढी १४, कांग्रेसले १२, माओवादीले र राप्रपाले ४–४ सिट पाउने सम्भावना छ ।

समानुपातिक मतका आधारमा जसपाले १, एकीकृत समाजवादीले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट पाउने सम्भावना छ ।

सोही अनुपातमा सिट पाएको अवस्थामा समानुपातिकतर्फ गठबन्धनलने १८ र एमाले गठबन्धनको १९ हुनेछ ।

सत्तारुढ गठबन्धन कायम रहेमा बहुमतका लागि आवश्यक ४७ सिट पुग्ने छ । एमाले गठबन्धनको ४६ सिट हुनेछ । तर राप्रपाले एमाले गठबन्धनमा रहने वा नरहने भन्ने निर्णय गरिसकेको छैन । राप्रपा सत्तारुढ गठबन्धनसँग रहे गठबन्धनले सहज बहुमत जुटाउनेछ । एमाले गठबन्धनमा बसे दुवै गठबन्धनलाई बहुमत जुटाउन जोखिम हुनेछ । प्रत्यक्ष २ सिट जितेको राप्रपाले समानुपातिक चार सिट पाउनेछ ।

नेकपा एमाले नेता हिक्मतकुमार कार्की एमाले नेतृत्वको गठबन्धनले बहुमत जुटाउने बताउँछन् । ‘सबै नतिजा आइसकेको छैन, तर हामी बहुमत नजिक छौं,’ मुख्यमन्त्रीको दाबेदार रहेका उनले भने, ‘हाम्रो बहुमत पुग्ने अवस्था देख्छु ।’

कार्की नेकपा एमालेबाट मुख्यमन्त्रीको एकल दाबेदार हुन् । मुख्यमन्त्रीका अर्का दाबेदार जीवन घिमिरे भने मोरङ ४(२)मा कांग्रेस उम्मेदवार भीम पराजुलीसँग पराजित भए ।

गठबन्धनमा को– को छन दाबेदार

सत्तारुढ गठबन्धनमा भने मुख्यमन्त्रीको दाबेदारको सख्ंया धेरै छ । दाबेदार मध्ये दुई जना भने पराजित भएका थिए । मोरङ ५(२)बाट निर्वाचित कांग्रेस नेता अमृत अर्याल प्रमुख दाबेदार हुन् ।

उनी संस्थापन समूहका हुन् । डाक्टर शेखर कोइराला पक्षका तीन जना आकाक्षी थिए । तर दुई जना पराजित भए । मोरङ ४ (१) बाट गुरुराज घिमिरे र सुनसरी २(२) बाट राजिव कोइराला पराजित भए । मोरङ ६(२)बाट विजयी भएका केदार कार्की डाक्टर कोइराला समूहबाट दाबेदार हुन् ।

कृष्णप्रसाद सिटौला समूहबाट भीम पराजुली मुख्यमन्त्रीको दाबेदार छन् । उनले एमालेका मुख्यमन्त्री दाबेदार जीवन घिमिरेलाई पराजित गरेका थिए । सामानुपातिक सूचीमा रहेका कांग्रेस प्रदेश १ सभापति उद्धव थापा पनि सिटौला समूहबाट दाबेदार छन् ।

माओवादी केन्द्रमा इन्द्रबहादुर आङ्बो मुख्यमन्त्रीको एकल दाबेदार हुन् । उनी वर्तमान सरकारको आर्थिक मामिला तथा योजना मन्त्री हुन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट वर्तमान मुख्यमन्त्री राजेन्द्र राई पनि मुख्यमन्त्रीको दाबेदार हुन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?