+
+
शेखर कोइराला :

गगनका प्रतिस्पर्धी होइन, गगन पुस्ताकै नेता

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते २१:३४

५ पुस, काठमाडौं । सोमबार दिउँसोसम्म डा. शेखर कोइराला अलमलमा थिए, संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापालाई अघि सारौं कि आफैं प्रतिस्पर्धा गरौं ?

गएको वर्ष मंसिरमा पार्टीको १४ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका शेरबहादुर देउवालाई संसदीय दलमा पनि चुनौती दिनुपर्ने चाहना र दबाव दुबै उनीमाथि थियो । प्रतिस्पर्धामा उत्रिँदा आफ्नो महामन्त्री गगनको साथ पाउने अवस्था पनि बनेको थिएन । किनकी आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्य चुनिएका गगन जुनसुकै अवस्थामा पनि संसदीय दलको चुनाव लड्ने तय भइसकेको थियो ।

डा. शेखरले गगनको प्रतिस्पर्धा हुने होइन, गगन पुस्ताकै नेता बन्ने बाटो रोजेका छन् । मंगलबार विहान होटल बसेरामा भएको आफ्नो विचार समूहका नेताहरुको बैठकमा शेखरले सुनाए, पुस्तान्तरणसहित पार्टी रूपान्तरणको पक्षमा छु । गगनलाई संसदीय दलको उम्मेदवारको लागि प्रस्ताव गर्दछु ।’

शेखर निकट नेताहरुका अनुसार नेताका अनुसार मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जित्दासम्म डा. शेखरले संसदीय दलको नेता बन्नेबारे धेरै सोचेका थिएनन् । शेरबहादुर देउवालाई समर्थन गरेर १४ औं महाधिवेशनमा भाइ शशांक कोइरालाले गरेको गल्ती दोहोर्‍याउने पक्षमा चाहिँ थिएनन् । उनीसामू गगनलाई समर्थन गर्ने कि आफैं अघि सर्ने विकल्प थियो ।

निर्णयमा पुग्नुअघि बिरानगरबाट काठमाडौं आएर आफ्नो समूहका एकपछि अर्का नेतालाई भेटे । त्यो भेटघाटहरुमा कतिपयले महामन्त्री गगनले परामर्शसमेत नगरी दलको नेतामा चुनाव लड्ने घोषणा गर्नु र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गर्नुको साइनो केलाए । कतिपयले सभापति र संसदीय दलको नेतामा फरक फरक उम्मेदवार बन्दा दुई पावर सेन्टर बन्ने त्रास देखाए ।

सबैलाई भेटेपछि उनले भन्ने गरेका थिए, पार्टी सभापति देउवालाई दलको नेतामा प्रतिस्पर्धा गर्छु भनिसकेँ ।’ नेताहरुका अनुसार शेखरले चाहँदा उनी दल नेताको उम्मेदवार त सहजै बन्न सक्थे, तर जित्ने गणित उनीसँग थिएन । कांग्रेस ८९ सांसदमध्ये ५८ जना संस्थापन पक्षका थिए भने ३१ जना शेखर समूहका थिए ।

शेखर आफैं दल नेताको उम्मेदवार बन्दा ३१ भोटलाई बहुमत अर्थात ४५ पु¥याउने सम्भावना त थिएन । बरु महामन्त्री गगनलाई गुमाउने थिए, भोलिको राजनीति गुमाउने सम्भावना थियो । त्यही बुझेर होला, डा. शेखरले गगनको प्रतिस्पर्धी हुने होइन, गगन पुस्ताकै नेता बन्ने बाटो रोजेका छन् ।

नेताहरुका अनुसार डा. शेखर यो निर्णयमा सोमबार र मंगलबार विहान भएका केही छलफल निर्णायक मानिएको छ ।

सोमबार समूहको बैठक बस्नुअघि महामन्त्रीद्धय गगन र विश्वप्रकाशले एक होटलमा डा. शेखरसँग लामो छलफल गरेका थिए । त्यो छलफलमा दुबैले भएको एउटा महामन्त्री गुमाउने कि दुबैलाई आफ्नो बनाउने भनेर प्रश्न गरेका थिए । अर्थात दुबैले संसदीय दलको नेतामा समर्थन गरे १५ औं महाधिवेशनमा शेखरलाई नै सभापतिका रुपमा अघि सारेर जाने प्र्रष्ट संकेत गरेका थिए ।

मंगलबार विहान भएको छलफलमा त गगनले प्रष्ट शब्दमा पार्टीको १५औं महाधिवेशनमा डा. शेखरलाई सभापतिमा अघि सार्ने बताएको नेताहरुले सुनाए ।

‘गगनजीले हामी सबैका सामू १५ औं महाधिवेशनमा डा. शेखरलाई हाम्रो समूहको उम्मेदवार बनाउने प्रस्ताव गर्नुभयो,’ सांसद सुनिल शर्मा भन्छन् । संसदीय दलको नेतामा उम्मेदवारी दर्तापछि पनि गगनले त्यसको छनक दिएका छन् । आफूहरुलाई स्थायित्व र परिर्वतन दुबै चाहिएको भन्दै उनले सञ्चारकर्मीहरुसँग भनेका छन्, ‘डा. शेखर कोइरालाले निरन्तरता र परिर्वतनको प्रतीकका रुपमा आफूलाई उभ्याउनु भएको छ । उहाँ नै हाम्रो नेता हो ।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि संसदीय दलको नेतामा गगनलाई अघि सारेर डा. शेखरले दोहोरो जित हात पारेको बताउँछन् । ‘आफैं चुनाव लड्दा उहाँले गणितमा पनि हार्नुहुन्थ्यो, समूहमा पनि हार्नुहुन्थ्यो,’ शर्माले अनलाइनखबरसँग भने, ‘गगनलाई समर्थन गरेर आफ्नो टिमको एकता पनि जोगाउनुभयो, नैतिक रुपमा हामीलाई पनि त्यसमा जोड्ने काम गर्नुभयो ।’

हुन पनि डा. शेखर गगनको प्रस्तावक बन्दा महामन्त्री विश्वप्रकाश र केन्द्रीय सदस्य प्रदीप पौडेल समर्थक बसेका छन् । १४औं महाधिवेशनमा विश्व, प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री जितेका थिए भने कृष्ण सिटौला समूहमा रहेका प्रदीप संस्थापन प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए ।

गगनसँगै विश्वप्रकाश र प्रदीपको नेता बन्दा डा. शेखरको भोलिको राजनीतिलाई अझ सहज बनाएको उनी निकट एक नेता बताउँछन् । यद्यपि डा. शेखरले धेरै बोलेका छैनन् । यत्ति भनेका छन्, ‘महाधिवेशन आउन ३ वर्ष बाँकी छ । त्यो देखिँदै जान्छ । गगनजीले पनि केही बोल्नुभएकै होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?