+
+
अन्तर्वार्ता :

‘नाफाभन्दा ग्राहकको सन्तुष्टिबाट सन्तोष लिएका छौं’

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते ९:०५

काठमाडौं । दुई ठूला दूरसञ्चार कम्पनीहरूले पाँच वर्षअघि चौथो पुस्ताको फोरजी सेवा सुरु गरेपछि, मोबाइल डेटा सेवाको शुल्क घटेको छ, त्यसैगरी मोबाइल इन्टरनेटको गतिमा उल्लेखनीय सुधार भएको छ ।

यसले गर्दा ग्राहकहरूले उच्चगतिको मोबाइल ब्रोडब्यान्डबाट विविध फाइदाहरु लिन सकेका छन् । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले कुल जनसंख्याको झण्डै ९० प्रतिशतलाई समेट्ने गरी फोरजीको देशव्यापी विस्तार गरिसकेको छ र नयाँ मोबाइल प्रविधि फाइभ–जीको परीक्षणको तयारी गरिरहेको छ ।

नेपालको दूरसञ्चार क्षेत्रको रुपान्तरण र सूचना तथा सञ्चार प्रविधि विकासमा एनसेलले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । अनलाइनखबरले डेटा सेवा, यसको मूल्य, फोरजी कभरेज, फाइभजी योजना र कम्पनीको भविष्यका योजनाहरूबारे कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङसँग कुराकानी गरेका छ । दूरसञ्चारका क्षेत्रमा ३० वर्षभन्दा बढी काम गरिसकेका चोङसँग गरिएको अन्तर्वाताको सम्पादित अंशः

ऊक्लाले एनसेललाई नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क पुरस्कारबाट सम्मानित गरेको छ । उत्कृष्ट बन्न तपाईंरूले के गर्नुभयो ?

हाम्रो दर्शन भनेकै ग्राहकको अनुभवलाई उचित मूल्यांकन गर्ने हो र हामी यो कुरामा धेरै अनुशासित छौं । तपाईं मूल्य वा उत्पादन नवीनताका आधारमा अनुशासनको मूल्यांकन गर्न सक्नुहुन्छ तर हामीले ग्राहक अनुभवलाई महत्त्व दिन्छौं । यसले हामी लगानी र नेटवर्कको बारेमा के–कसरी सोच्छौं भन्ने कुरा स्पष्ट पार्छ । सेवा र नेटवर्कको गुणस्तर हाम्रो प्राथमिकतामा छ । उपभोक्ताहरूले हाम्रो नेटवर्कलाई लिएर गरेको अपेक्षाअनुसार गुणस्तर कायम गर्नमै हाम्रो धेरै लगानी हुन्छ ।

तपाईं भर्खरैको ‘ऊक्ला अवार्ड’ हेर्न सक्नुहुन्छ । ऊक्ला अन्तर्राष्ट्रिय संगठन हो, जसले हाम्रो नेटवर्कको गुणस्तर परीक्षण गरेको छ । ऊक्लासँग सबै अपरेटरहरूको नेटवर्क गुणस्तर अनुगमन र परीक्षण गर्ने आफ्नै प्रविधि र मापदण्ड छन् । ऊक्लाले हाम्रो देशको सबैभन्दा छरितो मोबाइल नेटवर्कको रूपमा एनसेल छनोट गरेकोमा हामी एकदमै खुसी छौँ ।

हामीले गर्ने धेरै कामले केही न केही प्रभाव परिरहेकै हुन्छन् । हामीले गरेको लगानीको उद्देश्य नै हाम्रो फोरजी नेटवर्क धेरै ठाउँ पुगोस् र सबैले त्यसको लाभ उठाउन सकुन् भन्ने हो । हामीलाई थाहा छ उपभोक्तालाई १०० एमबीपीएस कै स्पिडको आवश्यकता रहन्न तर उहाँहरुलाई आवश्यक भनेको मानौ यूट्युबमा १०८० पी को कुनै भिडियो सामग्री हेर्दै हुनुहुन्छ भने त्यो बिना बफरिङ चल्न पर्दछ ।

सबैभन्दा फास्ट मोबाइल नेटवर्कको पहिचानलाई पछिसम्मै कायम राख्न एनसेलले थप के गरिरहेको छ ?

हामी पूर्वाधार लगानीका लागि महत्वपूर्ण बजेट विनियोजन गर्छौं । सामान्य रूपमा व्यवसाय चल्नका लागि हरेक व्यवसायीले कुनै न कुनै आधारभूत लगानी गर्छन् नै । गाडीको टायर बदलेर या इन्जिन ट्विक गरेर गाडी मर्मत गरेजस्तै राम्रो परिणामका लागि नेटवर्कको पनि मर्मत आवश्यक हुन्छ । हाम्रो नेटवर्कले अपेक्षाअनुसारकै गुणस्तरीय सेवा प्रदान गरोस् भन्ने कुरा सुनिश्चित गर्न हामीले आधारभूत रूपमा बर्सेनि ७–८ करोड अमेरिकी डलर लगानी गर्छौँ ।

एनसेलको फोरजी कभरेज कस्तो छ ? तपाईंहरूसँग नेपालका अन्य भागमा पनि नेटवर्क विस्तार गर्ने योजना छ ?

एक सेवाप्रदायकको नाताले भन्नुपर्दा– विस्तार, कभरेज र त्यसको गहिराइलाई सधैं हामी प्राथमिकता दिन्छौं । देशको कुल जनसंख्याको ८८ प्रतिशतसम्म हाम्रो फोरजी नेटवर्कको पहुँच छ । हामीलाई आशा छ कि २०२३ को पहिलो त्रैमासमा त्यो लगभग झण्डै ९५ प्रतिशत हुनेछ । यो संख्या धेरै समयका लागि स्थिर रहनेछ ।

किनकि, नेपालको भूभागमा कतिपय यस्ता ठाउँ छन्, जहाँ पुग्न अति नै कठिन छ । गर्न नसकिने होइन तर आर्थिक भार उठाउन अप्ठ्यारो पर्न जान्छ । त्यसैले कभरेज त्यही ९३–९५ प्रतिशतमै रहने हाम्रो आकलन छ ।

पहाडी क्षेत्रमा नेटवर्क विस्तार गर्दा तपाईंले सामना गर्ने प्रमुख चुनौती के–के हुन् ?

त्यहाँ थुप्रै चुनौतीहरु छन् खासगरी भौतिक चुनौती । साइट निर्माण गर्ने कुरामै पहाड र तराईमा धेरै फरक पर्छ । यी दुई क्षेत्रमा उपकरण स्थानान्तरण र जडान गर्ने तरिका नै फरक छन् । पहाडमा अधिकांश उपकरणहरू– विशेषगरी कच्चा माल– मानिसहरूले नै बोकेर लैजानुपर्ने बाध्यता छ । त्यसो हुँदा एउटा साइट निर्माण गर्न नै निकै समय लाग्छ ।

हामीले जुनसुकै लगानीको पनि प्रतिफल खोज्छौं । कम्तीमा पनि कुल लगानीको समग्र प्रतिफल हेर्छौं । कतिपय यस्ता साइट पनि छन्, जहाँबाट हामीले लगानीअनुसारको प्रतिफल पाएका छैनौं । उदाहरणका रूपमा सगरमाथा आधारशिविर र केही पदमार्गलाई लिन सकिन्छ । त्यहाँ विस्तार भएका सेवाबाट हामीले प्रतिफल पाएका छैनौं । ती क्षेत्रमा नाफाभन्दा हाम्रा ग्राहकको सन्तुष्टिबाट हामीले सन्तोष लिएका छौं । लगानीको हिसाब गर्ने हो भने ती क्षेत्रमा तराईभन्दा चौगुणासम्म बढी खर्च लाग्छ ।

उपभोग प्रवृत्ति हेर्ने हो भने अहिले डेटा प्रयोग धेरै छ । दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले भ्वाइसबाट हुने आय घटिरहेको देखिएको बेलामा डेटाको योगदान कस्तो छ ?

यो विरोधाभासपूर्ण विषय हो । हाम्रा लागि फोरजी महत्त्वपूर्ण छ । डेटा प्रयोग गरी धेरैभन्दा धेरै काम गर्न सकियोस् भन्ने हाम्रो अभिप्राय हो । यदि तपाईँले पछिल्ला वर्षको उपभोग हेर्नुभयो भने भ्वाइस ओटीटीको अंश धेरै छ । जस्तोः व्हाट्सएप कलको प्रयोग करिब १० प्रतिशतदेखि ३५ प्रतिशतसम्म बढेको छ । यसले ओटीटी भ्वाइस ट्राफिकले भ्वाइस ट्राफिकलाई डिस्प्लेस गरेको देखाउँछ ।

हो, डेटा प्रयोग बढेको छ । यदि यसलाई २ वर्षअघिको तथ्यांकसँग तुलना गर्ने हो भने त्यो लगभग प्रति ग्राहक २ जीबी प्रतिमहिना थियो भने अहिले ४ जीबी छ । यो अझै माथि जानेछ । हाम्रो अभिप्रायः पनि अधिक डेटा प्रयोग नै हो । धेरै विकसित बजारमा भ्वाइस ट्राफिक हराइसकेको छ तर हाम्रो बजारमा भ्वाइस अझै पनि राम्रो माध्यमका रूपमा रहेको छ ।

धेरै विकसित बजारले भ्वाइस योजना नै बेच्दैनन् । उनीहरूले सबै डेटा योजना बेच्छन्, भ्वाइस लगभग निःशुल्क छ । कुनै निश्चित डेटा प्लान लियो भने २ देखि ३ हजार मिनेट भ्वाइस कल त्यही प्लानसँग जोडिएर आउँछ । यहाँ अझैपनि भ्वाइसको महत्व धेरै छ तर ट्रेन्ड हेर्ने हो भने यो बदलिँदै गईरहेको छ । मलाई लाग्छ– केही वर्षमा ओटीटी ट्राफिक भ्वाइस ट्राफिकमाथि हाबी हुनेछ ।

तपाईंहरू पनि त्यही मोडलमा गएर बन्डल सेवा नै बेच्ने योजनामा हो ?

यसरी जानु सन्तुलित हुन्छ । पहिलो पटक फोरजी लिएर आउँदा हामीलाई थाहा थियो कि फोरजीले डेटा प्रयोग बढाउने त छ नै, भ्वाइस ट्राफिक विस्थापित गर्दै ओटीटी ट्राफिक पनि बढ्नेछ । डेटा भनेको भविष्य हो । त्यसैले हाम्रा धेरै अभियानहरू डेटामै केन्द्रित छन् । तपाईंले हाम्रो सम्पूर्ण व्यावसायिक लगानी हेर्नुभयो भने हाम्रा योजनाहरू सबै डेटा केन्द्रित छन् । हाम्रो कुल लगानीको ५ प्रतिशत मात्रै भ्वाइसका लागि हो ।

बाँकी ९५ प्रतिशत लगानी डेटाकै विस्तार तथा गुणस्तर कायम राख्नमा केन्द्रित छ । डेटा सेवा द्रुत गतिमा बढ्नु आवश्यक छ । अबका २–३ वर्षमा भ्वाइस योजना नै रहनेछैन भनिरहँदा डेटाको उपभोग तीव्र गतिमा बढ्नुको विकल्प छैन ।

सर्सर्ती हेर्दा नेपालमा डेटा सेवाले राम्रै प्रगति गरिरहेको जस्तो देखिन्छ, हैन ?

उपभोग राम्रै छ । तर, हाम्रो बजारमा डेटाको खुद्रा मूल्य अन्य बजारको तुलनामा एकदमै कम छ । १ जीबी डेटा दिँदा हामीले प्राप्त गर्ने प्रतिफलले त्यही १ जीबी डेटा सेवा दिन लाग्ने लागत बेहोर्दैन । त्यसैले, यो असन्तुलनलाई कुनै बिन्दुमा बदल्नुपर्छ । अन्यथा यो दिगो व्यवसाय हुन सक्दैन । त्यसैगरी अर्को पाटो भनेको हामीले कम लागतका सेवा प्रदान गर्नेमा ध्यान केन्द्रित गर्नु आवश्यक छ ।

फाइभजीको बारेमा तपाईंको प्रतिक्रिया के छ ? निकट भविष्यमै फाइभजी सुरु गर्ने कुनै योजना छन् ?

फाइभजी वास्तवमै उत्कृष्ट प्रविधि हो । सर्वप्रथम त हामी अझै परीक्षण इजाजतपत्रको पर्खाइमै छौं । त्यो पाउनेबित्तिकै यो बजारमा फाइभजी कसरी चल्छ र त्यसलाई कसरी अघि लैजान सकिन्छ भनेर बुझ्न हामी परीक्षणमा जान्छौं । प्रारम्भिक रूपमा बुझ्दा अहिले फाइभजीको प्रयोग उद्यम–व्यवसाय क्षेत्रमा बढी हुने देखिन्छ । हामीलाई धेरै व्यक्तिले फाइभ–जीको शुल्कबारे सोध्नुहुन्छ । आमउपभोक्ताका लागि शुल्क बढाउन आवश्यक छैन ।

फाइभ–जीमा विश्वव्यापी बजार परिपक्व हुनेबित्तिकै हामीले त्यसबाट धेरै कुरा सिक्न सक्छौं र सोहीअनुरूप यहाँ लागू गर्न सक्छौं ।

तर, फाइभ–जीदेखि प्रतिफल सुनिश्चित गर्नु पनि त्यतिकै आवश्यक रहन्छ । फाइभजीले तार विस्थापन गरेर ताररहित बनाउँछ । यसले खर्च घटाउनुका साथै चुस्त सेवा सुनिश्चित गर्छ । त्यसैले सुरुमा उद्यम–व्यवसायमै फाइभजीको प्रयोग बढी हुन्छ । त्यसपछि सम्भवत कन्जुमर एप्लिकेसन अथवा मसिन टु मसिन एप्लिकेसनमा फाइभजीले सघाउनेछ ।

फाइभ–जीले बजारमा ठूलो परिवर्तन ल्याउला त ?

यसले उपभोक्ताको अनुभवमा व्यापक सुधार ल्याउनेछ । तर, तपाईंलाई सानो स्क्रिनमा यूट्युब हेर्न फाइभ–जी आवश्यक पर्दैन । व्यापारको हिसाबले के–कस्तो गर्छ, त्यो त बजारमा भर पर्ने कुरा हो । अहिले फाइभजीका लागि सबैभन्दा ठूलो बजार चीन र कोरिया छन्, अरू बजारमा युज केस खासै भएजस्तै लाग्दैछ । कतै परीक्षण भइरहेका पनि होलान् या संचालनमा पनि होलान् भए पनि नगन्य नै होलान् ।

यसबारे अहिले नै केही भन्न सकिने अवस्था छैन । अधिकतम् बजारमा उपभोक्ताकेन्द्रित फाइभ–जी त्यहाँको अर्थतन्त्रले थेग्न नसक्ने पनि हुन सक्छ ।

अझै धेरै उपभोक्तासम्म फोरजीको पहुँच नै नभएका बेला नेपाल फाइभ–जीका लागि पूर्णरूपमा तयार छैन पनि भनिन्छ । तपाईं के भन्नुहुन्छ ?

हो, फोरजीमा गर्नुपर्ने अझै धेरै काम छन् । सबै सेवाप्रदायकहरू अझै पनि फोरजीको गुणस्तर र उपयोग बढाउने कोसिसमै छन् । हाम्रा नेटवर्कहरुमा ४० देखि ६० प्रतिशतसम्म मात्रै फोरजी उपभोग भइरहेको छन् ।

फाइभ–जीले यस्तो गति दिन्छ कि हामीलाई त्यसको सदुपयोग कसरी गर्ने भनेर पनि थाहा हुँदैन । अहिलेको समयमा हामीले गर्न सक्ने भनेको त्यसको परीक्षण मात्र हो । फाइभ–जीमा विश्वव्यापी बजार परिपक्व हुनेबित्तिकै हामीले त्यसबाट धेरै कुरा सिक्न सक्छौं र सोहीअनुरूप यहाँ लागू गर्न सक्छौं ।

हाल फोरजीको गति कस्तो छ ? तपाईंहरू यसलाई अझै सुधार्ने काम गर्दै हुनुहुन्छ ?

पक्कै पनि हामी यसमा काम गरिरेहका छौं । हाम्रो सबैभन्दा महत्वपूर्ण स्रोत भनेको फ्रिक्वेन्सी हो र हामीसँग केही फ्रिक्वेन्सी छन् पनि । तर, त्यतिले पुग्दैन । यसलाई अझै सुधार गर्न र ग्राहकलाई तीब्र गतिको सेवाको अनुभव दिन हामीलाई अझ धेरै फ्रिक्वेन्सी चाहिन्छ । अहिले हामीसँग जति फ्रिक्वेन्सी छ, त्यसले निश्चित समयमा सबै प्रयोगकर्तालाई लागि केही निश्चित गति दिन सक्छ । तर, नेटवर्क प्रयोग र उपभोग बढ्दै गयो भने फ्रिक्वेन्सी विस्तार गर्नुको विकल्प हुँदैन ।

‘डिजिटल नेपाल फ्रेमवर्क’मा परिकल्पना गरिएअनुसार डिजिटलमा जान डेटा नै पहिलो शर्त हो । यसमा सरकारले के विषयमा ध्यान दिनुपर्छ ? त्यसले तपाईंहरूलाई कसरी मद्दत गर्न सक्छ ?

सरकारको भूमिका महत्त्वपूर्ण छ । नीति बनाउने सरकारले हो, बनाएको पनि छ । हामीजस्ता कम्पनीले कसरी लगानी गर्छन् र लागत उठाउँछन् भनेर सरकारको आफ्नै नीति छ । चाहे त्यो नियामकय होस् या अन्य आधार । नियामकले उपभोक्ताका साथसाथै उद्योगकाको बृहत्तर हितलाई सोचेर नीति बनाउनुपर्छ । दुवै पक्षलाई सन्तुलनमा राख्नुपर्छ । उपभोक्तामाथि धेरै शेवा शुल्क लगाइएको/नलगाइएको, सेवाहरू गुणस्तरीय भए/नभएको अनुगमन त हुन्छ नै तर अर्को पक्ष अर्थात् हामीजस्ता कम्पनी र सेवाप्रदायकलाई यो बजारमा टिकाइराख्न र दूरसञ्चार क्षेत्रको दिगो विकासका लागि पर्याप्त साथ–समर्थन पनि हुनु आवश्यक छ ।

यसो भन्नुको अर्थ हुन्छ– डिजिटल नेपालको आकांक्षालाई ध्यानमा राख्दै दूरसञ्चार क्षेत्रको विकासका लागि सही फ्रेमवर्क, समान व्यवहार र फ्रिक्वेन्सीको सही वितरण हो । डिजिटल नेपालको आकांक्षा अनुरुप जाने हो भने प्रति प्रयोगकर्ताबाट ब्यान्डविथको माग बढ्नु पर्छ ।

र, त्यो तबमात्र सम्भव हुन्छ, जब फ्रिक्वेन्सी र नेटवर्कको घनत्व पनि समानान्तर रूपमा बढ्छन् । नेटवर्कमा घनत्व बढाउनु सधै आर्थिक हिसाबले सम्भब नहुन सक्छ । सबै विषयमा सन्तुलन मिलाएर अघि बढ्नु जरुरी छ ।

देशकै ठूलो करदातामध्ये एकको रूपमा तपाईंहरूले धेरै सीएसआर गतिविधि पनि गर्दै हुनुहुन्छ । विगतका केही वर्षमा गरिएका ठूला सीएसएरबारे बताइदिनुस् न ।

सरकारले तय गरेका ८ वटा क्षेत्रहरु मध्ये हामी ३ वटामा धेरै केन्द्रित छौं, जुन सबैजसो संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग मिल्दाजुल्दा छन् । हामी शिक्षा, वातावरण र स्वास्थ्यमा ध्यान केन्द्रित गर्छौं । यीबाहेक अन्य क्षेत्रमा पनि हामी उत्तिकै प्रतिबद्ध छौं । तर, यी ३ मुख्य स्तम्भ हाम्रो प्राथमिकतामा छन् । जस्तैः रिंगरोडको १०.२ किमी हरियाली । यो काम गर्न हामीलाई २ वर्ष लाग्यो । अब हामी त्यसलाई स्यारसंभार र जोगाउनतिर लाग्दै छौं किनकि यो हाम्रो आजियाटा गु्रपस्तरबाट नै प्राथमिकतामा राखिएको ‘ग्रीन अर्थ’ अभियानको एउटा हिस्सा हो ।

यस्तो काम हामी आजियाटा ग्रुपस्तरमा नै गर्दै आइरहेका छौं । जस्तैः कार्बन फुटप्रिन्ट कम गर्ने र अन्य । हामीले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा आधुनिक आईटी डिजिटल ल्याबहरू पनि स्थापना गरेका छौँ । हामीले दुर्गम क्षेत्रका ६० सामुदायिक विद्यालयमाँ डिजिटल ल्याब स्थापना गर्यौं । यो महत्वपूर्ण थियो किनकि त्यहाँ धेरै बच्चाहरूले कम्प्युटर देखेका पनि थिएनन् । हामीले त्यहाँ जे गर्यौं, त्यसमा हामीलाई गर्व छ । हामीलाई यो गर्न पनि लगभग २ वर्ष लाग्यो । यसले डिजिटल डिभाइड घटाउन महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ ।

पछिल्ला दुई वर्षका कोभिड कार्यक्रमहरू पनि धेरै सहयोगी भएका छन् । हामीले लैनचौर मैदान पुनर्निर्माण गर्‍यौं, जुन हाम्रै कार्यालयको अगाडि छ । त्यहाँ हामीले मिनी फुटबल मैदान र बास्केटबल कोर्ट बनाएका छौं, जुन समुदायका युवा, केटाकेटीहरूले प्रयोग गर्छन् ।

हामीसँग टेलिमेडिसिन कार्यक्रम पनि छ । दुर्गम क्षेत्रका धेरै बिरामीहरू क्लिनिकमा जान सक्दैनन् । हामीले प्रविधि प्रयोग गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न धुलिखेल अस्पतालको सहयोगमा कार्यक्रम चलाइरहेका छौं । अस्पतालअन्तर्गत रहेका ४ आउटरिच केन्द्रले सेवा प्रदान गर्छन् । हामी यसलाई विस्तार गर्नेछौं । यी सबै मुख्य परियोजनाहरू हुन्, जुन हामी गर्छौँ । यससँगै हामीले यूएनडीपी र युनिसेफसँग सहकार्य गरेर पनि काम गरिरहेका छौं ।

राष्ट्रिय अर्थव्यवस्थामा एनसेलले के योगदान पुर्‍याएको छ ?

नेपालको अर्थव्यवस्थामा हाम्रो भूमिका ठूलो छ । हामी ठूला करदातामध्ये एक हौं । स्थापनाकालदेखि अहिलेसम्म हामीले सरकारलाई करिब २६३ अर्ब रुपैयाँ विभिन्न कर तथा शुल्क अन्तर्गत तिरिसकेका छौं । सीएसआर कार्यक्रम अन्तर्गत हामीले १.६५ अर्ब रुपैयाँ खर्च गरिसकेका छौं ।

साथै, हामीले करिब १ लाख नेपालीका लागि प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पनि सिर्जना गरेका छौँ । उदाहरणका लागि हामीसँग ६० हजारदेखि ७० हजार प्वाइन्ट अफ सेल्स छन् र विभिन्न आउटसोर्स साझेदार र ५०० भन्दा बढी प्रत्यक्ष कर्मचारी छन् । त्यसैले राष्ट्रिय अर्थव्यवस्थामा हाम्रो योगदान ठूलो छ ।

भविष्यमा उपभोक्ताहरूले एनसेलबाट के आशा गर्न सक्छन् ?

जिम्मेवार कर्पोरेट संस्था भएकोमा हामीलाई गर्व छ । हामी हाम्रो सेवाको गुणस्तरमा गर्व गर्छौं । हाम्रो मुख्य ध्यान ग्राहकको सेवा अनुभवमा छ, चाहे त्यो हाम्रो कलसेन्टरमा कुरा गर्दा होस् या हाम्रा सेवा प्रयोग गर्दा । हामी ग्राहकका लागि उत्कृष्ट सेवा दिन निरन्तर लागिरहेका छौं ।

फोटो/भिडियो : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?