+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कता हराए चिरबिर गर्ने भँगेरा ?

रासस रासस
२०७९ मंसिर २९ गते १३:०६

२९ मंसिर, लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरी सानो हुँदा उहाँको घरको प्वालमा भँगेरा गुँड बनाएर बसेको सम्झिन्छन् । करिब दुई सय ५० वर्ष पुरानो उनको घरको आँगनमा साना भँगेरा चिरबिर–चिरबिर गर्दै फुरुक-फुरुक यताउति उफ्रिँदा उनलाई रमाइलो लाग्थ्यो ।

सानो छँदा घरको आँगनमा भँगेरासँग खेलेको सम्झिँदै सम्मरीमाई–७ का ७५ वर्षीय झगरु मुराव भन्छन्, ‘आँगनमा दाना छरेर त्यही खाँचीमा किल्ली अड्काइ डोरीले बाँधेर राख्थ्यो । चरा खाँची तल पुगेपछि डोरी तान्थ्यो र ट्रयापमा पार्दथ्यौँ । चरालाई समातेर केहीबेर खेली, छोडी दिन्थ्यौँ ।’

खैरा, फुस्रा र केही सेतो रङ भएको एक सानो जातको चरा प्रजातिमा पर्ने भँगेराको आयु तीनदेखि पाँच वर्ष हुन्छ । यसको पखेटाको फैलावट २१ सेमी तथा लम्बाइ १२ देखि १८ सेमीसम्म हुन्छ । यसको गति र उडान क्षमता कम हुन्छ । यसको औसत वजन ४० ग्रामसम्म हुन्छ ।

‘भँगेरा निकै मायालु र मेहनती चरा हो’, पक्षीविद् हेमसागर बराल भन्छन्, ‘यो चरा विशेषगरी घरका खटप्वाल तथा अन्य त्यस्तै सुरक्षितस्थलमा रहेका प्वालमा गुँड बनाई बस्दछ । पहिला मानव बस्ती वरिपरि टन्नै देखिने यो चराको सङ्ख्या पछिल्लो केही वर्षयता घटदै गएको छ ।

लुम्बिनीका पूर्वनगरप्रमुख समेत रहेका चौधरी भन्छन्, ‘पहिलेका घरको संरचना अहिलेको भन्दा भिन्न थियो । ढुङ्गा, माटो, काँचो इँटा र काठ आदिले बनेका हुन्थे । घरको वरिपरि प्वाल राखिन्थे, जसलाई भँगेराहरूले गुँड बनाउन प्रयोग गर्थे र बिहान बेलुको भँगेराको चिरबिर आवाज सुन्न पाइन्थ्यो ।’

यस्तै ध्वनि प्रदूषण, बासस्थलको अभाव, कृषिमा अत्यधिक किटनाशक औषधि र विषादीको प्रयोग आदिले पारिस्थितिकीय प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भँगेराको सङ्ख्या घट्दै गइरहेको सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मी बताउँछन् । उनी भन्छन्, ‘अहिलेका घरमा भँगेरालाई गुँड बनाउन पहिलेजस्तो प्वाल र सुविधा छैन । बिजुली बत्तीको झिलीमिली र रङरोगनको गन्धले पनि तिनलाई त्यहाँ बासस्थल बनाउन सहज छैन । गुँड बनाउन खरपातको अभाव, सहरीकरण र बढ्दो ध्वनि प्रदूषणले पनि तिनलाई असहज छ ।’

किसानको साथी भनेर चिनिने भँगेरा र मानव जीवनको अन्तरसम्बन्ध निकै पुरानो रहेको र भँगेराले कृषिलाई सहयोग पुर्‍याउँदै आएको उनको भनाइ छ । उनी भन्छन्, ‘किसानको साथी भनेर चिनिने भँगेरा चराले धान, चामल, गहुँ, घरको जुठ्यानमा रहेका खाना आदिका साथै अन्नबालीमा लाग्ने हानिकारक कीरा फट्याङ्ग्र्रा तथा लार्भा खाई कृषि उत्पादनसमेत बढाउन सहयोग गर्दछ ।’

सम्मरीमाई–३ का ८० वर्षीय समाजसेवी रम्मा कुर्मी भन्छन्, ‘एकदिन राति गाउँभरिका भँगेरा एक्कासी कराउँदै बाहिर आएँ, यति राति किन भँगेरा कराएको भनेर मानसि बाहिर निस्कँदा एकजनाको खलिहानमा आगो लागेको रहेछ’, उनी सम्झिन्छन्, ‘पछि सबै जना गएर आगो निभायौँ।’

कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले भँगेरा हाम्रा केही मान्यता र विश्वासका आधार भएको बताउँछन् । उनी भन्छन्, ‘भँगेरा हाम्रा केही मान्यता र विश्वासका आधार पनि हुन् । भँगेराले कहिले पानीमा नुहाउँछ त कहिले धुलोमा । धुलोमा नुहाएको दिन पानी पर्ने र सात पाइला हिँडेको देखेमा अलच्छिना हुने जनविश्वास पनि छ ।’

गाउँघर नजिकै विषालु सर्प, हिंस्रक जनावर वा दैवीय प्रकोप आदि आउँदा पनि भँगेराले कराएर सचेत गराउँछ भन्ने विश्वास गरिन्छ । हानिकारक किरा, फट्याङ्ग्रा, सडेगलेका अनाज आदि खाएर प्रकृति र वातावरणलाई सफा राख्ने भँगेरा संरक्षणमा सबै लाग्नुपर्ने उनको सुझाव छ ।

मानव ढुङ्गेयुगबाट कृषियुगमा प्रवेश गर्‍यो त्यतिबेलादेखि नै भँगेरा र मानव जातिको सम्बन्ध नजिकिँदै गएको पक्षीविद् भुपाल नेपालीको भनाइ छ । उनी भन्छन्, ‘भँगेरा चराले हाम्रो घर तथा वरिपरि रहेका रुख, झाडी, करेसाबारी र बगैचा आदिमा बस्न रुचाउँछन् र त्यही गुँड बनाएर बच्चा पनि कोरल्छन् ।’ अहिलेसम्म यसको सङ्ख्यात्मक तथ्य नभएको उनले बताए ।

नेपालमा हालसम्म आठ सय ९० बढी प्रजातिका चरा पाइन्छन् । तीमध्ये भँगेरा पनि एक प्रजाति हो । नेपालमा घर भँगेरा, रुख भँगेरा, कैलो भँगेरा, पीत कण्डे भँगेरा र स्पेनिस भँगेराहरु पाइन्छन् । अन्य प्रजातिका भँगेराहरुले बाहिरै अन्यत्र स्थानमा बस्न मन पराउँछन् । हालसम्म विश्वमा ३२ प्रजातिका भँगेरा भेटिएको छ ।

पुरानो र परम्परागत भँगेरामैत्री घर नहुनु, रुख बिरुवा विनास हुनु, प्रदूषण, चेतनाको कमी, अहाराको कमी, बालीनालीमा प्रयोग हुने विषादी तथा यिनीहरुलाई संरक्षण गर्नुको सट्टा मार्ने, छोप्ने र शिकार गर्ने प्रबृत्तिले पनि यो चराको सङ्ख्यामा कमी आएको छ ।

पछिल्लो एक अध्ययनले मोवाइल फोन र यसको टावरको र्‍याडिएसनको कारणले भँगेरामा असर परेको पंक्षीविद् नेपालीको भनाइ छ । भँगेरा हाल विश्वबाट घट्दै गइरहेको अवस्थामा यसको महत्व र संरक्षण गर्न जरुरी छ । बेलायतमा भँगेरा संकटग्रस्त चरा हो । उहाँका अनुसार विश्वका करिब ८० प्रतिशत चराको सङ्ख्या घटेको तथ्याङ्क छ तर भँगेराबारे अनुमान मात्रै छ ।

भँगेरा संरक्षाण गर्ने उद्देश्यले प्रत्येक चैत ७ गते अर्थात् २० मार्चका दिन विश्व भँगेरा संरक्षण दिवस नेपाललगायत विश्वभर मनाइन्छ । यो दिवस सन् २०१० देखि विश्वव्यापी रुपमा मनाउन थालिएको छ भने नेपालमा सन् २०१२ देखि मनाउन थालिएको हो ।

नेपाल पक्षी संरक्षण सङ्घले विभिन्न सरकारी तथा गैरसरकारी सामाजिक सङ्घसंस्थाको सहकार्यमा भँगेरा पहिचान, गणना तथा विभिन्न चेतना अभिवृद्धिमूलक कार्यक्रम गर्दै नेपालमा यो दिवस मनाउने गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?