+
+

भोट हालेपछि फेरि भारत फर्किए जाजरकोटका युवा

कालीबहादुर नेपाली कालीबहादुर नेपाली
२०७९ मंसिर २० गते २०:०५

२० मंसिर, जाजरकोट । बारेकोट गाउँपालिका–२ रोकायगाउँका पूर्णबहादुर कामी भारतको हिमाञ्चल प्रदेशमा काम गर्थे । ४ मंसिरको चुनावमा भोट हाल्न आएका उनी फेरि भारत जाने सुरसारमा छन् ।

‘यहाँ कुनै रोजगारी छैन, दुई चार सय कमाई भारततिरै हुन्छ’, उनले भने, ‘अब्को केही दिनपछि भारत जानुपर्ला, यहाँ बसेर के गर्नु ?’ भारतमा काम गर्न नगए परिवार पाल्न समस्या हुने पूर्णबहादुर बताउँछन् । सोही, गाउँका गोरखबहादुर कामी पनि १ मंसिरमा गुजरातबाट गाउँ आएका थिए ।

३५ बर्षका गोरख यसभन्दा अगाडि दशै मान्न मात्र घर आउथे । यसपटक निर्वाचन भएकाले १ मंसिरमा घर आए । ‘राम्रो नेता चुनेपछि यतै रोजगारी पाउछौं कि भनेर भोट हाल्न आउछौं’, उनले भने, ‘निर्वाचित भइसकेपछि नेता गाउँमा आउँदैनन्, रोजगारी दिने खालका कार्यक्रमसमेत आउँदैनन्, फेरि भारत जानुपर्छ ।’

भेरी नगरपालिका–११ कटिगाउँका नरबहादुर वर भारतको सिम्लामा आफ्नो परिवार छोडेर भोट हाल्नकै लागि नेपाल पुगे । अहिले उनी गाउँका एक दर्जन युवा लिएर कमाइ गर्न भारत जाने तयारीमा छन् । ‘गाउँमा कुनै रोजगारी छैन, परिवार कसरी चाल्ने भन्ने चिन्ता छ’, उनले भने, ‘भारतमा जानुको विकल्प छैन, निर्वाचित जनप्रतिनिधि गाउँमा आउँदैनन्, हाम्रो कमाइको मुख्य स्रोत भनेकै भारत हो ।’

बारेकोट गाउँपालिका–२ का कृपाल नेपाली शारीरिक रुपले निकै अशक्त छन् । लौरोको साहारामा हिँड्नुपर्छ । परिवार पाल्न र जिन्दगी धान्न भारत जानुपर्ने बाध्यता रहेको उनी बताउँछन् । उनले भने, ‘यतै रोजगारी भए हामी किन भारत जान्थिम र ? यहाँ बसे परिवार पाल्न समस्या हुन्छ, भारत गए परिवार त मज्जाले पालिन्छ ।’

निर्वाचन सम्पन्न भएसँगै जाजरकोटबाट दैनिक दशौं जना भारत जान थालेका छन् । रोजगारीको सपना देखेर भोट हाल्न आएका युवाहरु निराश भएर भारततिर जान थालेको नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्रविक्रम शाहले बताए ।

महिलाको भरमा गाउँ

पुरुष कमाइ गर्न भारत जाँदा घर व्यवहार चलाउने, बालबालिकाको हेरचाह गर्नेदेखि विकास निर्माणको काममा पनि महिलाकै सहिभागिता बढी देखिएको छ ।

श्रीमान भारतबाट फर्केर नआएसम्म सबै काम आफैंले गर्ने कुशे–८ की विमला सार्कीले बताइन् । श्रीमानले वर्षको ९ महिना भारतमा गरेको मजदुरीले घरखर्च चल्ने उनको भनाइ छ । ‘पुरुषजति भारत गएपछि गाउँमा मलामी जाने मान्छे पाउनसमेत मुश्किल छ’, उनले भनिन्।
सिँचाइ सुविधा र काम गर्ने युवा नहुँदा अधिकांश जमिन बाझिंदै गएको उनले बताइन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम, भौतिक संरचना निर्माण, कृषि तथा पशु, वनलगायत सरकारी कार्यक्रमले विपन्नलाई राहत दिन नसकेको बारेकोट–२ कि नन्दा विकले बताइन् । ‘अनुदानका कार्यक्रममा पहुँचवालाकै हालीमुहाली हुन्छ’, उनले भनिन्, ‘२ छाक टार्न गाह्रो हुनेलाई भारत जानुको विकल्प छैन।’

विभिन्न सहकारी, समूह, उपभोक्ता समितिलगायतमा हुने खाने र टाठाबाठाकै हालीमुहाली हुँदा बेरोजगारी समस्या बढिरहेको राष्ट्रिय दलित नेटवर्क जाजरकोटका अध्यक्ष गोपालबहादुर नेपालीले बताए।

‘गाउँमै सरकार आएपछि सबैले रोजगारी पाउने आशा थियो’, उनले भने, ‘स्थानीय सरकारको मनोमानी कर र मूल्यवृद्धिले गरिबलाई गुजारा चलाउन झन् मुश्किल भएको छ ।’

बारेकोट ३ का रामबहादुर बोहराले गाउँमा विकास निर्माणको काममा डोजरको प्रयोगले रोजगारी झन् घटेको बताउँछन् । ‘जनप्रतिनिधिले धमाधम डोजर ल्याएर विकास निर्माणमा प्रयोग गरिरहेका छन्’, उनले भने, ‘योजनामा डोजर लगाउने प्रतिस्पर्धा चल्दा युवासँग बिदेशिनुको विकल्प छैन।’

प्रभावकारी छैनन् रोजगार कार्यक्रम

बेरोजगार र विपन्नका लागि ७ स्थानीय तहमा लागू गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी छैन। बेरोजगारलाई वर्षमा सय दिन रोजगारी दिने उद्देश्यले सञ्चालन भएको कार्यक्रमबाट बेरोजगारहरूले एक महिना पनि रोजगारी पाउन सकेका छैनन् ।

कुशे गाउँपालिका-४ विनोद सिंहले भन्छन्, ‘रोजगारी दिने निहुँमा जनप्रतिनिधिका आफन्त र कार्यकर्तालाई मात्र गोरेटो बाटो, सरसफाइ, भवन, खानेपानी लगायत काममा रकम बाँडियो, बजेट पहुँचवालाको पोल्टामा जाँदा कार्यक्रम झाराटराइमै सकियो।’ जिल्लाका २ लाख जनसंख्यामध्ये आधा बेरोजगार रहेको सरकारी तथ्यांक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?