
७ पुस, वीरगञ्ज । बारामा अज्ञात व्यक्तिले हानेको गोली लागेर गम्भिर घाईते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।
भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको मृत्यु भएको हो । उनी भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी हुन् ।
कलैया बारियारपुर सडकखण्ड अन्तर्गत बाराको महागढीमाई नगरपालिका-२ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलमा अज्ञात व्यक्तिले चलाएको गोली लागेर उनी गम्भिर घाईते भएका थिए ।
नम्बर नखुलेको दुई वटा मोटरसाइकलमा आएका पाँच जनाको समूहका एक जनाले साढे ५ बजेतिर गोली हानेर भागेका थिए ।
बाराको परवानीपुर स्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । साँझ गोली लागेपछि पौने ६ बजे अस्पताल पुर्याइएको थियो । तर सवा ६ बजे अस्पतालले उनलाई मृत घोषित गरिदियो ।
‘भारतीय नागरिक शिवपुजनको छातीमा गोली लागेको रहेछ, अस्पतालले मृत्यु भएको घोषणा गरिसक्यो ।’ उनले भने ‘चिया नास्ता खान पसलमा सँगै बसेका दुई जनालाई नियन्त्रणमा लिएका छौं । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
गोली हान्ने व्यक्तिहरु फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बरियारपुरमा आफन्तलाई भेटेर फर्केपछि नास्ता गर्ने क्रममा अज्ञात समूहले गोली हानेको मृतकका आफन्त रविन्द्र प्रसाद यादवले बताए ।
मृतक यादव भारतको मोस्ट वान्टेड सूचीमा रहेका थिए भने भारतका विभिन्न थानामा ७ वटा जघन्य मुद्दा दर्ता भएको थियो ।
उनी बिहीबार मात्र भागेर नेपाल आएर आफन्तकोमा बसेका प्रहरी स्रोतले जनाएको छ ।
प्रतिक्रिया 4