+
+

इन्गेजमेन्ट टुटेपछि पुष्पाको दुखान्त

व्यवसायिक परिवार, आफैं आर्थिक प्रशासनमा स्नातकोत्तर । अनि केल्मी नेपालकी अपरेशन म्यानेजर । नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेको व्यवसायिक जीवन सफलताको सिँढी चढ्दै थियो । तर, पारिवारिक जीवनमा आइलागेको उल्झनमा उनले आफैंलाई आगो लगाएर आत्मदाह गरेकी छन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ मंसिर २० गते २१:१५
मृतक पुष्पा न्यौपाने ।

२० मंसिर, काठमाडौं । व्यवसायिक परिवार, आफैं आर्थिक प्रशासनमा स्नातकोत्तर । अनि केल्मी नेपालकी अपरेशन म्यानेजर । नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेको व्यवसायिक जीवन सफलताको सिँढी चढ्दै थियो ।

तर पारिवारिक जीवनमा आइलागेको उल्झनमा उनले आफैंलाई पेट्रोल खन्याएर आत्मदाह गरेकी छन् ।

आइतबार साँझ ७ बजेतिर धुम्बराहीस्थित पिपलबोट चोक नजिकै एक घरको अगाडि जलिरहेको अवस्थामा भेटिएकी उनको उपचारका क्रममा निधन भएको छ ।

घटनास्थलमा पूर्णतः जलिसकेकी अवस्थामा भेटिएकी उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा सोमबार बिहान साढे ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनाली बताउँछन् ।

पुष्पाले आफैंमाथि पेट्रोल खन्याएर आगो लागेको स्थान तीनै सुधन संग्रौलाको घर अगाडि हो, जोसँग उनले गरेको टिकाटालो (इन्गेजमेन्ट) शनिबार मात्रै टुटेको थियो ।

न्यौपानेको परिवारले सुधनसहित उनका ५७ वर्षीय बुबा दिनेश, आमा बिन्दु संग्रौला र दाइ मधु संग्रौलाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसूरमा किटानी जाहेरी दिएको छ ।

जाहेरीको आधारमा प्रहरीले सोमबार चारै जनालाई नियन्त्रणमा लिएको प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी अंगुर जिसी बताउँछन् । यद्यपि अदालतले बुबाआमा र दाइलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ भने सुधनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

पुष्पा इंगेजमेन्टको तस्वीर सामाजिक सञ्जालमा राख्न चाहन्थिन्, भिडियोहरु सुधनलाई मेन्सन गरेर पोष्ट गर्न चाहन्थिन् । तर सुधनले स्वीकृति दिएनन् ।

जब इन्गेजमेन्ट टुट्यो

सानै उमेरमा व्यवसायिक सफलतातिर लम्किँदै गरेकी न्यौपाने कसरी आफैंलाई जलाउने अवस्थामा पुगिन् ? यो थाहा पाउन २०७८ माघतिर फर्किनुपर्छ, जहिलेबाट पुष्पा धुम्बाराही घर भएका व्यवसायी सुधनसँग नजिकिन थालिन् ।

चीनबाट बालबालिकाको खेलौना लगायतका सामग्री आयात गरेर विक्री वितरणको काम गरिरहेका सुधनको केल्मी नेपालको दरबारमार्गस्थित शोरुम जाँदा पुष्पासँग चिनजान भएको थियो । नियमित जसो शोरुममा जाने क्रममा निकटता बढ्यो । फेसबुकमा साथी हुँदैआपसमा फोन नम्बर साटासाट भयो ।

दुवैजना व्यवसायमा भएकाले घरमा पनि आउजाउ हुन थाल्यो । ‘विजनेस नै गरिरहेको केटो, दुवै जनाले विवाह गर्छौं भनेपछि मञ्जुरी जनाएका थियौं’, मृतककी काका उत्तम न्यौपाने भन्छन्, ‘सबैको मञ्जुरीमा १८ भदौ २०७९ मा बुद्धनगरस्थित घरमा टिकाटालो गरेका थियौं ।’

त्यसपछि सुधन, पुष्पाको घरमा आउने जाने गरिरहन्थे । पुष्पा पनि धुम्बाराहीस्थित सुधनको घरमा गइराख्थिन् । तर विवाह भइसकेको थिएन । बरु इन्गेजमेन्ट भएको केही समयबाटै उनीहरुबीच खटपट सुरु भएको पाइएको छ ।

पुष्पा इंगेजमेन्टको तस्वीर सामाजिक सञ्जालमा राख्न चाहन्थिन्, भिडियोहरु सुधनलाई मेन्सन गरेर पोष्ट गर्न चाहन्थिन् । तर सुधनले स्वीकृति दिएनन् ।

‘परिवारका अरुले राख्दा किन ज्वाइँको फोटो नराखेको भनेर मैले पनि सोधेको थिएँ’, काका उत्तम सम्झन्छन्, ‘अहिले नहाल्नु भन्नुभएको छ भनेकी थिइन् ।’

दुईबीच यही विषयले खटपट हुन थालेपनि पुष्पाले घर परिवारलाई थाहा हुन दिएकी थिइनन् । साथीहरुसँग भने उनले सुधनको व्यवहार विस्तारै फेरिन थालेको बताउने गरेकी थिइन् । विस्तारै पुष्पाले सुधनमाथि शंका गर्न थालिन् ।

मनमुटाव घट्नुको साटो उल्टै उल्झिँदै गयो । कात्तिकतिर दुईबीच विवाद झन् बढेको पाइएको प्रहरी वृत्त, महाराजगञ्जका अनुसन्धान अधिकृतहरु बताउँछन् । त्यही कारण बिहेको मिति पनि तय हुन सकेको थिएन ।

शनिबार सुधनका बुबाआमा बुद्धनगरस्थित पुष्पाको घरमा आएर इन्गेजमेन्टमा दिएको सुपारी, दक्षिणा र गरगहना फिर्ता गरे । उत्तम भन्छन्, ‘त्यतिबेला सुधनले अब मिल्न सक्दैनौं भन्नुभयो । त्यसपछि सम्बन्ध टुट्यो ।’

त्यतिबेला पुष्पाको परिवारका सदस्यहरुले सम्बन्ध तोड्नुको कारण सोधेका थिए । सुधनका बुबाआमाले भने ‘आफ्नै छोराको बुद्धि बिग्रिएको’ जवाफ दिए । सुधनले थप केही बताएनन् । बरु सहजै जवाफ फर्काए, ‘पुष्पालाई नै थाहा छ ।’

पुष्पा भने केही भन्नसक्ने अवस्थामा थिइनन् । ‘उनले नभनेकी हुन् कि के हो थाहा भएन । तर यही कारण हो भनेर उनले बताउन सकेकी थिइनन्’, उत्तम भन्छन् ।

तत्काल उद्दार गरेर अस्पताल लगेको भए पनि अर्कै परिस्थिति हुनसक्थ्यो । प्रहरी अस्पताल पुर्‍याउँदा शरीर पूर्णतः जलिसकेको थियो । – पुष्पाका आफन्त

जब कपडा लिन हिँडेकी पुष्पा धुम्बाराही पुगिन्

आउने शनिबार पुष्पाको दिदीको इन्गेजमेन्ट हुँदै थियो । त्यसका लागि ‘ब्लाउज’ सिलाउन दिएकी थिइन् । त्यही लिन भन्दै उनी आइतबार दिउँसो ३ बजेतिर बुद्धनगरस्थित घरबाट निस्किएकी थिइन् । कपडा लिएर पुष्पा कतिबेला आइन् । फेरि कतिबेला निस्किइन्, परिवारका सदस्यहरुलाई राम्रो याद छैन ।

एक्कासी साँझ ७ः१५ बजेतिर पुष्पा आगोले जलेर गम्भीर अवस्थामा रहेको खबर आयो । पुष्पाको बुबा पुरुषोत्तम न्यौपानेलाई आएको फोनमा सुधनका बुबाले ‘पुष्पा जस्तै देखिने केटी जलिरहेको’ भन्दै बोलाइएको थियो ।

न्यौपानेले जो भए पनि तत्काल अस्पताल लगिदिन आग्रह गरेका थिए । ‘प्रहरी आउँछ, छुनु हुँदैन’ भन्ने जवाफ पाएको उत्तम बताउँछन् ।

‘तत्काल उद्दार गरेर अस्पताल लगेको भए पनि अर्कै परिस्थिति हुनसक्थ्यो’, उनी भन्छन्, ‘प्रहरी अस्पताल पुर्‍याउँदा शरीर पूर्णतः जलिसकेको थियो ।’

प्रहरीका अनुसार पुष्पाले पाँच लिटरको ग्यालिनबाट पेट्रोल खन्याएको देखिएको छ । आधा पेट्रोल भएको ग्यालिन बरामद भएको प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ ।

‘पेट्रोल कहाँबाट ल्याइएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ’, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनाली भन्छन् ।

प्रहरीले घटनास्थल आसपासको क्लोज सर्किट (सीसी) क्यामराका फुटेजहरु संकलन गरिरहेको छ । प्रारम्भिक जाँचबुझमा उनले आफैंले पेट्रोल खन्याएको देखिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । अनुसन्धान संलग्न एक अधिकृत भन्छन्, ‘दुरुत्साहनको कसूरमा जाहेरी आएको छ, गम्भीरतापूर्वक छानबिन भइरहेको छ ।’

पक्राउ परेर हाजिरी जमानतमा छुटेका मधु चाहिँ हत्या नै गरे जसरी आफूहरुलाई प्रस्तुत गरिएको भन्दै आक्रोश व्यक्त गर्छन् । यद्यपि प्रहरीले अनुसन्धान जारी राखेको बताउँदै घटनापछि मात्रै यसबारे बोल्ने बताउँछन् ।

‘यो देशमा कानून होला, अदालत र न्याय होला’, उनले भने, ‘अनुसन्धान जारी रहेकाले अहिल्यै धेरै बोल्दैनौं ।’

पुष्पाले आत्मदाह गरिरहेका बेला मधुसहित पुष्पाका प्रेमी सुधन र बुबाआमा पनि घरभित्रै थिए । तर, समयमै अस्पताल लैजान उनीहरुले तादरुकता नदेखाएको भन्दै पुष्पाको परिवार आक्रोशित छ । बरु प्रहरीले अस्पताल लगेपछि चाहिँ सुधनका दाइ र बुबा पनि पछिपछि अस्पताल पुगेका थिए ।

पक्राउ परेर हाजिरी जमानतमा छुटेका मधु चाहिँ हत्या नै गरे जसरी आफूहरुलाई प्रस्तुत गरिएको भन्दै आक्रोश व्यक्त गर्छन् । यद्यपि प्रहरीले अनुसन्धान जारी राखेको बताउँदै घटनापछि मात्रै यसबारे बोल्ने बताउँछन् ।

हत्या नै गरे जसरी प्रस्तुत गरियो, यो देशमा कानून, अदालत र न्याय होला । समय आएपछि बोल्छौं – हाजिर जमानतमा छुटेका मधु संग्रौला

चिनिया युवतीसँग प्रेम सम्बन्धमा रहेको शंका

पुष्पाको मृत्युपछि न्यौपाने परिवार शोकमा छ । तर उनीहरुलाई छोरीलाई आत्मदाह नै गर्नुपर्ने स्थितिमा पुर्‍याउने गरी के कारणले सम्बन्ध टुट्यो भन्ने प्रश्नले पनि घेरिरहेको छ । त्यसैले शोकमा पनि परिवारका सदस्यहरुले उनका साथीहरुसँग सोधेर दुई जनाको सम्बन्धबारे जानकारी लिने प्रयास गरिरहेका छन् ।

परिवारका एक सदस्यले उनका साथीलाई उदृत गर्दै बताएअनुसार सुधन चीनमा रहँदा त्यहीँकी एक युवतीसँग सम्बन्धमा थिए । कोरोना महामारीपछि नेपाल फर्किएका सुधन ती युवतीसँग अलग भइसकेका थिए । बरु नेपालमा फेरि पुष्पासँग सम्बन्ध गाँसिसकेका थिए ।

लकडाउनका बेला समस्यामा पर्दा व्यवसायलाई अघि बढाउन पनि सुधनलाई चिनियाँ युवतीले नै सहयोग गरेको न्यौपाने परिवारको बुझाइ छ । ‘यसबारे पुष्पाले थाहा पाएपछि दुईबीच मनमुटाव हुन थालेको हो’, पुष्पाका नजिकका साथीहरुलाई उदृत गर्दै परिवारका सदस्य भन्छन्, ‘उनले एकपटक दुईजनाको फोटो नै भेटेकी रैछिन् ।’

इन्गेजमेन्टमा फोटो हाल्न नदिनुको कारण पनि यही भएको परिवारको आशंका छ । ‘प्रहरीलाई सामाजिक सञ्जालदेखि लिएर फोनको सबै विवरण अनुसन्धान गर्न भनेका छौं’, पुष्पाका काका उत्तमले अनलाइनखबरसँग भनेका छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?