+
+

ब्राजिलियन समर्थकको माग : छैटौं उपाधि जित्नू

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १७:११

२३ मंसिर, काठमाडौं । ब्राजिलियन फुटबल समर्थकले यस पटक टिमसँग एउटै मात्र माग राखेका छन्– छैटौं विश्वकप उपाधि ।

कतारमा जारी विश्वकपमा क्वाटरफाइनलमा क्रोएसियासँग हुने खेलअघि ब्राजिलमा रहेका समर्थकहरुले टिमसँगै छैटौं उपाधिको आशा गरेको बताएका हुन् ।

ब्राजिलले पाँचांै विश्वकप जितेको २० वर्ष भइसकेको छ । त्यसयता विश्वकप जित्न नसकेको ब्राजिलका समर्थकले यसपटक उपाधि घर ल्याउन टिमलाई अनुरोध गरिरहेका छन् । २० वर्षपछि टिमले विश्वकप जित्छ भन्नेमा समर्थक आशावादी पनि छन् ।

ब्राजिलको ठूलो शहर साउपाउलोमा पहरेदारको काम गर्ने ३५ वर्षीय हेमर्सन क्बरलमा पनि विश्वकपले नयाँ उमङ्ग थपेको छ । नोभेम्बर २० मा उनको घरमा लगाइएको ब्राजिलको झन्डा अझै छ । ‘ब्राजिलको खेलको बेला सबैले छिटो काम सक्छन् र परिवारसँग बसेर खेल हेर्छन्’, उनको अनुसार ब्राजिलले फाइनलमा फ्रान्ससँग खेलेर जित्नेछ ।

क्बरल मात्रै होइन यस पटक ब्राजिलका ७१ प्रतिशत मानिस ब्राजिलले विश्वकप जित्छ भन्ने पक्षमा रहेको एक अनुसन्धानले बताएको छ । एपोएमा रिसर्चले गरेको अनुसन्धानमा मासिहर ब्राजिलले जित्छ भन्ने पक्षमा रहेको पाइयो ।

ब्राजिलमा हाल हरेकतिर मुख्य चर्चाको विषय फिफा विश्वकप हो । आफ्नो टिमको बारेमा कुरा नगर्ने कोही हुँदैनन् । ट्याक्सी ड्राइभर होस् या कार्यालयका कर्मचारी सबैको गफिने विषय विश्वकप बनेको छ ।

विश्वकपको बेला रियो द जेनेरियोमा कन्सर्ट र खेल दुवै देखाइन्छ । यो फाइनलसम्म चल्नेछ । यतिबेला विश्वकपले गर्दा ब्राजिलको जर्सी व्यापार पनि निकै फस्टाएको छ । जताततै हरियो पहेंलो जर्सी मात्रै हुन्छ ।

जब विश्वकप सुरु भयो तब ३० वर्षीया व्यापारी, किन्टिया साम्पियो जर्सीको माग देखेर चकित नै परिन् । ‘जर्सीको माग चुनावको बेलामा बढ्यो । नोभेम्बरमा भएको चुनावको बेला दिनमै सयौं जर्सी बिक्थे । मैले खाजा खाने समय पनि पाउँदिनथें’, उनले भनिन्, ‘जर्सी यो वर्ष निकै बिक्यो, अहिले मसँग जर्सी नै सकिइसक्यो ।’

ब्राजिलमा फुटबल क्रेज छ भन्नेमा कुनै शंका छैन । तर केहीलाई भने चिन्ताको विषय बनेको थियो । चुनावको बेलामा विश्वकप पर्नाले केही रौनक कम होला कि भन्ने तर यस्तो भएन ।

तर नोभेम्बर २० बाट विश्वकपले देशलाई नै आफ्नो कब्जामा लियो । पछिल्लो केही वर्षहरुमा ब्राजिलको राजनीतिले गर्दा राष्ट्रिय प्रतिकको विषय राष्ट्रिय झन्डा नै विवादास्पद बनेको थियो । हाल पहेंलो जर्सीले सडक ढाकिएको जस्तो देखिन्छ ।

३१ वर्षीया मेइसा पाउलो पनि यस वर्ष ब्राजिलले विश्वकप जितोस् भन्ने चाहन्छिन् । ‘सायद हामी यस्तो पल बाँचिरहेका छौं जहाँ देश नै एक भएको छ । मेरो लागि त यो एउटा अति नै रोमाञ्चक क्षण हो । मलाई लाग्छ यसपटक छैटौं उपाधि आउनेछ । २० वर्ष भइसक्यो अब त आउनु पर्छ’, उनले भनिन् ।

विश्वकप सुरु भएपछि पाउलोको रुटिङ फेरिएको छ । उनी सक्दो छिटो काम सकेर विश्वकप हेर्छिन् ।

हाल फुटबल फलो नगर्नेका लागि पनि विश्वकप नशा बनिसकेको छ । ‘म अन्य खेलहरु खासै हेर्दिन तर ब्राजिलको जर्सी लगाएर हेर्नुको छुट्टै मजा छ,’ पाउलो भन्छिन्, ‘म यो जर्सी लगाएरै खेल हेर्छु म अर्को खेल नहुँदासम्म म लगाइनै रहन्छु ।’

यहाँसम्म की ७२ वर्षीया रोजा मारिया पनि क्वाटरफाइनलमा ब्राजिलले क्रोएसियालाई ४–० ले पराजित गर्छ भन्छिन्, ‘मलाई लाग्छ, आज ब्राजिलले क्रोयसियालाई ४–० ले जित्छ ।’

१५ वर्षीय गाब्रियल फुर्टाडो भन्छन्, ‘मैले एक पटक पनि ब्राजिलले विश्वकप जितेको देखेको छैन । मलाई यस पटक जित्छ भन्ने आश छ । मलाई लाग्छ यसपटक हामीले जित्ने सम्भावना धेरै छ । हामीले आज क्रोयसियालाई जित्छौं ।’

– अलजजिराबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?