+
+

नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते २२:०५

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जनाएको छ ।

यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबइमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौंपटक विदेशी भूमिमा कार्यक्रम गर्न लागेको हो । अध्यक्ष पुष्कर लामाले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको बताए ।

अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, युएस खबर र आर्यन फिल्म्स लगायतका संस्थासँग सहकार्य गर्दैछ । फिल्मको अन्तर्राष्ट्रियकरण प्राविधिक संघको कार्यभार बनेको चर्चा गर्दै अध्यक्ष लामाले डायस्पोरा घरेलु फिल्मको ठूलो बजार बन्न लाग्नु शुभ संकेत भएको बताए ।

नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबीचको पुलको रुपमा स्थापना गर्ने, डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायांकन गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ ।

अवार्ड आयोजनका लागि गैरआवासीय नेपाल संघ र कूटनीतिक नियोगसँग पनि समन्वय गर्ने जानकारी अध्यक्ष लामाले दिए । चीन र भारतजस्ता विश्वका दुई ठूला फिल्म बजारको बीचमा रहेको नेपालले लाभ लिन नसकेको चर्चा गर्दै अध्यक्ष लामाले विश्वलाई नेपाली फिल्मसँग जोड्ने पुलको रुपमा नेफ्टा अवार्डले भूमिका खेल्ने चर्चा गरे ।

नेफ्टा नीजि क्षेत्रबाट नेपालमा आयोजना हुने प्रतिष्ठित अवार्डमध्ये मानिन्छ । अवार्डबारे छलफल गर्न आगामी ७ डिसेम्बरमा फिल्मकर्मी, आयोजक, संचारकर्मीसहितको सर्वपक्षीय जुम बैठक पनि नेफ्टाले आयोजना गरेको छ ।

कोरोना महामारीको कारण अघिल्लो वर्ष अवार्ड हुन सकेको थिएन । तर, महामारी सकिएपछि फिल्म क्षेत्रमा लयमा फर्किएसँगै नेफ्टाले कार्यक्रम गर्न लागेको हो । यसपटकको संस्करणमा २०७९ सालभित्र रिलिज भएका फिल्मले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?