+
+
अन्तर्वार्ता :

‘माओवादीसँग छलफलमा छैनौं’

नतिजा हामीले चाहे अनुरुप आएन । हामीले यो भन्दा फरक नतिजाकै अपेक्षा गरेका हौं । हाम्रो पक्षका बहुमत, नभए पहिलो ठूलो पार्टी भन्ने विश्लेषण थियो । मतको हिसाबले हामी ठूला भएकै हौं । तर सिट अनुसार भएनौं ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते २०:२७

सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार खारेजीमा परेपछि सहज अवस्थामा देखिन्थे एमाले उपाध्यक्ष विष्णु पौडेल । तर रुपन्देही २ बाट चुनाव जित्न उनलाई निकै हम्मे पर्‍यो । उनी यसलाई देश भित्र र बाहिरका शक्तिहरुको घेराबन्दी भनी अर्थ्याउँछन् ।

उनले पछिल्लो जनादेशप्रति असन्तुष्टि पनि व्यक्त गरेका छन् । विगतमा एमाले र माओवादीबीच चरम तिक्तताको बीच संवाद गराएर पार्टी एकता गर्न भूमिका खेलेका पौडेल २०७५ जेठ ३ मा नेकपा निर्माणसँगै शक्तिशाली महासचिव समेत भएथे ।

के नयाँ जनादेशसँगै एमाले र माओवादी नयाँ सरप्राइज दिने मुडमा छन् ? यिनै प्रश्नहरु सहित एमाले उपाध्यक्ष विष्णु पौडेलसँग आज आइतबार बिहान अनलाइनखबरकर्मी बसन्त बस्नेतले गरेको कुराकानी :

तपाईंले चुनावमार्फत आएको जनादेशप्रति असन्तुष्टि व्यक्त गर्नुभएछ, किन ?

निर्वाचनमा जनताले दिएको जनादेशलाई हामी स्वीकार गर्छाैं । मेरो विश्लेषण के हो भने यसले आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि योगदान गरेन भन्ने हो । मैले हाम्रो सोचाई अनुरुपको जनादेश आएन भनेर अस्वीकार गर्नुपर्छ भनेको छैन । देशले सही बाटो समात्न नपाउने हो कि भन्ने चिन्ता व्यक्त हुनु स्वाभाविक हो ।

एमालेलाई सिटमा नभए पनि मतमा पहिलो पार्टी नै बनाइदिए नि मतदाताले । यसमा असन्तुष्ट हुनुपर्ने के छ र ?

नतिजा हामीले चाहे अनुरुप आएन । हामीले यो भन्दा फरक नतिजाकै अपेक्षा गरेका हौं । हाम्रो पक्षका बहुमत, नभए पहिलो ठूलो पार्टी भन्ने विश्लेषण थियो । मतको हिसाबले हामी ठूला भएकै हौं । तर सिट अनुसार भएनौं । पार्टीहरुले आफ्नो जनाधार बुझ्ने राम्रो तरिका भनेको समानुपातिक मत हो । त्यसमा हामी पहिलो छौं । त्यो ठिकै छ । स्वीकार गर्छाैं ।

नयाँ दलको उदयले तपाईंहरुलाई असर परेको देखियो होइन ?

केही असन्तुष्टि, केही आक्रोश र अपेक्षा यो मतमा व्यक्त भएको छ । नागरिकबाट प्रतिक्रियास्वरुप मतहरु आएको देखिन्छ ।

माओवादीले गठबन्धन जारी राख्दै सरकार गठनका अरु विकल्प खुला राख्ने अर्थपूर्ण निर्णय गरेको छ । तपाईंंहरुसँग यसको केही सम्बन्ध छ ?

अहिले हामी चुनावको अन्तिम नतिजा पर्खाइमा छौं । अहिलेसम्मको नतिजा हेर्दा नेकपा एमालेलाई सायद जनताले प्रतिपक्षमा बस्नका लागि आदेश दिएका छन् । हामीले त्यो बुझेका छौं ।

तपाईंहरुलाई आशानुरुप मत नआएको होला, तर अर्को कुनै दलले स्पष्ट बहुमत पनि लिएको छैन । त्यसैले प्रतिपक्षमा बस्नु नै जनादेश हो भनेर भन्न मिल्छ ?

हामीले जोसँग चुनाव लड्यौं, उहाँहरुले नै २०–२५ वर्षसम्म गठबन्धन जारी हुन सक्छ भनिसकेपछि के बुझ्ने ? किनभने सामान्य बहुमत उहाँहरुको पक्षमा पुग्ला भन्ने देखिन्छ । त्यस्तो अवस्थामा उहाँहरुले सरकार बनाउनुस् । हामी प्रतिपक्षमा बसौंला ।

पहिले कांग्रेसले सरकार बनाउन कोसिस गरिहेरोस्, सकेनछ भने हामी अघि बढौंला भनेर उपयुक्त घडी पर्खिराख्नुभएको हो ?

नेकपा एमालेका विरुद्ध चौतर्फी आक्रमण र घेराबन्दी छ । त्यो हामीलाई थाहा छ । यो पार्टीलाई राष्ट्रिय राजनीतिबाट समाप्त पार्न धेरै ठूला कोसिस भए । अहिले पनि ती कोसिस जारी छन् । ती षड्यन्त्रहरु चिर्दैछौं ।

एमालेलाई कुनै घडीको प्रतीक्षा गरिराख्नुपर्ने आवश्यकता छैन । एमाले धेरै जिम्मेवार राजनीतिक दल हो । यसले परिस्थितिको सावधानीपूर्वक विश्लेषण गर्छ । जिम्मेवारीपूर्वक निर्णय लिन्छ । हामी सहज मनस्थितिमा छौं– जनादेशलाई सम्मान गर्ने । त्यसै अनुरुप भूमिका परिभाषित गर्ने । प्रकट जनादेशलाई सम्मान गर्ने बाहेक अरु विचार एमालेको छैन ।

तर तपाईंहरु हिजोआज माओवादीसँग छलफलमा हुनुहुन्छ, होइन ?

छलफलमा छैनौं । छलफलमा हुनुपर्ने आवश्यकता पनि छैन । शुभकामना आदानप्रदान हुनु बेग्लै कुरा हो । यस्ता छलफल बाहेक अरु छलफल गरेका छैनौं ।

तर तपाईंहरु बेलाबेला अनेक घटना घटाइराख्नुहुन्छ । २०७४ सालमा माओवादी र कांग्रेस गठबन्धनमा रहेकै बेला तपाईंहरुले रातारात नयाँ वाम गठबन्धन बनाइदिएको होइन ? त्यस बेला पनि माओवादीसँग तिक्त सम्बन्धकै बीच सरप्राइज आएको थियो । यसपालि पनि सारा प्रक्रिया गुपचुप राखेर त्यस्तै सरप्राइज दिने मुडमा हो ?

एमाले सरप्राइज दिने कुरामा विश्वास गर्दैन । हामी लोकतान्त्रिक र पारदर्शी पार्टीका सदस्य हौं । जे हुन्छ, सफा सफा हुन्छ । अहिले मत परिणामको सम्मान, त्यस अनुरुपको भूमिका बाहेक दायाँबायाँ कुरा छैन । अहिलेको जनादेश एमालेलाई प्रतिपक्षमा बसाउनकै लागि आएको छ । एमालेलाई बहुमत नदिएर गल्ती गरिएछ भन्ने कुरा मतदातालाई छिटोभन्दा छिटो महसुस हुनेगरी हामी काम गर्छौं ।

एमाले नेतृत्वको वाम गठबन्धनलाई बहुमत दिएर गल्ती गरिएछ भन्ने पर्ने गरी विगतमा पो काम गर्नुभयो कि ?

वामपन्थी एकता र वाम सरकार निर्माण सही थियो । समयोचित थियो । त्यो इतिहासको आवश्यकता थियो । त्यो टिक्न सकेन । अझ भनुँ, टिकाउन सकिएन । त्यो वामपन्थी आन्दोलनका सन्दर्भमा दुर्भाग्य थियोे । जनतालाई हामीसँग पछुतो हुन्थ्यो भने नेकपा एमाले अहिलेको चुनावबाट पनि एक नम्बरको लोकप्रिय पार्टी हुँदैनथ्यो । गठबन्धन भएका कारणले एमाले सिटमा पहिलो हुन सकेन होला । त्यो हामी मान्छौं । तर दलहरुको असली सामर्थ्य त समानुपातिक नतिजाले देखाइदियो ।

नतिजा हेर्दा नागरिकहरु गठबन्धन सरकारमात्रै नभएर तपाईंहरुसँग समेत असन्तुष्ट छन् भन्ने त प्रष्टै देखियो नि ?

नेकपा एमालेका विरुद्ध चौतर्फी आक्रमण र घेराबन्दी छ । त्यो हामीलाई थाहा छ । यो पार्टीलाई राष्ट्रिय राजनीतिबाट समाप्त पार्न धेरै ठूला कोसिस भए । अहिले पनि ती कोसिस जारी छन् । ती षड्यन्त्रहरु चिर्दैछौं । तर हामीलाई बेलाबेलामा पछार्न कोसिसहरु गरिएको हो । फेरि धुलो टक्टक्याउँदै उठेका हौं । हामीलाई जनताको साथबाहेक सामर्थ्यको अर्को कुनै आधार छैन । घेराबन्दी र अनेक गठबन्धनका बीच हामी यो संसदमा ठूलो पार्टी हुन्छौं भन्ने थियो । घटनाक्रमले हाम्रो ठम्याइलाई आंशिक रुपमा पुष्टि गरिदियो । सिटसंख्यामा चाहिं हामी दोस्रो हुन पुग्यौं ।

पार्टीका वरिष्ठ उपाध्यक्ष, महासचिवलगायत ठूलो सम्भावना बोकेको तप्का नै पराजित हुने स्थितिलाई कसरी स्वमूल्यांकन गर्नुहुन्छ ?

यसपल्टको चुनावमा एमालेका केही निश्चित नेताहरु हिटलिस्टमा हुनुहुन्थ्यो । हामी हिटलिस्टमा थियौं ।

कसको हिटलिस्टमा हुनुहुन्थ्यो तपाईंहरु ?

मैले भनिराख्नै पर्दैन । तपाईंहरु बुझिहाल्नुहुन्छ  ।

देशभित्र कि बाहिरको हिटलिस्टमा हुनुहुन्थ्यो ?

तपाईंले बुुुझिसक्नुभयो नि । तपाईंको प्रश्नमै जवाफ छ। हामीलाई कुनै पनि हालतमा संसदमा फेरि जान दिनुहुँदैन भन्ने हाम्रा विरुद्धमा थियो । एमालेलाई घेराबन्दी गर्ने, कमजोर पार्ने जुन मिसन छ, त्यो रोकिएको छैन । एमालेका अमुक नेताहरु जो जितेर आयौं, कतिले हार्‍यौं, हामी हिटलिस्टमा थियौं । हामीलाई हराउन सबै किसिमका प्रयास भए । केही ठाउँमा क्रस गर्न सक्यौं, केही ठाउँमा सकेनौं । कुरा यो हो ।

ए हिटलिस्टले पो हार्नुभएको ? आफ्ना कमजोरी थिएनन् ?

किन हुँदैनन् ? आफ्ना कमजोरी हुन्छन् । जनताले तिनको मूल्यांकन गर्छन् ।

र, जनताले मूल्यांकन गरे । यसरी हेर्न सकिँदैन ?

कहिलेकाहीं जनताले मूल्यांकन गर्छन् । कहिलेकाहीं जनतामा भ्रम पनि सिर्जना गरिन्छ ।

पराजयलाई पराजयको रुपका स्वीकार गर्न तपाईंहरुलाई केले रोक्छ ?

मैले सुरुमै भनें नि– हामी चुनावको नतिजा मान्छौं । अस्वीकार गर्ने त प्रश्नै भएन नि । तर सरकारको नेतृत्व गर्ने जनादेश पाएनौं । किनभने हाम्रा विरुद्ध जुन घेराबन्दी थियो, रिङ आउट गर्ने, पार्लियामेन्टमा इन्ट्री नदिने जुन प्रयास भयो, त्यसलाई त कसरी बिर्सन सकिन्छ र ?

माधव नेपाल र नेकपा एसले १० सिट जितेका छन् । उनीहरुलाई एमालेमा फर्कौंं भन्नुहुन्छ ?

गठबन्धन भएको हुँदा उहाँहरुले ल्याउनुभयो होला । तर वास्तविक शक्ति कति छ भन्ने त समानुपातिकमा देखियो नि । अहिले धेरै कुरा नगरौं यसमा ।

एकीकृत समाजवादीमा एकताको कुरा उठेको छ नि ?

एमालेमा फर्कन चाहने साथीहरुलाई स्वागत छ । आखिर विभाजन नै उचित थिएन । २०५४ कै उदाहरण पनि थियो ।

एमाले –माओवादी मिल्ने, वा एमाले–कांग्रेस मिलेर सरकार बन्ने कुनै सम्भावना छ ?

दुइटै सम्भावना छैन । दुईवटा मुख्य दल मिलेर सरकार बनाउने कुरा उचित होइन । विगतमा संक्रमणकालीन बेला गरियो होला । सामान्य अवस्थामा त्यो मिल्दैन । बलियो प्रतिपक्ष भएन भने लोकतन्त्र ठिक ढंगले अघि बढ्दैन । एउटा सरकारमा बस्नुपर्छ, अर्कोले प्रतिपक्षमा बस्नुपर्छ ।

दोस्रो, माओवादीको बारेमा । एमाले झर्ला र खाउँला भन्ने पार्टी होइन । हामी आफ्नो पौरखमा विश्वास गर्छौं । राष्ट्रिय राजनीतिमा आज एमालेको जुन उपस्थिति छ, यो नहोस् भनेर देख्न चाहनेहरु छन् नि । यो सबै घेराबन्दी बीच पनि जनमतमा एक नम्बर पार्टी भयौं । त्यो जनमतको भरोसा गरेर नै अघि बढ्छौं । झर्ला खाउँला भन्ने होइन ।

खाइदिनुस् भन्दै आए भने के गर्ने ?

यस्तो प्रश्न अनुमानमा गर्ने, अनि जवाफ पनि अनुमानमै दिने । यो मिलेन ।

माओवादीको हिजोको निर्णय त्यस्तै किसिमको छ त ?

मलाई थाहा भएन । हामीलाई यस्ता विषयमा रुचि पनि छैन । अहिले सबै परिस्थितिको विश्लेषण गर्ने, कतिपय पार्टीभित्रका आन्तरिक अराजकता र स्वेच्छाचारिताको बारेमा समीक्षा गर्ने । हामी यस्ता कुरामा ध्यान दिइरहेका छौं ।

अब एमालेले के गर्छ उसोभए ?

सशक्त प्रतिपक्ष । हाम्रो यही भूमिका हो । त्यो भूमिका सही ढंगले निर्वाह गर्छौं ।

प्रदेशमा पनि त्यही हो ?

प्रदेशमा पनि हामीले जनादेशकै सम्मान गर्छौं । हाम्रो बन्न सक्ने ठाउँमा प्रयास गर्छौं । अरु ठाउँमा छाड्छौं ।

चुनावपछिको परिस्थिति कस्तो होला ?

हङ पार्लियामेन्ट दुःखद स्थिति नै हो । कुनै पनि पार्टीको बहुमत नहुनु राम्रो होइन । एमालेको बहुमत आएको राम्रो । हामीले नपाए पनि अरु कसैले पाएको भए हुन्थ्यो । अहिलेको अवस्थाले धेरै समस्या निम्त्याउँछ ।

आम निराशा बढ्दै गएको देख्नुभयो होला नि ? त्यसलाई निवारण गर्न के गर्नुहुन्छ ?

निराशा बढ्दै गएको सही हो । यसलाई सही ढंगले निकास दिने पहिलो दायित्व सरकारको हुन्छ । अब बन्ने सरकारले यस विषयलाई सम्बोधन गरोस् । नागरिकलाई भविष्यप्रति विश्वास जगाउन सकोस् । सरकारले सकेन भने एमालेले दायित्व निर्वाह गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?