+
+

१४ वर्षपछि त्रिविमा होला त स्ववियु चुनाव ?

नुनुता राई नुनुता राई
२०७९ मंसिर २७ गते १०:१७

२७ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको वाषिर्क क्यालेन्डरमा रहेको स्ववियु निर्वाचन मिति आउँदै गर्दा स्ववियुको चुनाव हुने हल्लाले विद्यार्थी राजनीतिलाई तरंगित बनाएको छ । त्रिविको क्यालेन्डरमा हरेक दुई वर्षको फागुन १४ गते स्ववियु चुनाव हुने उल्लेख छ । तर २०६५ साल यता फागुन १४ गते स्ववियुको चुनाव त्रिविको कार्यतालिकामा मात्रै सीमित हुँदै आएको छ ।

२०७३ सालमा आंशिक अर्थात २६ वटा क्याम्पसमा भने निर्वाचन भयो । बाँकी क्याम्पसहरुमा चुनाव हुन सकेन । भएका २६ वटा क्याम्पस मध्ये अधिकांश क्याम्पसहरु प्राविधिक धारतर्फका छन् ।

यो वर्ष पनि फागुन नजिकिँदै गर्दा त्रिविले स्ववियु चुनाव गराउनेबारे अनौपचारिक रुपमा आन्तरिक छलफल गरेको छ । यहीबीचमा त्रिवि स्ववियुको चुनाव गर्ने तयारीमा जुटेको समाचार बाहिरिएको छ । तर त्रिविले विद्यार्थी नेताहरुलाई छलफलका लागि अहिलेसम्म औपचारिक तथा अनौपचारिक रुपमा बोलाएको छैन ।

त्रिवि शिक्षाध्यक्ष शिवलाल भुषाल भन्छन्, ‘हामीले चुनाव तोकिएको समयमा गराउने भनेर अनौपचारिक छलफल गरिरहेका छौं । सम्भवत यो वर्ष हुन्छ होला ।’ तर, शिक्षाध्यक्ष यो वर्ष चुनाव हुनेमा भने निश्चिन्त सुनिएनन् ।

विद्यार्थी कल्याण प्रमुख पशुपति अधिकारी चुनावको विषयमा विद्यार्थीहरुले चासो देखाइरहेकोले यो वर्ष चुनाव हुनुपर्छ भन्ने पक्षबाट आन्तरिक रुपमा अनौपचारिक छलफल भइरहेको बताउँछन् । उनी भन्छन् ‘चुनावको विषयमा विद्यार्थीहरुको चासो देखाइरहेका छन् । प्रधानमन्त्रीज्यूको पनि स्ववियु निर्वाचनबारे चासो भएकाले नयाँ सरकार बनेपछि हुन्छ होला । त्रिवि पनि चुनाव हुनुपर्छ भन्ने पक्षमा छ ।’

प्रधानमन्त्रीकै चासोको विषय बनिरहेकाले यो वर्ष स्ववियु चुनाव हुने नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा बताउँछन् । त्रिविले पनि आन्तरिक छलफल चलाएको जानकारी पाएको उनले बताए । संसदीय दलको चुनावको कारण पार्टीका नेताहरुसँग यस विषयमा छलफल गर्न नपाएकाले बैठक बस्न नसकेको उनले बताए । अध्यक्ष शेर्पाले संसदीय दलको चुनाव लगत्तै नेविसंघले पनि पूर्णता पाउने र स्ववियु चुनावको तयारीमा जुट्ने बताए । उनले भने ‘संसदीय दलको चुनाव लगत्तै हाम्रो संगठनले पनि पूर्णता पाउँदैछ । त्यसपश्चात हामी स्ववियुको चुनावको लागि लाग्छौं । प्रधानमन्त्रीकै चासोको विषय भएकोले यो वर्ष जसरी पनि स्ववियुको निर्वाचन हुन्छ ।’

माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले फागुन १४ मा जसरी भए पनि स्ववियु चुनाव हुनुपर्छ भनेर गत भदौमा नै त्रिविमा माग पत्र बुझाइसकेको र त्रिविले गर्ने प्रतिवद्धता समेत जनाइसकेको अध्यक्ष पञ्चा सिंहले बताइन् । अब थप दबाव सिर्जना गर्न गठबन्धनमा आवद्ध दलहरुका विद्यार्थी संगठनका केन्द्रीय तहका बैठकहरु बसेर योजना बनाउने सिंहले जानकारी दिइन् । उनले भनिन् ‘हामीले यस अघि बुझाएको मागपत्र अनुसार त्रिविले स्ववियु निर्वाचन गर्ने प्रतिवद्धता गरिसकेको छ । तर अहिलेसम्म हामीलाई छलफल तथा जानकारी आएको छैन । अब हामी गठबन्धन दल आवद्ध विद्यार्थी संगठनहरुका केन्द्रीय तहका बैठकहरु बसेर स्ववियु चुनाव केन्दि्रत गतिविधि अगाडि बढाउँछौं ।’ उनीहरुले त्रिविमा मात्रै नभएर सबै विश्वविद्यालयहरुमा एकैसाथ स्ववियु चुनाव गराउनको लागि दबाब दिने बताइन् ।

त्रिविले स्ववियु चुनाव गराउने विषयमा आन्तरिक छलफल शुरु गरेको विषयप्रति विश्वस्त हुन नसकिने नेकपा एमाले सम्बद्ध अनेरास्ववियु त्रिवि कमिटी इन्चार्ज मदन विष्ट बताउँछन् । त्रिविले हरेक वर्ष कार्यतालिकामा भएको स्ववियु चुनाव आउँदै गर्दा सामान्य छलफल गर्ने तर चुनाव भने नगराउने गरेको उनको भनाइ छ । उनी भन्छन् ‘त्रिविले हरेक वर्ष मंसिर, पुसमा हल्का छलफल गरेजस्तो गर्ने तर चुनाव नगराउने गर्दै आएको १४ वर्ष भइसक्यो । त्यसैले यसपटक पनि त्यही त होला ।’ अनेरास्ववियु केन्द्रीय कमिटीले मंगलबार चुनाव सुनिश्चितताका लागि त्रिवि उपकुलपतिलाई ज्ञापन-पत्र बुझाएको छ ।

हरेक दुई-दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन १४ वर्षयता हुन सकेको छैन । यो वर्ष जसरी पनि स्ववियु चुनाव गराउनको लागि विद्यार्थी संगठनहरु दबाव दिने तयारी गरिरहेको बताउँछन् । त्रिवि स्ववियु चुनाव गर्ने पक्षमा रहेको दाबी गरिरहे पनि कुनै पनि राजनीतिक दल अथवा विद्यार्थी संगठनहरुसँग भने अनौपचारिक रुपमा समेत कुराकानी गरेको छैन । त्रिभुवन विश्वविद्यालयले इमान्दारपूर्वक चुनाव गराउने अथवा वातावरण निर्माण गर्ने पक्षमा अहिलेसम्म नदेखिएको विद्यार्थीहरु बताउँछन् ।

देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि त्यही अनुसार अन्य तहको निर्वाचन भएपनि स्वतन्त्र विद्यार्थी युनियनको पनि निर्वाचन हुनुपर्छ भनेर शुरुदेखि नै कुरा उठाउँदै आइरहेको नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली बताउँछन् । उनी भन्छन् ‘देशमा लोकतान्त्रिक गणतन्त्र पद्धति अनुसार स्थानीय, प्रदेश, संघको निर्वाचन हुँदै आइरहेको छ । स्ववियुमा पनि त्यही अनुसार छिटो भन्दा छिटो हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ केही महिना अघि मात्रै अनेरास्ववियूले विभिन्न माग राख्दै त्रिविमा आमरण अनसन बसेको र त्यसको प्रमुख बुँदाको रुपमा स्ववियु निर्वाचन हुनुपर्ने रहेको अध्यक्ष पराजुलीले बताए ।

अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष शम्भु प्रसाद भट्ट भने स्ववियु चुनाव तयारीबारे त्रिवि अनौपचारिक छलफलमा जुटिरहेकाले यस पटक चुनाव हुनेमा आशावादी भएको बताउँछन् । उनले भने ‘औपचारिक रुपमा त अहिलेसम्म छलफल भएको छैन । अनौपचारिक रुपमा भएपनि अलि गम्भीर रुपमा नै लागेको भन्ने बुझेको छु त्यसैले अरु वर्ष जस्तो हल्लामा सीमित हुँदैन कि भन्ने अपेक्षा हो ।’

अखिल क्रान्तिकारीका महासचिव ललित विक त्रिविले आन्तरिक छलफल गरेको जानकारी पाए पनि विद्यार्थी संगठनहरुसँग भने कुनै पनि खालको छलफल नगरेको बताउँछन् । निर्वाचनको औचित्य, निर्वाचन प्रणाली लगायतको विषयमा फरक दृष्टिकोण भएपनि स्ववियु चुनाव हुनुपर्छ भन्ने पक्षमा रहेको महासचिव विकले बताए । उनले भने ‘निर्वाचनको औचित्य, प्रणाली लगायतको विषयमा हाम्रो फरक मत भएपनि निर्वाचन चाहिँ हुनुपर्छ भन्ने पक्षमा हो । त्रिविले आन्तरिक रुपमा छलफल चलाइरहेको रहेछ त्यसैले गराउने पक्षमा हो की भन्ने बुझाई हो ।’

आशंका

हरेक दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन विगत १४ वर्षदेखि अधिकांश क्याम्पसमा हुन सकेको छैन । स्ववियु निर्वाचनप्रति त्रिवि, राजनीतिक दलहरु र सरकारको प्राथमिकता नपरेको कारण हुन नसकेको विद्यार्थी संगठनहरु बताउँछन् ।

त्रिविका पदाधिकारीहरु स्ववियुलाई कमजोर बनाउनको अनेक गतिविधि गर्ने गरेको र उनीहरुको भित्रि मनसाय विश्वविद्यालयलाई निजीकरण गराउने उद्देश्यले स्ववियु निर्वाचन हुन नदिइरहेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले लगाए । उनले भने ‘त्रिविका पदाधिकारीहरु स्ववियुलाई कमजोर बनाउनको लागि अनेक खालको गतिविधि गरिरहेका छन् र नयाँ म्यान्डेट सहितको लिडरसीप स्थापित हुन्छ भन्ने भयले निश्चित दलबाट नियुक्ति भएका पदाधिकारीहरुले स्ववियु चुनाव हुन दिइरहेका छैनन् ।’ अहिलेसम्म त्रिविले कुनै पनि खालको औपचारिक छलफल नगरेकोले यो वर्ष पनि स्ववियुको निर्वाचन नगर्ने योजना हुनसक्ने जोखिम रहेको अध्यक्ष पराजुली बताउँछन् । उनी भन्छन् ‘अहिलेसम्म त्रिविले स्ववियुको चुनावको लागि बैठक गरेर निर्वाचनको तयारी, शान्ती सुरक्षाको माग गर्नुपर्ने हो । तर, त्यस्तो केही तयारी वा बैठक भएको छैन । त्यसैले हुन्छ भन्नेमा विश्वस्त हुन सकिँदैन ।’

स्ववियु चुनाव गराउनका लागि मुख्य तीन पार्टीहरु तथा सरकारकै धारणा बन्नुपर्ने तर त्यो नहुँदा चुनाव हुन नसकेको अनेरास्ववियु त्रिवि कमिटी इन्चार्ज मदन विष्टको बुझाइ छ । उनी भन्छन् ‘स्ववियु चुनाव त्रिविले मात्रै गर्छु भनेर मात्रै पनि हुँदैन । मुख्य तीन दलहरु, सरकारकै धारणा बनेमात्रै सकिन्छ नभए यस्तै हो ।’ प्रधानमन्त्री कुलपति हुने भएकाले सरकारको प्रमुख भूमिका हुने उनको भनाइ छ । सरकार तथा मुख्य राजनीतिक दलहरुले प्राथमिकता नदिएकै कारण स्ववियु चुनाव हुन नसकेको विष्टको जिकिर छ ।

विद्यार्थी कल्याण प्रमुख पशुपति अधिकारी भने विद्यार्थी संगठन र सरकारको साथ नपाएको कारण लामो समयदेखि स्ववियु चुनाव गर्न नसकिरहेको दाबी गर्छन् । उनी भन्छन् ‘विद्यार्थी संगठनहरुकै कारण निर्वाचन गराउन नसकिरहेको हो । अर्को, सरकारले पनि सहयोग नगरेकाले पनि हो ।’ स्ववियुको निर्वाचन नहुँदा योग्य नेतृत्व तयार गर्नमा समेत समस्या भइरहेको उनको जिकिर छ । भन्छन् ‘अहिले जत्ति पनि ठूला नेताहरु छन् ती सबै विद्यार्थी राजनीतिबाट स्थापित भएका व्यत्तित्वहरु हुन् । त्यसैले स्ववियुको चुनाव नहुनु भनेको योग्य नेतृत्व तयार नगर्नु हो । त्यसैले सम्बन्धित जिम्मेवार हुनुपर्छ ।’ यो वर्ष स्ववियु चुनाव हुने सम्भावना शतप्रतिशत रहेको उनले बताए ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?