 
															१६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकार संसद् र जनताप्रति जवाफदेही नभएको आरोप लगाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै पाण्डेले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न सरकार तयार नभएको बताए ।
‘शिक्षकहरू सडकमा छन्, त्यसकारण अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव छलफल गरौँ भनेर हामीले हिजोदेखि हाम्रो नियमावलीको व्यवस्था अनुसार अनुरोध गर्यौं, आज पनि हामीले अनुरोध गर्यौं,’ उनले भने, ‘हामीले त्यसमा सबै प्रतिपक्षीको तर्फबाट उठेर त्यो माग पनि गर्यौं, कुरा पनि राख्यौँ । तर सरकार सुन्दै सुन्दैन ।’
नेता पाण्डले दिनदिनै संसद्को कार्यसूचीबाट उक्त प्रस्ताव हटाइएको भन्दै यसरी संसद् प्रभावकारी नहुने निष्कर्ष सुनाए ।
‘के भन्छ सरकार भने यति महत्त्वपूर्ण विषयवस्तुमा शिक्षक, विद्यार्थी, अभिभावक, परीक्षा, विद्यार्थी भर्ना, यस्ता जरूरी कुराहरूमा पनि हामी संसद्मा छलफल गरेर एउटा कुरा निकालौं भन्दा सरकार सुन्दैन,’ उनले भने, ‘सांसदका रायहरू लिऔँ भन्दा पनि सरकार संसद्लाई वास्ता गर्दैन ।’
सभामुखले महत्वपूर्ण विषय संसदको कार्यसूचीबाट हटाएको उनको आरोप छ ।
‘अझ दिनदिनै हाम्रो कार्य तालिकामा भएका कार्यसूची त सभामुखज्युले आज यो सूचीबाट हटाइयो, हिजो पनि हटाइयो, आज पनि हटाइयो,’ उनले प्रश्न गरे, ‘यसरी संसद कसरी प्रभावकारी हुनसक्छ ?’
पाण्डेले सरकारको गैरजिम्मेवारपनप्रति आ–आफ्नो ठाउँबाट आवाज उठाउन अभिभावक, विद्यार्थी र नागरिकलाई आग्रह पनि गरे । ‘यस कारण सरकार संसदप्रति जवाफदेही छैन, सरकार जनतातिर जवाफदेही छैन । यो विषयवस्तु तथ्यहरूले पुष्टि गर्छन्,’ उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4