
काठमाडौं । संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ सार्वजनिक भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा उनका समकालीन पिटर जे कार्थककी पत्नी रञ्जना, नोर्बु योञ्जनकी छोरी सुजाता, गजमेरका छोराछोरी सत्यजित र प्रीति लगायतले पुस्तक विमोचन गरे ।
आत्मकथालाई वी-रीडले प्रकाशन गरेको हो । गीतकार नगेन्द्र थापाले प्रवासी नेपालीको गीत लेखेर शरण प्रधानलाई संगीत भर्नको लागि अनुरोध गर्दा त्यही बेला गजमेरलाई भेटेको सम्झिए ।
सन् १९६३ देखि गजमेरसँग दोस्ती सुरु भएको भन्दै उनले ६० को दशक संगीतको उत्कर्षको समय रहेको बताए । अर्का गीतकार दिनेश अधिकारीले लक्ष्मीप्रसाद देवकोटाको ‘कुन मन्दिरमा जान्छौ यात्री’लाई संगीतबद्ध गरेर गजमेरले जोखिम मोलेको बताए ।
‘चर्चित सिर्जना चलाउनु जोखिम हुन्छ, उहाँले जोखिम मोल्नुभयो र राम्रो सिर्जना दिनुभयो,’ उनले भने, ‘त्यसपछि म उहाँको फ्यान भएँ ।’ गजमेरकै कारण आफूले ५ वटा गीतमा धुनका आधारमा गीत तयार पारेको अधिकारीले सुनाए ।
‘संगीतमा दिएको योगदानका कारण उहाँको आयु लामो हुने नै छ,’ उनले भने, ‘यो आत्मकथाले उहाँलाई अझ लामो आयु दिएको छ ।’ संगीतकार गजमेरले आफूले नेपाल र नेपालीका लागि संगीतका के कर्म गरे भन्ने प्रमाण पुस्तकमा रहेको बताए । काठमाडौंमा सुरुवाती दिनमा निकै संघर्ष गरेको स्मरण गर्दै उनले आफूलाई सहयोग गर्ने समकालीनलाई सम्झिए । आफू अहिले नेपालमा आएर नेपालीमा कुरा गर्न पाएको भन्दै उनले निकै खुसी व्यक्त गरे ।
पुस्तकका लेखक शेखर खरेलले गजमेरको समयको जस्तो सांगीतिक समाज आजकाल नपाइने भन्दै उनको योगदानबारे आफ्ना भनाइ राखे । ‘हामी कुनै रुखलाई सिंगो रुखमात्र देख्छौं,’ उनले भने, ‘यो पुस्तकले रुखको जरा पनि देखाउने काम गरेको छ ।’
कार्यक्रममा गजमेरद्वारा संगीतबद्ध गीत विभिन्न कलाकारले प्रस्तुत गरेका थिए । मोहनी लाग्ला है, तिम्रो मनमा लुकेको कुरा, चिसा–ेचिसो हावामा, वीरताको चिनो, भुलिगए सम्झनालाई लगायत गीतले प्रतिष्ठानको डबली गुन्जायमान बनेको थियो । बाद्यवाधनतर्फ सुरज प्रधान, विक्रम कार्की, रुपेश सिंह, जेपी जोशी, भवन गन्धर्व, संजीव मैनाली थिए । गायनतर्फ क्रमशः बिपिन, कर्म ग्याल्जेन, कमल किरण, नवीन गजमेर, बानीका प्रधान, शीला, जीना रसैली र टीका प्रसाईं थिए ।
दार्जिलिङ, काठमाडौं र मुम्बइमा लामो समय संगीत कर्म गरेका गजमेर यी तीनै थलोका स्वर्णयुगका द्रष्टा र स्रष्टा हुन् । दार्जिलिङ र काठमाडौंबीच रचनात्मक प्रतिस्पर्धाको समयमा उनी पहिले दार्जिलिङ र पछि काठमाडौंमा संगीत सिर्जनामा सक्रिय रहे ।
सन् ७० को प्रारम्भसँगै मुम्बइ पुगेका उनी आरडी बर्मन अर्केस्ट्राको स्थायी सदस्य बन्न पुगे । गजमेरले हिन्दी गीतमा वाद्यवादन सँगसँगै नेपाली गीतहरू संगीतबद्ध गरेका छन् ।
पुस्तकको भूमिकामा लेखक शेखर खरेल लेख्छन्, ‘रञ्जित गजमेरको आत्मकथा दुई खास कारणले विशिष्ट हुन सक्नेछ भन्ने मेरो बुझाइ छ । पहिलो, उहाँ यस्ता एकमात्र संगीतस्रष्टा हुनुहुन्छ, जसलाई दार्जिलिङ, काठमाडौं र बम्बई (बलिउड) का मूर्धन्य कवि एवं गीतकार, संगीतकार र गायकहरूसँग सहकार्यको सौभाग्य प्राप्त भयो ।
दोस्रो, उहाँले नेपाली मौलिक बाजा मादललाई यसरी विश्वसामु चिनाइदिनुभयो जसरी गोर्खा सैनिकले खुकुरीलाई संसारभर चम्काइदिए ।’ गजमेरसँगका कुराकानी, तथ्यप्रमाण संकलन र सम्बद्ध व्यक्तिसँगको भेटसहित पुस्तक लेखनका क्रममा तीन वर्ष व्यतीत भएको खरेलले उल्लेख गरेका छन् ।
सानैदेखि बाजागाजामा रुचि भए पनि आफन्तको इन्कारका बीच लुकीलुकी संगीत सिक्नुपर्ने अवस्था अनि संयुक्त परिवारको विघटनलाई गजमेरले खुलस्त राखेका छन् । अभिभावक गुमाएपछि आफ्नी आमाले सानैबाटै हुर्काएकी कुसुमसँग कसरी बिहे भयो भन्ने प्रसंग पनि पाठकका लागि नौलो हुन सक्छ ।
नारायणगोपाल, बच्चु कैलाश, फत्तेमान, गोपाल योञ्जन, अम्बर गुरुङ, अगमसिंह गिरीजस्ता स्रष्टासँगको संगत र रोचक किस्सा समेटिएको पुस्तकमा फिल्म निर्माणका रमाइला प्रसंग पनि छन् ।
बलिउडका चर्चित गुलजार, किशोर कुमार, आनन्द बक्शीका आनीबानी र स्वभावसँग पनि गजमेरले परिचित गराइदिएका छन् । बलिउड संगीतमा ‘कान्छा’ नाम कसरी रहन गयो र आरडी बर्मनले कुन प्रसंगमा गजमेरलाई यो नाम दिए भन्ने कथा पनि रमाइलो छ । आशा भोसलेको सानिन्ध्यमा रहेका गजमेरले २०१९ डिसेम्बरमा काठमाडौंमा ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोसले’ कार्यक्रममा प्रस्तुति दिएका थिए ।
दार्जिलिङबाट वीरगन्ज हुँदै काठमाडौं आएको प्रसंग, नेपाल एकेडेमी प्रवेश अनि रेडियो नेपालमा हुने गुटबन्दीलाई पनि गजमेरले आत्मकथामा समेटेका छन् । पत्नी कुसुम गजमेरको देहान्तसम्मका घटनालाई उनले पुस्तकमा अटाएका छन् । बलिउड संगीतमा पहाडी धुन र मादलको प्रयोगलाई प्रवेश गराएर नयाँपन दिएका गजमेरले नेपाली र हिन्दी कैयौं गीतमा काम गरेका छन् । पुस्तक आज (मंगलबार)देखि सबैका लागी उपलब्ध हुने जानकारी प्रकाशक राजीबधर जोशीले दिए ।
तस्वीरहरु : आर्यन धिमाल
प्रतिक्रिया 4