+
+

नाट्य कृति बन्यो उपन्यास ‘पल्पसा क्याफे’, महोत्सवमा आज इटालीको नाटक

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते ११:४१

काठमाडौं । लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ । सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा क्याफे’को नाट्य रुपान्तरण काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवको क्रममा सार्वजनिक गरिएको हो ।

लेखक वाग्लेको मदन पुरस्कार प्राप्त उक्त पुस्तकको नाट्य रूपान्तरण लेखक सुरज सुवेदीले गरेका हुन् । नाट्य रूपान्तरको अनुभव सुनाउँदै सुवेदीले उपन्यासभन्दा अगाडि पुगेर कथावस्तुलाई नाटकका रूपमा तयार गरिएको जानकारी दिए ।

‘उपन्यासको मर्म कायम राखेर नाटक बनाएका हौं,’ लेखक सुवेदीले भने, ‘नाट्य रूपान्तरणमा पात्रको संवाद, उपस्थिति पनि बढेको छ । यहाँ द्वन्द्वमा बेपत्ता भएकाको पर्खाइमा रहेका परिवारको माध्यमबाट कथा भनिएको छ ।’

कल्पनाशीलता प्रयोग गरिएका कारण पुस्तक उपन्यासजस्तै नरहेको समेत लेखक सुवेदीले बताए । उनका अनुसार उपन्यासमा दृश्य र पल्पसा प्रमुख पात्र थिए भने नाटकले उनीहरूलाई पर्खेर बसेकी हजुरआमाको कोणबाट कथा भनेको छ । यसका लागि उपन्यासकार वाग्लेले पूर्ण स्वतन्त्रता दिएको बताए ।

विमोचन कार्यक्रममा लेखक सुवेदी र कवि नवराज पराजुलीले पुस्तकको अंश वाचन गरेका थिए । उपन्यास ‘पल्पसा क्याफे’ अंग्रेजी, कोरियन, फ्रेन्च र सिंहाली भाषामा अनुवाद भइसकेको छ ।

आज इटालीको नाटक प्रदर्शन हुँदै

महोत्सवको सातौं दिन बिहीबार इटालीको मजदुरको कथा बोकेको नाटक ‘मेड इन सिल्भा’ मञ्चन हुँदैछ । नाटकले प्रतिकूल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भन्छ ।

उत्तरआधुनिक परिवेशमा मानिस कसरी यान्त्रिक मानिसभन्दा पनि एकोहोरो चालको मेसिनमा परिणत हुन्छ र कसरी कृत्रिम अस्तित्वमा बाँच्न बाध्य हुन्छ भन्ने कथा यसले पेस गर्छ ।

अन्ना डोरा डोर्नो निर्देशित तथा निकोला पियन्जोला लिखित ‘मेड इन इल्भा’ मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुँदैछ ।

त्यस्तौ सातौं दिनको प्यानल डिसकसनको विषय ‘थिएटर शिक्षाः अवसर र चुनौती’ रहेको छ । साँझ ५ बजे यस विषयमा विश्वविद्यालयका सम्बन्धित र थिएटर व्यक्तित्वबीच अन्तरक्रिया हुनेछ ।

बिहीबारै कचहरी नाटक र क्लाउन नाटक सम्बन्धी कार्यशाला पनि हुँदैछ भने मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कुलका क्रियाकलाप, उपलब्धि र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिंदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?