+
+

सांसदहरुले के के पाउँछन् सेवा सुविधा ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते २१:१७

१३ पुस, काठमाडौं । शपथ लिएसँगै प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल सुरु भएको छ । र, नयाँ अधिवेशनको पहिलो बैठक २५ पुसमा बोलाइएको छ ।

प्रतिनिधि सभामा नयाँ सांसदहरुको उपस्थिति बाक्लो छ । नयाँ नयाँ दल आएका कारण पनि अबको संसद कस्तो होला भन्ने चासो छ । साथै सांसदहरुले पाउने सेवा सुविधाबारे पनि धेरैको रुची छ ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार प्रतिनिधि सभा सदस्यले मासिक पारिश्रमिकको रुपमा ६६ हजार ७० रुपैयाँ पाउँछन् । यसमा विशेष भत्ता बापत १ हजार रुपैयाँ, सञ्चार सुविधा बापत ३ हजार रुपैयाँ र धारा, पानीको नाममा २ हजार रुपैयाँ थपिँदा ७२ हजार ७० रुपैयाँ हुन्छ ।

यसैगरी काठमाडौं उपत्यकामा घर नहुने सांसदहरुले मासिक १८ हजार रुपैयाँ आवास सुविधा पाउनेछन् । उपत्यकामा घर हुनेहरुले मर्मत खर्च भनेर ९ हजार रुपैयाँ पाउँछन् ।

यसबाहेक प्रतिनिधिसभा र संसदीय समितिको बैठकमा उपस्थिति हुँदा बैठक भत्ता बापत १ हजार रुपैयाँ र आवतजावतका लागि थप १ हजार रुपैयाँ पाउनेछन् ।

सांसद निर्वाचित भएर आएपछि एकपटकका लागि फर्निचर खर्च एकमुस्ट १५ हजार रुपैयाँ दिइने धमलाले बताए ।

थप सुविधाको रुपमा सांसदको दैनिक कामकाजमा सघाउने सचिवालयमा राजपत्रांकित तृतीय श्रेणी सरहको स्वकीय सचिव नियुक्त गर्न दिनेछ । स्वकीय सचिवको सेवा सुविधा स्वयं स्वकीयको नै खातामा हालिदिने गरिएको छ ।

सांसदहरुले स्वदेशभित्र कुनै भ्रमण गर्नुपरेमा दैनिक भ्रमणभत्ता बापत २ हजार ५०० पाउनेछन् भने विदेश भ्रमण गर्नुपरेमा प्रतिदिन २२५ डलर पाउनेछन् ।

सांसदहरुले उपचार खर्च पनि पाउने छन् । कुनै रोगको सम्बन्धमा परामर्श लिनुपरेमा संघीय संसद सचिवालयमा वरिष्ठ चिकित्सकले निःशुल्क परामर्श दिने व्यवस्था गरिएको छ । त्यस्तै अस्पताल भर्ना हुनुपरेको अवस्थामा सरकारी अस्पतालमा भर्ना भएमा बिल अनुसारको सबै रकम उपलब्ध गराउने र निजी अस्पतालमा भर्ना भएको भए बिलको आधा रकम पाउने गरेका छन् ।

सांसदहरुले पेश्की लिन चाहेमा कारण जनाएर पारिश्रमिक र आवास भत्ता बापतको रकम बढीमा ३ महिना सम्मको लिन सकिने व्यवस्था रहेको छ । विशेष परिस्थितिवश विदेशी अस्पतालमा उपचार गराउनुपर्ने अवस्था आएमा प्रतिनिधि सभा सदस्यलाई सभामुखको स्वीकृतिमा बढीमा १ वर्षसम्मको पारिश्रमिक र आवास भत्ताबापतको रकम पेश्की पाउने व्यवस्था रहेको धमलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?