+
+

दबाव बढाउँदै प्रचण्ड, ढुक्क देखिन्छन् देउवा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ८ गते २०:३७

८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुलाई राखेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्वाद गरेका छन् । तर प्रचण्डको दाबीअुसार प्रधानमन्त्री पद छाड्ने संकेत देउवाले गरेका छैनन् ।

बिहीबार भएको भेटमा देउवाले पार्टीमा छलफल गर्नुपर्ने बताएपछि प्रचण्ड शुक्रबार फेरि बालुवाटार पुगेका थिए । प्रधानमन्त्री समेत रहेका देउवाले छलफलमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेताहरु कृष्ण सिटौला, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी गराए ।

स्रोतका अनुसार छलफलका क्रममा देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने पार्टीको निर्णय देखाएका थिए । ३ पुसमा बसेको कांग्रेस कार्यसम्पादन समितिले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको थियो । माओवादी अध्यक्ष प्रचण्डले भने अहिले कांग्रेसकै सरकार भएकाले आफूलाई पालो दिनुपर्ने बताउँदै आएका छन् । देउवाले भने पार्टी निर्णयभन्दा फरक निर्णय लिन पार्टीमा सल्लाह गर्नुपर्ने उनले बताएका छन् । ‘उहाँले पार्टीमा सल्लाह गर्नै बाँकी छ भन्नुभयो,’ प्रचण्ड निकट स्रोतले भन्यो ।

प्रचण्डसँग भएको छलफलमा सहभागी कांग्रेसका एक नेताले पनि शुक्रबार कुनै सहमति नभएको बताए । ‘गठबन्धनलाई कायम राख्ने र अगाडि लिएर जाने भन्ने छलफल भएको छ, कुनै निर्णयमा पुगेका छैनौं’ एक नेताले भने ।

प्रचण्डभन्दा केहीबेरअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेका थिए । संसदीय दलको नेता निर्वाचित भएकोमा बधाई दिन भन्दै लोसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बालुवाटार पुगेका थिए । लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला भन्छन्, ‘संसदीय दलको नेतामा चयन भएकोमा बधाई दियौं र, यो गठबन्धनलाई कायम राख्नुस् भन्यौं ।’

बालुवाटार स्रोतका अनुसार लोसपा नेताहरुले जसको नेतृत्वमा चुनावमा गएको हो, उसकै नेतृत्व कायम रहनुपर्छ भन्दै प्रधानमन्त्रीमा देउवाको दाबीलाई समर्थन गरेका थिए ।

जवाफमा देउवाले गठबन्धन कायम रहने बताए । प्रधानमन्त्री पद छाड्न माओवादी अध्यक्ष प्रचण्डले ‘जिद्दी’ गरिरहेको जिकिर गरे । तर आफूले प्रचण्डलाई प्रधानमन्त्री पद छाड्नसक्ने संकेत गरेनन् । ‘प्रधानमन्त्री पद छाड्ने कुरा गर्नु भएन । छाड्दा के होला ? वा छाडौं कि नछाडौं पनि सोध्नुभएन,’ स्रोत भन्छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने प्रधानमन्त्रीबारे निर्णय गरिहाल्न निरन्तर दबाव दिएका छन् । तर देउवालाई कुनै हतारो छैन, उनी निकै ढुक्क देखिएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु निरन्तर सम्वादमा रहनु र प्रधानमन्त्री नछाड्दा पनि प्रचण्डसामू बलियो विकल्प नहुनुले पनि देउवा ढुक्क देखिएका हुन् ।

कांग्रेस नेताहरुका अनुसार गठबन्धन टुटेको अवस्थामा सरकार गठनका लागि समर्थन गर्ने सन्देश एमाले नेताहरुले निरन्तर दिएका छन् । संसदको ठूलमो दलका नेताको हैसियतमा देउवाले संविधानको धारा ७६(३) अनुसार अल्पमतको सरकार बनाए फ्लोरबाट समर्थन गर्ने एमाले नेताहरुले बताएका छन् ।

त्यो बेलामा एमालेको दाबी राष्ट्रपतिमा हुनेछ । सभामुख लिएर राष्ट्रपतिमा दुबै पार्टीले स्वीकार गर्नसक्ने पात्रबारे छलफल गर्न तयार देखिएको एक नेता बताउँछन् । भन्छन्, ‘सभापतिजीलाई जसरी पनि प्रधानमन्त्री हुने हो भन्ने लाग्यो भने विकल्प छ । अहिले उहाँ गठबन्धनकै समर्थनमा सरकारको नेतृत्व गर्न चाहनुहुन्छ ।’

कांग्रेसलाई जस्तै प्रस्ताव एमाले नेताहरुले माओवादी अध्यक्ष प्रचण्डसम्म पनि पु¥याएका छन् । माओवादी केन्द्रका नेताहरुले पनि एमालेसँग सहमति हुनसक्ने सम्भावना देख्छन् । तर एमाले र माओवादी एक ठाउँमा आउँदा पनि सरकार बन्ने नसक्ने बालुवाटारको विश्लेषण छ । किनकी प्रचण्ड, एमालेतिर गए पनि आफूहरुले नजाने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी दुबैतिर सम्वाद छ भने राप्रपा मौन छ । सीके राउत नेतृत्वको जनमत पार्टी र लोसपाले पनि आफूलाई नै साथ दिने कांग्रेस नेताहरुको विश्लेषण छ । ‘प्रचण्ड र उपेन्द्र, एमालेतिर गएपनि सरकार बन्दैन,’ शुक्रबार प्रधानमन्त्रीलाई भेटेका गठबन्धनमा आवद्ध दलका एक नेताले अनलाइनखबरसँग भने, ‘माधवजी जानुहुन्न, राप्रपा मौन छ, रास्वपा दुबैतिर सम्वादमा छ ।’

त्यसैले माओवादीले गठबन्धन छाडिहालेको अवस्थामा पनि साना दलहरु मिलाएर वा एमालेको साथ लिएर सरकार बन्न सक्ने नेताहरु बताउँछन् । यद्यपि कांग्रेसले गठबन्धन तोड्यो भन्ने परिस्थिति बनाउन पनि चाहेको देखिँदैन । बालुवाटार स्रोत भन्छ, ‘राष्ट्रपति र प्रधानमन्त्रीको पहिलो पालो दुबै पद छाड्ने अवस्था छैन, सभामुखबारे छलफल भयो भने माओवादीलाई दिन खुला छौं ।’

नेताका अनुसार राष्ट्रपतिले दिएको समयसीमा (१० गतेभित्र) संविधानको धारा ७६(२) अनुसार सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयभित्र सहमति नजुग्दा पनि सरकारको नेतृत्व आफ्नै हातमा आउने भएकाले पनि देउवाले दबाव महसुस गरेका छैनन् । एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘कांग्रेसको दम्भ, प्रचण्डको अस्थिरता र एमालेको षड्यन्त्र चलिरहेको छ, तीनमध्ये जसले जित्छ, त्यसकै योजनाअनुसार राजनीति अघि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?