+
+

प्रचण्डका सात सारथि

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ पुष ११ गते २०:२९

११ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

उपप्रधानमन्त्रीमा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।  मन्त्री नियुक्त भएका एमालेका ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई तथा जनमत पार्टीका अब्दुल खानको मन्त्रालय तोकिएको छैन ।

तीन उपप्रधानमन्त्रीमध्ये पौडेल र श्रेष्ठले यसअघि उपप्रधानमन्त्री भएर काम गरिसकेका छन् भने लामिछाने नयाँ अनुहार हुन् ।

बाँकी ४ जना मन्त्रीहरु पनि सरकारमा नयाँ अनुहार हुन् । अर्थात्, आठ सदस्यीय मन्त्रिमण्डलमा नयाँ पुराना अनुहारको समिश्रण देखिन्छ ।

विष्णु पौडेल : सरकारमा एमाले नेतृत्व

एमालेका उपाध्यक्ष पौडेल यसअघि केपी शर्मा ओली नेतृत्वको दुईवटा सरकारमा अर्थमन्त्रीको भूमिकामा थिए । २०५३ सालमै युवा खेलकुद तथा संस्कृतिमन्त्री, २०६५ मा जलस्रोत मन्त्री, २०६७ मा रक्षामन्त्री भएका पौडेलले प्रचण्ड नेतृत्वको सरकारमा एमालेको नेतृत्व गर्ने अवसर पाए ।

२०१६ साल मंसिर १५ गते स्याङ्जामा जन्मिएका पौडेल २०३५ सालदेखि राजनीतिमा छन् । राजनीतिमा आउनु अगाडि शिक्षक रहेका पौडेल संसदीय राजनीतिमा अनुभवी नेता हुन् ।

२०३५ देखि २०४६ सम्मको भूमिगत राजनीति गरेका पौडेल २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि तत्कालीन नेकपा मालेको राष्ट्रिय परिषद् सदस्य बने र महाकाली अञ्चल इन्चार्जको जिम्मेवारी पाए । २०४७ सालमा नेकपा माले र माक्सबादीबीच एकीकरण भएर नेकपा एमाले बनेपछि पौडेल केन्द्रीय सदस्य भए ।

२०५१ सालमा एमालेले संगठन विभाग प्रमुख बनेका उनी ०५१ सालको संसदीय चुनावमा पाल्पा क्षेत्र नम्बर ३ बाट निर्वाचित भए । ०५६ को संसदीय निर्वाचनमा भने उनी रुपन्देही-३ बाट पराजित भएका थिए ।

०६४, २०७०, २०७४ र २०७९ मा रुपन्देहीबाट चुनाव जितेका पौडेल २०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा जलस्रोत मन्त्री, त्यसपछि झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री बनेका थिए ।

पछिल्लो समय पार्टी अध्यक्ष केपी ओलिको विश्वास जित्ने र जिम्मेबारी लिनेमा पर्छन् पौडेल । यही कारण उनले सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने अवसर पाएका हुन् ।

नारायणकाजी श्रेष्ठ :  परराष्ट्र छाडेर भौतिक पूर्वाधारमा

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठको चाहना गृह मन्त्रालय सम्हाल्ने थियो तर भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाए । यसअघि उनले बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

यसअघि २०६४ सालमा भएको पहिलो संविधानसभामा उनलाई मन्त्रिपरिषदले मनोनित गरेको थियो ।  दोस्रो संविधानसभा निर्वाचन २०७० मा श्रेष्ठ माओवादी केन्द्रबाट मकवानपुरबाट चुनाव लडेका थिए तर, पराजित हुन पुगे ।

०७४ को प्रतिनिधिसभा सदस्यमाको चुनावमा गोरखा २ बाट पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पराजित भएका श्रेष्ठ २०७६ माघमा भएको राष्ट्रिय सभा सदस्यको चुनावमा गण्डकी प्रदेशबाट निर्वाचित भएका थिए ।

यसपटक पनि उनलाई परराष्ट्रमन्त्री बनाउने तयारी थियो । तर, गृहमा दाबी गरेका श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाए ।

बिपीबाट प्रभावित श्रेष्ठले नेपाली कांग्रेसको भातृ संस्था नेविसंघबाट राजनीति सुरू गरेका थिए, पछि कम्युनिस्ट भए । कांग्रेस छाडेर श्रेष्ठ मोहनविक्रम सिंह, निर्मल लामाले चलाएको नेकपा चौथो महाधिवेशनमा सामेल भएर कम्युनिस्ट बने ।

राष्ट्रियताको विषयमा तिखो बोल्ने श्रेष्ठले सार्वजनिक प्रशासनमा स्नातकोत्तर र अर्थशास्त्रमा स्नातक गरेका छन् । राजनीतिमा आउनु अगाडि उनी केही समय गणितका शिक्षक थिए । हेल्थ असिस्टेन्ट भएर केही समय काम गरे । सिद्धार्थ वनस्थली क्याम्पसमा उनले केही समय ‘नेपाल परिचय’ विषय पढाएका थिए ।

२०१६ सालमा गोरखाको जौबारीमा जन्मेका श्रेष्ठ विसं २०३३ सालदेखि राजनीतिमा छन् । २०४३ सालमा नेकपा (चौम) को केन्द्रीय सदस्य बनेका उनी २०४८ सालमा प्रचण्डहरुसँगको एकतापछि बनेको नेकपा (एकताकेन्द्र)  मा श्रेष्ठ पोलिटब्यूरो सदस्य थिए ।

२०५१ सालमा एकता केन्द्र फटेर प्रचण्ड-बाबुरामले नेकपा माओवादी गठन गरे भने श्रेष्ठ एकता केन्द्रमै रहे । एकता केन्द्रको नेतृत्व करिब ८ वर्षसम्म श्रेष्ठले नै गरे । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६५ सालमा माओवादी र एकताकेन्द्रवीच पार्टी एकता भयो । त्यसपछि श्रेष्ठ माओवादीमा छन् । व्यक्तिगत जीवनशैलीमा सादगी ६३ वर्षीय श्रेष्ठ हालसम्म अविवाहित छन् ।

रवि लामिछाने : राजनीतिमा लागेको ६ महिनामै शक्तिशाली मन्त्रालय

सञ्चारकर्मी रवि लामिछानेले ७ असार २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर राजनीतिमा आए । ४ मंसिरको चुनावमा उनी चितवन-२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए भने रास्वपा २० सिटसहित संसदको चौथो ठूलो दल बन्यो ।

लामिछाने नेतृत्वको रास्वपा भ्रष्टाचार नियन्त्रण र सुशासनको नारा दिएर राजनीतिमा उदाएको नयाँ दल हो । रास्वपाले प्रदेश संरचनाको विषयमा प्रश्न उठाउँदै आएको छ । प्रदेश सभाको चुनावमा भाग नलिएको रास्वपाले प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री अवधारणा अगाडि सारेको छ ।

लामिछानेको आफ्नै जीवन पनि विभिन्न किसिमका उतारचढावपूर्ण छ । २०३२ भदौ २८ मा काभ्रेको मण्डनदेउपुरमा जन्मेका उनी पाँच दाजुभाइ र दिदीबहिनीमध्ये कान्छा हुन् । परिवारको आर्थिक स्थिति राम्रै भएकाले बोर्डिङ पढ्दै हुर्किए ।

भृकुटी माध्यमिक विद्यालयबाट एसएलसी दिने वर्ष निष्कासित भएपछि काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा गए र त्यही स्कुलबाट २०४९ सालमा एसएलसी पास गरे । एसएलसीपछि रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा पत्रकारिता पढ्न थाले । आइए पढ्दा-पढ्दै रेडियो/टेलिभिजनमा काम गरे ।

सन् २००२ मा पर्यटक भिसामा अमेरिका गए । एक वर्षपछि नेपाल फर्किएर फेरि भिजिट भिसामै अमेरिका गए । त्यसपछि ग्रिनकार्डका लागि निवेदन दिए । सन् २००८ मा रविले ग्रिनकार्ड पाए । करिब १० वर्ष अमेरिका बसे ।

उनले २०७० वैशाख १ गते ६२ घन्टा १२ मिनेटसम्म लगातार अन्तर्वार्ता लिएर गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाए ।

नेपाल नै बस्नेगरी फर्किएपछि उनले सुरुमा ‘नेपाल टेलिभिजनमा सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम सञ्चालन गरे । पछि न्यूज २४ टेलिभिजनमा सीधा कुरा जनतासँग सञ्चालन गरे भने राजनीतिमा जानुअघि उनी ग्यालेक्सी टेलिभिजनमा सीधा कुरा सञ्चालन गर्थे ।

चुनावमा उम्मेदवारी दिएर प्रचार प्रसारमा रहेका बेला उनको नागरिकताका विषयमा निर्वाचन आयोगमा उजुरी पर्‍यो । अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्ने विवाद हाल सर्वोच्च अदालतमा विचाराधीन छ भने नेपाल प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।

ज्वालाकुमारी साह : एमालेमा गएपछि लाभैलाभ

माओवादी केन्ऽ छोडेपछि एमालेमा निरन्तर अवसर लिँदै आएकी नेता हुन् ज्वालाकुमारी साह । ०७४ सालको चुनावमा माओवादी केन्द्रका तर्फबाट प्रदेश सभा निर्वाचनमा बारा ३ (क) बाट निर्वाचित साह नेकपा विभाजनपछि एमालेमै रहिन् । एमालेमा बसेपछि माओवादीले कारबाही गर्दा उनी प्रदेशसभा सदस्यबाट पदमुक्त भइन् ।

तर, त्यसको केही समय पछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साहलाई संघीय सरकारको मन्त्री (कृषि मन्त्री) बनाएका थिए । साह तत्कालीन नेकपामा हुँदा पार्टीकी बारा सह-इन्चार्ज थिइन् । नेकपा एकता भंग भएपछि एमालेमा रहेकी साहलाई एमाले अध्यक्ष ओलीले उनलाई प्रदेश २ को अध्यक्ष बनाएका थिए ।

गत चुनावमा बारा ३ बाट निर्वाचित भएकी साहले तेस्रो पटक संघीय मन्त्री बन्ने अवसर पाएकी छन् । राजनीतिमा भने उनी माओवादी जनयुद्धमा सहभागी हुँदै उदाएकी हुन् । बाराको सिमरा उपमहानगरपालिका-१५ की साह स्कुल पढ्दापढ्दै माओवादी सशस्त्र विद्रोहमा लागेकी थिइन् । उनी माओवादीबाटै २०६४ को संविधानसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित भएकी थिइन् । त्यसपछि २०६६ मा उनी भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री बनेकी थिइन् ।

राजेन्द्रकुमार राई : म्यान अफ दि इलेक्सनको उपाधि निरन्तरता

२०७४ सालमा वाम गठबन्धन हुँदा धनकुटाबाट निर्वाचित राजेन्द्रकुमार राईलाई यस वर्ष चुनाव जित्न धेरै गाह्रो हुने अनुमान थियो । तर उनी तत्कालीन सत्ता गठबन्धनको समर्थन पाएका कांग्रेस उम्मेदवार सुनिलकुमार थापालाई पराजित गर्दै राजेन्द्र पुनः प्रतिनिधिसभामा निर्वाचित भए ।

२०४३ सालदेखि राजनीतिमा रहेका राई २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने धनकुटा चुनाव लडेका थिए तर, पराजित भएका थिए ।

५७ वषर्षीय मन्त्री राईसँग स्थानीय निकायमा रहेर काम गरेको अनुभव छ । २०४९ मा तत्कालीन जिल्ला विकास समितिको सदस्यबाट जनप्रतिनिधिमा निर्वाचित भएका उनी २०५४ मा जिल्ला विकास समितिको उपसभापतिमा निर्वाचित भएका थिए ।

२०२२ साल भदौ २९ गते धनकुटाको तत्कालीन मुगा गाउँ पञ्चायतमा जन्मिएका राई धनकुटा सदरमुकामको माथिल्लो गोकुण्डेश्वर माविमा पढ्ने क्रममा अनेरास्ववियुमा संगठित भएर राजनीतिमा आएका नेता हुन् ।

२०३६ सालमा काठमाडौंको चावहिलमा भएको अनेरास्ववियुको एकताको पाँचौ राष्ट्रिय सम्मेलनमा राई देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा प्रतिनिधिका रुपमा सहभागी भएका थिए । त्यतिबेला उनी आठ कक्षामा पढ्थे ।

राई २०४२ सालमा माथिल्लो गोकुण्डेश्वरबाट एसएलसी दिएलगत्तै पूर्णकालीनरुपमा राजनीतिमा लागेका उनी २०४७ सालमा अनेरास्ववियुको धनकुटा जिल्ला अध्यक्ष भए । राईले राष्ट्रिय कफी तथा चिया विकास बोर्डको उपाध्यक्ष भएर पनि काम गरे । एमाले र माओवादी मिलेर बनेको नेकपामा उनी धनकुटाको अध्यक्ष थिए । राई हाल नेकपा एमालेमा केन्द्रीय सदस्यमा छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै तह आफ्नो पार्टीलाई जिताएर राईले एमाले ओलीबाट म्यान अफ दि इलेक्सनको उपाधि पाएका राइले यसपटक संघीय मन्त्रिपरिषदमा नै स्थान पाएका छन् ।

दामोदर भण्डारी – ३३ वर्षपछि मन्त्रीको अवसर

२०३० साल कात्तिक २० गते बैतडीमा जन्मेका भण्डारी २०४६ सालदेखि राजनीतिमा छन् । आफूलाई विकास अभियन्ता र समानताको पक्षधरको रुपमा चिनाउन चाहने ४९ वषर्षीय भण्डारीसँग यसअघि २०७३ सालमा अर्थ राज्यमन्त्री भएर काम गरेको अनुभव छ ।

२०४६ सालको प्रजातन्त्र पुनर्बहालीको आन्दोलनबाट प्रभावित भएर राजनीतिमा आएको बताउने भण्डारीले राजनीतिमा लागेको ३३ वर्ष पछि संघीय मन्त्री बन्ने अवसर पाएका हुन् । २०७० देखि बैतडीबाट निरन्तर प्रतिनिधिसभा सदस्यको निर्वाचन जित्दै आएका भण्डारी पार्टी जीवनमा पनि विभिन्न भूमिकामा रहेर काम गर्दै आएका नेता हुन् ।

२०५० सालमा अनेरास्ववियूको अध्यक्ष र जिल्ला कमिटी सदस्य भएका उनी ०५६ देखि २०६४ सम्म बैतडीको पार्टी प्रमुख भए । उनी हाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष छन् ।

अब्दुल खानः सरकारमा सीके राउतको प्रतिनिधि

उद्योगमन्त्री अब्दुल खान गत ४ मंसिरमा सम्पन्न आम चुनावबाट राष्ट्रिय राजनीतिमा उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीका नेता हुन् । ३६ वर्षीय खान जनमत पार्टीका दोस्रो वरियताका नेता हुन् ।

२०६८ सालमा जनमत पार्टीको गठन भएदेखि नै सक्रिय भएर लागेका कारण आफू सीके राउत पछि सबै भन्दा धेरै १६ पटक गिरफ्तारमा परेको बताउँछन् । जनमत पार्टीमा ११ वर्ष बिताएका खान गत चुनावबाट समानुपातिक निर्वाचन प्रणाली बाट सांसद बनेका हुन् ।

बर्दियाको गुलरियाका स्थायी बासिन्दा खान पब्लिक हेल्थ विषयमा स्नातक उत्तीर्ण हुन् । उनको पार्टीले गत चुनावमा देशभरका रुग्ण उद्योग सञ्चालन गर्ने र १० लाख युवालाई स्वदेशमै रोजगारी सृजना गर्ने बताएको थियो । पार्टीको घोषित नीति कार्यान्वयन गर्ने उनको बाचा छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?