+
+

सजिलो सेवा : होम सोलुसनदेखि ब्यूटी प्याकेजसम्म 

कावीशभक्त श्रेष्ठ/बजार निर्देशक, सजिलो सेवा कावीशभक्त श्रेष्ठ/बजार निर्देशक, सजिलो सेवा
२०७९ पुष १० गते १३:५८

घरमा टिभी बिग्रीयो, मेकानिक्स कहाँ खोज्ने ? धारा भाँचियो, प्ल्मबर कहाँ होलान् ? यस्तो समस्या पर्दा नजिकको बजारमा चक्कर मारिन्छ अनि कुनै मेकानिक्स वा हार्डवेयर पसलले समाधान पनि दिन्छन् ।

उनीहरुको सेवाको गुणस्तर र मूल्यमा निश्चिन्त हुने आधार भने खासै हुँदैन । यस्तो सेवामा वारेन्टी र ग्यारन्टीको त कुरै हुँदैन । यस्तो अन्योलमा काठमाडौं उपत्यकामा ‘सजिलो सेवा’ नामको कम्पनीले यो खालको सेवा दिन थालेको ५ वर्ष भयो ।

हालै पोखरामा पनि विस्तार भएको यो कम्पनीले अनलाइन एपबाट समस्या बुझेर ग्राहकले चाहेकै समयमा समाधान दिने गरेको छ । कम्पनीबारे निर्देशक कावीशभक्त श्रेष्ठको भनाइ:

कावीशभक्त श्रेष्ठ

सन् २०१६ मा एमबीए पढ्दैगर्दा यो जुक्ति जन्मिएको हो । यसलाई हामीले काठमाडौं विश्वविद्यालयको ‘आइडिया स्टुडियो’को ‘आइडिया हन्ट’ कार्यक्रममा प्रस्तुत गरेका थियौं ।
व्यावसायिक क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरु निर्णायक रहेको कार्यक्रममा हाम्रो आइडिया प्रसंशित भयो । दैनिक व्यवहारमा आइरहने स–साना समस्यालाई सजिलो तरिकाबाट हल गर्ने यो आइडियालाई मूर्त रुप दिए राम्रो हुने उहाँहरुको सुझाव थियो ।

हाम्रो आइडियामा उपभोक्ता र सेवा प्रदायक संघ–संस्थाको बुझाइबारे पहिल्यै अध्ययन गरिसकेका थियौं । त्यसक्रममा २०० घर र ७० वटा सेवा प्रदायक संघ–संस्था पुगेका थियौं ।
हामीले कुरा गरेकामध्ये अधिकांशले यस्ता स–साना काममा भरपर्दो सेवा नपाएर हैरानी खेपेको बताउनुहुन्थ्यो । हामीले आफ्नो आइडिया सुनाउँदा उहाँहरुले यस्तो काम भए निकै राम्रो हुन्छ, अघि बढ्नुस् भन्ने सुझाव आउँथ्यो ।

त्यसक्रममा हामीले सय हाराहारी प्राविधिक, प्रोफेसनललाई पनि भेट्यौं, जो हामीले दिन चाहेको सेवामा आबद्ध थिए । आफूले गर्नसक्ने जति काम र पाउनुपर्ने मूल्य पनि नपाएको उहाँहरुको गुनासो हामीले पायौं । आफूले गरेको काममा सामाजिक सम्मान पनि नभएको गुनासो उहाँहरुको थियो ।

अध्ययनबाट के पत्ता लाग्यो भने, ग्राहकहरु सेवा किन्न नपाएर हैरान छन्, सेवा बेच्नेहरु काम नपाएर बसेका छन् । यो दूरी मेटाउन हामीले सन् २०१७ मा दुई जनालाई सदस्य बनाएर सजिलो सेवा सुरु गर्‍यौं । अहिले ३०० भन्दा बढी हामीसँग आबद्ध हुनुहुन्छ । काम गर्ने टिममा ३१ जना छौं ।

के–के सेवा छन् ?

सजिलो सेवा नेपालको सेवा बजारको फराकिलो प्लेटफर्म हो । यहाँबाट दक्ष जनशक्तिको सेवा प्रवाह हुन्छ । हामीले टिभी तथा कम्प्यूटर मर्मत र प्लम्बिङबाट सेवा थालेका थियौं । अहिले होम सोलुसनदेखि ब्यूटी प्याकेजसम्मका ५० भन्दा बढी सेवा दिन्छौं ।

हामीले टिभी तथा कम्प्यूटर मर्मत र प्लम्बिङबाट सेवा थालेका थियौं । अहिले होम सोलुसनदेखि ब्यूटी प्याकेजसम्मका ५० भन्दा बढी सेवा दिन्छौं ।

गाडी चालक चाहिए ‘ड्राइभर अन कल’, घरैमा स्वस्थ्य परीक्षण सेवा पनि समावेश छ । घरमा आइपर्ने सबैजसो काममा हाम्रो सेवा छ ।

तपाईंको घरको धारामा लिकेज छ भने त्यसलाई टाल्न हामी हाजिर दिन्छौं, त्यो पनि बोलाएकै दिन वा तोकिएकै समयमा । घरका यस्ता स–साना कामदेखि घरै बनाइदिने सेवा पनि दिन्छौं ।

दैनिक सेवा प्रवाह र मूल्य

हामीले दुई तरिकाले सेवा प्रवाह गरिरहेका छौं– एउटा अनकलमा र अर्को सम्झौता गरेर नियमित तालिका अनुसार । घरहरुबाट एप वा फोनमार्फत आउने समस्याको समाधान अनकल रेसपोन्सको आधारमा गरिन्छ भने संस्थागत सेवा नियमित हुन्छ ।

हाम्रो संस्थागत सेवा किन्नेमा नेपाल क्यान्सर अस्पताल, नेपाल पर्यटन बोर्ड र ठूला कम्पनीहरुदेखि क्याफेसम्म छन् । पाँचवर्षमा हामीले ५० हजारभन्दा बढीलाई सेवा दिएका छौं ।
हामीले दुईसाताअघि पोखरामा पनि सेवा थालेका छौं । इटहरी, चितवन र बुटवलका लागि तयारी गरिरहेका छौं । आगामी वर्ष सेवाको क्षेत्र पनि बढाएर ४०० पुर्‍याउने छौं ।

हामीले मर्मत सेवा सुरु गर्दा यो क्षेत्रमा मूल्य नै तोकिएको थिएन । कसैले ५ सयमै काम गर्थे भने कसैले त्यही काममा २ हजार पनि लिन्थे । हामीले यसलाई व्यवस्थित गरेर मूल्यलाई एउटा सीमामा राख्ने प्रयास गरेका छौं ।

हाम्रो सेवा शुल्क ३५० रुपैयाँबाट सुरु हुन्छ । उपभोक्ताले एपबाट शुल्क पहिल्यै थाहा पाउने भएकाले यो पारदर्शी पनि छ ।

सेवाको गुणस्तर

अरु सेवा प्रदायकबाट तपाईंले उनीहरुको समयमा काम गर्नुपर्ने हुन्छ । हाम्रो सेवा तपाईंले चाहेको बेला उपलब्ध हुन्छ, त्यो पनि ३० दिनदेखि ६ महिनासम्मको ‘सर्भिस वारेन्टी’ सहित । वारेन्टी दाबी गर्दा थप सेवा शुल्क तिर्नु पर्दैन ।

जहाँसम्म सेवा प्रवाहमा गुणस्तरको कुरा छ, हाम्रो टिममा सबै प्रमाणित विज्ञहरु छन् । हामीसँग जोडिनका लागि खास किसिमको सेवाको विज्ञ भएर मात्र पुग्दैन, राम्रो काम गर्ने भनेर सिफारिस पनि हुनुपर्छ । ग्राहकलाई राम्रो सेवा दिनुपर्ने भएकाले बानी–व्यवहारको पक्षमा समेत सचेतना अपनाइन्छ ।

हाम्रो सेवाको गुणस्तर मापन गर्ने अर्को उपाय भनेको मोबाइल एप्लिकेसन हो । सजिलो सेवाको एप डाउनलोड गरेपछि हामी ५० भन्दा बढी सेवा कसरी दिन्छौं, कसरी उपभोक्ताको घरसम्म आइपुग्छौं ? शुल्क कति लाग्छ, कसरी तिर्ने जस्ता कुरा थाहा पाइन्छ ।

हामीले सेवा सुरु गर्दा यो अनौपचारिक क्षेत्र थियो, जहाँको लेनदेन प्रणालीमा देखिन्नथ्यो । हामीले शुल्क लिने, पारिश्रमिक दिने लगायत कारोबारमा बैंकिङ प्रणाली अपनाएर यसलाई औपचारिक क्षेत्रमा ल्याएका छौं ।

हाम्रो कम्पनीका प्राविधिकहरुले मासिक कम्तीमा २२ हजारदेखि बढीमा एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । यसको अर्थ, उनीहरु धेरै खटेर काम गर्छन् भन्ने हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?