+
+
ब्लग :

ठूला नेताले नबुझेको चुनावी रणनीति

सागर ढकालले त्यति मत ल्याउनुका पछाडि पहिलो त पुराना नेतासँगको असन्तुष्टि थियो । दोस्रो कारणमा ढकाल डडेल्धुरा गएर मतदातासँग घुलमिल भए, गाउँलेसँग संवादमा उत्रिए । उम्मेदवार जति नजिक भयो मतदाता त्यति प्रभावित हुन्छन् ।

विकास पन्त विकास पन्त
२०७९ मंसिर १९ गते ८:५३

चुनावी प्रचारको शैलीले चुनाव र चुनावी परिणाम बदलिएका छन् । अपेक्षित चुनावी परिणाम निम्त्याउन हाम्रा दल र तिनका नेताको भूमिका नै मुख्य छ । तर, चुनावी शैली र चुनावी परिणाम परिवर्तन हुनुमा बदलिंदो सामाजिक परिवेशलाई नकार्न सकिंदैन ।

चुनावी परिणाम आफ्नो पक्षमा पार्न अब पुरातन शैलीका र्‍याली, सभा र भाषणले मात्र मतदाता फकाउन सकिंदैन भन्ने ४ मंसिरको चुनावले प्रष्ट रूपमा देखाएको छ ।

भारतमा प्रशान्त किशोरको टिममा रहेर उम्मेदवारका लागि रणनीति बनाउने भूमिकामा खटिंदा मैले मतदाताको बदलिंदो मनोविज्ञानबारे जान्ने मौका पाएको थिएँ । गाउँ–गाउँमा खटिएर सर्वेक्षण गर्दै मतदाताले के खोजिरहेका छन् ? मतदाता कुन–कुन कुरामा असन्तुष्ट छन् ? मतदाताले उम्मेदवारबाट के अपेक्षा गरेका छन् भन्ने जानकारी बटुलेर उम्मेदवारलाई चुनावी रणनीति बनाउन मद्दत गरें ।

वैशाखको स्थानीय चुनाव र मंसिरको आम चुनावका दौरान पनि म यसैगरी चुनावी रणनीति बनाउन खटिएको थिएँ । हरेक चुनावी क्षेत्रका आफ्नै विशिष्टीकृत समस्या हुन्छन् । समुदाय, क्षेत्र र भूगोल अनुसारका समस्या हुन्छन् । ती समस्या पहिचान गरेर उम्मेदवारलाई त्यही अनुसार रणनीति बनाउन सघाउने काममा म जस्ता रणनीतिकारहरू सक्रिय हुन्छन् ।

चुनावी क्षेत्रका प्रभावशाली मान्छेलाई आफ्नो पकडमा लिने, उनीहरूका समस्या र असन्तुष्टिलाई उम्मेदवारसम्म पुर्‍याउने, प्रतिस्पर्धी राजनीतिक दलका स्थानीयस्तरमा असन्तुष्ट रहेका नेता–कार्यकर्तासँग संवाद गर्ने र माहोल आफ्नो पक्षमा पार्ने— झट्ट हेर्दा यी काम सजिलो देखिन्छ तर, चुनावको गरम माहोलमा यो काम गर्न सजिलो भने हुँदैन ।

मतदाता प्रभावित हुने तरिका बदलिएको छ । आज मतदाताहरू नेताको चर्को भाषण, आमसभा, ठूलो र्‍यालीले प्रभावित हुँदैनन् । सामाजिक सञ्जालको प्रयोग र प्रभाव विस्तार भएसँगै यसले निर्वाचनमा पनि प्रभाव पार्न थालेको छ । मतदाताहरू उम्मेदवारको आमसभा, र्‍यालीमा नगइकनै उम्मेदवारप्रति आफ्नो धारणा बनाउन थालेका छन् ।

एउटा मतदाता घरमा बसी–बसी उम्मेदवारप्रति आफ्नो दृष्टिकोण बनाउँछ । सामाजिक सञ्जालमा आउने नेताका तस्बिर, समाचार, भिडियो हेरेर आफ्नो धारणा बनाउँछ । मतदाताको यही मनोविज्ञान बुझेर उम्मेदवारहरू मतदातासँगै खेतमा काम गर्ने, मतदातासँगै बसेर खाना खाने, मतदातासँगै मोटरसाइकल चढ्ने र तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरिरहेका छन् । भारतकी प्रख्यात नायिका हेमा मालिनी यही रणनीतिअन्तर्गत किसानसँग खेतमा धान काट्न गइन् । जबकि सबैलाई थाहा छ, उनमा न धान काट्ने सीप छ, न उनले कहिल्यै धान काट्छिन् । तर, पनि यस्ता तस्बिरले मतदाता प्रभावित हुन्छन् ।

कुनै समय भित्ते पोष्टर र ठूला–ठूला ब्यानरले गाउँशहर रंगिन्थे । आजभोलि सामाजिक सञ्जाल भरिन्छन् । ४६ प्रतिशत नेपाली फेसबुकको पहुँचमा छन् । यो पहुँचमा रहेका मतदाताहरू कुनै न कुनै रूपले फेसबुकमा आउने उम्मेदवारका पोष्टबाट प्रभावित हुन्छन् ।

उदाहरणका लागि काठमाडौं महानगरका मेयर बालेन शाहले चुनाव जित्नुमा सामाजिक सञ्जालको प्रभावकारिता पनि मुख्य कारक हो । स्थापित दलका नेता र उम्मेदवारसँग दिक्क भएका मतदातालाई उनले सामाजिक सञ्जालबाट आफ्नो पक्षमा पार्न सफल भए । जबकि मतदातालाई उनको पृष्ठभूमि, राजनीतिक एजेण्डाबारे केही जानकारी थिएन । राष्ट्रिय स्वतन्त्र पार्टी पनि ठीक यस्तै तरिकाले उदायो ।

यो प्रतिनिधिसभा चुनावमा मैले शहरी र ग्रामीण क्षेत्रको मिश्रण भएको चुनावी क्षेत्रमा काम गरेको थिएँ । शहरी क्षेत्रमा सामाजिक सञ्जाल गाउँको तुलनामा बढ्ता प्रभावकारी देखियो । गाउँमा घरदैलो र विभिन्न समूह, समिति, क्लबसँगको निकट छलफल बढ्ता प्रभावकारी देखियो ।

नयाँ मतदाता जसलाई स्विङ्ग भोटर पनि भन्ने गरिन्छ; यस्ता भोटरहरू हावा जता बगिरहेको छ त्यतै जान्छन् । यस्ता भोटरहरूलाई मासु, भात वा उम्मेदवारको भाषणले प्रभावित पार्दैन । सामाजिक सञ्जालमा अभ्यस्त भएका यस्ता भोटरलाई सामाजिक सञ्जालबाटै प्रभावित पार्न सकिन्छ ।

उम्मेदवारको फोटो र ‘मलाई भोट दिनुहोस्’ लेखिएको पोष्ट राखेर सामाजिक सञ्जालमा स्पोन्सर्ड गर्दैमा त्यो प्रभावकारी हुन्छ भन्न सकिंदैन । मतदाताको उमेर समूह, चुनावी क्षेत्र अनुसारका विशिष्टकृत समस्या सम्बोधन गर्ने गरी उम्मेदवारले सामाजिक सञ्जालको प्रयोग गर्न सके भने सामाजिक सञ्जालका मतदातालाई धेरथोर आफ्नो पक्षमा पार्न सकिन्छ ।

राजनीतिक रणनीतिकारका रूपमा हामीले ग्राउण्डमा जे सूचना पाएका छौं उम्मेदवारलाई त्यही सुनाउँछौं । हामी कार्यकर्ता होइनौं, त्यसैले हामीले निष्पक्ष भएर उम्मेदवारलाई सल्लाह दिन्छौं । हामीले विशेष गरेर स्विङ्ग भोटरलाई आफ्नो पक्षमा कसरी ल्याउने भनेर रणनीति बनाउँछौं ।

पहिलेदेखि नै दलमा आवद्ध भएका कार्यकर्ता भन्दा पनि दलमा नजोडिएका मतदातालाई उम्मेदवारले आफ्ना एजेण्डामार्फत कसरी आफ्नो पक्षमा ल्याउन सक्छन् भन्नेमा राजनीतिक रणनीतिकारले काम गर्छन् ।

तर, राजनीतिक दलका कार्यकर्ताले नेता वा उम्मेदवारलाई प्रभावित पार्न अनेक कुरा भन्छन् । कमजोर रहेको ठाउँमा पनि बलियो छौं भनेर उम्मेदवारलाई भ्रमित तुल्याउँछन् । आफ्नो प्रभाव र पकड देखाउन उम्मेदवारलाई भ्रमित पार्छन् । अधिकांश समय आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका उम्मेदवार पनि आफ्ना कार्यकर्ताको कुरा पत्याउँछन् । र, चुनावी परिणाम आफ्नो पक्षमा नआएपछि अन्तर्घात, धाँधलीको आरोप लगाउँछन् ।

यथार्थमा उनीहरूले आफ्नो चुनावी क्षेत्रको सबै कुरा नबुझेका कारण चुनाव हारेका हुन्छन् । तर, चुनावी रणनीतिकारका रूपमा हामीले यसो गर्दैनौं हामीले यथार्थ सुनाउँछौं र त्यही अनुसार उम्मेदवारलाई रणनीति बनाउन सुझाउँछौं । भारतमा प्रशान्त किशोर र उनको टिममा रहँदा हामीले गरेको पनि यही हो ।

हाम्रा नेताहरूले चुनावी प्रचारको पुरातन शैली त्याग्नै पर्छ । आफ्नो विगतको बलमा मात्र अब चुनाव जित्न सकिने अवस्था छैन भन्ने देखियो । उम्मेदवारले आफ्ना एजेण्डा मात्र लाद्ने नभई मतदाताका एजेण्डा नै मतदातालाई सुनाउने गर्नुपर्छ ।

यस बाहेक मतदाताले आफ्नो चुनावी क्षेत्रको मतदाताको बनोट पनि हेर्नुुपर्छ । मतदाताको उमेर समूह, मतदाताको आर्थिक, शैक्षिक र सामाजिक स्तर पनि ख्याल गर्नुपर्छ । यी विवरण हेरे उम्मेदवारले आफ्नो क्षेत्रका लागि एजेण्डा सेट गर्ने हो ।

उम्मेदवारले ठाउँ विशेष अनुसार के बोल्ने, कसरी प्रस्तुत हुने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । यो चुनावमा एकाध ठूला नेताहरूले मात्र र्‍याली र आमसभा गरे, अधिकांश उम्मेदवारले यस्ता आमसभा गरेनन् । यी आमसभा अब प्रभावहीन हुँदै गएका छन् । हरेक उम्मेदवारले घरदैलो अभियान गरे, घरदैलो अभियानले मत परिवर्तन त गराउँदैन तर, त्यसो गरेन भने मत काटिने संभावना भने हुन्छ ।

यस बाहेक चुनावी क्षेत्रका वडा, समूह, समिति, क्लब, गुठीसँगको क्लोज मिटिङ्ग र आफ्नो क्षेत्रका मतदातालाई एसएमएस, फोन गरेर भोट माग्ने चलन पनि देखियो । यसले मतदातालाई उम्मेदवारप्रति अपनत्व महसुस गराउँछ । चुनावी प्रचारप्रसार भनेको आफ्ना एजेण्डाको मार्केटिङ नै हो । जसले सफल मार्केटिङ गर्न सक्छ उसले जित्ने संभावना बलियो हुन्छ ।

नेपालमा भन्दा भारतमा मतदाताहरूसँग संवाद गर्न, कुराकानी गर्न सजिलो छ । भारतमा मतदाताहरू सजिलै खुल्छन् र आफ्नो कुरा राख्छन् । तर, नेपालमा भने मतदातासँग कुरा गर्न अलिक समय लाग्छ ।

अबका चुनावमा उम्मेदवारले बलियो चुनावी रणनीति बनाएनन् भने चुनाव जित्न गाह्रो छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लड्न गुल्मीबाट गएका सागर ढकालले अनपेक्षित मत ल्याए । ढकालले त्यति मत ल्याउनुका पछाडि पहिलो त पुराना नेतासँगको असन्तुष्टि थियो । दोस्रो कारणमा ढकाल डडेल्धुरा गएर मतदातासँग घुलमिल भए, गाउँलेसँग संवादमा उत्रिए । उम्मेदवार जति नजिक भयो मतदाता त्यति प्रभावित हुन्छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नेपाल आउँदा उनले संसदमा नेपाली भाषामा सम्बोधन गरे । यसको चौतर्फी प्रशंसा भयो । चुनावी रणनीतिमा पनि ठिक यस्तै लागू हुन्छ, आफ्नो क्षेत्रका जनताले बुझ्ने भाषामा आफ्ना कुरा राख्ने । जनताले के सुन्न चाहिरहेका छन् भन्ने ख्याल गरेर सजिलो भाषामा आफ्ना कुरा भन्ने । औपचारिक शैलीमा शब्दहरूको जार्गन नभई सहज र अनौपचारिक शैलीमा संवाद गर्दा मतदातालाई आफ्ना कुरा बुझाउन सजिलो हुन्छ ।

भारतका चुनावी रणनीतिकार प्रशान्त किशोरसँग केही समय काम गरेका लेखक एकाउन्टेन्ट हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?