+
+

उपेन्द्र दाहिना नहुँदा रोकिए अशोक राई

दिपेश शाही दिपेश शाही
२०७९ पुष १३ गते २०:४८

१३ पुस, काठमाडौं। ४ मंसिरको चुनावमा अध्यक्ष उपेन्द्र यादव सप्तरी-२ बाट पराजित भएपछि धेरैको अनुमान थियो, जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेता संघीय परिषद् अध्यक्ष अशोक राई बन्नेछन् । किनकि जसपाबाट चुनाव जित्ने नेताहरुमध्ये सुनसरी–१ बाट निर्वाचित राई नै सबैभन्दा वरिष्ठ थिए ।

तर बुधबार बारा–२ बाट जितेका रामसहाय यादव निर्विरोध दलको नेता चुनिएका छन् । दलको नेता चयन गर्न मनोनयन दर्ताको समयमा राईले उम्मेदवारी नै दर्ता गरेनन् । राईसँगै अन्य आकांक्षी राजकिशोर यादव र नवलकिशोर साहले पनि उम्मेदवारी दर्ता गरेनन् । यी सबै घटनाक्रम एकप्रकारले अनपेक्षित थियो ।

किनकि जसपाभित्र संसदीय दलको नेतामा मंगलबारसम्म पनि आकांक्षीमध्ये राईको सम्भावना बढी थियो । ‘पार्टीको निर्णय हो । सबैको सहमति भएपछि निर्विरोध संसदीय दलको नेता चयन गरिएको हो’, सांसद सुशीला श्रेष्ठ भन्छिन् ।

तर तथ्य भने सुशीलाले भने जस्तो होइन । बरू उपेन्द्रकै साथ नपाएर राईले दलको नेता बन्ने चाहना त्याग्न बाध्य भएका हुन् । ‘अशोकलाई रोक्न अनेक कथा रचियो, नौटंकी देखाइयो’ उनी निकट एक नेता भन्छन् ।

उपेन्द्रको असन्तुष्टि

उपेन्द्रलाई मधेशमा मात्रै नभएर राष्ट्रिय राजनीतिमै चतुर नेताका रूपमा हेरिन्छ । २०६३ सालको अन्तरिम संविधानप्रति असन्तुष्टि जनाउँदै मधेशमा आन्दोलनको नेतृत्व गरेर यादव राष्ट्रिय राजनीतिमा उदाएका थिए । त्यसयता मधेश र राष्ट्रिय राजनीतिमा बलियो प्रभाव राख्दै आएका उपेन्द्रले यसपटक चुनावकै मुखमा कांग्रेस–माओवादीसहितको गठबन्धन परिवर्तन गरेर एमालेसँग तालमेल गरे ।

तर जसपाले सन्तोषजनक नतिजा निकाल्न सकेनन् नै, स्वयं उपेन्द्र सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसँग पराजित भए । यादवले आफ्नो र पार्टीको पराजयको कारण एमालेसँगको तालमेललाई मानेका छन् ।

जसपाका नेताहरूका अनुसार उपेन्द्र चुनावअघि कांग्रेस नेतृत्वको गठबन्धन छाड्ने मूडमा थिएनन् । तर गठबन्धनले कम सिट मात्रै दिने भनेपछि अशोक राईकै जोडबलमा एमालेसँग चुनावी तालमेल गर्न उनी बाध्य भए । एमालेसँग तालमेल गर्दा अशोकले भने जिते ।

एमालेसँग तालमेलप्रतिको असन्तुष्टि उपेन्द्रले चुनावको अन्तिम नतिजा आइनसक्दै सार्वजनिक गरेका थिए । विराटनगरबाट काठमाडौं फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग उपेन्द्रले भनेका थिए, ‘चुनावसँगै एमालेसँगको सहकार्य पनि सकियो । अब जसपा नयाँ ढंगले अगाडि बढ्छ ।’

उपेन्द्रको अभिव्यक्तिको अशोकले भोलिपल्टै खण्डन गरेका थिए । ‘कसैले व्यक्तिगत हिसाबमा के भन्छ भन्ने महत्वपूर्ण कुरा होइन । एमालेसँगको तालमेलका विषयमा जसपाले कुनै निर्णय गरेको छैन’, राईले भनेका थिए ।

दुई नेताको फरक अभिव्यक्तिबाटै जसपामा शक्ति संघर्ष रहेको बुझ्न सकिन्थ्यो ।

एक्लिदै अशोक

उपेन्द्रको अनुपस्थिति रहने संसदीय मोर्चामा समेत पार्टीको नेतृत्व गर्न नपाउने अवस्थाप्रति अशोक राईले सार्वजनिक टिप्पणी गरिसकेका छैनन् । तर रामसहाय नेतृत्वको संसदीय दलमा अशोक राई सदस्य रहनुपर्ने वैधानिक प्रक्रिया भने पूरा भइसकेको छ ।

पार्टीभित्र विकसित यो घटनापछि अशोक राईले चाल्न सक्ने सम्भावित कदमबारे आगामी दिनमै देखिनेछ । तर अशोक राई लगातार एक्लिंदै गएको तथ्य भने राजनीतिक परिदृश्यबाट लुकेको छैन ।

१० वर्ष अगाडि एमालेसँग अलग हुँदा राईसँग पहिचानको एजेन्डा थियो । त्यही असन्तुष्टिमा राईले आफ्नै नेतृत्वमा संघीय समाजवादी पार्टी चलाए । २०७० सालमा अपेक्षित नतिजा ल्याउन नसकेका राईले उपेन्द्र यादवको मधेशी जनाधिकार फोरमसम्ग एकता गरे । पछि माओवादी केन्द्रबाट अलग भएर नयाँ शक्ति पार्टी बनाएका बाबुराम पनि यही पार्टीमा आइपुगे ।

त्यतिबेला पार्टी एकताको मुख्य उद्देश्य थियो, क्षेत्रीय पकड भएका पार्टीहरू मिलेर राष्ट्रिय शक्ति बन्ने । तर राष्ट्रिय शक्ति हुने उद्देश्यमा अग्रसर जसपाले गएको स्थानीय चुनावमा मधेशमा नै पहिले जितेका कैयौं पालिकाको नेतृत्व गुमायो । जसपा मात्रै होइन, छोटो समय जसपासँगै एकीकरण भएर छुट्टिएको तर, मधेशकेन्द्रित नेताहरूको बाहुल्य रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को हालत त्योभन्दा पनि खराब भयो ।

स्थानीय निर्वाचनपछि भट्टराईले पनि जसपा छाडेर नेपाल समाजवादी पार्टीको गठन गरे । तर पुरानै पार्टी माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडामा चुनाव लडे ।

एकातिर पार्टीमा विभाजनको लहर, अर्कोतिर चुनावमा निरन्तर ओरालो लागिरहेको परिणामले राई उकुसमुकुस बनिसकेका थिए । त्यसपछि राई पार्टीभित्र मौन देखिए पनि भित्रभित्रै गठबन्धन बदलेर एमालेसँग सहकार्य गर्नेतिर केन्द्रित भए ।

परिणामतः प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मुखमा एमालेसँग तालमेल गर्ने निर्णय गर्‍यो । तर जसपाको चुनावी परिणाम सकारात्मक आएन । अघिल्लोपटक चुनाव जितेकै कतिपय क्षेत्र गुमाउनुपर्‍यो भने अध्यक्ष यादव पराजित भए । एमाले र केपी ओलीप्रति दोस्रो मधेश आन्दोलनपछि बनेको ‘इमेज’ ले जसपालाई धक्का पुगेको यादव पक्षको बुझाइ छ ।

‘हामीले आन्दोलन गर्दा जसले विरोध गरिरहेको थियो, उसैसँग चुनाव लड्न गएपछि मधेशको जनताले विद्रोह गर्‍यो र विकल्प रोज्यो’ यादव निकट ती नेताको भनाइ छ, ‘कांग्रेस–माओवादीसँगकै गठबन्धन भएको भए सायद अहिलेको भन्दा राम्रो परिणाम हाम्रो हातमा हुन्थ्यो । तर एमालेको भोट नै हामीलाई आएन । बरु हाम्रो कारण मधेशमा एमाले ब्युँतिन सफल भयो ।’

अनि, अशोकले उम्मेदवारी दिएनन्

पार्टी अध्यक्ष पराजित भएपछि वरिष्ठताका आधारमा अशोकले संसदीय दलको नेता बन्ने प्रयास गरेका थिए । मंगलबार अन्तिम समयसम्म पनि उपेन्द्र सहित नेताहरुसँग उनले आफ्नो आकांक्षा राखिरहेका थिए ।

तर उपेन्द्रको साथ नपाउने प्रष्ट भएपछि अशोक राईले उम्मेदवारी दर्ता गरेनन् । उपेन्द्रले भनेकै व्यक्ति रामसहायप्रसाद यादव निर्विरोध चयन भए । ‘हिजोसम्म आफैं उठ्ने कुरा भएको थियो । त्यही विषयमा अध्यक्षसँग छलफल पनि गर्नुभएको थियो’ राई निकट एक नेताले भने, ‘तर पछि आएर नउठ्ने भन्नुभयो ।’

ती नेताका अनुसार, राईले संसदीय दलमा प्रतिस्पर्धा नगर्नुका पछाडि दुईवटा कारण छन् ।

पहिलो, यादव सांसद नरहेकाले आफू स्वतः दलको नेताको जिम्मेवारी पाउने अशोकको बुझाइ थियो । तर यादवले नै चाहेनन् ।

दोस्रो, रामसहायसँग अशोक आफैंले प्रतिस्पर्धा गर्न चाहेनन् ।

जसपासँग प्रत्यक्ष निर्वाचित ७ र समानुपातिक ५ गरी १२ सांसद छन् । तर उपेन्द्रको साथ नपाउँदा राईले प्रस्तावक र समर्थक नै नपाउने अवस्था रहेको एक सांसदले बताए ।

राईनिकट एक नेता, उपेन्द्रको सत्ता मोहले यस्तो परिस्थिति बनेको तर्क गर्छन् । उनको भनाइमा, संसद छिर्न उपनिर्वाचनको अवस्था सिर्जना गर्ने चाहनामा उपेन्द्र छन् । त्यसैको वातावरण बनाउनतिर उनी लागेका छन् ।

यादव पक्ष भने यस्तो तर्क अस्वीकार गर्छ । यादव निकट अर्का नेता, चाँडै राष्ट्रियसभा सदस्यको चुनाव हुने भएकाले मन्त्री हुन उपेन्द्र यादवको बाटो नरोकिएको बताउँछन् । ‘प्रधानमन्त्री हुन मात्रै संसदीय दलको नेता हुनुपर्ने हो’ ती नेता भन्छन्, ‘मन्त्री हुन राष्ट्रियसभा सदस्य भए हुन्छ । त्यसैले सत्तामोह भन्ने कुरा सत्य होइन ।’

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?