+
+
विश्वकप इतिहास :

विश्वकप १९९०ः पश्चिम जर्मनीको नाममा अन्तिम विश्वकप उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १८:४८

काठमाडौं । विश्वकप १९९० धेरै धेरैका लागि पहिलो र केहिका लागि अन्तिम विश्वकप थियो । राजनीतिक र भौगोलिक कारणले यो विश्वकप पश्चिम जर्मनीको नामबाट अन्तिम बन्यो । पूर्वी र पश्चिम जर्मनीले विश्वकपको केहि महिनापछि एकीकृत जर्मनीबाट अन्तर्राष्ट्रिय सहभागिता जनाउन थालेको थियो । एक वर्षपछि भंग भएको सोभियत युनियनले पनि यो नामबाट अन्तिम विश्वकप खेल्यो ।

अर्जेन्टिना, इंग्ल्याण्ड र पश्चिम जर्मनीसँगै इटली पनि यो विश्वकपमा उपाधिको मुख्य दावेदारमध्ये एक थियो । कोस्टारिका, आयरल्याण्ड र युएईले पहिलोपल्ट विश्वकप खेले । इजिप्ट र अमेरिकाले लामो समयअन्तरपछि विश्वकपमा पुनरागमन गरे । फ्रान्स यसपल्ट विश्वकपमा छनोट हुन असफल रह्यो ।

इतिहासकै ठूलो उतारचडावका बीच प्रतियोगिता सुरु भयो । केवल दोस्रोपल्ट विश्वकपमा छनोट भएको क्यामरुनले साविक विजेता अर्जेन्टिनालाई १–० गोलले हरायो । यद्यपी रोमानियालाई हराएर अर्जेन्टिनासमूहमा तेस्रो हुँदै नकआउट चरणमा भने पुग्यो ।

ब्राजिल, उरुग्वे र नेदरल्याण्ड्स समूहबाटै बाहिरिँदा क्यामरुन र आयरल्याण्डले अप्रत्यासित रुपमा नकआउट चरणमा प्रवेश पाएका थिए ।

दुवै सेमिफाइनल पेनाल्टी शुटआउटबाट विजेता निर्धारण गर्नुपरेको थियो । सेमिफाइनलमा अर्जेन्टिनाले घरेलु टोली इटलीमाथि ४–३ तथा पश्चिम जर्मनीले इंग्ल्याण्डमाथि ४–३ गोलअन्तरको जित निकालेको थियो ।

फाइनलमा दुवै टिमले रक्षात्मक रणनीति लिँदा खेलको रौनकता हराएको थियो । खेलको ६५औं मिनेटमा अर्जेन्टिनाका पेड्रो मोनजोनले रातो कार्ड पाए । उनी विश्वकप फाइनलमा रातो कार्ड पाउने पहिलो खेलाडी बने ।

फाइनलमा अपेक्षाकृत कमजोर टिमको सामना गर्दा पनि पश्चिम जर्मनीले खेलमा प्रभाव जमाउन सकेको थिएन । अन्ततः ८५ मिनेटमा पेनाल्टीमार्फत गोल गरी उसले उपाधि जित्न सक्यो । पश्चिम जर्मनी तीनपल्ट विश्वकप जित्ने ब्राजिल र इटलीपछि तेस्रो देशसमेत बन्यो ।

यो विश्वकपमा जर्मनीका प्रशिक्षक फ्रान्ज बेकनबउरले अनौठो कीर्तिमान बनाए । उनी खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जित्ने पहिलो फुटबलर हुन् ।

विश्वकपको क्वाटरफाइनलमा पुगेर क्यामरुनले यो सफलता पाउने पहिलो अफ्रिकी देशको कीर्तिमान रच्यो ।

यो विश्वकपमा रक्षात्मक रणनीतिले पश्रय पाउँदा धेरै बलहरु ब्याक पास तथा गोलरक्षकले समय बर्बाद पार्ने गर्न थाले । जसको कारणले खेलको रौनकता गुम्यो । प्रतिखेल औषत २.२१ गोल भए । यो अहिलेसम्मकै विश्वकपमा कम गोल भएको प्रतियोगितामध्येको एक हो । प्रतियोगिताभर १६ वटा रातो कार्ड देखाइएको थियो ।

तथ्यांकमा विश्वकप १९९०

आयोजकः इटली
टिमः २४
फर्म्याटः समूह चरण, नकआउट
खेलः ५२
गोलः ११५
विजेताः पश्चिम जर्मनी
उपविजेताः अर्जेन्टिना
गोल्डेन बुटः साल्भाटोर चिलाकी (इटली)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?