+

दाल, भात, तरकारी : सम्पूर्ण पोषणको थाली

२०७९ मंसिर  २१ गते १२:५० २०७९ मंसिर २१ गते १२:५०
दाल, भात, तरकारी : सम्पूर्ण पोषणको थाली

हाम्रो परम्परागत खान्की हो दाल, भात, तरकारी र अचार । अधिकांश नेपालीको भान्सामा पाक्ने यो परिकार आफैंमा परिपूर्ण छ । अर्थात् शरीरलाई जरुरी सम्पूर्ण पोषक तत्व हाम्रो यही थालीमा पुग्दो छ ।

त्यसैले घरको खाना टन्न खाएपछि हामीलाई मनग्य पुग्छ । कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन जस्ता सबै पोषक तत्व हाम्रो परम्परागत खानामा उपलब्ध छ । हाम्रो खानामा अक्सर भात, दाल, सागसब्जी र अचार हुन्छ । त्यसैगरी यसमा मौसमी सलाद, घिउ, दही, मोही पनि समावेश गरिन्छ । यति खानेकुरा भएपछि हाम्रो शरीरलाई पुग्छ । हाम्रो खाना स्वादिष्ट, सन्तुलित र स्वस्थ्यकर छ ।

खानाबाट शरीरले के पाउँछ ?

शरीरलाई कार्बोहाइड्रेट, खनिज, प्रोटिन, भिटामिन, फ्याट, मिनरल्स र सूक्ष्म पोषक तत्त्व लगायतको पोषक तत्त्व जरुरी  हुन्छ, जुन खानाको माध्यमबाट शरीरमा आपूर्ति हुन्छ ।

हामीले दैनिक खाने खानेकुराबाट ती पोषकतत्व पूर्ण हुन्छ । नेपाली खाना एकदमै वैज्ञानिक छ । हामीले खाने खानामा सम्पूर्ण पोषक तत्त्व मिश्रित छन् ।

नेपाली थाली : सन्तुलित र सम्पूर्ण

नेपाली थाली वा दाल, भात, तरकारी, अचार, सलादमा पूर्ण पोषक तत्त्व हुन्छ । भातमा कार्बोहाइड्रेट, दालमा प्रोटिन, तरकारीमा खनिज र सलादमा मिनरल्स लगायत सूक्ष्म पोषक तत्त्वहरू पाइन्छ । त्यसैले नेपाली खाना एकदमै सन्तुलित र पोषक तत्त्वहरूले भरिपूर्ण हुन्छ ।

हामी नेपालीहरू ताजा र तातो खाना खान्छौं, जसले गर्दा खानामा भएका एन्टिअक्सिडेन्ट जीवित नै रहन्छ । प्रकृतिमा पाइने सम्पूर्ण अन्नबाली, विभिन्न जातका तरकारीमा शरीरलाई चाहिने सम्पूर्ण पोषक तत्त्वहरू खानामा पाइन्छ ।

दैनिक खाने खानामा पूर्ण पोषक तत्त्वको कमी भएको खण्डमा पनि हामीले चाडबाडमा खाने विशेष परिकारहरूले त्यसलाई पूरा गर्छन् । जस्तो माघे संक्रान्तिमा तिलको लड्डु, चाकु र तरुल खान्छौं । ती खानेकुरामा शरीरलाई न्यानो राख्ने, ऊर्जा दिने पोषक तत्त्व पाइन्छ ।

पोषक तत्वको भण्डार

हामीले खाने प्रायः प्रत्येक खानेकुराबाट केही न केही पोषक तत्त्व पाइन्छ । हामीले दैनिक रूपमा खाने चामल, आलु, दाल, गोलभेंडा, सागपात, फलफूल, दूध लगायत खानेकुराबाट हाम्रो शरीरले पोषक तत्त्व ग्रहण गर्छ ।

कुन खानेकुराबाट के पाइन्छ ?

साग : भिटामिन, फाइबर, तथा खनिज पदार्थ

चामल : कार्बोहाइड्रेट, स्टार्च, फाइबर, क्याल्सियम, आइरन तथा अन्य महत्त्वपूर्ण भिटामिन

आलु : कार्बोहाइड्रेट, स्टार्च, फाइबर, क्याल्सियम, आइरन

दूध : क्याल्सियम, प्रोटिन, भिटामिन डी, फ्याट

माछामासु : प्रोटिन, आइरन, फ्याट र खनिज पदार्थ

मूला, गाँजर : खनिज पदार्थ, मिनरल्स, भिटामिन, एन्टिअक्सिडेन्ट

दाल : प्रोटिन, भिटामिन

गेडागुडी : प्रोटिन, भिटामिन

खानेपानी : सूक्ष्म खनिज तत्त्व, मिनरल्स, आइरन शरीरमा भएको सूक्ष्म तत्त्व र भिटामिनलाई घुलाउने क्षमता

घिउ, तेल : फ्याट र एन्टिअक्सिडेन्ट

नुन : सोडियम, नुनमा आयोडिन पनि थपिने

बेसार : कर्क्युमिन, एन्टिभाइरल, एन्टिक्याटेरियल गुण र  सूक्ष्म पोषक तत्त्व

प्याज : खनिज पदार्थ, सोडियम र पेटलाई पुष्ण राख्ने र तातो राख्ने गुण

अदुवा : सूक्ष्म पोषक तत्त्व, फाइबर, क्याल्सियम, फस्फोरस र खनिज पदार्थ

दही : भिटामिन डी, क्याल्सियम तथा प्रोटिनको राम्रो स्रोत

गुन्द्रुक : नेपाली रैथाने खानेकुरा जसमा प्रोटिन र फाइबर पाइने, सागमा भएका पोषक तत्त्व र खनिज पदार्थको केही मात्रा पनि

दाल भात तरकारी नेपाली खाना
डा. राजु अधिकारी
लेखक
डा. राजु अधिकारी
आहारविद् एवं जीवनशैली तथा योग प्रशिक्षक

अध्ययन : मानव चेतना एवं योग विज्ञानमा स्नातकोत्तर र पीएचडी अखिल विश्व गायत्री परिवार, नेपालका स्वयंसेवक, विभिन्न स्कुल, बैंक तथा कलेजहरुमा जीवनशैली र योग प्रशिक्षकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय