+
+
विचार :

तपाईंले पनि बालबालिकामाथि शैक्षिक हिंसा गरिरहनुभएको त छैन ?

बालबालिका आफ्नै अभिभावक, हेरचाह गर्ने व्यक्ति र नजिक परिवारको सदस्य आदिबाट नै अत्यधिक हिंसामा पर्ने गरेको पाइन्छ । मनोवैज्ञानिकहरूका अनुसार यस्ता हिंसा भोगेर हुर्केका बालबालिका बढी हिंस्रक बन्ने सम्भावना अधिक हुन्छ ।

बुद्धिकुमार श्रेष्ठ बुद्धिकुमार श्रेष्ठ
२०७९ मंसिर २५ गते १४:०४

गत हप्ता राजधानीको एउटा विद्यालयमा माध्यमिक तहमा पढ्ने किशोरीले आत्महत्या गरिन् । उनले मर्नु अगाडि लेखेको सुसाइड नोटको आधारमा भन्न सकिन्छ– आत्महत्याको प्रमुख कारण विद्यालयमा दिइएको सजाय हो । आमसञ्चारमाध्यमको यो निष्कर्ष पढिरहँदा मलाई त्यही समूहका किशोरकिशोरीसँगको अन्तर्क्रियाको स्मरण भयो ।

केही समय अगाडि विद्यालय शिक्षा सुधार सम्बन्धमा भएका कामहरूको प्रभावकारिता मूल्यांकन अध्ययन गर्ने सिलसिलामा राजधानी नजिकैको जिल्लामा रहेका विद्यालयको अवलोकन गर्ने अवसर पाएको थिएँ । सोही सन्दर्भमा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन, प्रधानाध्यापक लगायतसँग बालबालिकाको अनुशासन सम्बन्धमा कुराकानी गर्ने अवसर प्राप्त भयो ।

वैदेशिक सहयोगको उक्त परियोजनामा विद्यालय भवन, प्रयोगशाला, पुस्तकालयलगायत भौतिक पूर्वाधार निर्माण, सिकारुमैत्री कक्षाकोठा व्यवस्थापन, शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति, अभिभावक संघको क्षमता अभिवृद्धिका लागि विविध कार्यक्रम संचालन गरिएको रहेछ । सुविधासम्पन्न विद्यालय प्रवेशसँगै सम्मुखमा रहेको गौरीशंकर हिमालले वातावरण शान्त, सुन्दर र मनमोहक अनुभूति भयो । यति सौम्य र शालीन बाह्य वातावरणमा रमाउँदै गर्दा मेरो भित्री अन्तस्करणमा भने कक्षाकोठाभित्र बसिरहेका (थुनिएका !)

विद्यार्थीको बालमनोविज्ञान र उनीहरूको अनुभूतिहरू सुन्ने आतुरता र लोभ थियो ।

विद्यालय शिक्षाको गुणस्तर सुधार सम्बन्धी परियोजना र मेरो रुचिको विषय पनि भएकोले सरोकारवालाहरूको सिकाइ सम्बन्धी बुझाइ अनि शिक्षक अभिभावकहरूले विद्यार्थीसँग गर्ने व्यवहारको बारेमा गन्थनमन्थन गरेर केही समय बिताएँ । कुराकानीकै सिलसिलामा विद्यार्थी भाइबहिनीले विद्यालयमा शिक्षकले गर्ने गरेका व्यवहार, घरमा बाबा–आमाले भनेका कुराहरू, गरेका व्यवहारहरूको फेहरिस्त सुनाउन थाले ।

विद्यालयमा विभिन्न कारणले ढिलो आइपुग्दा, सोधेको प्रश्नको जवाफ दिन नसक्दा, भनेको भन्दा कपाल लामो हुँदा शिक्षकहरूले गाली गर्ने, हातमा लठ्ठीले कुट्ने, कान समातेर उठबस गराउने, एक्लै लगेर एक खुट्टामा उभ्याइदिने गरेको घटना सामान्य भइसकेको रहेछ । शिक्षक, विद्यार्थी र अभिभावकहरूसँग यस बारेमा छलफल गर्दा निकै सहजता साथ लिएको अनुभूति भयो ।

शिक्षक तथा अभिभावकहरूको बुझाइ फरक छ । उनीहरू भन्छन्, ‘विद्यार्थीकै हितमा गरेको हो, उनीहरूकै भविष्यको लागि हो, उनीहरूकै राम्रोको लागि हो ।’ अझ अनौठो त एकजना किशोरी त छलफलको सुरुमा सशक्त रूपमा यसको पक्षमा देखिनुभयो । धेरै विद्यार्थीमा मेरो आफ्नै कमजोरीले हो भनेर आफैंलाई दोष दिएको पाएँ । समग्रतामा सबैको बुझाइ र व्यवहार हेर्दा विद्यार्थीलाई अलि–अलि कुट्नु, पिट्नु, झपार्नु, गाली गर्नु स्वाभाविक र आवश्यक तत्वको रूपमा ग्रहण गरेको अवस्था रहेछ ।

एन्टिनियो ग्राम्स्कीले भने जस्तै सांस्कृतिक हेजेमोनीको रूपमा यस्तो प्रकृतिका हिंसाहरू अभ्यासमा रहेको हो कि भने जस्तो अनुभूति भयो । यसै सन्दर्भमा यस लेखमा स्वाभाविक मानिने शैक्षिक हिंसा (अर्डिनरी एजुकेशनल भायोलेन्स– ओईभी/भीईओ) को विषयमा छलफल गर्न खोजिएको छ ।

स्वाभाविक मानिने शैक्षिक हिंसा भन्नाले बालबालिकामा शैक्षिक उपलब्धि प्राप्त गर्ने/गराउने ध्येयका साथ प्रयोग गरिने शारीरिक, मानसिक वा शाब्दिक हिंसाको रूपलाई लिइन्छ ।

अभिभावक वा वयस्कले बालबालिकालाई उनीहरूको व्यवहार आफूले चाहे जसरी परिवर्तन गराउन, निर्माण गर्न वा आफूले चाहे जसरी आज्ञाकारी बनाउन वा चलनचल्तीको भाषामा अनुशासन कायम गराउन गरिने सबै हिंसाहरूलाई स्वाभाविक मानिने शैक्षिक हिंसाको रूपमा लिन सकिन्छ । जस्तै, विद्यार्थी विद्यालयमा ढिलो आउँदा त्यसमा अन्तरनिहित विविध पक्ष– भौतिक, पारिवारिक, वैयक्तिक कारण पत्ता लगाएर यथोचित समाधानको उपायतिर लाग्नुभन्दा नियम पालन नगरेकोमा विद्यार्थीलाई नै दोषी देखाएर दिइने सजाय । यस्ता प्रकृतिको हिंसाजन्य क्रियाकलापहरू तत्कालीन सामाजिक अभ्यास र संस्कारले सामान्य रूपमा स्वीकार्य र सहन गर्ने भएकोले यसलाई स्वाभाविक भन्ने गरिएको हो ।

यस्ता क्रियाकलापहरू हाम्रो दैनिक व्यवहारमा गरिरहेको र सामाजिक रूपमा पनि स्वीकार्य भएको पाइन्छ । विशेषतः बालबालिकालाई आफ्नो पढाइप्रति केन्द्रित गराउन, उनीहरूलाई दीर्घकालमा फाइदा हुने आनीबानी, संस्कार र व्यवहार सिकाउन, अझै भन्नुपर्दा उनीहरूकै भलाइको लागि गरिएको प्रयासको रूपमा अर्थ्याउने गरिन्छ । हामीले आमरूपमा सुन्ने गरेको पढेर मलाई दिने हो र ? आफ्नै लागि त हो नि !

‘बच्चाहरूलाई’ अलिअलि त नियन्त्रणमा राख्न परिहाल्यो, अनुशासन सिकाउन अलि अलि कराउने, हप्काउने यसो प्याट्टपुट्ट पार्न त परिहाल्यो नि ! जस्ता भनाइ सुन्ने भन्ने गरेका नै छौं । पढ–पढ भनेर बालबालिकालाई अर्ति उपदेश दिने, हप्कीदप्की गर्ने उस्तै परे पिटपाट नै गर्ने अनि आफू चाहिं कहिल्यै पुस्तक पल्टाएर नहेर्ने, फेसबुक, टिकटकलगायतका सामाजिक संजालमा मस्त हुने शिक्षित शहरिया अभिभावकहरू पनि उल्लेख्य मात्रामा भेटिन्छ ।

भीईओ अन्तर्गत शारीरिक हिंसा जस्तै पिटपाट गर्ने, थप्पड लगाउने, कान निमोठ्ने, धकेल्ने, समातेर झ्याकलझुकल पार्ने, खाना खान नदिने, उठबस गराउने, कुखुरा बनाउने, एक खुट्टा टेकेर उभिन लगाउने जस्ता क्रियाकलाप पर्दछन् ।

त्यस्तै, मानसिक हिंसाहरू जस्तै; कुट्ने–पिट्ने लगायतका सजायको धम्कीदिने, अरूबाट अलग्याएर राखिदिने, दोष लगाउने, होच्याउने वा हेयको व्यवहार गर्ने, शौचालयमा थुन्ने, माया–प्रेम दर्शाउन छोड्ने, बालबालिकालाई एक्लै छाडेर जान्छु भनेर धम्क्याउनु पर्दछन् । शाब्दिक हिंसा जस्तै, चिच्याउने, कराउने गर्ने, बेइज्जत गरिदिने, निरुत्साहित गर्ने वा अति व्यंग्य गर्ने अलि बढी प्रचलनमा रहेको पाइन्छ ।

अब्जर्भेटरी अफ अर्डिनरी एजुकेशनल भायोलेन्सले २०१७ मा गरेको एक अध्ययनका अनुसार बालबालिकामध्ये २ वर्षको उमेरसम्ममा ५० प्रतिशत र ५ वर्षको उमेरसम्ममा करिब ७५ प्रतिशत स्वाभाविक मानिने शैक्षिक हिंसाबाट पीडित भएको पाइयो ।

नेपालको सन्दर्भमा पनि युनिसेफ र राष्ट्रिय तथ्यांक विभागको प्रतिवेदन अनुसार १४ वर्षको उमेरसम्मका करिब ८० प्रतिशत बालबालिका अनुशासन कायम गर्ने निहुँमा हिंसामा परेको पाइन्छ भने १ देखि २ वर्षका कलिलो बालबालिका पनि आधा भन्दा धेरैले शारीरिक हिंसा भोग्नुपरेको देखाउँछ ।

बालबालिकामा पर्ने असर

बालबालिकाले भनेर, सुनेर भन्दा धेरै आफूभन्दा ठूला र वयस्कहरूले गरेको देखेर नक्कल गरेर सिक्दछन् । हामीले के भन्यौं भन्दा पनि के गर्‍यौं भन्ने कुराबाट उनीहरूको सिकाइलाई प्रभावित गर्दछ । अभिभावकले गर्ने व्यवहार र बोलीचाली बालबालिकाको लागि उदाहरण र नमुना (रोल मोडेल) हुन्छन् ।

यस्तो खालको हिंसा वा हिंसाजन्य व्यवहारहरू एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएको हुन्छ । अभिभावकहरूले आफ्नो बाल्यकालको भोगाइको आधारमा आफ्ना सन्ततिहरूलाई पनि असल शिक्षा दिने निहुँमा सोही प्रवृत्ति दोहोर्‍याउँछन् । समाजले पनि बालबालिकामा आज्ञाकारिता खोज्ने र अभिभावक एवं गुरुहरूको हिंसात्मक व्यवहारलाई शिक्षा प्राप्तिको अत्यावश्यक पूर्वाधारको रूपमा बुझेको पाइन्छ ।

बालबालिकालाई विद्यमान अवस्थामा अनुभूति गर्न, रमाउन, हुर्कन भन्दा पनि उज्ज्वल भविष्य निर्माणको नाममा पीडादायी र बन्धनयुक्त वर्तमानमा रहन बाध्य पारिएको हुन्छ । शिक्षाको लागि यस्तो व्यवहार देखाउनु भनेको बालबालिकाको बौद्धिक र संवेगात्मक विकास प्रक्रियालाई नबुझ्नु हो । तसर्थ कतिपय अभिभावक र शिक्षाकर्मी बालसुलभता वा बालआक्रोशलाई गलत अर्थ लगाएर बच्चालाई त सानैदेखि तह लगाएर अनुशासित बनाउन सकिन्छ भन्ने सोच्दछन् ।

अनौठो त के छ भने बालबालिका आफ्नै अभिभावक, हेरचाह गर्ने व्यक्ति र नजिक परिवारको सदस्य आदिबाट नै अत्यधिक हिंसामा पर्ने गरेको पाइन्छ । मनोवैज्ञानिकहरूका अनुसार यस्ता हिंसा भोगेर हुर्केका बालबालिका बढी हिंस्रक बन्ने सम्भावना अत्यधिक हुन्छ । विभिन्न अध्ययनमा बताइए अनुसार सानो उमेरमा पिटाइ खाने बालबालिका बयस्क उमेरमा बढी हिंसात्मक हुने र आपराधिक गतिविधिमा संलग्न भएको देखाउँछ ।

यसैगरी पढाइको लागि दिइएको दबाव र सजायले बालबालिकामा बढी रिसाहा, सन्काहा, असामाजिक व्यवहार प्रदर्शन गर्ने र अधिक बालबिजाइँका घटना घटाउने गरेको पाइन्छ ।

उनीहरूमा अभिभावक वा वयस्कप्रति विश्वास कम हुने हुन्छ । अनि सानो उमेरमा सजाय र बल प्रयोगको भरमा नियन्त्रणमा रहेका बालबालिका किशोर अवस्थासँगै अवज्ञा गर्न थाल्दछन्, जसले गर्दा बुवाआमालगायत परिवारका सदस्यहरूसँग द्वन्द्व पैदा गर्दछ ।

शिक्षाकर्मी तथा अभिभावकको भूमिका

शिक्षा नीति २०७६ ले सामाजिक न्याय, रूपान्तरण र समृद्धिका लागि योगदान दिने शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्ति तयार गर्ने परिकल्पना गरेको छ । तर अनुशासनको नाउँमा हाम्रा शिक्षाप्रदायकहरूको मानसिकता, संयन्त्र र व्यवहार आत्मबल नभएको, डराउने खालको र आफ्ना भावनाहरू व्यक्त गर्न लजाउने व्यक्ति तयार गर्न उन्मुख देखिन्छ । अनि सभ्य, स्वस्थ र सक्षम जनशक्ति हैन, जिम्मेवारबाट पन्छिने, समस्यासँग डराउने र हतास मानसिकताको विकास हुन्छ ।

अझै विद्यालयहरूमा अनुशासन कायम गर्ने नाउँमा बाउन्सरको रूपमा डिसिप्लिन इन्चार्ज राख्ने र कुट्न लगाउने प्रचलनले विद्यालय प्रशासनकोे शिक्षा प्रदान गरिने कर्मलाई कसरी बुझेका छन् भन्ने झल्काउँछ । यसले फरक मत र फरक विचारको सम्मान त परै जाओस्, विद्यार्थीलाई यन्त्र रोबोट जसरी बुझ्दछ अनि फरकपन विनाको सिर्जनात्मकता कसरी आउँछ ? सामाजिक न्याय र रूपान्तरण व्यवहारमा कहाँ देखिन्छ ?

शिक्षा प्रदायक चाहे विद्यालय होस् वा घरपरिवार र समुदाय, बालबालिकालाई एउटा पूर्ण मानवको रूपमा (एस अ बिइङ)को रूपमा स्वीकार्नु नै चुनौती देखिन्छ । आफैंले जन्माएको, आफैंले हुर्काएको वा आफैंले सिकाएको जस्ता बहानामा बालबालिका माथि नियन्त्रण राख्ने प्रयास गर्नु अमानवीय मात्र हैन पछि गएर झन् प्रत्युत्पादक हुन्छ । भनाइ नै छ– बालबालिकालाई समानुभूतिको आवश्यकता पर्दछ ।

अभिभावक, शिक्षक वा वयस्कहरूले बालबालिकालाई समानुभूतिसहितको साथ दिनु अत्यन्त महत्वपूर्ण छ ।

विशेषतः बालबालिकाले गरेका व्यवहार अस्वीकार्य भएको अवस्थामा उनीहरूसँग कुराकानी गर्दै त्यसको कारणसहित आफ्ना असहमति प्रष्ट पारिदिनुपर्दछ तर सोही व्यवहारका कारण बालबालिकाप्रति गरिने व्यवहार र दर्शाउने माया–प्रेममा कमी ल्याउनुहुँदैन ।

महात्मा गान्धीको प्रेम नै मुख्य उपचार हो भन्ने भनाइलाई बालबालिकासँग गरिने व्यवहारमा हरदम प्रदर्शन गर्नुपर्दछ । मायाले नै उनीहरूलाई तपाईंको नजिक बनाउँछ, उनीहरूका रुचि, विचार र आवश्यकता बुझ्ने अवसर मिल्दछ ।

तसर्थ आजबाट नै सोचौं । हिंसाको माध्यमबाट भन्दा बालबालिकासँग कुरा गरेर, उनीहरूका आवश्यकता बुझेर, आफ्ना सीमितता र अपेक्षा बालबालिकाले बुझ्ने भाषामा मायालुपनका साथ प्रष्टसँग बताएर स्वअनुशासन निर्माणमा सहयोग गरौं । यसबाट नै सकारात्मक नतिजा ल्याउन सहायता पुर्‍याउँदछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?