 
																			१६ मंसिर, काठमाडौं । संघीय संसद सचिवालय चुनावबाट उदाएका नयाँ दलका लागि सिंहदरबारमा कार्यालयमा खोज्नमा केन्द्रित भएको छ ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सिंहदरबार भित्र रहेका विभिन्न भवनहरु हेरिएको छ । उनका अनुसार हेलो सरकार बस्दै आएको भवन, रक्षा मन्त्रालयको फ्लोर, पुरानो गृहमन्त्रालय रहेको भवनलाई विकल्पमा रुपमा लिइएको छ ।
संघीय संसद सचिवालयले चुनावबाट उदाएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), सिके राउत नेतृत्वको जनमत पार्टी, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लागि कार्यालय खोजेको हो ।
अघिल्लो संसदमा राप्रपाको जम्मा एक सिट थियो । यसपटक प्रत्यक्षमै ७ सिट जितेको छ । समानुपातिक तर्फबाट समेत गर्दा यस पार्टीले थप ७ सांसद पाउन सक्छ । यसकारण यसपटक राप्रपालाई नयाँ संसदीय दलको कार्यालय नै उपलब्ध गराउनुपर्ने हुन्छ ।
संसद सचिवालयका अनुुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पहिलेकै संसदीय दलको कार्यालय प्रयोग गर्न दिइनेछ ।
कुनै दलबाट एक जना सांसद मात्रै निवौचित भएको भए पनि एउटा कोठा दिने अभ्यास छ । स्वतन्त्र सांसदले पनि माग गर्दा सिंहदरबारका कार्यालय पाउने अभ्यास छ । यस अनुसार जनमोर्चाकी दुर्गा पौडेल बस्दै आएको कोठा यसपटक राजमोबाट निर्वाचित चित्रबहादुर केसीलाई प्रयोग गर्न दिने, नेमकिपाका प्रेम सुवालाई पुरानै कोठा प्रयोग गर्न दिने तयारी छ ।
यसपटक स्वतन्त्र रुपमा ७ जना निर्वाचित भएका छन् । उनीहरुले पनि माग गरेको खण्डमा कम्तिमा एउटा कोठा दिइने र यस्तो अभ्यास रहेको प्रवक्ता पाण्डे बताउँछन् ।
प्रवक्ता पाण्डेका अनुसार तीन वटा नयाँ दल र स्वतन्त्रहरु समेतलाई मध्यनजर गरेर हल सहितका १६ वटा कोठा आवश्यक रहेको भनी मुख्य सचिवलाई पत्राचार गरिएको छ ।
निर्वाचन आयोगले चुनावको अन्तिम नतिजा आएपछि कुन कुन दल आए भनेर पठाउने भए पनि आइसकेपछि कार्यालयको समस्या नपरोस् भनेर सचिवालयले अग्रिम तयारी गरेको हो । प्रवक्ता पाण्डे भन्छन्, ‘चुनावको अन्तिम नतिजा नआए पनि कुन कुन दल नयाँ आउँछन भन्ने आकलन भएको छ । त्यस अनुसार कार्यालयका लागि भवन खोजिएको हो ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4