२३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकपमा अमेरिकाका फरवार्ड फोलारिन बालोगुनमाथिको एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न आफूले फिफासँग आग्रह गरेको स्वीकार गरेका छन् ।
२५ वर्षीय बालोगुन बोस्निया–हर्जेगोभिनाविरुद्धको खेलमा डिफेन्डर तारिक मुहारेमोभिचमाथि गरेको फाउलका कारण रातो कार्ड पाएपछि बेल्जियमविरुद्धको प्रि–क्वार्टरफाइनल खेल गुमाउने अवस्थामा थिए ।
तर फिफाले उनको स्वतः लाग्ने एक खेलको प्रतिबन्ध १२ महिनाका लागि स्थगित गर्ने अप्रत्याशित निर्णय गरेपछि उनी बेल्जियमविरुद्ध खेल्न योग्य भएका छन् । यस निर्णयको यूईएफए, बेल्जियम फुटबल संघ तथा इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले कडा आलोचना गरेका छन् ।
बेल्जियम फुटबल संघ (आरबीएफए) ले फिफाको निर्णयप्रति आश्चर्य व्यक्त गर्दै बालोगुनलाई खेलाउन नहुने भन्दै आफ्नो आपत्ति जनाएको छ । संघले यसबारे गरेको अपिल भने खारेज भइसकेको छ ।
ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग यस विषयमा कुरा गरेको स्वीकार गरे । ‘मलाई त्यो फाउल लागेको जस्तो लागेन, त्यसैले पुनरावलोकन गर्न आग्रह गरेको थिएँ। मैले उनीहरूलाई के गर्नुपर्छ भनेर भनेको होइन। निर्णय आयोगले गरेको हो र त्यो सही निर्णय थियो’ ट्रम्पले भने।
प्रतिबन्ध कायम भएको भए प्रतियोगितामाथि ‘ठूलो दाग लाग्ने’ उनको भनाइ थियो ।
विश्वकपमा तीन गोल गरिसकेका बालोगुन अब सियाटलमा हुने बेल्जियमविरुद्धको अन्तिम १६ को खेलका लागि उपलब्ध रहनेछन् ।
यता यूईएफएले भने फिफाको निर्णयले फुटबलको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाएको प्रतिक्रिया दिएको छ ।
-बीबीसी स्पोर्ट्सबाट
प्रतिक्रिया 4