+
+

‘महापुरुष’ बन्यो नेपालको पहिलो कार्वन तटस्थ फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २ गते १८:४४

काठमाडौं । ‘महापुरुष’ मुलुकको पहिलो ‘कार्बन तटस्थ’ फिल्म बनेको छ । प्रदर्शनको ५१ औं दिन मनाउन शनिबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले कार्वन उत्सर्जन कटौती गर्नेतर्फ फिल्मले महत्वपूर्ण वातावरणीय अध्याय थालेको बताए ।

फिल्म निर्माणको सुरुदेखि अन्त्यसम्म वीन्ड-पावर नेपालले गरेको अध्ययनमा महापुरुषले ६.४१ टन कार्वन उत्सर्जन गरेको उल्लेख छ । ग्रीनहाउस ग्याँस (जीएचजी) प्रोटोकलअनुसार उक्त संस्थाले अध्ययन गरेको हो ।

यो उत्सर्जन बेलायतमा फिल्म निर्माण गर्दाको भन्दा ९० गुणाले कम रहेको अध्ययनमा संलग्न सम्राट पाठकले बताए । बेलायतमा एउटा फिल्म निर्माण गर्दा ६०० टन र हलिउडमा १८ सय टन कार्वन उत्सर्जन हुने तथ्य उनले प्रस्तुत गरे ।

उनका अनुसार छायांकनदेखि समापनसम्म तीन स्कोपअन्तर्गत रहेर ‘कार्बन फुटप्रिन्ट’को अध्ययन गरिएको थियो । जसमा फिल्म छायांकनको बेला प्रयोग भएको बिजुली बस ४ हजार किमी गुडेको र यसबाट ३ टन कार्वन उत्सर्जन हुनबाट जोगिएको उनले उल्लेख गरे ।

६ टनभन्दा बढी कार्वन उत्सर्जन गरेको तथ्यांक बाहिर आएपछि फिल्म निर्माताले २६६ रुख रोप्ने र ११ किलोवाट सोलार प्यानल जडान गर्ने घोषणा गरेका छन् । अभिनेता हरिवंश आचार्य एक्लैले गाउँमा डेढसय रुख रोप्ने र यसका लागि पानी ट्यांकीको निर्माण भैरहेको जनाए ।

निर्माता म्याक्स दिपेश खत्रीले अन्य फिल्मले पनि कार्वन उत्सर्जन घटाउने ढंगले काम गर्नुपर्ने बताए । कार्यकारी निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँले अन्य फिल्म निर्मातालाई पनि प्रेरित गर्न आफूहरु कार्वन उत्सर्जनलाई कटौती गर्न प्रयास थालेको बताए । व्यक्तिगतरुपमा पनि आफूहरु कार्वन तटस्थ बन्ने प्रयासमा रहेको उनले सुनाए ।

प्रदर्शनको ५१ औं दिनसम्म फिल्मले १० करोड ७० लाख रुपैयाँ ग्रस कमाएको छ । कार्यकारी निर्माता बानियाँले फिल्मले ५१ दिन मनाउन भनेर आफूलाई नलागेको बताए ।

निर्देशक प्रदीप भट्टराईले ‘महापुरुष’ले समाजमा सकारात्मक प्रभाव पारेको चर्चा गरे । फिल्म हेरेपछि धरानमा एक बुवाले विवाह गरेको घटना उनले सुनाए । ‘महजोडीको विश्वविद्यालय’बाट आफूले धेरै कुरा सिकेको जानकारी उनले दिए ।

अभिनेता हरिवंश आचार्यले नेपालसहित अमेरिकामा पनि फिल्म अहिले पनि हाउसफूल चलिरहेको बताए । ‘कसैले पनि ग्यारेन्टी गरेर यो फिल्म चल्छ भनेर भन्न सक्दैन’ उनले भने । आफूलाई निर्देशक भट्टराईप्रति विश्वास रहेको उनले सुनाए ।

अभिनेता मदनकृष्ण श्रेष्ठले दर्शकप्रति आभार व्यक्त गरे । कार्यक्रममा कलाकार राजाराम पौडेल, नरेश पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइली लगायतले दर्शकलाई धन्यवाद दिए । इजरायली राजदूत हनान गोदर पनि उपस्थित थिए । सो अवसरमा फिल्मको ५१ दिनको खुशियालीमा केक काटेर सेलिव्रेसन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?