+
+

नेपाल टी–२० लिगमाथि राखेपकै शंशय

गोविन्दराज नेपाल कुशल तिमल्सिना गोविन्दराज नेपाल, कुशल तिमल्सिना
२०७९ पुष ८ गते २२:५९

८ पुस, काठमाडौं । नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–२० लिग शनिबारदेखि सुरु हुने भनिएको छ । तर यसको महशुस खेलाडी र समर्थकमात्र होइन, नेपाल क्रिकेट संघ (क्यान)कै पदाधिकारीहरुले गर्न सकिरहेका छैनन् । किनकी दुई वर्षदेखि चर्चामा रहेको प्रतियोगिताले विश्वसनीयता गुमाइसकेको छ ।

विवादित सेभेन थ्री स्पोर्टसले यो प्रतियोगिताका लागि क्यानसँग कमर्सियल र स्ट्टेजिक साझेदारीको सम्झौता गरेको छ । पछिल्लोपल्ट शुक्रबारका लागि निर्धारित प्रतियोगिता एक दिन सारेर क्यानले पुरस्कार राशी, स्थानीय ब्रोडकास्टरबारे निर्णय गर्यो, शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी भोलि खेल सुरु हुने बतायो ।

तर अहिलेसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अहिलेसम्म नेपाल टी–२० लिग खेल्ने विदेशी खेलाडीका लागि श्रम स्वीकृतिका लागि सिफारिस पत्र दिएको छैन ।

एक सातादेखि क्यान कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लसहितको एउटा टिम विदेशी खेलाडीको श्रम स्वीकृतिका लागि सिफारिस लिन राखेप मुख्यालय त्रिपुरेश्वर धाइरहेका छन् । तर सिफारिसका लागि स्वीकृति पाएको छैन ।

स्रोतका अनुसार सेभेन थ्री स्पोर्टसको पृष्ठभूमि र घरेलु क्रिकेटको सबभन्दा प्रतिष्ठित प्रतियोगिता सम्भावित फिक्सिङ र बेटिङको जालोमा फस्नसक्ने आशंकाले पनि काम गरेको छ ।

प्रतियोगिता शंकाको घेरामा देखिएपछि प्रतियोगिता सन्चालनका लागि आवश्यकक बजेट, साझेदार कम्पनीहरुसँगको सम्झौता प्रक्रिया, वस्तु तथा सेवा परामर्श तथा खरिद प्रक्रियाको सम्पूर्ण कागजात, फ्रेन्चाइज टिमसँगको सम्झौता, फ्रेन्चाइज टिम मालिकहरुको अवस्था, टिमको दर्ता प्रक्रिया र प्यान नम्बर तथा टिमले खेलाडीसँग गरेको सम्झौता समेत राखेपले मागेको छ ।

क्यानका पदाधिकारीले ल्याएको प्रस्तावमा विदेशी खेलाडीलाई कति दिनको श्रम स्वीकृति आवश्यक भन्ने पनि उल्लेख थिएन । राखेप श्रोतले भन्यो, ‘उहाँहरुले दिउँसो पनि कागजपत्र ल्याउनुभएको थियो । त्यो पर्याप्त थिएन । प्रतियोगिता सन्चालनपूर्व नै सबै कागजपत्र पूरा गर्न भनेका छौं ।’

राखेपको नियामक जिम्मेवारीअनुसार क्यानसँग आवश्यक सम्पूर्ण कागजात मागिएको राखेप सदस्य सचिव टंकलाल घिसिङ बताउँछन् । ‘प्रतियोगिता आयोजनाका लागि हामीले अघिल्लो साता नै स्वीकृति दिइसकेका छौं’ उनले भने, ‘अहिले श्रम स्वीकृति लगायतका प्रक्रियाका लागि आवश्यक कागजात नपुगेका कारण सिफारिस गर्न सकेनौं । प्रतियोगितापूर्व प्रक्रिया पूरा गर्न भनेका छौं ।’

क्रिकेट संघले सेभेन थ्री स्पोर्टससँग १० वर्षका लागि पहिलो सम्झौता गरेको थियो । कार्यसमिति भित्रैबाट विरोध सुरु भएपछि परिमार्जन गरी पुनः सम्झौता गरियो, जहाँ ८ वर्षका लागि सेभेन थ्री स्पोर्टसले सन्चालन अधिकार दिइको छ । त्यसबापत उसले ३३ करोड रुपैयाँ क्यानलाई बुझाउनुपर्ने भयो ।

बेटिङको चिन्ता !

नेपाल टी–२० लिगको आयोजक क्यान भएपनि आयोजनासम्बन्धी सम्पूर्ण काम सेभेन थ्री स्पोर्टसले गरिरहेको छ । फ्रेन्चाइज टिम, ब्रोडकास्ट, मुख्य प्रायोजक ल्याउनेदेखि पुरस्कार तोक्ने लगायत सम्पूर्ण काम उसैले गरिरहेको छ ।

यति ठूलो बजेटको प्रतियोगिताका लागि प्रायोजकहरुको संख्या अत्यन्तै न्यून छ । त्यसमाथि बेटिङ जोडिएको छ ।

सेभेन थ्री स्पोर्टसले नेपालमा कम्पनी स्थापना गर्नुअघि आफ्नो प्रवन्ध पत्रमा बेटिङसँग जोडिएको विषय उल्लेख गरेको थियो, जसमा भारत लगायत विदेशमा सट्टेबाजी घरहरु सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

यसका साथै लिगका टिम ओनर र टिमको कप्तान छनोट पनि लिगमा बेटिङको आशंकालाई बल दिएको छ ।

लिगको फ्रान्चाइज टिम विराटनगर सुपर किंग्सको मार्की खेलाडी रोहित पौडेल छन्, जो नेपाल टिमकै कप्तान हुन् । जिम्बावेका सिक्नदर राजा पनि टिममा छन्, तर वेष्ट इन्डिजका आन्द्रे म्याककार्थीलाई कप्तान बनाएको छ । यस्तै सोमपाल कामी मार्की रहेको जनकपुरले पनि वेष्ट इन्डिजकै ट्रेभोन ग्रिफिथलाई कप्तान नियुक्त गरेको छ ।

अरू टिमको मालिक सेभेन थ्री स्पोर्टसकै टिमसँग जोडिएको छ । यसले पनि यो प्रतियोगिता बेटिङमा जोडिने  त होइन भन्ने शंका छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेभेन थ्री स्पोट्र्सका अध्यक्ष जतिन आहलुवालियाले भने  लिगमा बेटिङ र फिक्सिङ नहुने दाबी गरे । लिगको मुख्य प्रायोजक वान एक्स ब्याटबारे उनले भनेका छन्, ‘यो आईसीसीबाट मान्यता पाएको कम्पनी हो । लंका प्रिमियर लिग (एलपीएल)को स्पोनसर छ ।’

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले फिक्सिङ हुँदैछ भनेर पहिले भन्न नमिल्ने भन्दै लिगलाई राम्रोसँग सञ्चालन गर्नका लागि एन्टी करप्सन युनिट राखेको बताएका छन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?