+
+

कर्णालीमा सत्ता गठबन्धनको दुई तिहाइ, मुख्यमन्त्रीमा आलोपालो

यज्ञ खत्री यज्ञ खत्री
२०७९ मंसिर १४ गते १९:३१

१४ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनले दुईतिहाई बहुमत पुर्‍याउने भएको छ । ४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस र माओवादी केन्द्रले समान ९–९ सिट जितेका छन् । एमालेले ५ सिज जित्दा एक स्वतन्त्र आएका छन् ।

समानुपातिकतर्फ मत गणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म प्राप्त मत अनुसार कांग्रेस र एमालेले समान ५/५, माओवादी केन्द्रले ४ तथा एकीकृत समाजवादी र राप्रपाले एक/एक सिट पाउने देखिन्छ । त्यसो भएमा४० सदस्यीय कर्णाली प्रदेश सभामा सत्तारुढ गठबन्धनमा आवद्ध दलको कुल सांसद संख्या २८ हुनेछ ।

कर्णालीमा बहुमतको सरकार बनाउन २१ जना सांसद चाहिन्छ । सत्तारुढ दलहरुसँग भएको संख्या दुई तिहाई बहुमत हो । अब गठबन्धन कायमै रहे उनीहरुको सहजै सरकार बन्छ ।

एमालेले भने सरकारको नेतृत्वका लागि कांग्रेस वा माओवादीको साथ खोज्नुपर्ने हुन्छ । तत्कालका लागि यो अवस्था नरहेको कांग्रेस कर्णाली प्रदेश प्रवक्ता दमन शाही बताउँछन् । ‘गठबन्धनको शुत्रधार नै कर्णाली हो । हामीले भोट पनि गठबन्धनकै नामबाट माग्यौं,’ प्रवक्ता शाहीले भने, ‘गठबन्धनकै संयुक्त सरकार बन्छ, दायाँबायाँ हुँदैन ।’

माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पनि गठबन्धनले निरन्तरता पाउने बताइन् । ‘कर्णालीमा सत्तारुढ गठबन्धनको सयुक्त सरकार बन्छ,’ केसी अनलाइनखबरसँग भन्छिन्, ‘सरकारको नेतृत्व भने माओवादी र कांग्रेसले ढाई/ढाई वर्ष गर्छन् ।’

नेतृत्वमा होडबाजी

मुख्यमन्त्रीमा आलोपालो गर्न नेताहरु तयार देखिएका छन् । तर पहिलो सरकारको नेतृत्व आफ्नो दलले गर्नुपर्ने कांग्रेस र माओवादी दुबैको दाबी छ ।

कर्णाली आफूहरुको आधार इलाका भएकाले पहिला सरकारको नेतृत्व माओवादीले पाउनुपर्ने अध्यक्ष केसीको दाबी छ । ‘अन्य प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्ने देखिन्छ । कर्णाली सरकारको सुरुआती नेतृत्व माओवादीले पाउनुपर्छ भन्ने हाम्रो माग हो,’ केसीले अनलाइनखबरसँग भनिन्, ‘त्यसअनुसार नेताहरुसँग छलफल भइरहेको छ ।’

कांग्रेस प्रदेश कमिटीका प्रवक्ता शाहीले भने पहिलो दल कांग्रेस भएकाले पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए । ‘प्रदेशमा कांग्रेस पहिलो दल भएकाले पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने कुरामा हामी विश्वस्त छौं,’ प्रवक्ता शाहीले भने ।

प्रदेश सरकारको नेतृत्व गर्नेबारे कांग्रेस र माओवादीले आ-आफ्नै दाबी गरे पनि अन्तिम निर्णय भने शीर्ष नेतृत्वले लिने दुबै दलका नेताहरु स्वीकार्छन् । ‘हाम्रो हातमा तालाचावी छैन । अन्तिम टुङ्गो केन्द्रको समीकरणले लगाउँछ’ कर्णाली प्रदेश इञ्चार्ज कालिबहादुर मल्ल भन्छन्, ‘कसको पक्षमा चिट्ठा पर्छ भन्ने कुरा अहिले नै भन्न सकिँदैन ।’

मुख्यमन्त्री को ?

चुनावी नजिता आएसँगै कर्णालीमा अबको मुख्यमन्त्री को भन्नेबारे चासो बढेको छ ।

चुनाव जिते मुख्यमन्त्री बन्छु भन्दै भोट मागेका कांग्रेस, माओवादी र एमालेका सातमध्ये ६ जना नेताहरुले चुनाव जितेका छन् । मुख्यमन्त्री बन्ने भन्दै प्रदेश सभामा चुनाव लडेका काँग्रेस प्रदेश सभापति ललितजंग शाही जुम्ला (१) मा पराजित भए ।

कांग्रेसबाट बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही र राजीवविक्रम शाहलाई भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ । जीवन शाही मुख्यमन्त्री बन्ने भन्दै प्रदेश सभामै चुनाव लडेका थिए । ‘मुख्यमन्त्री बन्ने गरी प्रदेश सभामा लड्नु भएको हो,’ उनी निकट एक नेताले भने ।

जाजरकोट प्रदेश सभा (२)बाट चुनाव जितेका कांग्रेसका केन्द्रीय सदस्य राजीव विक्रम शाहले पनि मुख्यमन्त्रीको दाबी गर्दै आएका छन् । ‘यो पटक मेरो भाग्य चम्किन थालेको छ । संयोग ठुलै जुट्ला जस्तो छ’ जाजरकोट खलंगामा आयोजित विजयी उत्सवमा बोल्दै शाहले भने, ‘आर्शिवाद राम्रो मिलेको छ । प्रदेशको नेतृत्व गर्नुपर्ने हुनसक्छ ।’

उनी निकट नेताहरुले पनि जीवनबहादुर शाहीको पालो सकिएकाले अबको मुख्यमन्त्री शाह हुने बताउँछन् ।

माओवादी केन्द्रमा मुख्यमन्त्रीका रुपमा सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका राजकुमार शर्माको नाम चर्चामा छ । दुईमध्ये वरीयताका आधारमा शर्माको सम्भावना बढी रहेको नेताहरु बताउँछन् । एक नेता भन्छन्, ‘माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाए राजकुमार कमरेड नै हो अबको मुख्यमन्त्री । उहाँको विकल्पमा अरुलाई सोच्न सकिँदैन ।’

अहिलेकै अवस्थामा एमालेले सरकारको नेतृत्व गर्ने सम्भावना छैन । तर सत्ता गठबन्धनमा तलमाथि भएको अवस्थामा एमालेले सरकारको नेतृत्व गर्ने सम्भावना रहन्छ । एमालेमा यामलाल कँडेल र विनोदकुमार शाहको नाम चर्चामा छ । तर एमालेबाट यामलाल नै संसदीय दलको नेता र मुख्यमन्त्रीको दावेदार भएको एमालेका नेताहरु बताउँछन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?