News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ का निर्णायक खेलहरू आइतबार बिहान नेपाली समय अनुसार पौने ८ बजे एकैसाथ सुरु हुँदैछन्।
- समूह विजेता अर्जेन्टिनाले जोर्डनविरुद्धको खेलमा कप्तान लियोनल मेस्सीलाई विश्राम दिने निर्णय प्रशिक्षक लियोनेल स्कालोनीले गरेका छन्।
- नकआउट चरणमा स्थान बनाउन अष्ट्रिया र अल्जेरियाबिच प्रतिस्पर्धा हुनेछ जहाँ अष्ट्रियालाई बराबरी र अल्जेरियालाई जित अनिवार्य छ।
१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ का अन्तिम तथा निर्णायक खेलहरू आइतबार बिहान एकैसाथ सुरु हुँदैछन् । नेपाली समय अनुसार आइतबार बिहान पौने ८ बजे सुरु हुने खेलहरूमा साविक विजेता अर्जेन्टिना र नवप्रवेशी जोर्डन तथा अष्ट्रिया र अल्जेरिया भिड्नेछन् ।
अर्जेन्टिना र जोर्डनबिचको खेल डालास स्टेडियममा तथा अल्जेरिया र अष्ट्रियाबिचको खेल कन्सास सिटी स्टेडियममा सञ्चालन हुनेछ । समूह ‘जे’ मा दुई खेलबाट शतप्रतिशत जित निकाल्दै ६ अंकका साथ अर्जेन्टिना यसअघि नै समूह विजेता बन्दै नकआउट चरण (अन्तिम ३२) मा पुगिसकेको छ । समान ३ अंक जोडेका अष्ट्रिया र अल्जेरिया दोस्रो र तेस्रो स्थानमा छन् भने अंकविहीन जोर्डन प्रतियोगिताबाट बाहिरिइसकेको छ । अष्ट्रिया र अल्जेरियाबिचको खेलको नतिजाले नकआउट चरण पुग्ने अर्काे टोलीको टुंगो लाग्नेछ ।
क्लिन स्विप गर्ने दाउमा अर्जेन्टिना
साविक विजेता अर्जेन्टिना नवप्रवेशी जोर्डनमाथि सहज जित निकाल्दै समूह चरणमा आफ्नो शतप्रतिशत जितको कीर्तिमान कायम राख्न चाहन्छ । अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अष्ट्रियालाई २–० ले पराजित गरेको थियो ।
यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सुरुआती ११ मा हुने छैनन् । सुरुआती दुई खेलमा एक ह्याट्रिकसहित ५ गोल गरिसकेका मेस्सीलाई जोर्डनविरुद्ध विश्राम दिइने भएको हो । खेलअघिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले मेस्सी सुरुआती ११ मा नहुने र बेन्चमा बस्ने पुष्टि गरिसकेका छन् ।
पहिलो खेलमा अष्ट्रियासँग ३–१ र दोस्रो खेलमा अल्जेरियासँग २–१ ले पराजित भएको जोर्डन प्रतिष्ठाको लडाइँ लड्दै छ । इतिहासमै पहिलोपटक विश्वकप खेलिरहेको जोर्डन बलियो अर्जेन्टिनालाई स्तब्ध पार्दै ऐतिहासिक उलटफेर गर्ने दाउमा हुनेछ ।
नकआउट प्रवेशका लागि अष्ट्रिया र अल्जेरियाबिच भिडन्त
याे समूहबाट नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्ने लक्ष्यका साथ अष्ट्रिया र अल्जेरिया मैदान उत्रँदैछन् । गोलअन्तरमा अगाडि रहेको अष्ट्रियालाई अर्को चरण पुग्न बराबरी नै पर्याप्त हुनेछ भने अल्जेरियालाई जितको विकल्प छैन । यो खेल जित्ने टोली समूहको उप–विजेता बन्दै सिधै अन्तिम ३२ मा पुग्नेछ ।
अष्ट्रियाले पहिलो खेलमा जोर्डनलाई ३–१ ले हराए पनि दोस्रो खेलमा अर्जेन्टिनासँग २–० को हार व्यहोरेको थियो । यता पहिलो खेलमा अर्जेन्टिनासँग ३–० ले हारेको अल्जेरियाले दोस्रो खेलमा जोर्डनलाई २–१ ले पराजित गर्दै सम्भावना जीवित राखेको हो ।
यो खेल अल्जेरियाका लागि ऐतिहासिक बदला लिने अवसर पनि हो । सन् १९८२ को विश्वकपमा अष्ट्रियाले अल्जेरियालाई हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको थियो । साेही हारको बदला लिँदै नकआउट चरण पुग्न चाहन्छ । अष्ट्रिया भने ४४ वर्षअघिकै इतिहास दोहोर्याउने रणनीतिमा हुनेछ ।

प्रतिक्रिया 4