+
+

हत्याको बदलामा शिवपुजनको हत्या भएको प्रहरीको निष्कर्ष

सुरेश बिडारी सुरेश बिडारी
२०७९ पुष ११ गते १७:३८
शिवपुजनको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रमोद राम ।

११ पुस, वीरगञ्ज । भारत बिहारका शिवपुजन राय यादवको हत्या उनकै आफन्तको योजनामा भएको रहस्य खुलेको छ । शिवपुजनको पुस ८ गते बाराको भुतही पुल नजिकै गोली हानी हत्या भएको थियो ।

प्रहरीले अनुसन्धानको क्रममा घटना भएकै दिन केहि व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यसक्रममा शिवपुजको हत्या उनका काकाको छोरा दिनेश यादवको योजनामा भएको पत्ता लागेको प्रहरीले जनाएको छ । दिनेशले आफ्ना दाइ रमेशको हत्याको बदला लिन शिवपुजनको हत्या योजना बनाएको प्रहरीको निष्कर्ष छ ।

जिल्ला प्रहरी कार्यालय बारा प्रहरी स्रोतले दिएको जानकारी अनुसार शिवपुजनले गत अप्रिलमा काकाका छोरा रमेश यादवको गोली हानेर हत्या गरेका थिए । भारत मोतिहारीको छौडादानो ग्राम पञ्चायतका उपप्रमुख समेत रहेका रमेशलाई जग्गा सम्बन्धी विवादका क्रममा शिवपुजनले गोली हानेका थिए । गोली लागेर घाइते भएका रमेशको उपचारको क्रममा मृत्यु भएको थियो ।

रमेशलाई गोली हानेपछि शिवपुजन फरार थिए । उनी विरुद्ध बिहार राज्यको मोतिहारी जिल्ला अन्तर्गत पर्ने महुअवा थानामा सन् २०२१ सेप्टेम्बर ६ मा डकैती र सेप्टेम्बर १२ मा डकैती योजना मुद्दा, छौडादानो थानामा सन् २०२२ अप्रिल २ मा अपराधिक षडयन्त्र मुद्दा परेको नेपाल प्रहरीले पत्ता लगाएको छ ।

भारतीय प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका शिवपुजन भारतीय आतंकवादी समूह नक्सलाइट पार्टीको नेता समेत रहिसकेको पाइएको प्रहरीले जनाएको छ । उनी भारतीय प्रहरीको आँखा छलेर पुस ७ गते मात्रै भारतबाट नेपाल प्रवेश गरेका थिए ।

६० हजार भारु लिएर सुटरलाई सूचना

छौडादानो ग्राम पञ्चायतका तत्कालीन उपप्रमुख रमेशको हत्याको बदला लिन चाहन्थे उनका भाइ दिनेश । सोही योजना अनुसार डेढ महिना पहिले दिनेश र प्रमोदको भेट भएको थियो ।

उनीहरुबीच प्रमोदले सूचना दिने र दिनेशले सुटर पठाउने बारे छलफल भयो । सूचना दिनका लागि प्रमोदले ६० हजार भारतीय रुपैयाँ बुझेका थिए । सहमति अनुसार नै १० दिनदेखि प्रमोद शिवपुजनको पछि लागेर सूचना संकलन गरिरहेका थिए ।

शिवपुजन र प्रमोदको तीन महिनादेखि चिनाजानी थियो । त्यसैको फाइदा प्रमोदले उठाइरहेका थिए । घटना भएको दिन पुस ८ गते बिहान पनि प्रमोदले मृतक शिवपुजनलाई पटक पटक फोन गरेको पाइएको प्रहरीले जनाएको छ । तर त्यतिखेर शिवपुजनले फोन उठाएनन् ।

दिउँसो २ बजेतिर शिवपुजनले प्रमोदलाई फोन फर्काएका थिए । प्रमोदको सुटरसँग पटक पटक फोनमा कुरा भएको कल विवरणबाट प्रहरीले पत्ता लगाएको छ ।

घटनाको दिन दिउँसो ४ः२० बजे प्रमोदले शिवपुजनलाई फोन गरे लगत्तै सुटरलाई फोन गरेर भुतही चोकको लोकेसन दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अभियुक्त प्रमोद विरुद्ध पनि मोतिहारी थाना लगायत भारतका विभिन्न थानामा अपहरण लगायत ३ वटा मुद्दा दर्ता रहेको प्रहरीको दावी छ ।

मुख्य योजनाकार, सुटर सहितका अभियुक्त खोज्दै प्रहरी

गोली लागेर गम्भीर घाइते भएका शिवपुजनको मृत्यु भयो कि भएन ? भनेर हेर्न पुगेका प्रमोदलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको थियो । तर मुख्य योजनाकार दिनेश सुटर, लगायतका अभियुक्त अझै फरार छन् ।

मृतकका आफन्तले ६ जना विरुद्ध किटानी जाहेरी दिएका छन् । जसमध्ये ५ जना घटनामा प्रत्यक्ष संलग्न रहेको प्रहरीको भनाइ छ । घटनामा संलग्न व्यक्तिहरुको मोबाइल नम्बर पहिचान गरेर भारतीय प्रहरीसँग समन्वय गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले प्रमोदले सूचना संकलन गरेर सुटरलाई गोली हान्न सघाएको दावी गरे । ‘शिवपुजनसँग चिया नास्ता पसलमा बरियारपुरका आफन्त थिए, परपरको टेबलमा चिया खान आएका अरु मानिसहरु थिए’, उनले भने, ‘पक्राउ परेका प्रमोदले शिवपुजनको हात समातेर गोली हान्न सहयोग गरेको देखिएको छ ।’

सूचना दिने प्रमोद राम सार्वजनिक

प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रमोद रामलाई सार्वजनिक गरेको छ । भारत बिहारको मोतिहारी जिल्ला अन्र्तगत पर्ने घोडासहन थाना सेखावना ग्राम पञ्चायत वडा नं. १ सेखावना टोल बस्ने ३८ वर्षीय उनलाई सार्वजनिक गरेको हो ।

घटना भएको तीन दिनपछि सोमबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनलाई सार्वजनिक गरेको थियो । उनीसँग लिएको बयानको आधारमा उनी शिवपुजनको सूचना संकलनका लागि खटिएको व्यक्ति भएको दावी प्रहरीको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?