+
+

एमालेका सांसदहरु, तपाईंलाई देउवा र गगनजस्तै हाँसीहाँसी भिड्न मन लागेन ?

आज एमालेका सदस्यहरुले आफूलाई अनि कांग्रेसलाई हेरेर प्रश्न गर्नुपर्छ – कांग्रेस के थियो, के हुँदैछ ? हामी के थियौं, के हुँदैछौं ?

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ पुष ५ गते १९:१४
कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा संसदीय दलको नेतामा उम्मेदवारी मनोनयन दर्ता गराउँदै । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर ।

सहकर्मी सइन्द्र राई र यो पंक्तिकार सोमबार सिंहदरबार छिर्दा सुवास नेम्बाङ एमाले संसदीय दलको उपनेता कार्यालयमै थिए । एमालेको निर्वाचित सांसद संसदीय दल कार्यालय परिसरमा भेटिनु अनौठो होइन । तर उनी उपनेताकै च्याम्बरमा, उपनेताकै कुर्सीमा बधाई थापिरहेका थिए ।

अघिल्लो प्रतिनिधिसभा कालमा नेम्बाङ दलका उपनेता थिए । नयाँ प्रतिनिधिसभामा एमालेबाट संसदीय दल नेता–उपनेता चुनिएकै थिएनन् । नेम्बाङ कसरी उपनेताको कुर्सीमा बस्न पुगे ?

यो प्रश्नलाई सामान्य जिज्ञासा मात्रै मान्न पनि सकिन्छ । हाम्रो देशमा थुप्रै प्रश्नलाई सामान्य मान्ने प्रचलन छ । हामीले सोध्यौं, ‘तपाईं संविधानसभा अध्यक्ष भइसकेको नेता, उपनेताकै कुर्सीमा बसिराख्ने ?’

‘मैले आफ्नोबारेमा त्यसरी सोच्ने गरेको छैन’, नेम्बाङले संक्षिप्त जवाफ दिए ।

यी पंक्ति लेख्दैगर्दा कमलादीमा एमालेले नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आयोजना गरेको बधाई भेलाले अध्यक्ष केपी ओलीलाई संसदीय दलको नेता सर्वसम्मतिले चयन गरेको सूचना आएको छ । माओवादी केन्द्रले पनि यस्तै तरिकाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलकाे नेता बनाउला ।

नेम्बाङ पोहोरको पार्टी महाधिवेशनमा एमालेको वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्न चाहन्थे । शंकर पोखरेललाई महासचिवमा ल्याउन अनि त्यसअघिका महासचिव ईश्वर पोखरेल ‘किक् अप्सटेयर’ अर्थात् धकेलेर माथि पुर्‍याउन सिर्जना गरिएको पद थियो त्यो । तर नेम्बाङ त्यसरी पदहरुलाई निर्विकल्प छाड्न चाहँदैनथे । उनको त्यो सोचाइ स्वाभाविक पनि थियो ।

एमालेको चितवन महाधिवेशनमा चाहना र प्राप्तिबीचको दूरी खिचिएको थियो । विष्णु पौडेलले महासचिव चाहे, शंकर पोखरेलले पाए । नेम्बाङले वरिष्ठ उपाध्यक्ष चाहे, पोखरेलले पाए । भीम रावलले अध्यक्षमा लड्ने मनसुवा देखाए । नतिजा भन्नै पर्दैन । त्यसपछि उनले एमालेमा बस्ने कुर्सी त के मुढा पनि पाएनन् ।

अस्ति चुनाव प्रचारका बेला समर्थकले भीम रावल खोई भनी सोध्दा ओलीले ठाडो जवाफ दिए, ‘किन चाहियो भीम रावल ? म अरु रावलहरु ल्याउँछु ।’

नतिजा जगजाहेर छ । भीम रावलले टिकट पाएनन् । टिकट पाएका अरु रावलहरुले पनि हारे ।

एमाले आज जस्तो छ, पहिले कांग्रेस त्यस्तै थियो । आज कांग्रेस जस्तो बन्न खोज्दैछ, पहिले एमाले त्यस्तै थियो ।

कतिपय वैचारिक अलमलहरु हुँदाका दिनहरुमा पनि, चुनाव हार–जितका तिता–मीठाहरुका बीचमा पनि एमाले दुईवटा कुरा गर्थ्याे । एक, यसले समयमा अधिवेशनहरु गर्थ्यो । दुई, यसले संगठनभित्र प्रणाली बसाउँथ्यो ।

एमाले त्यो समयमा यी काम गर्दैथ्यो, जुन बेला कांग्रेसमा ‘गिरिजाबाबु’ को प्रभुसत्ता थियो । गणेशमान र किसुनजीहरु आँशु बगाउँदै पार्टी छाडेको घोषणा गर्न विवश थिए । कांग्रेस लोकतन्त्रको कथनी गर्थ्याे, करनी गर्दैनथ्यो ।

आज कांग्रेस बदलिंदैछ । संगठन त आज पनि उसको भद्रगोलै छ । तर अब पार्टीभित्र प्रणाली बस्नुपर्छ भन्ने मत निर्णायक बन्दैछ । भोलि बुधबार हुने संसदीय दल चुनाव त्यसैको एउटा परिचायक बन्ने प्रष्ट भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई महामन्त्री गगन थापाले चुनौती दिने भएका छन् । आज उनीहरु दुवैजना एउटै लाइनमा बसेर हाँसीहाँसी मनोनयन दर्ता गरेको तस्वीर के अरु दलका लागि सिक्न लायक छैन र ?

हारजित जसको भए पनि त्यो चुनौतीले पार्टी प्रणालीभित्र संस्थागत मान्यता पाउनेवाला छ । प्रणाली भनेको खेलको नियम न हो, तर यसले गगनलाई देउवाको दुश्मन होइन, प्रतिस्पर्धीको हैसियत दिन्छ । कम्युनिस्ट पार्टीहरुले प्रतिस्पर्धीलाई कहिलेसम्म दुश्मनजस्तो व्यवहार गर्ने ? खासगरी एमालेलाई सोध्नुपर्छ यो प्रश्न । माओवादीले त महाधिवेशन र आन्तरिक प्रतिस्पर्धाका नाममा अहिलेसम्म केवल विधि मात्रै पुर्‍याउँदै आएको छ । हेटौंडादेखि विराटनगरसम्मका घटनाहरु बिर्सनलायक छन् । प्रश्न एमालेमाथि नै हो । एमाले आफैंले हिजो कुनै बेला बसाएको प्रणाली आज किन बिर्सने ?

आज एमालेका सदस्यहरुले आफूलाई अनि कांग्रेसलाई हेरेर प्रश्न गर्नुपर्छ – कांग्रेस के थियो, के हुँदैछ ? हामी के थियौं, के हुँदैछौं ?

तत्कालीन महासचिव माधवकुमार नेपाललाई जनकपुरको सातौं महाधिवेशनमा चुनौती दिन खोज्दा केपी ओली पराजित भए, तर त्यसले पार्टीमा थिति छ भन्ने पुष्टि गर्‍यो । आठौं महाधिवेशनमा ओलीले झलनाथ खनालसँग पराजित हुनुपर्‍यो । त्यसपछि पनि उनी पार्टीभित्र सम्मानित नेता रहिरहे । नवौंमा माधवकुमार नेपाललाई अध्यक्षमा हराउँदा ओलीको कद नै चुलियो । तर दशौं महाधिवेशनमा आइपुग्दा ओली प्रश्न र प्रतिस्पर्धारहित बने ।

कसै–कसैले यस परिदृश्यलाई ओलीको सामर्थ्य र कदसँग जोडेर हेर्लान् । तर सामुन्नेमा ‘बा’ भन्नेहरुले ढाडपछाडि अनेक शब्दले असन्तुष्टि व्यक्त गरिरहेका छन्, एमालेमा । सांसदको टिकट नपाएको झोंकमा, टिकट पाए पनि पाँच सय भन्दा कम भोटले हार्नुपरेको झोंकमा ती उम्मेदवारहरु आज तथानाम भन्दैछन् ।

कांग्रेसमा यसअघि निर्वाचित महामन्त्रीसामू सभापतिको टीका लगाएको महामन्त्री हाबी हुन्थ्यो । पछिल्लो महाधिवेशनबाट दुवैजना महामन्त्री चुनिने प्रथा सुरु भयो । त्यसैले त विश्वप्रकाश शर्मा र गगन थापा चुनिन सके । उता एमालेमा घनश्याम भूसालले भारी मतले उपमहासचिव जित्दा हारेका शंकर पोखरेल फुत्त ‘महासचिव’ मा उकालिए । अनि स्वयं भूसालचाहिं अप्रासंगिक बनाइए ।

राजनीति शक्तिको खेल हो । यसमा धेरथोर धोकाधडी, छलछाम नहुने होइन । भर्खरै सकिएको विश्वकप फुटबलमा पनि त हामीले धक्कामुक्की देख्यौं । कारबाहीस्वरुप कार्डहरु इस्यू गरिए । पेनाल्टीका सजाय तोकिए ।

राजनीतिको खेलमा पनि नियमहरु हुन्छन् । ती नियम शीर्ष नेतादेखि गाउँ कमिटीको सदस्यसम्म समान रुपले लागू हुनुपर्छ ।

आन्तरिक लोकतन्त्रीकरणले जहिले पनि पार्टीभित्र उर्जा नै संचार गर्छ भन्ने दृष्टान्त स्वयं ओली हुन् । कुनै बेला उनी आफैं यो मुद्दाका पैरवीकार थिए । अनि बहालवाला पार्टी अध्यक्ष झलनाथ खनाललाई संसदीय दलको नेता पदमा हराएर २०७० सालमा उनले आफ्नो प्रभाव बढाएका थिए । दलको नेतामा जितेपछि नै ओली उदयको ढोका खुलेको थियो ।

हिजोआज एमालेलाई के भएको हो कुन्नि ! उनै ओलीलाई विकल्परहित देखाउन खोजिंदैछ । शक्तिको अति केन्द्रीकरण गरिएको छ । कतिसम्म भने केही साताअघि समानुपातिक मत गन्ने क्रममा आशंका भएको भन्दै ओली स्वयंले फेसबुकमा एउटा स्टाटस लेखे, जहाँ भनिएको थियो – मत गन्दा धाँधली भएको आशंका भएकाले गनिसकेका मतहरुको संख्याको फोटो खिचेर मेरो फेसबुक म्यासेन्जरमा हालिदिनु ।

के यो काम निर्वाचन परिचालन कमिटीले गर्न सक्दैन र ? सम्बन्धित प्रदेश या जिल्ला कमिटीलाई किन अविश्वास गर्ने ? अनि सबै चिजको जिम्मा किन व्यक्ति एक्लैले लिने ? के यसले बाँकी नेतृत्वलाई फल्न–फुल्न दिन्छ र ?

अब एउटा प्रश्न सोध्नु छ । आज तपार्ईंहरुको प्रतिस्पर्धी पार्टी देउवा र गगन थापा सँगै उभिएर हाँसी–हाँसी संसदीय दलकाे नेतामा उम्मेदवार बनेको दृश्य देख्दा तपाईंहरुलाई कस्तो लाग्यो कमरेडहरु ? फेसबुकले भन्छ नि, ‘ह्वाट्स अन् योर माइन्ड ?’ के यसले राजनीतिमा बदलाव आउँदैछ भन्ने संकेत गर्दैन र ? के हामीले समयमै मार्ग सुधारेनौं भने क्षति हुनेछ भन्ने दर्शाउँदैन र ?

अनि एमाले सांसदज्यूहरु– के तपाईंहरुलाई पनि आफ्ना शक्तिशाली अध्यक्षहरुकै लहरमा उभिएर हाँसीहाँसी उम्मेदवार बन्न मन लागेन ? योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ र अरु प्रभावशालीहरु– तपाईंहरुलाई रहर लागेन ? वा उनै सुवास नेम्बाङलाई भनाैं, तपाईंलाई संसदीय दलकै नेतामा भिड्दिउँ कि जस्तो जङ चलेन ?

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?