+
+

देउवासँग भिड्नुअघि शेखरको मन जित्नु गगनको चुनौती

‘अहिले दलको नेतामा गगनलाई साथ दिने र पार्टीको आगामी महाधिवेशनमा शेखरलाई सभापतिमा समर्थन गर्ने विकल्पमा भए पनि जानुपर्छ भनेर हामीले सुझाएका छौं’, शेखर समूहका एक केन्द्रीय सदस्यले भने ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ मंसिर १९ गते २१:१०

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित र समानुपातिकबाट छनोट हुने सम्भावित सांसदको सूचीमा सभापति शेरबहादुर देउवा अनुकूल अंक छ । र, संसदीय दलको नेतामा ‘निर्विकल्प’ उम्मेदवारका रुपमा सभापति देउवा नै अघि सर्नेमा संस्थापन पक्ष प्रष्ट छ ।

संस्थापनइतर समूहको उम्मेदवार प्रष्ट छैन । काठमाडौं–४ बाट निर्वाचित भएका महामन्त्री गगन थापाले चुनावकै बेला संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने प्रतिबद्धतासहित मत मागेका थिए । उनी डा. शेखर कोइराला समूहका नेता हुन् । दलको नेतामा देउवासँग प्रतिस्पर्धा गर्नुअघि डा. शेखरको समर्थन जुटाउनु गगनका लागि चुनौतीपूर्ण बनेको छ ।

१४औं महाधिवेशनपछि संस्थापन इतर समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले संसदीय दलको नेताबारे मुख खोलेका छैनन् ।

डा. शेखर शुक्रबार विराटनगरबाट फर्किएकै दिन महामन्त्री थापा बसुन्धरास्थित निवासमा पुगेका थिए । तर त्यो भेट बधाई साटासाटमै सीमित रहेको एक नेताले जानकारी दिए । त्यसयता डा. शेखरले भने आफ्नो समूहका नेताहरुसँग निरन्तर भेटवार्ता गरिरहेका छन् । सोमबार डा. शेखरलाई भेटेका कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी भन्छन्, ‘अहिले केही भन्ने बेला भएको छैन ।’

निकटवर्तीहरुका अनुसार डा. शेखरले पनि सबैसँग छलफलपछि निर्णय लिने बताउने गरेका छन् । कतिपय नेताले डा. शेखर आफैंले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न खोजेको त होइन भन्ने प्रश्न गर्ने गरेका छन् । डा. शेखर समूहका कतिपय सिनियर नेताहरुमा भने गगन र उनको टिमले जसरी संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेको छ, त्यसप्रति असहमति देखिन्छ ।

तर यो समूहका धेरै नेता भने शेखर र गगन दुबै उम्मेदवार बन्दा देउवा सहज रुपमा दलको नेता बन्ने मात्र होइन, १४औं महाधिवेशनमा बनेको यो समूहमा फुट आउने चिन्ता व्यक्त गर्छन् । त्यसैले यो समूहबाट साझा उम्मेदवार बनाउनुपर्ने भन्दै सहमति जुटाउन सुझाव दिएका छन् । एक नेताका अनुसार १५औं महाधिवेशनमा डा. शेखरलाई सभापतिमा अघि सार्ने गरी मिलन विन्दु खोज्ने प्रयास भइरहेको छ । ‘अहिले दलको नेतामा गगनलाई साथ दिने र पार्टीको आगामी महाधिवेशनमा शेखरलाई सभापतिमा समर्थन गर्ने विकल्पमा भए पनि जानुपर्छ भनेर हामीले सुझाएका छौं’, शेखर समूहका एक केन्द्रीय सदस्यले भने ।

यद्यपि यो विकल्पमा दुई नेतालाई एक ठाउँमा राखेर संवाद हुन सकेको छैन । नेता गुरुराज घिमिरेको पुस्तक विमोचन कार्यक्रमका लागि शेखर र गगन दुवै भोलि विराटनगर जाने कार्यक्रम छ । त्यसक्रममा पनि दुई नेताबीच संवाद हुनसक्ने अनुमान गरिएको छ ।

तर अर्को महाधिवेशनसम्म कुर्न डा. शेखरलाई सहमत गराउन सहज नभएको नेताहरु बताउँछन् । मोरङ ६ बाट निर्वाचित डा. शेखरले चुनाव प्रचारकै क्रममा यो आफ्नो अन्तिम चुनाव भनेका थिए । यो पटक पार्टी महाधिवेशनमा भाइ शशांकलाई सभापति नछाडेका उनले संसदीय दलमा गगनलाई समर्थन गरेर अर्को महाधिवेशनसम्म कुर्छन् भन्नेमा प्रश्न रहेको एक नेताले सुनाए ।

गगनले संसदीय दलको चुनावमा प्रतिस्पर्धा गर्ने कुरालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको सहकार्यसँग पनि जोड्ने गरिएको छ । गगनले दलको चुनाव लड्छु भनेर मत मागिरहँदा झापा–१ मा चुनाव लडिरहेका विश्वप्रकाश शर्माले समर्थन गरेका थिए ।

सांसद निर्वाचित भएपछि पनि उनले दलको नेतासँगै प्रधानमन्त्रीका लागि आफू प्रस्तावक बस्ने बताएका छन् । दुई महामन्त्री यसरी नै अघि बढे पार्टीको अर्को महाधिवेशनमा बाहिर परिने भय नेता शेखरमा हुनसक्ने कतिपयको आशंका छ ।

देउवालाई सहज हुने अंकगणित

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाउने देखिन्छ । कुल ८९ सांसद हुने संसदीय दलमा नेता बन्न ४५ मत ल्याउनुपर्दछ । प्रत्यक्ष निर्वाचित र समानुपातिकबाट आउनसक्ने सांसदहरुको आवद्धता हेर्दा संस्थापन समूहको ५५ जना देखिन्छ ।

निर्वाचितहरुको अनुहार र पक्षधरता मात्रै हेरेर देउवालाई सहज भनिहाल्ने अवस्था नभएको नेताहरु बताउँछन् । लामो राजनीतिक भविष्य खोज्नेले देउवालाई मत नदिने कतिपय नेता तर्क गर्छन् । ‘तत्कालको लाभ खोज्नेले देउवालाई भोट दिने हुन् । देउवा समूहमा रहेका युवा नेताहरुले लामो राजनीति गर्नुछ,’ संस्थापनइतरका एक नेता भन्छन्, ‘सधैं देउवा कांग्रेसको नेतृत्वमा हुने होइनन् । कांग्रेसमा रुपान्तरण र मुलुकको चिन्ता गर्नेले देउवालाई मत देलान् र ?’

गगनलाई दलको नेताको उम्मेदवार बनाउनुपर्छ भन्ने मत राख्नेहरु शेखरले भन्दा बढी उनले संस्थापन पक्षका सांसदहरुको मत तान्नसक्ने दाबी गर्छन् । तर शेखर समूहकै कतिपय नेता त्यसमा सहमत छैनन् । शेखर उम्मेदवार नहुँदा आफ्नो समूहको एउटा पुस्ताका सांसदहरुको भोट गगनले नपाउने उनीहरुको तर्क छ ।

संस्थापन पक्ष भने शेखर र गगन दुवै जना दलको उम्मेदवार बन्दा सहज हुने विश्लेषणमा छ । ‘अर्को समूहबाट गगन उठ्दा सभापति देउवासँग कडा प्रतिस्पर्धा हुनसक्छ’ संस्थापन पक्षका एक नेता भन्छन् ।

संसदीय दलको नेता चयनका लागि पार्टीको प्रतिनिधिसभाका कुल सदस्यबाट ५० प्रतिशत मत कटाउनुपर्छ । दुईभन्दा बढी प्रतिस्पर्धी हुँदा ५० प्रतिशत मत कुनै पनि उम्मेदवारले कटाउन नसके धेरै मत ल्याउने दुईबीच दोस्रो चरणमा मतदान गर्नुपर्ने हुन्छ ।

संसदीय भूमिकाका लागि मनोनित पदहरूमा हेरफेर गर्ने अधिकार पनि दलको नेतालाई हुन्छ । पार्टी र संसदीय दलले अंगीकार गरेका नीति र कार्यक्रम, समसामयिक महत्वको विषयलाई दलको बैठकमा प्रस्तुत गर्ने अधिकार संसदीय दलको नेतालाई हुन्छ ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?