+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बजारमा फर्सी जत्रा भारतीय अम्बा, मुस्ताङको भन्दै बिक्री

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ पुष १३ गते १७:४०

१३ पुस, काठमाडौं । गत साताको कुरा हो, पोखराको विमानस्थल अगाडि एक सरकारी अधिकारीले काठमाडौंबाट पोखरा गएका दुई सञ्चारकर्मीलाई विशेष खालको फलफूलको स्वाद चाख्ने प्रस्ताव गरे । ती सञ्चारकर्मीले पनि विशेष फलफूल भनेपछि नाई भन्न सकेनन् । उल्टै कौतुहलपूर्ण प्रश्न गरे, ‘विशेष खालको फलफूल भनेको चाहिं के हो ?’ ती अधिकारीले जवाफ फर्काए, ‘मुस्ताङको अम्बा !’

ती अधिकारी र सञ्चारकर्मीद्वय पैदलै अलिपरको ठेलासम्म पुगे । आखिर रहेछ त्यही ठूला फर्सी जत्रा अम्बा । ठेलामा अम्बा देखेपछि ती सञ्चारकर्मीद्वयले हाँसो थेग्न सकेनन् ।

भारत, थाइल्याण्ड र युगाण्डाबाट नेपाल आयात गरेर पछिल्लो एक महिनदेखि बजारमा बग्रेली बेच्न थालिएको अम्बा थियो त्यो । तर, पोखराका बजारमा यसलाई मुस्ताङको विशेष खालको अम्बा भन्दै बिक्री गर्ने गरिएको रहेछ ।

काठमाडौं, पोखरा, विराटनगर, बुटवल, इटहरी लगायतका शहरमा यो अम्बा पछिल्लो एक महिनादेखि बिक्री भइरहेको नेपाल फलफूल थोक व्यवसायी संघले जनाएको छ ।

नेपालमा उत्पादन हुने अम्बाको मुख्य सिजन सकिएसँगै यी अम्बा बजारमा आउन थालेको व्यवसायीहरुले बताएका छन् । संघकाअनुसार १० जना व्यापारीले यो अम्बा नेपालमा आयात गरिरहेका छन् । नेपाली बजारमा अहिले सो अम्बा प्रतिकिलो २ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

बजारमा विभिन्न नेपाली ठाउँको नाम लिंदै महँगोमा यस्तो अम्बाको बिक्री भएको हुनसक्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिले यस्तो अम्बाको थोक न्यूनतम् मूल्य प्रतिकिलो १४० र अधिकतम् १६० रुपैयाँ तोकेको छ ।

नेपाली बजार र उपभोक्ताका लागि खास आवश्यक नरहेको यस्तो अम्बाको आयात भने भन्सार विभागको विवरणमा स्पष्ट छैन । विभागकाअनुसार साउनदेखि मंसिर मसान्तसम्म नेपालमा अम्बा र आँप गरेर कुल २० करोड २५ लाख ८० हजार रुपैयाँको ४३ लाख ४७ हजार ८८७ किलो फलफूल नेपाल भित्रिएको छ । सो आयातबाट सरकारले ३ करोड ८१ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

राष्ट्रिय फलफूल विकास केन्द्रकाअनुसार नेपालमा अम्बाको हालसम्म व्यावसायिक खेती भएको छैन । नेपाली सिजनको अम्बा सकिए पछि व्यापारीहरुले आफूखुसी अम्बा आयात गरेको र त्यो बजारको मागअनुसार भएको केन्द्रकी वरिष्ठ बागबनी विकास अधिकृत यमकुमारी श्रेष्ठले बताइन् । ‘बजारमा स्वस्फूर्त रुपमा यस्ता अम्बा आउँछन्,’ श्रेष्ठले भनिन्, ‘यसको नियमन गर्न हामीले मिल्दैन । गुणस्तरमा हामीले हेर्ने होइन ।’

गुणस्तरमा प्रश्न ?

ट्वीटर प्रयोगकर्ता तेजेन्द्र काफ्लेले बजारमा पाइएको यस्तो अम्बा खाएको १० मिनेटमै पखाला चलेको भन्दै सो अम्बा प्रयोग नगर्न भन्दै ट्वीट लेखेका छन् । उनको ट्वीटमा प्रतिक्रिया दिन आएका कतिपयले यस्तो अम्बा बजारमा जताततै पाइएको बताएका छन् ।

विषादी अवेशेष द्रुत विश्लेषण प्रयोगशाला कालीमाटीकाअनुसार काठमाडौं आइपुगेका यस्ता अम्बाको विषादी परीक्षण भएको छैन । ‘बजारमा अम्बा देखिएका छन् । हामीलाई गुणस्तरमा कुनै कम्प्लेन आएको छैन । आवश्यकपरे विषादी परीक्षण हुन्छ ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण आयात निर्यात गुणस्तर कार्यालय भैरहवाकाअनुसार सीमामा अम्बाको विषादी परीक्षण हुने गरेको छ । नाकामा विषादी परीक्षण र प्लान्ट क्वारेन्टिन जाँच हुने गरेको कार्यालय प्रमुख रवीन्द्र झाले बताए । झाका अनुसार बुधबार आयात भएका अम्बामा गरिएको विषादी परीक्षणमा विषादी अवशेष नेपाल सरकारले तोकेको न्यूनतम मात्रा भन्दा कम रहेको छ ।

‘हामीले अगार्नोफोसफेट र कार्बामेट समूहको विषादी परीक्षण गर्ने गरेका छौं । विषादीको मात्रा अनुसार एक दिन होल्ड गरेर अर्को दिन रिलिज गरेका फलफूलहरु धेरै छन्,’ झाले भने, ‘तर, अम्बामा ठ्याक्कै विषादी कति पाइयो भनेर भन्न सकिने अवस्था तत्काललाई छैन ।’

बजारमा निकै चासो भएका कारण अम्बाको विषादी जाँचलाई विशेष ध्यान दिइने पनि उनले स्पष्ट पारे ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?