+
+

विश्वकप फुटबल : यस्त‍ा छन् सेमिफाइनल पुगेका ४ टिमका विशेषता

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ मंसिर २५ गते ११:३२

२५ मंसिर, काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ ।

सेमी फाइनलसम्म पुग्दा पाँच पटकको विजेता ब्राजिल बाहिरिसकेको छ । अहिलेको पुस्ताका उत्कृष्ट खेलाडी मध्ये एक क्रिस्टियानो रोनाल्डो पहिलो रोजाइमा परेनन् । अफ्रिकन राष्ट्र मोरक्को इतिहास कायम गर्दै सेमिफाइनल पुग्यो । पेनाल्टी बचाएर केही गोलकिपरहरू नायक बनेका छन् ।

अन्तिम नतिजा नजिकिंदै गर्दा यसपटकको विश्वकप रोमाञ्चकसँगै आश्चर्यजनक जस्तै बनिरहेको छ ।

यस पटक खेलका नतिजा सोचेभन्दा फरक आइरहेको छन् । उपाधि दाबेदा र नाम चलेका खेलाडीहरू भटाभट आउट भइरहेका छन् । यस्तै नयाँ टिमले पनि इतिहास बनाए ।

क्वाटरफाइनलमा ८ खेल सकिएपछि कतार विश्वकपले सेमिफाइनल पुग्ने चार टिम पाइसकेको छ ।

सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो । मोरक्को अफ्रिकाबाट विश्वकप सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो ।

विश्वकपका ६४ मध्ये ६० खेल सकिएको छ र अब जम्मा चार खेल बाँकी छ । तेस्रो स्थानको खेललाई छाड्ने हो भने अबको तीन खेल एकदमै प्रतिक्षित हुनेछ ।

अब बाँकी चार टिममध्ये कसले जित्ला उपाधि भन्ने कौतुहलता झन् बढेको छ । के यसपटक नयाँ टिम विजेता होला वा पुरानै टिमले उपाधि थाप्लान् ?  त्यसका लागि पुस तीन गतेसम्म कुर्नुपर्नेछ ।

ब्राजिलसँगै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल, नेदरल्याण्ड्स अनी  क्वाटरफाइनलबाटै बाहिरिसकेका छन् ।

त्यसअघि दुई पूर्वविजेता जर्मनी र उरुग्वे समूह चरणबाटै बाहिरिए भने अर्का पूर्वविजेता स्पेन अन्तिम १६ बाट घर फर्कियो ।

यसपटक सेमिफाइनलसम्म आइपुग्दा सबैभन्दा ठूलो सरप्राइज भने मोरक्को रह्यो । पूरा अप्रिकाको प्रतिनिधित्व गर्दै मोरक्कोले सेमिफाइनल पुगेर इतिहास रचेको छ ।

सेमिफाइनल पुगेका मध्ये दुई पूर्व विजेता छन् भने दुई टिमले उपाधि जितेका छैनन् ।

अर्जेन्टिनाल र फ्रान्सले उपाधि जितिसकेका छन् भने क्रोएसिया साविक उपविजेता हो । मोरक्को नयाँ हो ।

अब फाइनल समीकरण जस्तो पनि बन्न सक्छ । दुई पूर्वविजेता वा दुई उपाधि जित्न बाँकी टिम फाइनल पुग्न पनि सक्छ।

यदि क्रोएसिया र मोरक्को फाइनल पुगेमा विश्वकपले १२ वर्षपछि नयाँ विजेता पाउनेछ । पछिल्लो पटक विश्वकप जित्ने नयाँ टिम स्पेन हो । स्पेनले २०१० जितेको थियो ।

फिफा विश्वकप २०२२ को सेमिफाइनल पुगेका ४ टिम कस्ता छन् ?

अर्जेन्टिना : फिफा वरीयता  नं. ३

  सेमिफाइनल पुग्ने मध्ये फिफा वरीयतामा सबैभन्दा माथि रहेको टिम हो अर्जेन्टिना । दुई पटकको उपाधि विजेता । अनि ३६ वर्षपछि पहिलो विश्वकप जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनाले कप्तान लिओनल मेसीको प्रेरणादायी प्रदर्शनमा अन्तिम चारको यात्रा तय गरेको छ ।

अर्जेन्टिनाले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा फाइनल पुगेको थियो तर जर्मनीसँग पराजित भयो । त्यसको ८ वर्षपछि अर्जेन्टिना सेमिफाइनल पुगेको हो । २०१८ को विश्वकपमा अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो ।

मेसीको लागि यो अन्तिम विश्वकप हुने सम्भावना रहेकोले पूरा टिम र अर्जेन्टिना नै अहिले एकजुट बनेको छ विश्वकप जित्नका लागि । कतारमा पनि अर्जेन्टिनाले समर्थकको उत्तिकै साथ पाइरहेको छ ।

उपाधि दाबेदार मध्ये एक टिमको रुपमा कतार पुगेको अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासाग २-१ ले स्तब्ध भएको थियो । यसले समूह्यबाटै घर पर्काउने शंका उत्पन्न गरे पनि मेसीले उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाको विश्वकप जित्ने सपना बाँकी राखेका छन् ।

पहिलो खेल हारे पनि अर्जेन्टिनाले त्यसपछि लगातार दुई खेल जित्दै समूह बीको विजेता बनेर नकआउट चरणमा स्थान बनाएको थियो । साउदीसँग २-१ ले पराजित भएपछि अर्जेन्टिनाले पुनरागमन गर्दै मेक्सिको र पोल्याण्डलाई समान २-० को नतिजामा हरायो ।

अर्जेन्टिनाले अन्तिम १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले हराएको थियो । क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

अर्जेन्टिनाका कप्तान मेसी ४ गोल गर्दै सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा छन् । उनले दुई असिस्टसमेत गरेका छन् ।

क्रोएसिया : फिफा वरीयता १२

ब्राजिललाई क्वाटरफाइनलबाटै घर फर्काउने टिम हो क्रोएसिया । ब्राजिलको उत्कृष्ट अट्याकलाई समेत रोकेको क्रोएसिया यस विश्वकपमा पेनाल्टी किंङको रुपमा देखा परेको छ ।

लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनल पुग्दा क्रोएसियाले नकआउट चरणमा दुई खेल पेनाल्टी सुटआउटमै जितेको थियो ।

यस विश्वकपमा अपराजित टिममध्ये रहेको क्रोएसिया चार वर्षअघि रुसमा भएको विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको थियो । तर फ्रान्ससँग पराजित हुँदा उपविजेतामै सीमित भयो ।

यस पटक पनि क्रोएसियाले त्यो प्रदर्शनलाई निरन्तरता दिएको छ ।

भेट्रान मिडफिल्डर लुका मोडरिचको प्रेरणादायी प्रदर्शन र नेतृत्वमा क्रोएसियाले प्रदर्शनलाई एकरुप दिएको छ र विपक्षी टिमको लागि चुनौती बनिरहेको छ । क्रोएसियाका गोलिकपर लिभाकोभिचले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी पोष्टमा चुम्कजस्तै बनेका छन् ।

क्रोएसियाले अन्तिम १६ मा जापानलाई पेनाल्टी  सुटआउटमा हराउँदा उनले तीन प्रहार रोकेका थिए । यस्तै ब्राजिलविरुद्ध क्वाटरफाइनलमा पनि उनले एक सेभ गरेका थिए।

क्रोएसिया समूह एफमा एक जित र दुई बराबरी खेल्दै समूह उपविजेता बनेको थियो । मोरक्को विरुद्ध गोलरहित बराबरीमा रोकिएको क्रोएसियाले दोस्रो खेलमा सुरुमा एक गोल खाएर पनि क्यानडालाई ४-१ ले पराजित गरेको थियो । त्यसपछि समहको अन्तिम खेलमा बेल्जियमलाई गोलरहित बराबरीमा रोकेपछि क्रोएसियाले नकआउट चरणमा स्थान पक्का गरेको थियो ।

स्टार र नाम चलेका खेलाडी नभए पनि क्रोएसियाले संगठित प्रदर्शन गरिरहेको छ र विपक्षी फरवार्डका लागि बलियो डिफेन्सको नमूना प्रस्तुत गरेको छ ।

मोरक्को : फिफा वरीयता २२

यस विश्वकपमा मोरक्कोकोले नयाँ इतिहास बनायो । पहिलो पटक विश्वकपको सेमिफाइनल पुग्ने टिमको रुपमा मोरक्कोले इतिहास बनाएको छ ।

सेमिफाइनल पुग्ने चारमध्ये फिफा वरीयतामा मोरक्को सबैभन्दा पछि अर्थात २२औं स्थानमा छ । तर कतारमा मोरक्कोको प्रदर्शन उत्कृष्ट छ ।

यस पटक मोरक्को जायन्ट किलर, डार्क हर्स, अन्डर डग जस्ता टिमको रुपमा देखिएको छ ।

एटलस लायन्सको उपनामले चिनिने यो मोरक्कोले समग्रमा अफ्रिकाको प्रतिनिधित्व गर्दै सेमिफाइनल खेल्नेछ ।

मोरक्कोले यसअघि सन् १९८६ मा विश्वकपको समूह चरण पार गरेको थियो । तर त्यसको ३६ वर्षपछि मोरक्कोले झन् धेरै सफलता हासिल गरिसकेको छ । अझ भनम इतिहास नै बनाएको छ । मोरक्कोले बनाएको इतिहासलाई अब सबैले सम्झनेछन् ।

बेल्जियम र क्रोएसिया जस्ता टिम रहेको समूह एमा दुई जित र १ बराबरीको नतिजासहित मोरक्को समूह विजेता बनेको थियो ।

मोरक्कोको अर्को रोमाञ्चक तथ्य के छ भने यस पटक उसलाई विपक्षीले अहिलेसम्म गोल हान्न सकेका छैनन् । अझ पेनाल्टी सुटआउटमा समेत गोल खाएको छैन ।

क्रोएसियासँग गोलरहित बराबरी खेल्दै विश्वकप सुरु गरेको मोरक्कोले बेल्जियमलाई २-० ले हरायो भने क्यानडालाई २-१ ले पराजित गरेको थियो । जारी विश्वकपमा मोरक्कोले बेहोरेको एक मात्र गोल पनि आत्मघाती थियो ।

अन्तिम १६ मा पूर्वविजेता स्पेनलाई पेनाल्टी सुटआउटमा मोरक्कोले ३-० को जित निकालेको थियो ।

ठूला टिमलाई हराउने क्रममा मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १-० ले स्तब्ध पार्दै इतिहास रच्यो । अब त्यसलाई सेमिफाइनलमा पनि कायम राख्दै मोरक्कोले फाइनल पुगेर नयाँ इतिहास रच्ने लक्ष्य राखेको छ ।

फ्रान्स : फिफा वरीयता ४

पछिल्ला केही विश्वकपमा साविक विजेताहरु प्रदर्शन खराब रहेको अवस्थामा फ्रान्सले भने त्यसको ठीक विपरीत साविक विजेताको रुपमा यसपटक राम्रो प्रदर्शन गरिरहेको छ ।

ब्राजिल र अर्जेन्टिनापछि फ्रान्सलाई यस पटक उपाधि दाबेदारको रुपमा हेरिएको थियो । अर्जेन्टिना सेमिफाइनल पुग्दा ब्राजिल भने बाहिरिसकेको छ । दुवैले सेमिफाइनल जिते फाइनलमा भेट पक्का हुनेछ ।

फ्रान्स १९६२ मा ब्राजिलपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने लक्ष्यमा रहेको छ ।

विश्वकपअघि र विश्वकप सुरु हुँदादेखि नै फ्रान्सले यस पटक चोटले पिरोलेको थियो । तर किलिएन एमबाप्पेको साथ पाएको फ्रान्सले सेमिफाइनल पुग्दै आफ्नो लक्ष्यको करिब नजिक पुगेको छ ।

क्वाटरफाइनलमा अर्को पूर्वविजेता इंग्ल्याण्डलाई पराजित गर्दै फ्रान्सले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।

केही खेलाडी घाइते हुँदा पनि फ्रान्सको अट्याक उत्कृष्ट छ । किलियन एमबाप्पे ५ गोल गर्दै सर्वाधिक गोल गर्नेमा अगाडि छन् । अब फ्रान्स उपाधि रक्षाबाट दुई खेल टाढा छ । फ्रान्सले सेमिफाइनलमा अफ्रिकन टिम मोरक्कोसँग खेल्नेछ । मोरक्को यस पटक जायन्ट किलर बन्दै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ ।

फ्रान्सका लागि तुलनात्मक रुपमा सहज देखिए पनि मोरक्कोले स्पेन र पोर्चुगला जस्ता टिमलाई हराइसकेको छ ।

फ्रान्सले समूह डी मा सुरुवाती दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गर्दा अन्तिम खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा अष्ट्रेलियालाई ४-१ ले र दोस्रो खेलमा डेनमार्कलाई २-१ ले हराएको फ्रान्स तेस्रो खेलमा ट्युनिसियासँग १-० ले पराजित भएको थियो ।

अन्तिम १६ मा पोल्याण्डलाई ३-१ ले सहजै हराएर फ्रान्सले लयमा फर्केको संकेत गरिसकेको छ । त्यसपछि इंग्ल्याण्डलाई क्वाटरफाइनलमा २-१ ले पराजित गर्ने क्रममा रेगुलर टाइममा फ्रान्सले खेल जितेको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?