+
+
विचार :

अर्थतन्त्र सुधार्न परीक्षित र असफल होइन नयाँको अपेक्षा

केही आशाको सञ्चार नयाँ सरकार निर्माणकै क्रमबाट दलहरूले दिन सक्नुपर्छ । फेरि पनि उही निराशाकै राग दोहोरिने हो भने देशमा बढ्ने निराशाले अर्को दुर्घटनाको डिलमा देशलाई लगिछाड्नेछ ।

शिवराम अर्याल शिवराम अर्याल
२०७९ मंसिर २० गते १६:४१

मंसिर ४ मा सम्पन्न निर्वाचनको पूर्ण परिणाम आउँदैछ । प्रत्यक्षतर्फको परिणाम आइसकेको छ भने समानुपातिकतर्फको परिणाम अन्तिम चरणमा छ । मंसिर ४ को निर्वाचनले सत्ता गठबन्धनलाई मुश्किलले अनुमोदन गरेको छ ।

सत्ता गठबन्धनका दलहरू मिल्दा नयाँ सरकार बन्ने सम्भावना बढेको छ । चुनावी परिणामबारे धेरैको आ–आफ्ना विश्लेषण हुनसक्छन् । तर, निर्वाचनले दिएको सन्देश र मतदाताको मनोविज्ञानमा कतै अलमल छैन ।

मूलतः यो निर्वाचनको सन्देश छ : अब परम्परागत ढर्राका नेताप्रति जनतामा आकर्षण छैन । पुरानै दलभित्र पनि नयाँ अनुहार र आफूलाई कुनै क्षेत्रमा प्रमाणित गरेका व्यक्तिहरूले राजनीतिलाई ‘ड्राइभ’ गर्नुपर्छ । उसो त चुनावको मुखैमा सामाजिक सञ्जालमा चर्चित बनेको ‘नो नट अगेन’ अभियानको स्पिरिट मतमा पनि मुखरित भयो ।

शहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी, मधेशमा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको अप्रत्याशित उदय जनताले राजनीतिमा परिवर्तन चाहेका छन् भन्ने कुराको अभिमत हो ।

गफ होइन अब परिणामको पर्खाइ

उसो त नेपालको राजनीति गफको कारखाना र नेताहरू त्यसका सञ्चालक जस्ता देखिन्छन् । अब पनि दलहरू पुरानै पारामा रहलान् वा सुिध्रएलान् ? धेरैले दलतिर फर्किएर सोधिरहेको प्रश्न हो यो । सच्चिएर दल जोगाउने वा सच्चिन नामञ्जुर गरेर सक्किने ?

शिवराम अर्याल

निर्णय त दलहरूकै हो । तर, आम नागरिकले अहिले सच्चिनैका लागि घण्टी बजाएका छन् । केही आशाको सञ्चार नयाँ सरकार निर्माणकै क्रमबाट दलहरूले दिन सक्नुपर्छ । फेरि पनि उही निराशाकै राग दोहोरिने हो भने देशमा बढ्ने निराशाले अर्को दुर्घटनाको डिलमा देशलाई लगिछाड्नेछ ।

पटक–पटक सत्तामा दोहोरिइरहने अनुहारसँग अब जनतामा कुनै रुचि छैन । दलहरूले यो सन्देशलाई बुझेर आफूलाई सच्याएनन् भने राजनीति र मुलुक थप संकटमा पर्ने पक्का छ । सांकेतिक रूपमा कतिपयले टिप्पणी गरेजस्तै अहिले ‘घण्टी’ बजेको छ, यही ताल हो भने परम्परागत दलको अर्को चुनावमा ‘शंख’ बज्छ ।

मतदाताले स्थानीय चुनावमा हर्क साम्पाङ र बालेन शाहलाई जिताएर दिएको सन्देश दलहरूले बुझेनन् । परिणाम अहिले रवि लामिछाने, सिके राउत र रञ्जिता श्रेष्ठ चौधरी नागरिकको आकर्षण र विश्वासको केन्द्रमा छन् । त्यसैले दलहरूले अब गफ होइन, परिणाम दिने सामथ्र्यसहितको अनुहारलाई अगाडि सार्नुपर्छ ।

केही आशाको सञ्चार नयाँ सरकार निर्माणकै क्रमबाट दलहरूले दिन सक्नुपर्छ । फेरि पनि उही निराशाकै राग दोहोरिने हो भने देशमा बढ्ने निराशाले अर्को दुर्घटनाको डिलमा देशलाई लगिछाड्नेछ ।

नेपाल आर्थिक रूपमा कमजोर बन्नुको कारक पटक–पटक सत्ताको केन्द्रमा रहेका कांग्रेस, माओवादी केन्द्र, एमाले जस्ता दल नै हुन् । बेरोजगारीको समस्या विकराल छ । रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिएको छ । लाखौं युवा अवसरको खोजीमा विदेशिएका छन् ।

अहिले आम नेपालीको मुख्य चासो कुनै राजनीतिक नारा र गफ होइन, परिणामसँग छ । शिक्षा, स्वास्थ्य, रोजगारीका विषयमा कसले नयाँ उत्साह भर्न सक्छ ? अब त्यो दल नागरिकको रोजाइमा पर्नेछ ।

कसले रोजगारी सिर्जना गर्छ ? नेपालको डुब्दो अर्थतन्त्रमा कसले रंग भर्न सक्छ ? शहरी उच्च र मध्यमवर्गदेखि दूरदराजका सामान्य नागरिकले दलहरूतिर फर्किएर यिनै प्रश्नको जवाफ पर्खिरहेका छन् ।

मूलतः अहिले संसदमा सबैभन्दा ठूलो दल बन्ने पक्का भइसकेको नेपाली कांग्रेसतिर धेरैको चासो छ । नेपालको अर्थतन्त्रलाई २०४६ पछि नयाँ जीवन दिएको र अर्थतन्त्रलाई चलायमान बनाएको पार्टी भएकाले पनि अर्थतन्त्रमा सुधारको आशा उसैबाट बढी हुनु स्वाभाविक छ ।

परिणाम दिने गरी निर्णय गरेर नागरिकको आशालाई भरोसामा बदल्न कांग्रेसले सक्नुपर्छ । देश र कांग्रेसको भविष्य पनि अब कांग्रेसले लिने गति र देखाउने मतिमा निर्भर रहन्छ ।

‘टेस्टेड एण्ड फेल’ होइन नयाँको अपेक्षा

प्रधानमन्त्री को हुन्छ ? धेरैलाई चासो छैन । तर, देशको अर्थतन्त्र कसले ड्राइभ गर्छ ? अहिले आम चासो छ । पछिल्ला दशकमा अर्थ मन्त्रालय चलाउने कुनै पनि अनुहारले परिणाम दिन सकेनन् । अहिले पनि अर्थमन्त्रीका रूपमा मानिसले डा.रामशरण महत र महेश आचार्यकै नाम स्मरण गरिरहेका छन् ।

पछिल्लो दशकमा अर्थ मन्त्रालय चलाएका सुरेन्द्र पाण्डे, विष्णु पौडेल, वर्षमान पुन, जनार्दन शर्मालगायतका कुनै पनि नाम अर्थमन्त्रीका रूपमा चर्चामा रहेनन् । काम गर्न नसकेकैले यी अनुहारप्रति जनतामा खासै रुचि पनि देखिंदैन ।

नेपाली कांग्रेसभित्र यसपटक भावी अर्थमन्त्रीका रूपमा नयाँ अनुहार स्वर्णिम वाग्लेको चर्चा चल्यो । तर, उनी सांसदको उम्मेदवार नै बन्न सकेनन् । कांग्रेसभित्र अर्थतन्त्रका जानकारका रूपमा हेरिने डा. मिनेन्द्र रिजालका लागि पनि यसपटक सांसदको ढोका बन्द रह्यो । अहिले कांग्रेसभित्र अर्थमन्त्री बन्न सक्ने सामथ्र्यसहितका निर्वाचित सांसद हेर्ने हो भने सिला खोज्नुपर्ने अवस्था छ । तर, सम्भावना नै नभएको भने होइन ।

उसो त सत्ता गठबन्धनकै अर्को मुख्य घटक माओवादी केन्द्रभित्र पनि अर्थमन्त्री बनाउन लायक अनुहार देखिंदैन । अहिलेकै सत्ता गठबन्धनको निरन्तरता हुने हो भने कांग्रेसभित्रै केही आशा गरिएका अनुहार छन् । जसमध्ये अग्रपंक्तिमा देखिन्छन्, विनोद चौधरी ।

सामान्य अवस्थाबाट उठेर आफ्नो व्यवसायलाई अन्तर्राष्ट्रियस्तरमा उठाएको मात्र होइन, डलर अर्बपतिका रूपमा ख्याति कमाएका चौधरी जनतामा पनि लोकप्रिय देखिए । धेरै आलोचना र हृदयेश त्रिपाठी जस्तो सत्ताको माहिर खेलाडीलाई प्रत्यक्ष निर्वाचनमै पराजित गरेर उदाउनुले चौधरीप्रति नागरिकको आकर्षण र भरोसा रहेको पुष्टि गर्छ । नेपाली कांग्रेसले खुला बजार अर्थतन्त्र र उदारीकरणलाई प्राथमिकता दिंदै आएको छ ।

चौधरी कांग्रेसको सोही नीतिका उपलब्धि हुन् । यदि कांग्रेसले २०४८ पछि आर्थिक नीतिमा बदलाव नल्याएको आए सायद आज विनोद चौधरी डलर अर्बपतिका रूपमा भेटिने थिएनन् । कुनै टाटपल्टिएको उद्योगका पीडित मालिकका रूपमा भेटिन्थे ।

जसले आफ्नै बलमा आफूलाई प्रमाणित गरिसकेको छ; राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रले भरोसा गर्न सक्छ र अर्थतन्त्रको रौंचिरा बुझेको छ । अब उसलाई अर्थतन्त्रको बागडोर दिंदा मात्रै अपेक्षित गन्तव्यमा पुग्न सकिन्छ । अर्थतन्त्रको ‘अ’ नजानेका र रोजगारी सिर्जनामा कुनै दृष्टिकोण नभएकाहरूलाई अर्थ मन्त्रालय प्रयोगशाला बन्न दिनुहुँदैन ।

पटक–पटक अर्थतन्त्रलाई प्रयोगशाला मात्र बनाइने हो भने मुलुक श्रीलंकाको बाटोमा जान कत्तिबेर लाग्ने छैन । अर्थतन्त्रको लगाम अब जानेकै मान्छेको हातमा जानुपर्छ । रेमिट्यान्सले धानेको मुलुकको परिचय बदल्दै आत्मनिर्भर अर्थतन्त्र भएको मुलुकका रूपमा नेपाललाई लैजाने हो भने समकालीन सांसदहरूमा विनोद चौधरी सबैभन्दा उपयुक्त पात्र हुन् । करको दरमा हेरफेर गरेर ‘तर’ मार्नुपर्ने बाध्यतामा चौधरी हुने छैनन् । व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि उनलाई राजनीतिको अतिरिक्त भार बोकिइरहनैपर्ने थिएन ।

सजिलो बाटो छाडेर उनी केही गर्नकै लागि राजनीतिमा आएकाले एकपटक चौधरीलाई अवसर दिंदा कसैमाथि अन्याय हुनेछैन । उसो त चौधरी एक प्रतिनिधि पात्र हुन्, कांग्रेसमै सम्भावना बोकेका अरू पनि हुनसक्छन् । उनीहरूलाई अब एकपटक देशले परीक्षण गर्नुपर्छ ।

परीक्षण भइसकेका र त्यसमा फेल भएका पात्रहरूलाई अर्थतन्त्रको बागडोर सुम्पिएर अब नेपालका दलहरूले देशको अर्थतन्त्रलाई ‘गिनी पिग’ बनाउने धृष्टता नगरून् । देश बन्दा सबैका लागि बन्ने हो । देशको अर्थतन्त्र कायापलट हुँदा उपलब्धिको अंशियार सबै हुने हो । देश बनाउने, अर्थतन्त्र सुधार्ने बाटो नै अहिलेको मूल बाटो हो । दलहरूले गम्भीर भएर निर्णय गरून् ।

लेखक त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्नातकोत्तर अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?