+
+

नेपाल टी–२० लिगबाट काठमाडौं गोर्खाज बाहिरियो, नयाँ फ्रेन्चाइज खोज्दै क्यान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १२:५४

१४ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना पहिलो पटक हुन लागेको नेपाल टी–२० लिग क्रिकेटको एउटा फ्रेन्चाइज टिम काठमाडौं गोर्खाजले प्रतियोगिताबाट नाम फिर्ता लिएको छ ।

लिग घोषणा हुँदादेखि नै आलोचना हुँदै आएको र विवादित बनेको नेपाल टी–२० मा पछिल्लो पटक फ्रेन्चाइजले नै हात झिकेपछि समस्यामा देखिएको छ ।

क्यानले आफ्नै आधिकारिक फ्रेन्चाइज गर्ने भन्दै गत जेठमा नेपाल टी–२० लिग घोषणा गरेको थियो । आगामी डिसेम्बर ११ देखि ३१ सम्म (मंसिर २५ देखि पुस १६ गते) सम्म पहिलो संस्करण आयोजना गर्ने तयारी भइरहेको थियो । तर लिग हुनु दुई हप्ता भन्दा कम समय बाँकी रहँदा कान्तिपुर मिडियाको स्वामित्वमा रहेको काठमाडौं गोर्खाजले नाम फिर्ता लिएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले काठमाडौंले नाम फिर्ता लिएको पुष्टि गरे । ‘काठमाडौं गोर्खाजले नाम फिर्ता लिएको छ । अब त्यसको ठाउँमा नयाँ टिम समावेश गर्नुपर्ने हुन्छ,’ मल्लले भने ।

लिग नजिकै आएको अवस्थामा एउटा टिमले नाम फिर्ता लिँदा अब के हुन्छ र यसले कस्तो असर पर्छ भन्ने प्रश्न उठेको छ । यसमा मल्ल भन्छन्, ‘अब काठमाडौंसँग सम्झौतामा रहेका खेलाडीहरुलाई अर्को टिममा अनुबन्ध गराउनुपर्छ । आईसीसीबाट मान्यता लिइसकेकाले जसरी पनि यो लिग गर्नुपर्छ । यसले अब लिग एक साता जति पछि सर्न सक्छ ।’

यसअघि असोजमा गर्ने भनिए पनि निर्वाचनको अघि सुरक्षाको कारण देखाउँदै नेपाल टी-२० लिग सारिएको थियो ।

काठमाडौंसँगै लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने तय छ । क्यानले लिगका लागि नेपाली र विदेशी खेलाडीको ड्राफ्ट पनि गरिसकेको छ ।

काठमाडौंको मार्की खेलाडीमा राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल थिए । यस्तै काठमाडौं टिममा कमल सिंह ऐरी, अभिनाश बोहरा, बसिर अहमद जस्ता खेलाडी छन् । श्रीलंकन थिसारा परेरा, कामिन्दु मेन्डिस, धनन्जय डा शिल्भा पनि काठमाडौंमा अनुबन्ध थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?