+
+

नेपालमा बुबाको पथ पछ्याउँदै टोनी हेगनकी छोरी

रासस रासस
२०७९ मंसिर १९ गते १३:१४

१९ मंसिर, काठमाडौँ । मंसिर ४ को चुनावको पाँच दिनअघि काठमाडौँको एक होटलमा भेट्दा डा.क्याट्रिन रोल्पा जाने तयारीमा थिइन्। यसपालि पनि  उनको उही काम थियो निःशुल्क स्वास्थ्य शिविर ।

हाडजोर्नीसम्बन्धी विशेषज्ञ ७४ वर्षीया उनी बर्सेनि नेपाल आउँछिन् । यहाँका कुनाकन्दरामा पुग्छिन्, स्वास्थ्य शिविर राख्छिन् र विशेषगरी उनको विशेषज्ञताको हाडजोर्नीसम्बन्धी निःशुल्क उपचार गर्छिन् ।

नेपाल कति पटक आउनुभयो भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘गन्ती गरेको छैन, खोइ थाहा छैन । त्यस्तै ४० पटकभन्दा बढी त भयो होला । यस वर्ष उनी नेपाल आएको यो तेस्रो पटक हो । पछिल्लो समय बुबाको नेपाल चिनाउने काम, नेपालका दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क उपचार अनि समय भएमा पदयात्राका लागि नेपाल आइरहेकी छु ।’

चार वर्षकी हुँदा सन् १९५२ मा उनी नेपाल आएकी रहेछिन, बुबासँग । ‘तर धेरै सम्झना छैन, चार वर्षकी थिएँ । यति सम्झिन्छु कि त्यतिबेला नेपालमा विमानस्थल थिएन । कताकति मात्र शौचालय थिए, । बडो कठिन थियो यहाँको यातायात र नेपालीको जीवनशैली पनि ।’

उनका बुबाअर्थात् टोनी हेगन । नेपाललाई संसारमा चिनाएको यो नामलाई सायद नेपालमा चिनाइरहनु पर्दैन होला । टोनी हेगेन सम्भवतः नेपालकै पहिलो पर्यटकका रुपमा सन् १९५० मा यहाँ आएका थिए । नेपालमा विमानस्थल नभएकाले उनी कलकत्तासम्म जहाजमा आएर यहाँ आएका रहेछन् । त्यसपछि आफूलाई नेपालको सौन्दर्यले तानेको कुरा उनले नेपाललाई भन्दा बाहिरको संसारलाई बढी सुनाएका रहेछन् ।

प्रायः यहाँकै हिमाल, पहाड र खोल्सातिर भेटिने टोनीले औषत नेपालीले भन्दा धेरै नेपाल घुमेका छन् । उनलाई नेपालको पहिलो र सर्वाधिक पदयात्रा गरेको विदेशीभन्दा गल्ती हुँदैन ।

सन् १९५० मा स्वीस् सहयोग परियोजनाका क्रममा नेपाल आएका उनी नेपालको भूगोल र सौन्दर्यसँग नेपालीभन्दा नजिक रहे । नेपालको करिब १४ हजार किलोमिटर पैदलैयात्रा गरेका उनले नेपाल सम्भवत सबै पर्यटकभन्दा बढी पैदलै हिँडेका छन् । नेपालको भौगोलिक अवस्था एवं हिमालयन क्षेत्रको जैविक विविधताका साथै नेपाली जीवनशैली, परम्परा एवं यहाँको जातीय विविधतालाई उनले नेपाल बाहिरसम्म पुर्‍याइदिएका छन् ।

नेपाली पर्यटन क्षेत्रले सम्मान गर्ने उनले तयार गरेको ‘नेपाल’ नामक पुस्तकले नेपालको भौगोलिक, पर्यटकीय र अनेक जीवनशैलीका बहुआयामिक पक्षलाई समेट्छ । उनले हाम्रो हिमाल र हिमाली पर्यटकीय विशेषताका साथै अनेक सांस्कृतिक पक्षलाई समेटेर तयार गरेका वृत्तचित्रले नेपाल बाहिर नेपाल चिनाउन निकै सघाएको छ । उनका यिनै योगदानका कारण नेपालले उनलाई नेपालको मानार्थ नागरिकता प्रदान गरेको थियो ।

आधा जति बुबाको नेपाल प्रेमलाई उजागर गर्न र आधा आफैंले स्वास्थ्योपचार उपलब्ध गराउन आफू नेपाल आउने गरेको क्याट्रिन हेगन बताउँछिन् । हाडजोर्नीकी सर्जन उनले स्वीट्जरल्याण्डमा खोलेको टोनी हेगेन फाउन्डेसनले नेपालमा मात्र काम गर्छ । ‘बुबाले माया गरेको र बुबालाई सम्मान गरेको देश नेपाल । मलाई वर्षमा एक पटक मात्र यहाँ आएर पुग्दैन, आइरहन मन लाग्छ’, क्याटरिनले भने ।

उनी नेपालका कैयौँ जिल्लामा स्वास्थ्य शिविर राख्ने, असहाय तथा स्वास्थ्योपचारको पहुँचसम्म पुग्न नसक्ने दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क स्वस्थ्य सेवा उपलब्ध गराउँदै आएकी छिन् ।

नेपालका लागि बुबाले गरेका कामलाई पूर्णता दिने आफ्नो काम ठान्छिन् डा. क्याट्रिन । ‘नेपालका बारेमा बुबाका धेरै अनुसन्धान छन् तिनलाई अझै धेरै विस्तार गर्ने मेरो सोच छ । फाउन्डेसनबाट तिनलाई पूर्णता दिन्छु । टोनीले नेपालमा खिचेका तस्वीरको प्रदर्शनी फाउन्डेसनले गत वर्ष नेपालमा गरेको थियो । नेपालमा उहाँका कामकारबाहीलाई उजागर गर्न यतिले मात्र पुग्दैन भन्ने लाग्छ । उहाँका सङ्ग्रह अध्ययन गर्दा नेपालको पर्यटकीय विकासका लागि भावी दिनमा धेरै सहयोग पुग्ने मलाई लाग्छ’, उनी भन्छिन्।

नेपाल चिनाउन अहिले कतैकतै प्रयोगमा आउने पुराना तस्वीर एवं दृश्यहरु प्रायः टोनीकै नेपाल पुस्तक एवं डकुमेन्ट्रीबाट लिइएको पाइन्छ ।

क्याट्रिन भन्छिन्, ‘महत्वपूर्ण तस्वीरहरू छन् नेपालको हिमाली तथा अन्य क्षेत्रका । ग्ल्यासिएरहरु पग्लिँदै गरेका कैयौँ महत्वपूर्ण तस्वीरहरु उहाँको एल्बममा छन्, तिनको अध्ययन मात्र पनि नेपालमा जलवायु परिवर्तनको विषयका अनुसन्धानदातालाई सहयोग पुग्छ भन्ने मलाई लाग्दछ । उबेलाका कतिपय हिमाली टाकुरा, हिमनदी तथा हिमताल अहिले पग्लिएर अर्कै स्वरुपमा परिवर्तन आएको पनि हुनसक्छ । यसबाट हिमालयन जैविक विविधताको अध्ययनमा सहयोग पुग्न सक्छ । यस्तै पक्षहरुलाई उजागर गर्ने काम हामीले गरिरहेका छौँ । उहाँले लिएका नेपालका विविध क्षेत्र र शैलीका तस्वीरहरुको प्रदर्शनी पनि नेपालमा गरेका थियौँ । यसबाट पनि नेपालका अनुसन्धानदातालाई उहिलेको नेपाल अध्ययनमा सहयोग पुग्नसक्छ।’

बुबाजस्तै उनले पनि नेपालका अधिकांश पदमात्रामा यात्रा गरेकी छिन् । नेपालको हिमाल, पहाड र तराइकै ज्ञान छ उनलाई । ‘पदयात्रा भनेको हिँडाइ मात्र नभएर त्यस क्षेत्रको समग्र अध्ययन हो । कुनै पनि पदमार्गबाट हामी हिँड्यौं भने हामीले त्यस क्षेत्रको खेतीबाली, मानिसको जीवनशैली तथा त्यहाँको बस्ती र उनीहरुका परम्पराको पनि अध्ययन गर्नसक्छौँ । साथै मानिसको खानपान र उनीहरुका दैनिकीको बारेमा अनुसन्धान निकै चाखलाग्दो विषय हो । नेपालका विविध क्षेत्रको भ्रमणका क्रममा मलाई त यस्ता विषयको अनुसन्धान गर्न मनपर्छ’, उनी भन्छिन् ।

टोनीलाई नेपाल बहुजाति, बहुधर्म र संस्कृति भएर पनि कसरी मिलेर बसेको भन्ने बारेमा आश्चर्य लाग्थ्यो रे । बुबासँग आफूले नेपालका बारेमा धेरै सुनेको र जानेको बताउँदै उनले नेपालको जातीय तथा भौगोलिक विविधताका बीचमा पनि नेपाली नागरिक एकापसमा सहयोगी भावनाका साथ मिलेर बसेको पक्षको सधैँ प्रशंसा गर्ने गरेको सम्झँदै  क्याट्रिन भन्छिन्, ‘त्यसैले मलाई पनि नेपालको यो पक्षको अध्ययन खुब मन पर्छ । म पदयात्रामा जाँदा होस् या स्वास्थ्य शिविरका क्रममा नेपालाका विभिन्न जिल्लामा जाँदा यस विषयमा जान्न मनपर्छ।’

उनी चिकित्सक भएर होला उनलाई अर्गानिक कृषि उत्पादन मनपर्छ । स्वीट्जरल्याण्डमा आफ्नो घरमा पनि आफू अर्गानिक तरकारी खेती गर्ने बताउँछिन् । अर्गानिक आलु उत्पादन फार्म रहेको उनी बताउँछिन् । समय मिल्यो कि आफूलाई खेतीको काम मनपर्ने बताउने उनले धेरै उत्पादनका लागि विश्वमै पछिल्लो समयमा प्रयोग गरिने विषादीका कारण विविध खालका रोगको प्रकोप बढेकाले मौलिक र अर्गानिक उत्पादनमा सबैले ध्यान दिनुपर्ने सुझाव दिन्छिन् । नेपालका विभिन्न क्षेत्रमा पदयात्रामा जाँदा पनि उनले त्यस क्षेत्रका अर्गानिक उत्पादन किन्ने गर्छिन्।

‘पदयात्रा शारीरिक तन्दुरुस्ती, नयाँ ठाउँको परिचय र मनोञ्जन हो तर त्यतिमात्र होइन पदयात्रा । पदयात्राभित्र लुकेको मेरो एउटा उद्देश्य त्यहाँका अर्गानिक कृषिउपज खाने र आफूले किनेर पनि ल्याउने हो । ती उत्पादन मैले किनिदिन्छु र किसानलाई अर्गानिक खानाको महत्वका बारेमा पनि भनिदिन्छु । त्यसपछि म अर्को पटक त्यही ठाउँमा पुग्दा त्यहाँ धेरै उत्पादन गरेको पाउँछु, त्यो देखेर निकै खुसी लाग्छ’, क्याट्रिन भन्छन् ।

नेपालका हिमाल पहाडका स्वच्छ ठाउँमा समेत प्लास्टिक फालेको देख्दा उनलाई साह्रै नराम्रो लाग्छ । पदयात्राका क्रममा पनि कतै प्लास्टिकका बोटल, झोला आदि फालिएको देखिने बताउँदै उनले अर्गानिक उत्पादन गर्न सकिने माटोलाई प्लास्टिकले धेरै बिगार्नेहुँदा देशलाई प्लास्टिकमुक्त गराउनुपर्ने सुझाव दिन्छिन् ।

कुनै पदयात्रा होस् या पर्यटकीय क्षेत्र, त्यहाँका स्थानीयको संलग्नता होस र उनीहरुलाई प्रत्यक्ष लाभ पुगोस् भन्ने उनी चाहन्छिन् । ‘हुम्ला, मानसरोवरमा मैले एकपटक देखेँ कि विदेशी पर्यटक हेलिकप्टरमा आए र गए । स्थानीयले के पाए त ? यस्ता पर्यटक पुग्ने स्थानमा पूर्वाधार निर्माण होउन्, त्यहीँका स्थानीयको संलग्नता होस् र उनीहरुका स्थानीय उपज खपत हुन् । पर्यटनको दिगो विकास भनेको यही हो । स्थानीयको सहभागिता र उनीहरुले पाउन सक्ने लाभ बिना पर्यटनमात्र होइन कुनै पनि क्षेत्रको दिगो विकास सम्भव छैन । विकास त होला कुनै निश्चित समयावधिमा, तर त्यसको दिगोपना हुँदैन’, उनको भनाइ छ ।

नेपाल धेरै परिवर्तन भएको देख्दा आफूलाई निकै खुसी लाग्ने उनी बताउँछिन् । पहिले बुबासँग नेपाल आउँदा देखेको नेपाल अहिले देख्दा अचम्म मान्छिन् उनी । ‘कति धेरै फरक भइसक्यो । उ बेला नेपालमा चर्पी थिएन, मलाई लाग्छ बनाउने चलन पनि थिएन होला । बालिका, महिला अहिले कति शिक्षित भइसके । राज्यका विभिन्न तथा महत्वपूर्ण निकायमा महिला पुगेका छन् । स्कूल कलेज गाउँगाउँमा छन् । सरसफाइ छ । बाटोघाटो पुगेको छ’, पचास वर्षअघिको नेपाल सम्झिँदै उनी भन्छिन् तर पनि कतिपय ग्रामीण क्षेत्रमा भने अझै पनि चेतनाको स्तरलाई बढाउनुपर्ने उनी महसुस गर्छिन् ।

तीन वर्षअघि दार्चुलाको घटना सम्झिँदै भन्छिन्, ‘एकजना चार वर्षीय बालकको खुट्टा पोलेको थियो र ठूलो घाउ थियो । मैले काठमाडौँ लैजान्छौँ, निःशुल्क उपचार पनि गर्छौभन्दा पनि बुबाआमा र आफन्तले मानेनन् । घरायसी उपचारले नै ठीक हुन्छ भने । बालकको खुट्टा बिग्रिन्छ भन्दा पनि मानेनन् । काठमाडौँ आउन जान टाढा हुने तथा घरमा गाईबस्तु हेर्ने मान्छे पनि कोही नहुने भनेर उनीहरु मानेनन् । यो घटनाले मलाई छोइरहन्छ । मानिसले आफ्नो स्वास्थ्यलाई महत्व दिउन् भन्ने लाग्छ ।’

आफ्नो जन्मघर स्वीट्जरल्याण्ड भए पनि बुबाजस्तै आफूले नेपाललाई कर्मघर बनाउने उनी बताउँछन् । हुन पनि उनी नेपाल जति अरु देश घुम्नुभएको छैन अनि टोनी हेगन फाउन्डेसनको कार्यक्रम पनि नेपालबाहेक अन्यत्र छैन । भन्छिन्, ‘नेपाल त प्रकृतिले नै वरदानस्वरुप दिएको देश हो, जति पटक आयो त्यति नै राम्रो र झन नयाँ लाग्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?