+
+
खुलापत्र :

सागर ढकालले हारेर पनि जितेको चुनाव

शरीरको घरेलुकरण र वस्तुकरण, उपनिवेशीकरणमै रमाएका दलहरूले देउवालाई समर्थन गरे र प्राविधिक जित दिलाए तर सागरले मन र शरीरले सकेको प्रतिरोध गरेर आफ्नो राजनीतिक क्षमतामा कसी लगाउने काम गरे। त्यसैले सागर हारेर पनि जितेका मान्छे हुन्। देउवा जितेर पनि राजनीतिक रूपमा हारेका पात्र हुन्।

सञ्जीव कार्की सञ्जीव कार्की
२०७९ मंसिर १४ गते १६:३०

प्रिय सागर, मिठो स्मृति !

सर्वप्रथम म क्षमायाचना गर्दछु। मैले तिम्रो असल नियतप्रति शङ्का गरें। यद्यपि राजनीतिमा आकस्मिकता अनपेक्षित हुन्छ। नयाँ कुरालाई संशयको घेरामा राख्नु पनि पर्छ। यो सामाजिक चेत हो। आलोचनात्मक चेत भएन भने हामी भक्त र अन्धभक्त मात्रै हुन्छौं, वास्तविक शुभेच्छुक बन्न सक्दैनौं। तसर्थ मैले पनि सागरको डडेल्धुरा यात्रालाई शैक्षिक भ्रमण, पिकनिकको लागि प्रस्थान, मिडियाबाजी, आफन्त र साथीभाइ भेटघाट, देउवा जिताउने प्रकारान्तरको रणनीति भनेर कटु आलोचना गरें।

खिसिटिउरी नै गरेँ। त्यो मेरो आलोचनात्मक चेत नभएर अल्पज्ञान, सम्भावित यथार्थ बुझ्न नसकेर विद्यमान यथार्थलाई नै शक्तिशाली देख्ने भुल थियो। त्यसमा मलाई गहिरो खेद छ।

यो चुनाव, यो लहर, यो युवा उत्साहले मलाई पनि धेरै कुरा सिकायो। जनताको चेतना स्तर र निर्णय क्षमताबारे जान्ने मौका मिल्यो। काठमाडौं र नेपालका विभिन्न शहरका चेतनालाई समेत लघुचित्तले मूल्याङ्कन गर्ने हाम्रो चेतना र विवेकशून्य स्थितिले डडेल्धुराका जनता र तिनको चेतनामा खोट देख्नु अस्वाभाविक होइन तसर्थ भीमकाय देउवाको अघि पिलन्धरे सागरको केही जोर चल्दैन, सागर बहकिएको हो, सन्किएको हो, स्टन्टबाजी गर्न गएको हो भनियो। फन्डेड मान्छे समेत भनेर आलोचना गरेको सुनियो।

सञ्जिव कार्की ।

दुइटा बाइकमा दुई जना र एउटा स्पिकर बोकेर सयौं गाडी, घोडा, हेलिकप्टर, व्यापक साधन स्रोत र सङ्गठनका विरुद्ध लड्ने सागरलाई उडाउने धेरै भए, प्रोत्साहन र हौसला दिने कोही भएनन्।

नेपालका बुद्धिजीवी भनिनेहरू पनि आत्माहीन बुख्याचा मात्र भएकोले आत्माको प्रभाव देखाउन सक्दैनन्। अर्ग्यानिक इन्टेलेक्च्युअलको अभावमा हाम्रो देश विलखबन्धनमा छ। त्यसो नहुँदो हो त आज डडेल्धुराले देउवालाई विश्राम गर्न पठाएर सागरलाई आफ्नो कामको जिम्मा दिन्थ्यो।

नेताको चाकरी, पार्टीको भजन र शक्तिको पुजारी बन्नु आम बुद्धिजीवीको चरित्र, जीवन शैली र अभ्यास भएको छ। बौद्धिक हुनु, सत्ताको तावेदारी र दलाली गर्ने लाइसेन्स प्राप्त गर्नु होइन। सत्ताले फ्याँक्ने चारोमा आँखा गाढेर राज्य सत्ता, पार्टी सत्ता र व्यक्ति सत्ताको कीर्तन गर्नेहरू कदापि बौद्धिक होइनन्। तिनलाई विचार संस्कृति र सिद्धान्त निर्माणका कारखाना सम्झेर आम मान्छेले भुल गरिरहेका छन्।

तिनले रचेको भाष्य भन्दा पर गएर सोच्न नसक्नु उदीयमान चेत, शक्ति र सामर्थ्य पहिचान गर्न नसक्नु हाम्रो कमजोरी छ। बौद्धिक भनिनेहरूका आँखा सन्तुलित, सापेक्षित निष्पक्ष बन्न सकेका छैनन्।

त्यसैले सागर जस्ताको मनसाय जोश र रहर समयमा पुरस्कृत बन्न सक्दैन। त्यसैले यो यहुदी भनाइले बुद्धिमानको सच्चा परिभाषा गरेको छ: ‘शब्दको विद्वान् के बुद्धिमान, कर्मको बुद्धिमान पो सच्चा बुद्धिमान’। त्यसैले कर्मयोगीहरू बुद्धिमान हुन् कर्मयोगीले निर्माण गरेको भाष्य अनुकरणीय हुन्छ। ढिलो भए पनि मैले यो चुनावको हिरोइजम कसैमा छ भने सागरमा छ भन्ने निष्कर्ष निकालेको छु। २०७९ को सङ्घीय इलेक्सनको ‘म्यान अफ दि इलेक्सन (म्याच)’ सागर ढकाल हो।

उत्तरआधुनिकतावादी सैद्धान्तिक अवधारणाको एउटा टुल्स हो केन्द्र भन्जन। सागरले केन्द्र भन्जन गर्ने जुन सङ्कल्प गरे त्यो आफैंमा पहिलो जित थियो। स्थापित र बलियो मान्यता भत्काउने प्रयास केन्द्र भन्जन हो। शक्तिकेन्द्र भन्जन गर्ने क्रममा सागरले प्राविधिक रूपमा मात्र सफलता प्राप्त गरेका होइनौ।

राजनीतिक र नैतिक चारित्रिक रूपमा विजय प्राप्त गरेका छौ। राजनीतिक चेत भएका मान्छे सामान्य मान्छे भन्दा अलि फरक र दूरदृष्टि राख्ने हुन्छन्। सागरमा यही राजनीतिको आलोक देखें।

प्रिय सागर,

देउवासँग विपक्षीले आत्मसमर्पण गरेका, एमाले समेत मैदान छोडेर भागेको र नेकपा माओवादी, नेकपा समाजवादी लगायतको साथ–समर्थन र गठबन्धन, कहिल्यै चुनाव नहारेर जितको वरदान मात्र पाएको मिथक बन्दै गरेको एक पात्रको विरुद्ध गुल्मीबाट गएको एउटा तन्नेरीले १३ हजार प्लस भोट प्राप्त गर्नु चानचुने कुरो होइन।

जित्ने र धेरै भोट ल्याउनेलाई ‘म्यान अफ दि म्याच’ भनिने पुरानो परिपाटी र संस्कारमा हुर्केका हामीलाई विपक्षीसँग झन्डै दोब्बर मतले हारेको मान्छेमा ‘म्यान अफ दि म्याच’ देख्नु आफैंमा हास्यको पात्र बन्नु हो।

तथापि हास्यको पात्र बन्नु परे पनि सागरको साहसलाई ‘म्यान अफ दि म्याच’ देख्नुका केही तर्क र उदाहरण छन्। सबै जित, जित होइनन्, केही जित प्राविधिक र यान्त्रिक हुन्। अनेक झमेला गरेर जित्ने, बुथक्याप्चर गरेर जित्ने, मारमुंग्री गरेर जित्ने, सत्ता र शक्तिको प्रयोग गरेर जित्ने, पैसाको खोलो बगाएर जित्ने, गरिब बस्तीमा रक्सी, मासुभात, केही खाद्यान्न र लुगाफाटा, साडी–चोलो बाँडेर जित्ने, वैदेशिक रोजगारीको लोभ देखाएर जित्ने, सम्पूर्ण प्रशासनिक संयन्त्र आफ्नो मुठीमा लिएर जित्ने, चुनाव जित्ने यावत् तरिका र उपायहरू हामीले अवलम्बन र अभ्यास गरेको संसदीय व्यवस्थामा प्रचलित छन्।

केही अपवादलाई छोडेर धेरै विजेता यही चुनावी काइदाअनुसार जितेर आएका छन्। जितलाई नैतिक र राजनीतिक जितसँग पनि तुलना गरेर अध्ययन गर्नु श्रेयस्कर ठानिन्छ। सागरको जित नैतिक, सामाजिक, भौतिक, सांस्कृतिक र आर्थिक जित हो।

सबैभन्दा ठूलो नैतिक जित हो। सागरले नैतिक जित निकालेका छौ। सागर त्यो भूगोलका मान्छे होइनौ, जुन भूगोलको ज्ञान नभएको मान्छे डडेल्धुराको भाषिक, सांस्कृतिक र सामाजिक जीवनसँग परिचित र सामीप्यता राख्ने मान्छे होइन।

सागरसँग शेरबहादुरलगायत उनीसँग प्रतिस्पर्धा गर्ने कर्ण मल्ल जति पैसा हुने कुरा पनि भएन। राजनीतिक रूपमा सागर पहिलोपल्ट मैदान छिरेका कारण राजनीतिक अनुभव नहुने कुरा यसै भैहाल्यो। एक्लो व्यक्ति सागरको पार्टी र सङ्गठन थिएन त्यसैले अरूको अघि सांगठनिक रूपमा जिरो ग्राउण्ड स्वाभाविक थियो।

पार्टीहरू संगठन र पार्टी कार्यकर्ताको बलले चुनावमा प्रतिस्पर्धा गर्छन् तर सागर यी सबै कुरा भन्दा पृथक् एउटा चिज लिएर राजनीतिक मैदानमा उत्रिएका थियौ। त्यो हो कतै र कहिल्यै दाग नलागेको भर्जिन चरित्र, दोषरहित राजनीतिक थालनी, सफेद जीवन र सामान्य शैली, नैतिक रूपमा, आर्थिक रूपमा, सामाजिक रूपमा कतै चुकेको, कतै लान्छित भएको, कतै अपमानित बनेको जीवन थिएन।

अपमान नै भने पनि, प्रचार नै भने पनि देउवालाई पाँच वर्ष पहिले बीबीसी साझा सवालमा प्रश्न गर्दा ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भनेर देउवाले धम्क्याएको, थर्काएको र रिसाएको एउटा सार्वजनिक भिडियो क्लिप थियो। आफ्नो पढाइ, लेखाइ र संस्कारले दिएको विनयशील बोली थियो।

त्यसैले शेरबहादुर देउवासँग भिड्न जाँदा उत्तेजक कुरा गरेनौ, मुख छोडेनौ, संयमित भएर व्यक्तिगत रूपमा आदरणीय हजुरबुबा र संस्थागत रूपमा सम्माननीय प्रधानमन्त्री भनेर सम्बोधन गर्यौ, देउवाको गन्यापधुरा गाउँपालिकामा रहेको जीर्ण घर, भग्नावशेष घर बनाइदिएर त्यसलाई म्युजियम बनाएर राख्ने उच्च राजनीतिक संस्कारको कुरा गर्‍यौ। देउवाको भव्य राजनीतिक सभामा उनलाई स्वागत गर्न फूलमाला लिएर घन्टौं कांग्रेस कार्यकर्तासँगै लाइनमा बस्यौ।

के यसले सागरमा रहेको उच्च राजनीतिक चेतलाई प्रतिबिम्बित गर्दैन ? आफ्नो प्रतिद्वन्द्वीलाई सम्मान गरेर नै प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने सुसंस्कृत राजनीतिमा सागरको प्रतिबद्धता कार्यान्वयनमा देखियो। हामीकहाँ विपक्षीलाई होच्याउने र तल पार्ने गरी बोल्दा मजा मान्ने गलत संस्कार छ। सागरले देउवालाई कहिल्यै होच्याएर अराजनीतिक भाषण गरेनौ जुन तिम्रा लागि प्राप्त भएका राजनीतिक, सांस्कृतिक र अनुशासित जीवन शैलीका पूँजी हुन्।

यसलाई जोगाएर जतनसँग राख र आफ्नो शैली बनाऊ सागर तिमीलाई कहिल्यै असंस्कारी राजनीतिकर्मीको आरोप लाग्ने छैन। अरूले नि तिम्रो यो शैलीको अनुसरण गर्नेछन्। सागर तिम्रो प्रतिरोधी चेतना जय गर्न सकिने खालको छ।

युवाहरू सत्ता चढ्ने भर्यांग मात्र होइनन्, देश हाँक्ने चालक पनि हुन्। त्यसैले तिमी आफैं चालक बन्छु भनेर देश हाँकिरहेको चालक सामु अब मेरो पालो भन्दै दावी प्रस्तुत गर्यौ त्यो सामान्य हिम्मत र बुद्धिविलास होइन भन्ने कुरा तिम्रा कर्मले प्रमाणित गरेको छ। तिमी आम युवाका प्रेरणाका स्रोत हौ। तिमीलाई हृदयले सम्मान गर्छु।

सागर तिमीलाई थाहा छ ?

नेपाली कांग्रेसका नेता बीपी कोइरालाले २०१५ को संसदीय निर्वाचनमा द्वारिकादेवी ठकुरानीलाई डडेल्धुरा क्षेत्र नं ६६ बाट प्रत्यक्ष चुनाव उठाएर जिताएर स्वास्थ्य र स्वायत्त प्रबन्ध उपमन्त्री समेत बनाएका थिए।

जतिबेला आजको विकसित मुलुक सबैले नेपाललाई स्विट्जरल्याण्ड बनाउँछु भन्छन् त्यो देशमा सन् १९७१ मा मात्रै महिलालाई भोट गर्ने स्वतन्त्रता मिलेको थियो। जुन नेपालको संसदीय चुनाव २०१५ भन्दा १२ वर्षपछिको राजनीतिक परिवर्तन र महिलालाई मताधिकार दिने स्वतन्त्रता थियो।

तत्कालीन अवस्थामा एक महिलालाई भोट दिएर जिताउने सुदूरपश्चिमको त्यो चेतनालाई अण्डरमाइण्ड गरेर आम मान्छेले सागरको डडेल्धुराबाट चुनाव लड्ने घोषणालाई मजाकको रूपमा लिए। तर सागरको दूरदृष्टि र सुदूर अतीतको मूल्याङ्कन गर्ने क्षमतालाई डडेल्धुरावासीले भरपूर साथ व्यालेटको मार्फत दिएर राजनीतिको लागि फराकिलो मार्ग कोरिदिए अत: सागर डडेल्धुरासँग कृत्य कृत्य हुनुपर्छ।

सागरको बुझाइ पनि त्यस्तै पाएर खुशी लागेको छ। डडेल्धुराका जनतालाई एउटा कुनै अमूक जनावरसँग तुलना गरेर गाली गर्नु अपसंस्कृति हो। डडेल्धुराले सल्काएको चेतनाको मसाल विरुद्धको भावना हो। डडेल्धुरा परिवर्तन चाहन्छ, त्यो सागरमार्फत अभिव्यक्त मतले पुष्टि गरेको छ।

सागर तिमी केवल उमेरले मात्रै युवा होइनौ उमेरले युवा कति छन् कति ? हाम्रो देशमा ४० प्रतिशत भन्दा बढी युवाको जनसंख्या भएको तथ्यांक छ। युवामा युवापन, केही गरौं भन्ने हुटहुटी, खतरासँग खेलौं भन्ने साहस, कर्मप्रतिको निष्ठा, माटोप्रतिको ममत्व हुन्छ जुन गुण भएर नै तिमी युवा भएका हौ।

आफ्नो विशिष्ट पहिचानसहितको युवा परिचय तिमीलाई मिलेको छ। तिम्रो उदाहरण हरेकको मुखमा झुण्डिएको छ। यो पहिचान, यो गौरवलाई स्थापित गरिराख्न सङ्घर्षको मैदानमा टिकिराख्नुपर्ने हुन्छ।

सङ्घर्षमा अनेकन् आँधी हुरी आउँछ, भूकम्प आउँछ, संकट खडेरी, भोकमरी, अभाव र असहज स्थितिको सामना गर्नुपर्ने हुन्छ। के त्यसको लागि सधैं तयार छौ ? यो चैं मेरो प्रश्न हो। धेरै आशा गरेका र धेरैलाई बोकेर हिंडदा बाटोमा नै छोडेर हिंड्ने आजका सागरजस्ता मान्छेले धोका दिएको कारण सागर सामु म यति संशय राख्ने हक राख्छु। मैदान छोडेर भाग्न पाइँदैन भन्ने खबरदारी र निगरानी सम्झ। प्रज्ञा र ज्ञानको सत्ता स्वीकार गर्ने नेता र नेतृत्व आजको राजनीतिको पुस्ता र दस्तालाई चाहिएको छ।

प्रिय इन्जिनियर सा’ब,

फ्रान्सेली चिन्तक मिसेल फुको शरीरलाई सत्ता र शक्तिको अभ्यास स्थल मान्छन्। सत्ता र शक्तिले शरीरलाई निर्देशित र नियन्त्रण गर्ने कुरा गर्छन्। शरीर नियन्त्रण गर्न सत्ताले अनेक भाष्यको निर्मिति गर्दछ। सत्ता र शक्तिका लागि डोसाइल बडी (मौन, निष्क्रिय, अधीनस्थ, शरीर) मनपर्छ।

यस्ता शरीरको रूपमा देउवाले नेकपा माओवादी, नेकपा समाजवादी र आफ्नो पार्टीको शक्तिलाई लिए। तर सागर फुकोले परिभाषित गरेको भोकल बडी (मुखर, सक्रिय र मुक्त शरीर) लिएर राजनीतिक प्रतिद्वन्दिता गर्न गए। यस्तो शरीर सत्ता र शक्तिलाई मन पर्दैन र निषेध गर्न खोज्छन्।

शरीरको घरेलुकरण र वस्तुकरण, उपनिवेशीकरणमै रमाएका दलहरूले देउवालाई समर्थन गरे र प्राविधिक जित दिलाए तर सागरले मन र शरीरले सकेको प्रतिरोध गरेर आफ्नो राजनीतिक क्षमतामा कसी लगाउने काम गरे। त्यसैले सागर हारेर पनि जितेका मान्छे हुन्।

देउवा जितेर पनि राजनीतिक रूपमा हारेका पात्र हुन्। पार्टीमर्ज, पार्टी एकीकरण नै गरेर चुनाव लडेको भए त्यो नैतिक हुन्थ्यो तर बहुदलीय प्रतिस्पर्धामा देउवाले गठबन्धन गरेर बहुदलीय हुनुको मर्ममा प्रहार गरे त्यसैले त्यो जित फगत अराजनीतिक, प्राविधिक र बलमिच्याईंको दृष्टान्त हो। सागरको भोट भोकल बडीको प्रतिनिधित्वमा आधारित छ। देउवाले प्राप्त गरेको मत डोसायल बडीको शरीर राजनीतिको थ्यौरी समिप छ।

प्रिय भाइ,

प्रजातान्त्रिक व्यवस्था र प्रजातान्त्रिक पार्टी र सो दलको नेता हुनुको कारण हजार अवगुणका बाबजुद देउवा लोकतान्त्रिक छन्। स्वयं देउवा र नेपाली कांग्रेसले अपवाद बाहेकको तिम्रो प्रयासमा कहिल्यै तगारो बनेनन्, तिमीलाई निषेध गर्ने काम गरेनन्। देउवाले कहिल्यै कुनै तुच्छ टिप्पणी गरेनन्। डडेल्धुराको कुनाकाप्चा जतासुकै निर्वाध हिंड्न र आफ्नो कुरा राख्न पायौ।

यस्तै कुरा कम्युनिस्ट पार्टीको नेताको क्षेत्रमा गरेको भए परिणाम सम्झेको, सोचेको र देखेकै होला ? आफ्नै जिल्ला गोरखामा उम्मेदवार अब्दुस मियाको टोली पिटियो। अझ ओली कमरेडको ठाउँमा सागरको जस्तो गतिविधि भएको भए उनले नै तथानाम भन्न सक्थे छुद्र वचनले धुलो बनाउँथे। निषेधको स्थिति बन्न सक्थ्यो। यो सहिष्णु व्यवहार र प्रतिस्पर्धामा देउवालाई तिमीले धन्यवाद दिएर त्यो लोकतान्त्रिक छविलाई जहिल्यै आत्मसात् गर्नुपर्छ। यही हो लोकतन्त्रको र सौन्दर्य मानक।

प्रिय सागर,

आज तिम्रो उम्मेदवारी र तिमीले आर्जन गरेको मतभारले देशभर एउटा नवीन सन्देश प्रवाह गरेको छ। कतै कहिल्यै सम्भावना नदेख्नेहरूलाई आशाको उज्यालो देखाएको छ। राजनीतिमा छाएको चौतर्फी निराशा चिर्न अधिवक्ता सोविता गौतम, डाक्टर तोसिमा कार्की, विराजभक्त श्रेष्ठ, सागर, रविलगायत देशभर प्राप्त नतिजाले आशा र विश्वासको रक्त संचार गराएको छ।

पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा बीई गरेर केही समय नेपालमा नै काम गरेको अनुभव, विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयबाट पोलिसी एन्ड म्यानेजमेन्टमा एमएस्सी गरेर पढाइपछि चीन, अफ्रिका, इथियोपिया, सुडान हुँदै एसियाली मुलुक कीर्गिस्थानमा काम गर्ने सिलसिलाका भ्रमण सिकाइ र अनुभव हाम्रो देश बनाउन पक्कै कामयावी हुनेछ। टेक्निकल इन्जिनियरमा राजनीति र समाजको सोसल इन्जिनियरिङ गर्ने रहर सिद्धिप्राप्तिको खातिर जुटेका संयोग होलान् ?

बस् धैर्य र इमानदार यत्नको खाँचो छ। माछा, मासु, रक्सीको मादमा कहिल्यै नपरेका र हाम्रा धार्मिकग्रन्थ पूर्वीय दर्शनका ठेली पढेका, आफ्नो सभ्यता, संस्कृतिलाई माया गर्ने, इतिहासको ज्ञान भएका, ध्यान र योगलाई आफ्नो जीवनशैली बनाएका, आधुनिक विश्वको ख्यातिप्राप्त एकेडेमिक संस्थाबाट स्नातकोत्तर गरेका सागरको देश बनाउने सपना अर्को संसदले साकार पारोस्।

त्यो पाँच वर्षअघि देश बनाउने ढाँचाको सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक खाकामा व्यापक विमर्श जरूरी छ। धेरै धेरै शुभकामना। सागरको हिरोइजमलाई देशले खोजिरहेको छ ‘डन्ट वोरी सागर वि आर विथ यु’।

लेखकको बारेमा
सञ्जीव कार्की

समसामयिक विषयमा कलम चलाउने कार्की विशेषगरी सीमान्तकृत समुदाय र दलितका सवालमा कलम चलाउँछन् । उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एमफिल-पीएचडी अनुसन्धाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?