+
+

अर्जेन्टिना भर्सेस नेदरल्याण्ड्स : फेरि पनि नजर मेसीमै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १४:१५

२३ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप अन्तर्गत आज राति पौने १ बजे अर्जेन्टिना र नेदरल्याण्ड्सबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।

यो खेललाई लिएर अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक चर्चामा छन् । आफ्नो अन्तिम विश्वकप हुने बताइसकेका मेसी कतारमा विश्वकप ट्रफी उचाल्दै त्यसलाई सुखद बनाउने लक्ष्यमा छन् । त्यसैले जब अर्जेन्टिनाको खेल आउँछ तब सबैभन्दा धेरै चर्चा उनै मेसीको हुन्छ ।

अर्जेन्टिनाको यात्रा कहाँसम्म पुग्छ भन्ने धेरै हदसम्म मेसीकै प्रदर्शनमा टिकेको हुन्छ । पछिल्लो पटक सन् १९८६ मा डिएगो म्यारडोनाको कप्तानीमा अर्जेन्टिनाले विश्वकप जितेको थियो । त्यसको ३६ वर्षपछि मेसी अर्जेन्टिनालाई विश्वकप जिताउने अभियानमा छन् ।

उपाधिबाट तीन खेल मात्र टाढा रहेको अर्जेन्टिनाले त्यसका लागि पहिले क्वाटरफाइनलमा नेदरल्याण्ड्सको चुनौती पार गर्नुपर्ने छ ।

समूह चरणको पहिलो खेलमै साउदी अरेबियासँग २-१ को अप्रत्याशित हारपछि मेसीकै प्रेरणादायी प्रदर्शनमा मेक्सिको र पोल्याण्डलाई हराएर अर्जेन्टिना नकआउट चरणमा पुगेको थियो ।

प्रिक्वाटर फाइनलमा मेसी र युलियन अल्भारेजको गोलमा अष्ट्रेलियालाई हराएर अर्जेन्टिना क्वाटरफाइनल पुगेको हो ।

अर्जेन्टिनाले ८ वर्षपछि क्वाटरफाइनल खेल्न लागेको हो । सन् २०१४ मा फाइनल पुगेको अर्जेन्टिना २०१८ को विश्वकपमा अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो ।

मेसीको अन्तिम विश्वकपलाई सुखद बनाउने लक्ष्यमा रहेको अर्जेन्टिनाले नेदरल्याण्ड्स विरुद्ध २०१४ को नतिजालाई निरन्तरता दिने लक्ष्य राखेको छ । २०१४ मा नेदरल्याण्ड्सलाई सेमिफाइनलमा हराएर अर्जेन्टिना फाइनल पुगेको थियो तर अतिरिक्त समयमा गोल खाँदै जर्मनीसँग पराजित हुँदा उपाधि नजिक पुगेर पनि टाढिएको थियो ।

सन् १९८६ को विश्वकपमा ट्रफिसहित म्याराडोना ।

अर्जेन्टिनासँग खेल्न लागेको नेदरल्याण्ड्स विश्वकपमा अभागी टिम हो । तीन पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेदरल्याण्ड्स ८ वर्षपछि विश्वकपमा फर्कँदै क्वाटरफाइनल पुगेको हो ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलसम्म पुगेको नेदरल्याण्ड्स अर्जेन्टिनासँग पराजित भएको थियो ।

डच टिमले पनि ८ वर्षपछि क्वाटरफाइनल खेल्न लागेको हो । यी दुघ टोलीबीच खेल हुने लागेको पनि ८ वर्षपछि पहिलो पटक हो ।

युवा भर्सेस पाका प्रशिक्षक

अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको क्वाटरफाइनलमा सबै खाले विशेषता जोडिएको छ । अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेल हुँदा विगतका खेलहरुलाई सम्झाउनेछ नै जारी विश्वकपको सबैभन्दा पाका प्रशिक्षक र सबैभन्दा युवा प्रशिक्षकबीचको पनि आमने सामने हुनेछ ।

अर्जेन्टिनाका लियोनल स्कालोनी ४४ वर्षका भए भने नेदरल्याण्ड्सका प्रशिक्षक लुइस भान गाल ७१ वर्षका भए ।

यो खेल दक्षिण अमेरिका भर्सेस युरोप पनि हुनेछ । यस्तै अर्जेन्टिनाका कप्तान मेसी भर्सेस नेदरल्याण्ड्सका कप्तान भर्जि भान डाइक हुनेछ ।

भान डाइक अहिलेका उत्कृष्ट डिफेण्डरमध्ये एक हुन् । मेसीलाई रोक्नका लागि उनै भान डाइकको नेतृत्वमा नेदरल्याण्ड्सका डिफेण्डरहरु तयार छन् । मेसीको र भान डाइकको लागि विश्वकपमा यो सम्भावित अन्तिम खेल हुन पनि सक्छ । यी दुई मध्ये एक मात्र अगाढि बढ्नेछन् ।

प्रोटेस्टको क्यान्सरको सफल उपचारपछि आफ्नो काममा फर्केका भान गाल २६ वर्षीय कोचिङ करियरमा नेदरल्याण्ड्सलाई पहिलो पटक विश्वकप जिताउने प्लट बनाइरहेका छन् । भान गालले तेस्रो पटक नेदरल्याण्ड्सको टिम सम्हलिरहेका छन् ।

यसअघि २०१४ मा भान गाल प्रशिक्षक हुँदा नेदरल्याण्ड्स विश्वकपको सेमिफाइनलमा अर्जन्टिनासँग पराजित भएको थियो ।

म्यानचेष्टर युनाइटेडमा भान गाल प्रशिक्षक हुँदा अर्जेन्टिनाका एन्जल डि मारिया खेलाडी थिए । यी दुईबीच पछिल्लो समयमा राम्रो छैन । एन्जल डि मारियाले भान गाललाई आफ्नो करियरकै खराब प्रशिक्षक भनेका थिए ।

तर भान गालले एन्जलले त्यसो भनेको आफूलाई मन नपरेको बताउँदै उनी राम्रो खेलाडी रहेको बताएका छन् ।

पूर्ण फिट नभएकोले अष्ट्रेलिया विरुद्ध खेल नखेलेका डि मरिया प्रशिक्षणमा फर्केका छन् र नेदरल्याण्ड्स विरुद्ध खेल्ने सम्भावना छ ।

अर्का मिडफिल्डर रोड्रिगो डे पउलले खेल्ने नखेल्ने टुङ्गो छैन । उनले छुट्टै प्रशिक्षण गरेका थिए । अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले नकआउट चरणका लागि पेनाल्टी सुटआउटको तयारी गरेको तर नेदरल्याण्ड्स विरुद्धको खेल रेगुलर टाइममा सकाउने लक्ष्य रहेको बताएका छन् ।

भान गालले क्वाटरफाइनलबाट विश्वकपको असली परिक्षा सुरु भएको बताएका छन् । स्कालोनीले भान गाललाई लेजेण्ड भन्दै आफ्नै आइडल प्रशिक्षक विरुद्ध खेल्न उत्साहित रहेको बताइसकेका छन् ।

जारी विश्वकपमा अन्तिम १६ का दुई खेल पेनाल्टीसुटआउटसम्म पुगेको थियो । २०२१ सेप्टेम्बरमा भान गालले टोली सम्हालेपछि पेनाल्टीसुटआउट बाहेक नेदरल्याण्ड्स १९ खेलमा अपराजित छ ।

स्कालोनीको प्रशिक्षणमा अर्जेन्टिना ३६ खेलमा पराजित हरँदै कतार पुगेको थियो । तर साउदीसँग स्तब्ध बनेपछि अपराजित यात्रामा ब्रेक लागेको थियो ।

विगतको नतिजा यस्तै अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेल हुँदा विगतलाई सम्झाउनेछ । यी दुई टोली पछिल्लो पटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा सेमिफाइनलमा भिडेका थिए । जहाँ अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै फाइनल पुगेको थियो ।

त्यस खेल खेलेका जम्मा ६ खेलाडी र भान गाल मात्र अहिले पनि छन् । अर्जेन्टिनाका मेसी र डि मारिया तथा डचका मेम्फिस डिपाए, डाले ब्लिन्ड र डे भिर्ज अहिले पनि टिममा छन् । त्यसपछि २०१८ मा नेदरल्याण्ड्स छनोट नै भएन ।

अर्जेन्टिना भने अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो । पछिल्लो दुई विश्वकपमा अर्जेन्टिनालाई हराउने टिम नै च्याम्पियन बनेको छ ।

हुन त यस पटक विश्वकपको पहिलो खेलमै अर्जेन्टिनालाई स्तब्ध पारेको साउदी अरेबिया समूह चरणबाटै बाहिरिसकेको छ ।

अर्जेन्टिना र नेदरल्याण्ड्सबीच यसअघि विश्वकपपमा हाइप्रोफाइल खेल भएका छन् । सबैभन्दा ठूलो खेल सन् १९७८ को विश्वकप फाइनल नै हो । जहाँ घरेलु मैदानमा मारियो केम्पस प्रेरित अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई हराएर पहिलो पटक विश्वकप उपाधि जितेको थियो ।

सन् १९९८ मा भएको अन्तिम १६ को भेटमा नेदरल्याण्ड्सले अर्जेन्टिनालाई पराजित गरेको थियो । उक्त खेलमा डेनिस बर्गकाम्पले ९०औं मिनेटमा गोल गरेका थिए ।

पछिल्लो पटक २०१४ को सेमिफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई हराएको थियो । आजको खेल अर्जेन्टिनाले जितेमा विश्वकपमा पाँचौ पटक सेमिफाइनल पुग्नेछन । यसअघि १९३०, १९८६, १९९० र २०१४ मा सेमिफाइनल पुग्दा अर्जेन्टिना फाइनल नै पुगेको थियो । तर १९८६ बाहेक अन्य विश्वकपमा फाइनलमा पराजित भयो । १९७८ मा विश्वकप जित्दा भने सेमिफाइनल चरण थिएन ।

नेदरल्याण्ड्सले जितेमा चौथो पटक सेमिफाइनल पुग्नेछ । यसअघि १९९८, २०१० र २०१४ मा नेदरल्याण्ड्स सेमिफाइनल पुगेको थियो ।

१९७४ र १९७८ मा नेदरल्याण्ड्स फाइनल पुग्दा भने सेमिफाइनल चरण थिएन । नेदरल्याण्ड्स तीन पटक फाइनल पुगेर पनि विश्वकप नजित्ने एक मात्र टिम हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?